Great October Revolution and VI Lenin
 

युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो ।

Sheshmani Acharya
लेखक

क. लेनिनको देहावसानपछि क. स्टालिनको नेतृत्त्वमा समाजवादी संविधानको निर्माणसँगै एउटा पिछडिएको सामन्ती साम्राज्यमा समाजवादको अाधारशीला तयार पार्यो । अनेक गुप्त षड्यन्त्रका तानाबुनालाई असफल पार्दै साोभियत समाजवादले फड्को मारिरह्यो । यसको प्रभावस्वरुप चीन, भारत, भियतनाम लगायत अनेकन देशहरूमा मार्क्सवादी-लेनिनवादी मार्गदर्शक सिद्धान्तको साथमा कम्युनिस्ट र श्रमिक वर्गीय पार्टीहरु स्थापित भए र अा-अाफ्नो देशमा क्रान्तिकारी संघर्ष सञ्चालन गरे । चीन, भियतनाम, कोरिया लगायत धेरै देशमा सर्वहारावर्गीय किसान मजदुर वर्गको शासन सत्ता स्थापित भए । यही अवधिमा कमिन्टर्न पनि सक्रिय रह्यो । यसले विश्वमा क्रान्तिकारी सिद्धान्तको प्रचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो ।

पहिलो विश्वयुद्धको अन्त्यपछि क. लेनिनले नेतृत्त्व गर्नुभएको मुलुकलाई सफल समाजवादी राष्ट्रको रूपमा उदय हुने अवसर प्राप्त भयो । हिटलर-मुसोलिनीको नाजी-फासिवादमाथि विजय प्राप्त भयो । क. लेलिनको देहावसानपछि पनि सोभियत संघ मूलतः समाजवादी देशको रुपमा चर्चित रह्यो । उन्मत्त अमेरिकी साम्राज्यवाद विरुद्ध विश्वव्यापी क्रान्ति र मुक्ति अान्दोलनको लहरले संसारमा अभूतपूर्व क्रान्तिकाे युगको उदय भयो । संसारको कुनै पनि भूभाग, कुनै पनि वर्ग, कुनै पनि जनगण यसको प्रभाव र प्रतिक्रियाबाट अछुतो रहन सकेन ।

Comrade Pushpalal-Founder general secretary of the Communist Party of Nepal
क. पुष्पलाल, नेकपाका संस्थापक महासचिव

नेपाल पनि यसको अपवाद रहने कुरै थिएन । वि.सं. २००६ सालमा कमरेड पुष्पलालको नेतृत्त्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनु यही घटनाको सुपरिचित परिणाम थियो । तर नेपालमा समाजवादको प्रचारमा रुसी क्रान्तिकाे भूमिका कस्तो रह्यो ? त्यसको छोटो चर्चा मात्र यहाँ गर्न खोजिएको छ ।

नेपाली जनताले रुसी क्रान्ति, समाजवाद, क. मार्क्स, क. एङ्गेल्स, क. लेनिन, क. स्टालिन र क. माअोत्सेतुङ अादिको ज्ञान यसै पार्टीको स्थापनापछि मात्र बृहत् रुपमा पाएका हुन् । यसमा शंका छैन तर यसभन्दा अगि नै नेपाली समाजको केही तप्कामा यसको राप अाइसकेको पुष्टि हुन्छ, जसको बारेमा प्रचार प्रसार हुन अावश्यक छ ।

नेपालीहरुलाई क. लेनिन र वोल्शेभिक क्रान्तिकाे सूचना दिने पहिलो समूह त प्रथम विश्वयुद्धका लडाकु तात्कालीन रिटायर्ड गोर्खाली सैनिकहरु थिए, जसले रुसमा जारशाहीलाई कसरी समाप्त पारियो, क्रान्तिमा के के गरियो भन्ने जस्ता विषयमा पिँढीमा बसेर तमाखु खाँदै अथवा कङ्कट मल्दै अाफ्ना दामलीहरुलाई सुनाउँथे अरे ।

