NGO - In Service of Imperialism by James Petra and Henary Veltmeyer
 

इतिहासको सबै कालमा सानो अल्पसङ्ख्याको प्रतिनिधित्व गर्ने शासकवर्ग आफ्नो सत्ता, मुनाफा र विशेषाधिकारहरुको रक्षा गर्नका लागि दमनकारी राज्य यन्त्र र सामाजिक संरचनाहरूमाथि निर्भर रहन्छ । विगतमा विशेषतः तेस्रो विश्वमा साम्राज्यवादी शासकवर्गले शोषित जनतालाई दिग्भ्रमित गर्ने र तिनका असन्तोषहरूलाई धार्मिक तथा साम्प्रदायिक प्रतिद्वन्द्विता एवम् द्वन्द्वतर्फ मोड्नका लागि विदेशी तथा स्थानीय धार्मिक संस्थाहरूलाई वित्तपोषण (आर्थिक सहयोग) एवम् सहयोग प्रदान गरे ।

James Petras
जेम्स पेट्रास

यद्यपि यी अभ्यासहरू आज पनि जारी छन् तर पछिल्ला दशकहरूमा नियन्त्रण र वैचारिक भ्रमजाल फैलाउने त्यही कार्यलाई जोडदार किसिमले पूरा गर्नका लागि नयाँ एउटा सामाजिक संस्थाको उदय भएको छ – स्वघोषित ‘गैरसरकारी संस्थाहरू’ । आज तेस्रो विश्वमा कम्तीमा ५० हजार गैरसरकारी संस्था (एनजिओ) हरू छन्, जसले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, युरोपेली, अमेरिकी तथा जापानी सरकारी निकायहरू र स्थानीय सरकारहरूबाट कूल १० अरब डलरभन्दा बढीको आर्थिक सहयोग प्राप्त गरिरहेका छन् ।

सबैभन्दा ठूला एनजिओका प्रबन्धकहरूले करोडौँ डलरको बजेट सञ्चालन गर्दछन् र बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) हरूको बराबर तलब र सुविधा प्राप्त गर्दछन् । तिनीहरू अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि जेट विमानमा हवाईयात्रा गर्दछन्, उच्चपदस्थ औद्योगिक तथा वित्तीय निर्देशकहरूसँग बैठक बस्दछन् र यस्ता नीतिगत निर्णयहरू गर्दछन्, जसले करोडौँ मानिसहरू, विशेषतः गरिब, महिला र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई प्रभावित गर्दछन् – धेरैजसो सन्दर्भमा नकारात्मक रूपमा ।

विश्वव्यापी रूपमा एनजिओहरू प्रभावकारी राजनीतिक तथा सामाजिक अभिकर्ताहरू हुन्, जसले एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ग्रामीण तथा सहरी क्षेत्रमा काम गर्दछन् र युरोप, अमेरिका तथा जापानमा रहेका आफ्ना प्रमुख दाताहरूसँग परनिर्भर भूमिकामा निरन्तर आबद्ध छन् ।

एनजिओहरूको नकारात्मक प्रभावका बारेमा सुसङ्गत वाम आलोचना अत्यन्तै न्यून छ, जुन कथित ‘प्रगतिशील विश्व’मा एनजिओहरू र तिनीहरूको आर्थिक तथा राजनीतिक शक्तिको व्यापकताको अभिलक्षण हो । बृहत् रूपमा यो असफलता एनजिओहरूले सङ्गठित वामपन्थी आन्दोलनहरूलाई विस्थापित एवम् ध्वस्त गर्न र तिनीहरूका (वामपन्थी) बौद्धिक रणनीतिज्ञहरू तथा साङ्गठनिक नेताहरूलाई भर्ती (सहवरण) गर्न सफल हुनुको परिणाम हो ।

Henry Veltmeyer
हेनरी वेल्तमेयर

आज धेरैजसो वामपन्थी आन्दोलन र जनप्रवक्ताहरूले आफ्नो आलोचनाको निशाना अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ.), विश्व बैंक, बहुराष्ट्रिय निगमहरू, निजी बैंक इत्यादिलाई बनाउँछन्, जसले तेस्रो विश्वको लुटको बृहत् आर्थिक एजेन्डा निर्धारित गर्दछन् । यो एउटा महत्त्वपूर्ण कार्यभार हो । परन्तु तेस्रो विश्वको औद्योगिक आधार, स्वतन्त्रता र जीवनस्तरमाथिको हस्तक्षेप बृहत्–अर्थशास्त्रीय एवम् सूक्ष्म–सामाजिक–राजनीतिक दुवै तहमा भइरहेको छ । संरचनात्मक समायोजनका नीतिहरूको तुच्छ प्रभावले ज्यालादारी तथा वेतनभोगी श्रमिकहरू, किसानहरू र साना राष्ट्रिय पुँजीपतिहरू (व्यापारीहरू)मा आम राष्ट्रिय असन्तोष सशक्त रूपमा उत्पन्न हुन्छ ।

यहीँनेर एनजिओहरू परिदृश्यमा आउँछन् र त्यो आक्रोशलाई मत्थर पार्न, कर्पाेरेट/बैंकिङ सत्ताका संरचनाहरू र नाफा (शोषण) माथि प्रत्यक्ष आक्रमण गर्नबाट रोकेर स्थानीय लघुपरियोजना (माइक्रो प्रोजेक्ट), अराजनीतिक ‘आधारभूत वर्ग (ग्रास रुट)’को आत्मशोषण र साम्राज्यवाद तथा पुँजीवादी मुनाफाखोरीको वर्ग विश्लेषण गर्न रोक्ने ‘लोकप्रिय शिक्षा’ तिर मोडिदिन्छन् ।

विश्वव्यापी रूपमा एनजिओहरू महत्त्वाकाङ्क्षी शिक्षित वर्गलाई वर्गउत्थान गराउने नवीनतम साधनहरू बनेका छन् । प्राज्ञहरू, पत्रकारहरू र पेसाकर्मीहरूले एनजिओ सञ्चालनमा आफ्नो आकर्षक जीवनयात्रा तय गर्नका लागि पहिले अपनाएको लाभहीन वामपन्थी आन्दोलनलाई परित्याग गरेका छन् र आफ्नो साङ्गठानिक क्षमता, वाकपटुता र एउटा लोकप्रियतावादी शव्दकोश आफूसँगै लिएर गएका छन् ।

