Comrade Prachanda, Chairman of the Communist Party of Nepal (NCP)
 

प्रिय सुप्रिमो,

किन किन यहीँ ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाई‌का हरकाम प्रिय लाग्छ । जब तपाई कुनै मञ्च र रोष्टममा उभिएर धाराप्रबाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुबै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले शिर निहुराइरहुँ, हृदयवाट आभारका सारा आँशुहरु बगाऊँ र तपाई‌लाई एकोहोरो लालसलाम गरिरहुँ ।

तपाई त्यहीँ पात्र हो जो कुनै दिन दुनियाँका लागि अलौकिक जादुगर जस्तो मान्छे थियो । जो दुनियाका मानवजातिको मुक्तिका लागि आफ्ना हज्जारौं सिपाहीहरुलाई मर्न र मार्न पछि नहट्ने काशन गर्दथ्यो । जो अप्ठेरोमा परेका गरिब, सीमान्तकृत असहाय, उत्पीडनको जाँतोमा पिसिएका मधेशी, दलित र महिलाहरुको पक्षमा अहोरात्र चिन्तन, मनन गर्दथ्यो । जो कुनै सपनाको राजकुमार जस्तो सुन्दर र प्रिय थियो, जसका कल्पनाहरुले मात्र पनि जीवन जीवन्त बनाउँथ्यो। जो हितैषी थियो मजदुर र किसानहरुको, शासकका दारा र नंग्राहरु निकालेर जनतालाई मुक्त पार्ने महान अभियानको एक अभियात्री थियो ।

जमिन्दारका झुठा तमशुकहरु जलाएर नक्कली रिनबाट जनता मुक्त बनाउने, मानिसलाई एकमुठी सास रहेसम्म न्याय र समानताको पक्षमा लामबद्ध हुन प्रेरित गर्ने, स्वतन्त्रताका लागि प्राण रहेसम्म वर्गवैरी सामु झुक्दै नझुक्न निर्देशन दिने, प्वाँख जस्तो हलुका मृत्यु होइन हाँसी हाँसी पहाड जस्तै अटल र गह्रौं मृत्यू रोज्न सिकाउने त्यो महान मान्छे तपाईं नै त हो ।

प्रिय सुप्रिमो,

Aastha Kc, famous journalist and well-known poet
लेखक

मलाई गर्व छ कि म तपाईं जस्तो एउटा जुझारु, स्वप्नशील, दुरदृष्टि भएको र आम मानिसहरुको मुक्तिका लागि एकबारको जीवन कुर्वान गर्न पछि नपर्ने योद्धाले नेतृत्व गरेको पार्टी र संगठनको संगतमा थिएँ । म राजनीतिको ‘र’ सँग परिचित हुँदा नहुँदै एउटा त्यस्तो भुमिगत पार्टीको कार्यकर्ता बनिसकेकी थिएँ जसको कमाण्डर तपाईं हुनुहुन्थ्यो र राज्यले तपाईं लगायत धेरै नेताको टाउकोको मूल्य तोकेको थियो । उसो त मैले तपाईलाई चिन्नुअघि नै म ‘माओवादी बिद्रोही’ भइसकेकी थिएँ र आफ्नो स्कुले पढाइलाई बिचैमा थाँति राखेर म मुक्तिको बलिबेदीमा होमिइसकेकी थिएँ । मैले मानव जातिको मुक्तिका लागि ‘बाँचे सिंगो संसार जित्ने र मरे शहीद हुने’ सपना देख्दै सर्वहारावर्गको अन्तराष्ट्रिय गीत गाउन शुरु गरिसकेकी थिएँ ।

युद्धका भिषण मोर्चाहरुमा कहिल्यै तपाईलाई भेट्ने मौका मिलेन । भेटै हुनुपर्ने आवश्यकता पनि केही थिएन । किनभने त्यतिवेला पार्टीको निर्णय नै सर्वोपरि हुन्थ्यो । पार्टीका निर्देशनहरु शिरोधार्य गरेर आफ्ना व्यक्तिगत सपना र योजनाहरुलाई तपशीलमा राखेर हामी बस पार्टीलाई सफल पार्न कुदिरहेका थियौं ।