त्यसपछि जयपृथ्वी बहादुर, प्रचण्ड गोर्खाका संस्थापक पनि यसको प्रभाववाट अलग रहन सकेनन्उ । उनीहरूले कुनै न कुनै रुपमा यसको प्रभाव ग्रहण गरी अाफूलाई क्रान्तिमा होमे, जसको प्रमाण राणा शासकहरुले क्रान्तिकारीहरुको दमन रुसी जार शासकले झैँ गर्नुपर्छ भन्दा क्रान्तिकारीहरुले पनि निर्धक्कसँग त्यस्ता जारहरु रुसमा मारिइसके भन्ने जवाफ दिएका थिए । इतिहास त यस्तो बोल्छ ।

अझ एउटा नेपालीले क. लेनिनलाई भेटेका पनि थिए भन्ने सुनिन्छ । ती महापुरुष हुन् जयपृथ्वी बहादुर सिंह, जसले बझाङमा रहँदा चलाएको शैक्षिक अभियानमा विद्यार्थीहरुलाई रुसी वोल्शेभिक क्रान्तिकाे बारेमा पाठ्यक्रम बनाई प्रचार गरे ।

त्यसैगरी काठमाडौं, पाल्पा लगायतका धेरै स्थानमा अध्ययन मञ्च वा संगठन, पुस्तकालय अादि खोलेर पनि कम्युनिस्ट विचारको प्रचार गरेको भुल्न सकिन्न । यसै गरी अमर सहिद गंगालालले अाफ्नो संगठनको विस्तार क्रममा यसको चर्चा बारम्बार गरिरहे । यी यस्तै पृष्ठभूमि हुन्, जसले नेपाली समाजलाई महान् लेनिन, समाजवादी सोभियत संघसँग निकट पुर्यायो ।

अहिले साेभियत समाजवादको (अस्थायी) हार भएको देखिएको छ, हामीले यसको शतवार्षिकी विजय-उत्सवको रुपमा नमनाई यसका हारका कारण के हुन् भनी चर्चा गर्दै मनाउँदैछौँ ।

यस अवस्थामा यहाँ हामीले पनि क्रान्तिकाे नाउँमा धेरै थरी प्रयोग गरिसक्यौँ, जसको अन्त्य खुशीयालीकासाथ भइरहेको छैन । हरेक क्रान्तिले अपेक्षित लक्ष्य प्राप्त गर्न सकेन । यो कसैको विचारमा सफलता र कसैको विचारमा धोका, महान् धोकाको रुपमा व्याख्या गरिएको विषय छ ।

अब रुसी समाजवादी क्रान्तिकाे शतवार्षिकी मनाइरहँदा झण्डै झण्डै त्यही समयदेखि नेपाली समाजमा चर्चामा रहेको क्रान्तिकाे विषयमा छलफल गर्दा नेपाली क्रान्तिकाे शिक्षाबारे पनि एकपटक नसोच्ने र ? कि अात्मरति वा अात्मकुण्ठामा रहेर भौँतारिने हो ? राजधानीमा रहेर यस क्रान्तिकाे सयौँ वर्षगाँठ मनाइरहेका हाम्रा साथीहरूको ध्यान यतातर्फ कसरी जाला ? चिन्ता र जिज्ञासाका साथ महान् अक्टोबर समाजवादी क्रान्तिकाे सयवर्षको यस गौरवपूर्ण क्षणको हार्दिक अभिनन्दन गर्दछु ।

महान् अक्टोबर समाजवादी क्रान्ति अमर रहोस् !
मार्क्सवाद-लेनिनवाद अपराजेय छ !!

यी पनि पढ्नुहोस्ः

अक्टोबर क्रान्तिका लागि बाह्य र अान्तरिक पृष्ठभूमिः क. जाेसेफ स्टालिन

अक्टोबर क्रान्ति र वैज्ञानिक  समाजवादबारे एक छलफलः क. स्वनाम साथी

तनहुँ, २०७५/०७/२२