आज एनजिओका हजारौँ निर्देशकहरू आफ्ना बालबच्चा तथा घरेलु कामकाजलाई आफ्ना नोकरहरूको हातमा र तिनको बगैँचालाई मालीको रेखदेखमा छोडेर ४० हजार डलर पर्ने फोर ह्विल ड्राइभ स्पोर्टस् युटिलिटी गाडीमा सवार भएर आफ्ना आधुनिक उपनगरीय घर वा आवासहरूबाट आफ्ना साज–सजावटले भरिएका कार्यालयहरू र ठूला भवनहरूमा पुग्छन् ।

तिनीहरू आफ्नो देशका हिलाम्मे गाउँहरूको तुलनामा गरिबी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना हुने विदेशी ठाउँहरू (वासिङटन, बैङ्कक, टोकियो, ब्रसेल्स, रोम आदि) सँग बढी परिचित छन् र आफ्नो धेरै समय त्यहीँ बिताउँछन् । अल्पवेतनभोगी (थोरै तलब पाउने अस्थायी) ग्रामीण विद्यालयका शिक्षकहरूको विरोध प्रदर्शनमा प्रहरीको लाठी टाउकोमा थाप्ने जोखिम उठाउनुभन्दा तिनीहरू ‘योग्य पेसाकर्मीहरू’ लाई नगदनारायण उपलब्ध गराउने नयाँ प्रस्तावहरू बनाउनमा प्रवीण भइरहेका छन् ।

एनजिओका नेतृत्वकर्ताहरू सम्पत्तिको स्वामित्व तथा सरकारी संशाधनमा आधारित नभएकका, बरु साम्राज्यवादी वित्तीय सहयोग र महत्त्वपूर्ण जनसमूहहरूलाई नियन्त्रण गर्न सक्ने तिनीहरूको आफ्नै क्षमताबाट उत्पन्न भएको एउटा नयाँ वर्ग हो । एनजिओका नेतृत्वकर्ताहरूलाई एउटा नयाँ प्रकारको नवदलाल समूहका रूपमा चित्रित गर्न सकिन्छ, जसले कुनै पनि उपभोग्य वस्तु उत्पादन गर्दैन, बरु निजी लाभका लागि आफ्नो देशको गरिबीको लिलामी गर्दै दाता राष्ट्रहरूका लागि (सर्त बमोजिमका) सेवाहरू उपलब्ध गराउने कार्य गर्दछ ।

एनजिओका निर्देशकद्वारा आफ्नो औचित्य सिद्ध गर्न औपचारिक रूपमा दुईवटा दाबीहरू पेस गरिन्छन्– तिनीहरू गरिबी र विषमता आदिका विरुद्ध लडिरहेका छन्, जुन तिनीहरूको निजी स्वार्थ पूरा गर्ने तथा छद्मभेषी कुरा हुन् । एनजिओको बृद्धि र आम (मानिसहरूको) जीवनस्तरमा ह्रास आउनुका बिचमा प्रत्यक्ष सम्बन्ध छ: एनजिओको विस्तारले संरचनागत बेरोजगारी वा किसानहरूको व्यापक विस्थापनलाई घटाएको छैन, न त अनौपचारिक क्षेत्रका कामदारहरू (असङ्गठित मजदुरहरू) को बढ्दो फौजका लागि जीवनयापन योग्य ज्यालास्तर नै उपलब्ध गराएको छ । एनजिओहरूले केही गरेका छन् भने केवल ती ‘पेसाकर्मीहरू’को एउटा सानो तप्कालाई नगदी आम्दानी दिएका छन्, जो आफ्नो देश र जनतालाई प्रताडित गर्ने नवउदारवादी अर्थव्यवस्थाका विध्वंसहरूबाट उन्मुक्ति पाऊन् र विद्यमान सामाजिक वर्ग संरचनामा माथि उक्लन (वर्ग उत्थान गर्न) सक्षम होऊन् ।

वास्तविकता एनजिओका हर्ताकर्ताहरूले स्वयम् तयार गरेको आफ्नो छविको ठीक विपरीत छ । तिनका प्रेस विज्ञप्ति र सार्वजनिक बहसहरूका अनुसार तिनीहरू ‘निरङ्कुश सर्वसत्तावाद’ र ‘बर्बर बजार पुँजीवाद’का बिचको एउटा ‘तेस्रो बाटो’को प्रतिनिधित्व गर्दछन्ः तिनीहरू स्वयम्लाई ‘भूमण्डलीय अर्थव्यवस्था’को चेपुवामा काम गरिरहेको ‘नागरिक समाज’को अग्रदस्ताको संज्ञा दिन्छन् । ‘वैकल्पिक विकास’ एनजिओका सम्मेलनहरूमा सधैँ गुन्जिने साझा उद्देश्य हो ।

नागरिक समाजका बारेमा ‘शब्दाडम्बरको पछि लाग्नु’ बेकारमा समय खेर फाल्नु हो । ‘नागरिक समाज’ कुनै एउटा एकात्मक पुण्य सत्ता होइन । यो यस शताब्दीमा सम्भवत सबैभन्दा गहन रूपमा विभाजित रहेका वर्गहरू मिलेर बनेको छ । श्रमिकहरूमाथि सबैभन्दा भीषण अन्याय नागरिक समाजका वैभवशाली बैंकरहरूद्वारा गरिन्छ, जसले घरेलु कर्जामाथि चर्को ब्याज असुल्छन्; जमिन्दारहरूद्वारा गरिन्छ, जसले किसानहरूलाई जमिनबाट बेदखल गर्छन्; औद्योगिक पुँजीपतिहरूद्वारा गरिन्छ, जसले खान नपुग्ने ज्यालामा पसिना निचोरेर श्रमिकहरूको श्रम शोषण गर्छन् । ‘नागरिक समाज’का बारेमा गफ हाँकेर एनजिओकर्मीहरूले त्यो तीव्र वर्गविभाजन, वर्गशोषण र वर्गसङ्घर्षलाई ढाकछोप गर्छन्, जसले समसामयिक ‘नागरिक समाज’लाई ध्रुवीकृत गर्दछ । विश्लेषणात्मक हिसाबले निरर्थक र भ्रामक हुँँदाहुँदै पनि ‘नागरिक समाज’को अवधारणाले एनजिओको पुँजीपतिसँगको सहकार्यलाई सहजीकरण गर्छ, जसले तिनका संस्थाहरूलाई वित्तपोषण गर्छन् र तिनका परियोजना तथा अनुयायीहरूलाई नवउदारवादी अर्थव्यवस्थालाई निर्देशित गर्ने ठूला व्यावसायिक स्वार्थहरूको अधीनस्थ बनाउन आज्ञा दिन्छन् ।