‘तिनको अदालतवाट शासित हुन हामी चाहन्नौ,
तिनको कृपालाई कुल्चँदै बरु एक भै सल्लाह गरौं
लुटाहाबाट आफ्नो धन खोसी लिन,
शोषणवाट मुक्त हुन,
आफ्नो कर्तव्य आफैले निर्णय गरी पुरा गर्न
यो अन्तिम युद्ध हो, आ-आफ्नो ठाँउमा डटौं
अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ ।’

कति उदात्त थियो, युँजे प्योँत्तरले सर्वहारावर्गका लागि लेखेको यो अन्तर्राष्ट्रिय गीत । कति महान थिए ती सपनाहरु । कति उदार थियो हाम्रो हृदय र कति दृढ निश्चयी थिए ती मुक्तिका अभिलाषाहरु । व्यक्तिगत भन्ने त केही छँदै थिएन । हामी सबैजना एउटै मेशमा खाना खान्थ्यौं । जाडो छल्नका लागि सबैका लागि उस्तैखाले ज्याकेट र जुत्ताहरू आउँथे । सबैका उस्तै उस्तै झोलाहरु हुन्थे । सबैका झोलामा केही दर्शनशास्त्र र केही साहित्यका किताब हुन्थे । एउटा ब्रस, मञ्जन र साबुन हुन्थ्यो । केही बिस्कुट र चाउचाउ हरु अथवा कहिलेकाँही सातु, भुटेको मकै वा भटमास पनि हामीसँग हुन्थ्यो । भरे कहाँ बास बस्ने भन्ने कुरा बिहानै बैठक बसेर तय गरिन्थ्यो । बिचमै दुश्मनसँग जम्काभेट भए कहाँ कसरी भेट्ने भनेर आरभि प्वाइन्ट र पासकोडहरु पहिल्यै तय हुन्थ्यो ।

अप्ठेरो थियो यात्रा, दुखमय थिए दिनहरु, कष्टकर थियो जिन्दगी तर अहँ कसैलाई कष्टकर महशुस हुन्थेन । संगठन निर्माणका लागि गाँउगाँउमा उकाली ओराली गर्दा भोकले हाम्रा खुट्टाहरु लर्बरिन्थे तर पनि हामी प्रचण्डपथको गीत गाउँदै र नाच्दै एकले अर्कोलाई भरथेग गर्दै यसरी यात्रा गरिरहेका हुन्थ्यौं कि कहिलेकाँही त लाग्थ्यो हामी लडाँइमा होइन पिकनिक गर्न गइरहेका छौं । सम्झनोस त, कति रोमाञ्चक थिए ती पलहरु । लडाँइ लडाँइ जस्तो नलाग्ने, अभाव अभाव जस्तो नलाग्ने, मृत्यु मृत्यु जस्तो नलाग्ने ।

प्रिय सुप्रिमो,

कति रात हामी अनिदै बितायौं त्यसको कुनै हिसाब राखिएन । कति छाक हामी भोकै बस्यौं, त्यसको पनि कुनै लेखाजोखा गरिएन तर हामीले कति संगठन निर्माण गर्यौं र कति सदस्यता वितरण गर्यौं भन्ने कुराको हामीसँग हमेशा हिसाब किताब हुन्थ्यो । कति जनताका कोठे भेला गर्‍यौँ र कति टोलभेला गर्‍यौं भन्ने कुराको दुरुस्त विवरण हुन्थ्यो । कसले पार्टी बिरुद्ध सुराकी गरिरहेको छ र कसले जनताका बिरुद्ध तमशुक बनाइरहेको छ भन्ने कुरा बैठकको एजेण्डा बन्थ्यो । हिजो के कस्ता योजना सफल हुन सकेनन् र किन भनेर समीक्षा हुन्थ्यो, आलोचना र आत्मालोचना हुनथ्यो । भोलि कसरी जाने भनेर एउटा मार्गचित्र तय गरिन्थ्यो । आ-आफ्नो स्तरका बैठक र भेलाहरु गरिन्थे र हामी २४ सै घन्टा बेफुर्सदी थियौं । हामीले आफूलाई, आफ्ना व्यक्तिगत आकांक्षा र सपनाहरुलाई बिर्सिदिएका थियौं र यसका लागि हामीलाई कसैले बाध्य बनाएको थिएन, तपाईंको विचारले प्रभावित भएर हामी जानाजान रहरमा आफूलाई बिर्सिएर पार्टी र क्रान्तिका लागि समर्पित भएका थियौं ।