यसका साथै, एनजिओकर्मीहरूको ‘नागरिक समाज’को नारा सामाजिक सेवाहरू प्रदान गर्ने बृहत् सार्वजनिक कार्यक्रमहरू र सरकारी निकायहरूमाथि बारम्बार प्रहार गर्ने साधन बन्दै छ । एनजिओकर्मीहरू ‘सर्वसत्तावाद विरोधी’ नारासहित ठूला व्यावसायीहरूसँग मिल्छन्– एउटा ‘नागरिक समाज’को नाममा र अर्को ‘बजार’को नाममा– जसले गर्दा राजकीय (सरकारी) संसाधनहरूको नयाँ सिराबाट बाँडफाँड गर्न सकियोस् । पुँजीपतिहरूको ‘सर्वसत्तावाद–विरोधी’ नारा निर्यात अनुदान र वित्तीय सङ्कट टार्नका लागि सरकारी कोष बृद्धि गराउनका लागि प्रयोग गरिन्छ, जबकि एनजिओकर्मीहरू ‘सहायक ठेक्का (ठेक्काभित्रको सानो ठेक्का)’ बाट सानो लाभान्वित समूहलाई न्यून स्तरको सेवा प्रदान गरेर एउटा सानो हिस्सा हात पार्नका लागि प्रयत्न गर्दछन् ।

एनजिओकर्मीहरूले आफैँ निर्माण गरेको नवअन्वेषक आधारभूत वर्ग (ग्रास रुट) का नेताहरूको छविविपरीत तिनीहरू यथार्थमा आधारभूत वर्गका प्रतिक्रियावादीहरू हुन्, जसले निजीकरणलाई ‘तल्लो स्तरबाट’ लादेर, जनआन्दोलनहरूलाई हतोत्साहित गरेर र त्यसबाट प्रतिरोधलाई कमजोर बनाउँदै अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यहरूमा सम्पूरकको भूमिका निर्वाह गर्दछन् ।

सर्वव्यापी एनजिओहरूले वामपन्थका अगाडि एउटा गम्भीर चुनौती खडा गरिदिएको हुनाले तिनीहरूको उद्गम, स्वरूप र विचारधाराको आलोचनात्मक राजनीतिक विश्लेषण आवश्यक भएको छ ।

एनजिओहरूको उद्गम, स्वरूप (ढाँचा) र विचारधारा: 

राजनीतिमा एनजिओहरू एउटा अन्तर्विरोधी भूमिकासहित देखा पर्दछन् । एकातिर तिनीहरू तानाशाही र मानवअधिकार उल्लङ्घनको आलोचना गर्दछन् । अर्कोतिर, तिनीहरू जनआन्दोलनहरूलाई हैकमवादी नवउदारवादी अभिजातहरूसँग सहकार्यपूर्ण सम्बन्ध स्थापित गराउने दिशामा मोड्ने प्रयास गर्दै परिवर्तनकारी (¥याडिकल) सामाजिक–राजनीतिक आन्दोलनहरूसँग प्रतिस्पर्धा गर्दछन् । यथार्थमा यी राजनीतिक अभिमुखीकरणहरू त्यति धेरै अन्तरविरोधी छैनन्, जति बाहिरबाट देखा पर्दछन् ।

एनजिओको विकास र प्रसार सम्बन्धी पछिल्लो पच्चिस वर्षको सर्वेक्षण गर्दा हामीले के थाहा पाउँछौँ भने एनजिओहरूको आविर्भाव तीन प्रकारको परिस्थितिमा भयो । सबभन्दा पहिले, तिनीहरू तानाशाही शासनकालमा एउटा सुरक्षित आश्रयका रूपमा अस्तित्वमा आए, जहाँ भिन्न मत राख्ने (विद्रोही) बुद्धिजीवीहरू मानवअधिकार उल्लङ्नका मुद्दा उठाउन सक्दथे र कठोर आर्थिक कार्यक्रमहरूबाट पीडितहरूको लागि ‘जीवनरक्षाका रणनीतिहरू’को तयारी गर्दथे । परन्तु ती मानवअधिकारवादी एनजिओहरू अमेरिका र युरोपेली देशहरूको स्थानीय मानवअधिकार उलङ्घनको अपराधको भत्र्सना नगर्ने र जनसमुदायलाई कङ्गाल बनाउने ‘खुला बजार’ नीतिहरू माथि प्रश्न चिह्न नउठाउने कुरामा सजग थिए । यसरी एनजिओहरूलाई रणनीतिक रूपले ‘लोकतन्त्रवादीहरू (डेमोक्र्याट्स’ को स्थान दिइयो, जो जनआन्दोलनहरूले दमनकारी स्थानीय शासकहरूलाई गम्भीर चुनौती खडा गरेको अवस्थामा स्थानीय शासक वर्ग र साम्राज्यवादी नीति निर्माताहरूलाई राजनीतिक रूपमा प्रतिस्थापन गर्नका लागि उपलब्ध होऊन् । एनजिओहरूलाई आलोचकका रूपमा दिइने पश्चिमी वित्तीय सहयोग हाल पदबहाल रहेका प्रतिक्रियावादीहरू असफल भएको अवस्थाका लागि बीमा निवेश (लगानी) गरेझैँ थियो । फिलिपिन्समा मार्कोसको सत्ता, चिलीमा पिनोसेको सत्ता, कोरियामा पार्कको तानाशाही आदिको समयमा देखिएका आलोचनात्मक एनजिओहरूका सम्बन्धमा यस्तै भएको थियो ।

साम्राज्यवादी प्रभुत्वलाई व्यापक रूपमा उर्लिएका जनआन्दोलनहरूले चुनौती दिएको समयमा एनजिओहरू वास्तवमै च्याउझैँ उम्रिने गरेका छन् । परिवर्तनकारी सामाजिक–राजनीतिक आन्दोलनहरू र सङ्र्घषहरूको बृद्धिले एउटा मनमोहक वस्तु (माल) उपलब्ध गराएका छन्, जसलाई विगतका (भूतपूर्व) परिवर्तनकारी तथा छद्म–जनबुद्धिजीवीहरूले इच्छुक, सम्बन्धित र युरोपेली तथा अमेरिकी पार–राष्ट्रिय निगम (टी.एन.सी)हरू एवम् सरकारहरूसँग जोडिएका मालदार निजी तथा सार्वजनिक फाउन्डेसनहरूमा विक्री गर्न सक्छन् । वित्तीय सहयोगकर्ता (दातृ निकाय) हरूले समाज विज्ञानको विद्वतामध्ये, जस्तो कि ‘सहरी सुकुम्वासी (स्लम) क्षेत्रहरूमा हिंसातर्फको झुकाव’ (चिलीमा १९८३–८६ को जनउभारको समयमा एउटा एनजिओको एक परियोजना), एनजिओको समुदायहरूमा हस्तक्षेप गर्ने, तिनको सम्पूर्ण ऊर्जालाई सामाजिक रूपान्तरणको सट्टा ‘स्वयम् सेवा’का परियोजनातर्फ मोडिदिने र क्रान्तिकारी अभियन्ताहरू (कार्यकर्ताहरू) लाई बद्नाम गर्ने तथा एक्ल्याउने ‘नयाँ पहिचानको बहस’ का रूपमा अनुबन्ध गरिएका वर्ग–समन्वयवादी नाराहरू घुसपैठ गराउने क्षमतातर्फ रुचि देखाए ।

जनविद्रोहहरूले समुद्रपारिका दातृ निकायहरूको थैलीको धागो फुस्काइदिए र सत्तरीको दशकमा इन्डोनेसिया, थाइल्यान्ड र पेरु, असीको दशकमा निकारागुवा, चिली र फिलिपिन्समा तथा नब्बेको दशकमा एल–सल्वाडोर, ग्वाटेमाला र कोरियामा लाखौँ डलर खन्याइयो । आभारभूत रूपमा त्यहाँ एनजिओहरू ‘आगो निभाउन’का लागि थिए । सिर्जनात्मक परियोजनाको आवरणमा तिनीहरूले वैचारिक आन्दोलनहरूमा सहभागी बन्ने कुराका विरुद्ध पैरवी गरे । त्यसरी नै स्थानीय नेतृत्वलाई भर्ती गर्न, तिनलाई अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पठाउन र स्थानीय समुदायलाई नवउदारवादी वास्तविकता अनुरूप ढाल्न प्रोत्साहित गर्नका लागि वैदेशिक आर्थिक सहयोगलाई प्रभावकारी रूपमा प्रयोग गरे ।

बाहिरी धनराशी उपलब्ध भएसम्म, समुदायहरूलाई कामको स–सानो टुक्राका लागि लड्ने झगडालु जागिरेका रूपमा विभक्त गर्दै एनजिओहरूको सङ्ख्या फैलँदै गयो । हरेक ‘आधारभूत तहको कार्यकर्ता’ले एउटा नयाँ एनजिओ स्थापना गर्नका लागि गरिब जनसमूहको एउटा नयाँ हिस्सा (महिला, अल्पसङ्ख्यक समुदायका युवाहरू आदि) लाई एउटा कुनामा जम्मा गर्न र तिनीहरूको परियोजना, क्रियाकलाप र कार्यक्षेत्रलाई ‘बजारीकरण गर्न’, तिनीहरूको केन्द्र र आफ्नो जीवनचर्यालाई आर्थिक सहयोग प्राप्त गर्नका लागि आम्स्ट्रडम, स्टकहोम आदिको तीर्थयात्रामा निस्कन थाल्यो ।

तेस्रो परिस्थिति जसमा खुला बजार पुँजीवादले पटक–पटक र गहन आर्थिक सङ्कट उत्पन्न गरेपछि एनजिओहरू फैलिए । बजेट कटौती बढ्दै गएपछि बुद्धिजीवीहरू, प्राज्ञहरू र पेसाकर्मीहरूले रोजगारी गुम्दै गएको वा तलब कम हुँदै गएको देखे, जसले गर्दा दोस्रो जागिर एउटा आवश्यकता बन्न पुग्यो । एनजिओहरू रोजगारदाता निकाय बने र परामर्शदाता कम्पनीहरू ‘नागरिक सामाज–खुलाबजार’ वैकल्पिक विकासको हल्लाखल्ला गर्न, नवउदारवादी सत्ता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग समन्वयकारी नीतिहरू लागू गर्न आतुर रहेका पतनोन्मुख बुद्धिजीवीहरूका लागि सुरक्षाकवच बने । जब लाखौं मानिसहरूले आफ्नो रोजगारी गुमाउँछन् र जनसङ्ख्याको महत्त्वपूर्ण हिस्सामा गरिबी व्याप्त हुन्छ, त्यतिबेला एनजिओहरू निवारणका कार्यहरूमा जुट्छन्ः तिनीहरू ‘जीवनरक्षाका रणनीतिहरू’मा ध्यान केन्द्रित गर्छन्, आम हड्तालहरूमा होइन । र, तिनीहरूले निशुल्क खाद्य वितरणका कार्यक्रमहरू आयोजना गर्छन्; खाद्यान्न कालोबजारी गर्नेहरू, नवउदारवादी सत्ता वा अमेरिकी साम्राज्यवादको विरुद्धमा जनप्रदर्शन होइन ।

कथित ‘लोकतान्त्रिक सङ्क्रमण’का क्रममा एनजिओहरूले थोरै–धेरै ‘प्रगतिशील’ रङ देखाएका हुन्, जतिबेला पुरानो व्यवस्था ढल्दै थियो, भ्रष्ट शासकहरूले नियन्त्रण गुमाउँदै थिए र जनसङ्घर्षहरू अगाडि बढिरहेका थिए । एनजिओहरू पुराना शासकहरू र निर्वाचित पुरातनपन्थी राजनीतिज्ञहरूका बिचमा लेनदेनका साधन (माध्यम) बने । एनजिओहरूले आफ्ना आधारभूत तहका नाराहरू, सङ्गठनात्मक संशाधनहरू र मानव आधिकारका ‘लोकतान्त्रिक’ प्रवक्ताको हैसियतलाई त्यस्ता राजनीतिज्ञहरू र दलहरू (राजनीतिक पार्टीहरू) को पक्षमा जनसमर्थन जुटाउनका लागि प्रयोग गरे, जसले सङ्क्रमणलाई कानुनी–राजनीतिक सुधारसम्म सीमित गर्न चाहन्थे, न कि सामाजिक–आर्थिक परिवर्तनका लागि । एनजिओहरूले जनसमुदायको परिचालनलाई रोकिदिए र (जन) आन्दोलनहरूलाई विखण्डित गरिदिए । सन् १९८० र १९९० का दशकहरूमा ‘चुनावी कारोबार’ भोगेका प्रत्येक देशहरूमा (चिलीदेखि फिलिपिन्स हुँदै दक्षिण कोरियासम्म र त्यसपछि पनि) एनजिओहरूले त्यस्ता शासकहरूको पक्षमा मत बटुल्ने प्रयत्न गरे, जसले सामाजिक–आर्थिक यथास्थितिलाई निरन्तरता दिए वा अझ त्यसैमा निर्भर रहे । त्यसको सट्टामा थुप्रै पूर्व–एनजिओकर्मीहरू सरकारी निकायहरू सञ्चालन गर्ने भए र कति त लोकप्रिय पदभार (महिला अधिकार, नागरिक सहभागिता, जनअधिकार आदि) सहितका मन्त्री समेत बने ।