प्रिय सुप्रिमो,

१५ बर्षको कलिलो उमेरमा जनयुद्धमा होमिएकी त्यहीँ सानी केटी आज ३४ बर्षकी पाकी महिला भएकी छु र तपाईंको ६५ औं बर्ष प्रवेशको यो गौरवशाली क्षणमा केही प्रश्नहरु सोध्ने हिम्मत जुटाएकी छु ।

मलाई थाहा छ कि यो पत्रको जवाफ आउने छैन, तर पनि तपाईंलाई प्रश्नहरु सोधेका दिन म एक निद्रा आनन्दले निदाउन सक्नेछु । मलाई लाग्ने छ कि कमसेकम म तपाईंसम्म पुगेकी छु । र तपाईंले आफ्नो उज्यालो अनुहारमा आनन्दको एक आत्मविश्वासी हाँसो हाँसेर मलाई सुनिरहनु भएको छ । तपाई मेरो नजिकैे बसेर मलाई धाप मारिरहनुभएको छ र बेला बेला ठिक छ भने जस्तो गरी टाउको हल्लाई रहनु भएको छ । म मेरो हृदयका सारा उच्छवासहरु बिर्सेर आनन्दले मुस्कुराउँदै तपाईंलाई आफूलाई लागेका कुराहरु सुनाइरहेकी छु ।

प्रिय सुप्रिमो,

बलिदान र त्यागको त्यस्तो गौरवशाली इतिहासको जगमा उभिएका हामी आज किन धरमर धरमर बन्दै गइरहेका छौ? नेपाललाई समृद्धिको दिशातिर लैजानका लागि खास बाधक को हो ? किन हामी नयाँ शुरुवात गर्न सकिरहेका छैनौ? किन मानिसहरु दिनानुदिन निराशाको दलदलमा भासिँदै गइरहेका छन् ? किन आज पनि दलाल र बिचौलियाहरु झन झन खुशी र इमान्दार पार्टी कार्यकर्ता र जनताहरु झन झन दुःखी बनिरहेको देख्नु परिरहेको छ? किन सरकारले गति लिन सकिरहेको छैन र सरकारका प्रवक्ता मेरै गोरुको बार्है टक्का भन्दै मिडिया र आम मानिसहरुलाई गाली गर्नमै व्यस्त देखिन्छन् ?