एनजिओहरूको प्रतिक्रियावादी राजनीतिक भूमिका त्यही संरचनाबाट निर्माण भएको हो, जसमा तिनीहरू सङ्गठित भएका थिए ।

एनजिओको स्वरूप: भित्र अभिजात, बाहिर चाटुकार

यथार्थमा एनजिओहरू ‘गैरसरकारी’ सङ्गठनहरू होइनन् । उनीहरू विदेशी सरकारबाट आर्थिक सहयोग प्राप्त गर्दछन्, स्थानीय सरकारहरूका लागि निजी सहायक–ठेकेदारहरूका रूपमा कार्य गर्दछन् र/अथवा राज्यसँग घनिष्ट रूपमा जोडिएका कर्पाेरेटहरूबाट पोषित निजी फाउन्डेसनहरूबाट आर्थिक सहयोग प्राप्त गर्दछन् । तिनीहरू बारम्बार खुला रूपमा घरेलु (स्वदेशी) र विदेशी सरकारी निकायहरूसँग सहकार्य गर्दछन् । तिनीहरूका कार्यक्रमहरू स्थानीय जनताप्रति उत्तरदायी  हुँदैनन्, बरु समुद्रपारिका दाताहरूप्रति (उत्तरदायी) हुन्छन्, जसले तिनका आफ्नै मापदण्ड र स्वार्थ अनुरूप एनजिओहरूका कार्यप्रगतिहरूको ‘समीक्षा’ र ‘अवलोकन’ गर्दछन् ।

एनजिओका पदाधिकारीहरू स्वयम्नियुक्त (आफैले आफैलाई नियुक्त गरेका) हुन्छन् र तिनीहरूको मुख्य काम यस्ता आर्थिक प्रस्तावहरू तयार गर्ने हुन्छ, जसबाट वैदेशिक आर्थिक सहयोग (फन्ड) सुनिश्चित गर्न सकून् । कैयौँ सन्दर्भमा यसका लागि एनजिओका अगुवाहरूलाई यस्ता विषयहरूको खोजी गर्नु पर्ने हुन्छ, जसमा पश्चिमा सहयोगकर्ता अभिजातवर्गको स्वार्थ लुकेको हुन्छ र सोही अनुरूप प्रस्तावहरूलाई आकार दिनु पर्छ । तसर्थ सन् १९८० का वर्षहरूमा साम्राज्यवादीहरूको चासो बमोजिम ‘शासकीय व्यवस्था’ र ‘लोकतान्त्रिक सङ्क्रमण’को अध्ययन र राजनीतिक प्रस्ताव तयार गर्नका लागि एनजिओहरूलाई वित्तीय सहयोग उपलब्ध गराइयो, ताकि तानाशाहहरूको पतनबाट यस्तो – नामैले भनेजस्तो – ‘शासकीय अव्यवस्था’ उत्पन्न नहोस्, जसले जनआन्दोलनहरूलाई अझ गहिरो बनाओस् र सामाजिक व्यवस्थालाई रूपान्तरण गरोस् ।

एनजिओहरू, तिनको लोकतन्त्रवादी र आधारभूत वर्ग जस्ता नाराहरूका बाबजुद पनि, श्रेणीबद्ध हुन्छन्, जहाँ निर्देशकसँग समग्र परियोजना (प्रोजेक्ट) को पूर्ण नियन्त्रण हुन्छ, नियुक्ति तथा बर्खास्त (पदमुक्त) गर्ने र तिनका अन्तर्राष्ट्रिय सम्मेलनहरूको भुक्तानकर्ताको निर्णय लिने समेत हुन्छ । वास्तवमा ‘आधारभूत वर्ग’ सारतः त्यो श्रेणीक्रममा वस्तुका रूपमा रहेका हुन्छन्, यी ‘आधारभूत वर्ग’ ले सायदै ‘तिनीहरूका’ एनजिओहरूले भित्राएको रकम (पैसा) देख्न पाउँछन्, न त तिनीहरू कहिल्यै विदेश यात्रा गर्न पाउँछन्, न त तिनले आफ्ना ‘आधारभूत वर्ग’का अगुवाहरूले झैँ तलबभत्ता र सुविधा पाउँछन् ।

यसभन्दा पनि महत्त्वपूर्ण, यी कुनै पनि निर्णयहरू कहिल्यै पनि सामूहिक निर्णय हुँदैनन् । निर्देशक र विदेशी दाताका बिचमा कुशलतापूर्वक कुराकानी ‘पाकिसकेपछि’ एनजिओका कर्मचारीहरूले गरिबहरूद्वारा परियोजना अनुमोदन गराउनका लागि एउटा ‘आधारभूत वर्गका कार्यकर्ताहरू’को बैठक बोलाउँछन् । अधिकांश सन्दर्भमा एनजिओहरू सदस्यता–आधारित संस्था पनि हुँदैनन्, बरु ती स्वयम् नियुक्त अभिजात हुन्छन्, जसले जनआन्दोलनका लागि ‘स्रोत व्यक्ति’ भएको बहाना गर्दछन्, तर वास्तवमा तिनीहरूसँगै प्रतिस्पर्धा गर्दछन् र तिनलाई नजरअन्दाज गर्दछन् ।

यस अर्थमा एनजिओहरूले सामाजिक कार्यक्रमहरू र सार्वजनिक बहसहरूलाई स्थानीय जनता र तिनीहरूबाट निर्वाचित नैसर्गिक नेताहरूको हातबाट खोसेर अनिर्वाचित विदेशी अधिकारी तथा तिनले अभिशेष (नियुक्त) गरेका स्थानीय अधिकारीहरूमा निर्भरता सिर्जना गरी लोकतन्त्रलाई नजरअन्दाज गर्दछन् ।

एनजिओहरूले नयाँ किसिमको सांस्कृतिक तथा आर्थिक उपनिवेशवादलाई संवद्र्धन गरिरहेका छन्– नयाँ अन्तर्राष्ट्रियतावादको छद्म भेषमा । सैयौँ मानिसहरू उच्च क्षमतायुक्त कम्प्युटरको अगाडि बसेर आफ्ना घोषणापत्रहरू, प्रस्तावहरू र अन्तर्राष्ट्रिय सम्मेलनका निमन्त्रणा पत्रहरू आदान–प्रदान गरिरहन्छन् । तत्पश्चात तिनीहरू सजावट गरिएका सम्मेलन कक्षहरूमा बैठक गर्दछन् र तिनका ‘सामाजिक आधारहरू’को साथ लिएर तिनले गरेका सबैभन्दा पछिल्ला सङ्घर्षहरू र तिनको त्यागका बारेमा चर्चा गर्दछन्, त्यसपछि वैतनिक कर्मचारीहरूले तिनीहरूका प्रस्तावहरूलाई ब्रोसरहरू र ‘बुलेटिन’हरूको माध्यमबाट जनसाधारणसम्म पु¥याउँछन् । जब विदेशी दाताहरू आउँछन्, तिनीहरूलाई गरिबहरूले आफ्नो सहायता स्वयम् गरिरहेका परियोजनाहरू देखाउनका लागि ‘अनुगमन भ्रमण’मा लगिन्छ र सफल लघु उद्यमीहरूसँग कुराकानी गराइन्छ (पहिलो वर्षमै असफल भएका धेरैजसोलाई छोडेर) ।

जुन तरिकाले नयाँ उपनिवेशवादले काम गरिरहेको छ, त्यसलाई बुझ्न कठिन छैन । परियोजनाहरू साम्राज्यवादी केन्द्रहरू र तिनका संस्थाहरूद्वारा निर्धारित निर्देशिका र प्राथमिकताका आधारमा तयार हुन्छन् । तत्पश्चात ती समुदायलाई ‘विक्री’ गरिन्छन् । साम्राज्यवादी संस्थाहरूद्वारा तिनैका लागि मूल्याङ्कन गरिन्छ । यदि वित्तीय सहयोगको प्राथमिकता परिवर्तन वा गलत मूल्याङ्कन भयो भने ती समूहहरू, समुदायहरू, किसानहरू र सहकारीहरू फ्याँकिने अवस्था आउँछ । हरेक व्यक्ति दाताहरूको अपेक्षा र तिनीहरूका परियोजना मूल्याङ्कनकर्ताहरूको आज्ञापालन गर्नका लागि झन् धेरै अनुशासित हुन्छ । एनजिओका निर्देशकहरू, नयाँ गभर्नरहरू झैँ, सहयोग राशीको सदुपयोग र दाताहरूको लक्ष्य, मूल्य तथा सिद्धान्तसँगको तादात्मयता सुनिश्चित गर्न अनुगमन गर्दछन् ।

एनजिओ र परिवर्तनकारी सामाजिक–राजनीतिक आन्दोलन

एनजिओहरूले परियोजना (प्रोजेक्ट)मा जोड दिन्छन्, आन्दोलनमा होइन । तिनले जनसमुदायलाई थोरै मुनाफाका लागि उत्पादन गर्न ‘परिचालन’ गर्छन्, उत्पादनका आधारभूत साधनहरू र सम्पतिमाथि नियन्त्रण गर्ने सङ्घर्षका लागि होइन । तिनीहरू परियोजनाका प्राविधिक र वित्तीय सहायताको पक्षमा केन्द्रित हुन्छन्, तिनको संरचनात्मक ढाँचामा होइन, जसले जनताको दैनिक जीवनको निर्धारण गर्छ ।

एनजिओले वामपन्थीहरूको भाषालाई सहयोजित गर्दछन् – जनताको शक्ति, सशक्तीकरण, लैङ्गिक समानता, दिगो विकास, तलैबाट उठेको नेतृत्त्व आदि । समस्या के छ भने यस भाषालाई प्रतिरोधहीन (अहिंसात्मक) राजनीतिमा प्रतिबद्ध दाताहरू र सरकारी निकायहरूसँग गठबन्धन गरिएको ढाँचामा जोडिदिएको छ । एनजिओका गतिविधिहरूको स्थानीय प्रवृतिको अर्थ हुन्छ, ‘सशक्तीकरण’ले सधैँ नवउदारवादी राज्य र बृहत् अर्थव्यवस्थाद्वारा तोकिएको परिस्थितिभित्र सीमित संशाधनयुक्त सामाजिक जीवनको सानो क्षेत्रलाई प्रभावित गर्नेभन्दा बढी केही पनि गर्न सक्दैन ।