तपाईं आफ्नो घरका छोराछोरी छोडेर किन अर्काका छोराछोरी आफ्नो बनाउन पट्टि लाग्नुभएको छ ? बर्षौंदेखि पार्टी र क्रान्तिका लागि ज्यू ज्यान अर्पिने हजारौं जनमुक्ति सेनाहरु र पार्टी कार्यकर्ताहरु बिलखबन्दमा परेका छन् तर तपाईंले किन तिनको एजेन्डालाई बैठकको पुछारमा पनि समेट्न सकिरहनुभएको छैन ? आज ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखानलाई चरितार्थ गर्दै, लंका जित्ने हनुमान पगरी गुथ्ने ढेँडुको शैलीमा मानिसहरु अवसरका लागि किन हानथाप गरिरहेका छन् ?
हिजो हामीलाई एक रात सेल्टर दिन नसक्नेहरु आज महान क्रान्तिकारी भइटोपलेका छन् । ‘केही झरिहाल्ला र ट्याप्प टिपेर खाम्ला’ भनेजस्तै गरी केही अवसरवादी दलालहरु पनि तपाईंकै दैलो ढुक्न आइपुगेका छन् । भित्र भित्र मनमा अनेक गाली गर्दै, दाह्रा किटेर भएपनि कतिपय प्रतिकृयावादी र बिरोधीहरु तपाईंसँग सल्लाह लिन आइपुगेका छन् । ‘ताक परे तिवारी, नत्र गोतामे’ वालाहरु पनि आज कतै न कतै नियुक्तिका लागि ङिच्च दाँत देखाएर हात मल्दै महान क्रान्तिकारी बनेर हेडक्वाटरकै अगाडि पछाडि गरिरहेका छन् । हुन त यो हाम्रा लागि गौरवको कुरा हो कि हाम्रो सुप्रिमोले सबै सबैको तेजोवध गरिरहेछ । तर प्रिय अध्यक्ष, आफ्नाहरुलाई पाखा लगाएर परकालाई काखमा लिँदा खुच्चिङ भन्नेहरु पनि तिनै परका त हुन्छन् नि है ।

प्रिय सुप्रिमो,

म हिजो क्रान्तिकालमा जस्तै आज पनि तपाईंको अनुहारमा त्यो संसार जित्ने आभा प्रज्ज्वलित भएको देख्न चाहन्छु । एउटा त्यस्तो नायकका लागि हृदयका कुना कुनामा त्यस्तो स्निग्ध प्रेम र आभार फैलाउन चाहन्छु जसलाई मैले बितेका १९ बर्षदेखि आफ्ना पितालाई जत्तिकै आदर गरेकी छु ।

आफ्ना अभिभावकको चिन्तालाई वेवास्ता गर्दै आफ्नो गुरिल्ला सुप्रिमोको नयाँ नेपाल बनाउने सपनाका खाँतिर आफूलाई बलिदानको कोटा चुक्ता गर्न तयार पारिराखेकी एउटी केटी कमरेड प्रचण्डलाई घृणा होइन प्रेम गर्न चाहन्छे । अनेक अभावहरुका बिचमा तपाईंकी त्यो चेली तपाईंकै पछाडि पछाडि हिँडिरहेकी छे, तपाईंका बिरोधीहरुसँग भिडिरहेकी छे, कतिपय अवस्थामा तपाईंको अत्याधुनिक गाडीले छ्यापेको हिलो सहेरै पनि ऊ तपाईंलाई पछ्याइरहेकी छे, नयाँ नेपाल निर्माणका लागि तपाईंको एउटा आदेश र निर्णयका लागि ऊ बर्षौंदेखि तपाईंलाई पर्खिरहेकी छे, जसरी अरु हज्जारौं पार्टी कार्यकर्ता, शुभचिन्तक र जनताहरुले तपाईंलाई पर्खिरहेका छन् ।

प्रिय अध्यक्ष,

उठ्नोस र एउटा आँट गर्नोस । तपाईका विरोधीहरुलाई एउटा गतिलो झापड दिनु छ तपाईंले, ।आशावादी नयन बाटोभरी बिच्छ्याएर बसेका जनतालाई एउटा नयाँ बिहानी दिनुछ तपाईले । सारा नातावाद, कृपावाद, गुटवादको अन्त्य गर्दै पार्टी भित्रैबाट न्याय र समानताका लागि एउटा नयाँ परम्पराको थालनी गर्नु छ तपाईंले । एउटा युगपुरुष हो तपाईं, थाक्ने र भाग्ने छुट छैन, प्रिय सुप्रिमो ।

तपाईंकी स्नेही
आस्था केसी
शंखमूल काठमाडौं

यो पनि पढ्नुहोस्ः

उनी अर्थात प्रचण्ड – क. शैलेन्द्र घिमिरे