एनजिओहरू र तिनका पेसागत कर्मचारीहरूले गरिब, महिला, जातीय रूपमा वहिष्करणमा परेका समुदाय आदिमा आफ्नो प्रभुत्त्व कायम गर्नका लागि प्रत्यक्ष रूपमा सामाजिक–राजनीतिक आन्दोलनहरूसँग प्रतिस्पर्धा गर्दछन् । तिनीहरूको सिद्धान्त र व्यवहारले गरिबीका स्रोतहरू (कारणहरू) र तिनको समाधानबाट आफ्नो ध्यान अन्यत्रै मोड्छन् (माथितिर र बाहिरतिर हेर्नुको सट्टा तलतिर र भित्रतिर हेर्छन्) । लघुउद्यमहरूका बारेमा बोल्नुपर्दा, विदेशी बैंकहरूद्वारा भएको शोषणको अन्त्य गर्नु पर्ने ठाउँमा तिनीहरूको गरिबीको समाधान यस गलत धारणामा आधारित छ कि मुख्य समस्या मानिसहरूको व्यक्तिगत पहलकदमी भएको ठान्छन्, न कि देशको आम्दानीको विदेशमा स्थानान्तरणमा । एनजिओलाई मिल्ने ‘आर्थिक सहयोग’ले दुर्लभ संशाधनहरूका निम्ति समुदायहरूका बिचमा प्रतिस्पर्धा सिर्जना गरेर, विश्वासघाती विभेद तथा अन्तरसामुदायिक (समुदायहरूका बिचमा) र अन्तःसामुदायिक (समुदायभित्रै आन्तरिक) प्रतिद्वन्द्विता उत्पन्न गर्दछ र वर्गीय ऐक्यबद्धतालाई समाप्त गर्छ । यही कुरा ‘पेसाकर्मी’ हरूको निम्ति पनि लागू हुन्छः तिनीहरू हरेकले विदेशी सहयोग प्राप्त गर्नका निम्ति आ–आफ्नै एनजिओ खोल्दछन् । तिनीहरू विदेशी दाताहरूको रुचि अनुसार अधिकतम मिल्दोजुल्दो प्रस्ताव पेस गर्दै र कम खर्चमा धेरै सदस्यहरूसम्म पुर्याउने दाबी गर्दै एक–आपसमा प्रतिस्पर्धा गर्दछन् । यसको कूल परिणाम के हुन्छ भने एनजिओहरूको सङ्ख्यात्मक बृद्धि हुन जान्छ, जसले गरिब समुदायलाई क्षेत्रगत र उपक्षेत्रगत समूहहरूमा विभाजित गर्दछन् र उनीहरूलाई त्यो बृहत्तर सामाजिक परिदृश्यहरूलाई देख्न असक्षम बनाइदिन्छन्, जुन तिनीहरूको दुःखका लागि जिम्मेवार छन् र व्यवस्थाको विरुद्ध सङ्घर्षमा एकजुट हुन झन् असक्षम बनाउँछन् ।

हालैका अनुभवहरूले पनि यही कुरालाई सिद्ध गर्छन् कि विदेशी दाताहरूले ‘सङ्कट’को ( यथास्थितिका विरुद्ध राजनीतिक र सामाजिक चुनौतीहरूको) समयमा मात्र परियोजनाहरूलाई वित्तपोषण (आर्थिक सहयोग) गर्दछन् । एकपटक फेरि जब आन्दोलन शान्त हुन्छ, त्यतिबेला तिनीहरूले एनजिओका परियोजनाहरूलाई नवउदारवादी एजेन्डामा ढालेर आर्थिक सहयोगलाई एनजिओ–सत्ता सहकार्यतर्फ स्थानान्तरण गर्दछन् । एनजिओहरूले परियोजनाहरूलाई नवउदारवादी एजेन्डामा समाहित गर्दछन् । सामाजिक परिवर्तनको निम्ति सामाजिक सङ्गठनको सट्टा ‘खुला बजार’ सुहाउँदो आर्थिक विकास वित्तीय सहयोगको मुख्य एजेन्डा हुन जान्छ ।

तिनीहरूको ‘गैर–राजनीतिक’ हाउभाउ सहितको एनजिओहरूको स्वरूप र स्वभाव, तिनको स्वयम्–सहयोगको चेष्टाले गरिबहरूलाई अराजनीतीकरण गरेको छ र परिचालित हुन रोकेको छ । तिनीहरूले नवउदारवादी पार्टी र आमसञ्चार माध्यमद्वारा प्रोत्साहित गरिने चुनावी प्रक्रियालाई मजबुत बनाउँदै छन् । साम्राज्यवादको प्रकृति, नवउदारवादको वर्गीय आधार र निर्यातकर्ताहरू तथा अस्थायी श्रमिकहरूका बिच वर्गसङ्घर्षका विषयमा राजनीतिक शिक्षाबाट वञ्चित गर्छन् । त्यसको सट्टा एनजिओहरू ‘बहिष्कृत’, ‘निर्बल’, ‘अति गरिबी’ र ‘लैङ्गिक तथा साम्प्रदायिक विभेद’का बारेमा छलफल गर्दछन्; यस्तो परिस्थिति निर्माण गर्ने सामाजिक व्यवस्थामा देखिने सतही लक्षणहरूका दायराभन्दा पर कहिल्यै जाँदैनन् । गरिबहरूलाई ‘निजी स्वेच्छिक कार्यहरू’द्वारा नवउदारवादी अर्थव्यवस्थामा समाहित गर्दै एनजिओहरूले एउटा यस्तो राजनीतिक संसार स्थापित गरिरहेका छन्, जहाँ ऐक्यबद्धता र सामाजिक कार्यहरूको आवरणले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सत्ता संरचनासँगको एउटा पुरातनपन्थी तालमेललाई ढाकछोप गर्दछ ।

यो कुनै संयोगको कुरा होइन कि केही निश्चित क्षेत्रहरूमा एनजिओहरू हाबी हुँदै गएका छन्, स्वतन्त्र वर्गीय राजनीतिक कार्यहरू कमजोर भएका छन् र नवउदारवाद प्रतिस्पर्धाविहीन बन्दै गएको छ । तर अन्तिम सत्य के हो भने एनजिओको विस्तारले नवउदारवादीहरूले गर्ने वित्तीय सहयोगमा बृद्धि र झन् गहिरिँदो गरिबी सबै ठाउँको संयोग बनेको छ । तिनका स्थानीय सफलताका कैयौँ दाबीहरूका बाबजुद पनि नवउदारवादको समग्र शक्ति चुनौतीविहीन ढङ्गले उभिएको छ र एनजिओहरूले सत्ताको छिद्रमा आफ्नो लक्षित वर्गलाई अझ धेरै खोजिरहेका छन् ।

विकल्पहरूलाई सूत्रीकरण गर्ने समस्या अर्कै तरिकाले अल्झिएको छ । छापामार र सामाजिक आन्दोलन, ट्रेड युनियनहरू र लोकप्रिय महिला सङ्गठनहरूका पुराना नेताहरूलाई एनजिओहरूद्वारा सहवरण (नियुक्त) गरिएका छन् । प्रस्ताव धेरै लोभलाग्दो हुन्छ: उच्चतर तलवमान (कहिलेकाहीँ विदेशी मुद्रामा), विदेशी दाताहरूको इज्जत र मान्यता, वैदेशिक सम्मेलन र सञ्जाल, कार्यालय कर्मचारी र दमनबाट सापेक्षिक सुरक्षा । यसका विपरीत सामाजिक–राजनीतिक आन्दोलनहरूले साह्रै थोरै भौतिक लाभहरू दिन्छन्, तर उच्च सम्मान र स्वतन्त्रता र त्यसभन्दा महत्त्वपूर्ण, राजनीतिक–आर्थिक व्यवस्थालाई चुनौती दिने स्वतन्त्रता प्रदान गर्दछन् । एनजिओहरू र तिनका विदेशी बैंकिङ सहयोगीहरू (अन्तरअमेरिका बैंक, एसियाली विकास बैंक, विश्व बैंक)ले लघु उद्यम र अरू स्वयंसेवी परियोजनाहरूका सफलताका वृत्तान्तहरूले भरिएका न्युजलेटरहरू प्रकाशित गर्दछन् – सन् १९९० को दशकमा ब्राजिल र इन्डोनेसियामा घटित भए जस्तै उपभोगमा व्यापक गिरावट, बजारमा विदेशी खाद्यान्नको बाढी र ब्याजदरको बृद्धिले भएका व्यापक असफलताहरूको उल्लेख नगरिकन ।

‘सफलताहरू’ले पनि गरिबहरूको एउटा एकदमै सानो हिस्सालाई मात्र प्रभावित गर्दछन् र त्यही हदसम्म मात्रै सफल हुन्छन्, जबसम्म त्यस बजारमा अरू घुस्न पाउँदैन । परन्तु नवउदारवाद एउटा महत्त्वपूर्ण प्रक्रिया हो भन्ने भ्रम फैलाउनका लागि यस्ता लघु उद्यमहरूको प्रचारप्रसारले अर्थ राख्छ । व्यक्तिगत सूक्ष्म उद्यमको सफलताको प्रचारात्मक मूल्य महत्त्वपूर्ण रहेको छ । सूक्ष्म उद्यम प्रवर्द्धन गरिएका क्षेत्रहरूमा बारम्बार भएका हिंसात्मक विद्रोहरूले तिनीहरूको विचारधारा हाबी हुन नसकेको र एनजिओहरूले स्वतन्त्र वर्गीय आन्दोलनहरूलाई विस्थापित गर्न नसकेको कुरा जाहेर गर्छ ।

एनजिओको विचारधारा मूलतः सारतत्त्ववादी पहिचानको राजनीतिमा निर्भर हुन्छ, जसले वर्गविश्लेषणमा आधारित परिवर्तनकारी आन्दोलनहरूसँग बेइमानीपूर्ण ढङ्गले बहसहरू गर्छन् ।

जाति (नश्ल), साम्प्रदायिकता र लैङ्गिक समानताको प्रश्नमा माक्र्सवादमा भएका बृहत् छलफल तथा बहसहरूलाई उपेक्षा गर्दै र वर्गीय विभेदबाट पहिचानहरू स्वयम्मा प्रस्ट र गम्भीर रूपमा विभाजित रहेका हुन्छन् भन्ने गम्भीर आलोचनाहरूलाई निषेध गर्दै तिनीहरूले वर्गविश्लेषण ‘रिडक्सनिस्ट’ छ भन्ने गलत अवधारणाबाट (छलफल) प्रारम्भ गर्दछन् । उदाहरणका लागि चिली र भारतका नारीवादीहरूलाई नै लिऔँ, जो उपनगरीय ठाँटले बस्छन् र हप्तामा ६ दिन काम गर्ने आफ्ना घरेलु कामदार (नोकर)हरूको तुलनामा पन्ध्र÷बिस गुणा बढी तलब पाउँछन् । (एउटै) लैङ्गिक समूहभित्र पनि वर्गीय विभेदले आवास, जीवनस्तर, स्वास्थ्य, शिक्षाका अवसरहरू र कसले मुनाफा हडप्छ भन्ने कुराको निर्धारण गर्दछ । अझै अधिकांश एनजिओहरू पहिचानको राजनीतिमा आधारित भएर सञ्चालित छन् र तिनीहरू तर्क गरिरहेका छन् कि नयाँ र उत्तरआधुनिक राजनीतिका लागि यही एउटा आधारभूत प्रस्थान विन्दु हो । पहिचानको राजनीतिले आई.एम.एफ. निर्देशित निजीकरण, बहुराष्ट्रिय निगम र स्थानीय जमिन्दारहरूको पुरुषप्रधान अभिजात विश्वलाई चुनौती दिन सक्दैन ।

बरु, यसले परिवारभित्रको ‘पितृसत्ता’, पारिवारिक हिंसा, सम्बन्ध–विच्छेद, परिवार नियोजन आदिमा ध्यान केन्द्रित गर्दछ । अर्को शब्दमा, यसले शोषित जनताको सूक्ष्म–संसारभित्र लैङ्गिक समानताका निम्ति लड्छ, जहाँ एउटा शोषित र कङ्गाल पुरुष मजदुर वा किसान मुख्य खलनायकका रूपमा देखा पर्छ । लैङ्गिक विभेद वा शोषणलाई कुनै पनि स्तरमा कसैले पनि समर्थन गर्नु हुँदैन, परन्तु यी नारीवादी एनजिओहरूले उच्च वर्गका पुरुष तथा महिलाहरू, भाडा असुल्ने पुरुष वा महिलाहरू र दुवै लिङ्गका प्रमुख कार्यकारी अधिकृतहरूलाई फाइदा पुग्ने घोर शोषण हुने कारखानाहरूमा महिलाहरूलाई काम लगाएर तिनीहरूको चरम उत्पीडन गरिरहेका छन् ।

नारीवादी एनजिओहरूले ‘बृहत् परिदृश्य’को बेवास्ता गरेर स्थानीय मुद्दाहरू तथा व्यक्तिगत राजनीतिमाथि केन्द्रित हुनुको कारण हो– त्यही दिशामा प्रतिवर्ष अरबौं डलर प्रवाहित हुनु । यदि नारीवादी एनजिओहरूले ब्राजिल, इन्डोनेसिया, थाइल्यान्ड वा फिलिपिन्सका पुरुष तथा महिला भूमिहीन मजदुरहरूसँग मिलेर जमिन कब्जा गर्न थाले अथवा यदि तिनीहरू संरचनात्मक समायोजन नीतिहरूका विरुद्ध मुख्यतः अल्पवेतनभोगी ग्रामीण स्कुलका शिक्षिकाहरूसँग आम हड्तालमा सहभागी भए भने तिनीहरूका साम्राज्यवादी दाताहरूले एनजिओको रसदपानीका मुहान बन्द गरिदिन्छन् । (तिनीहरूका लागि) त्यसभन्दा त लुजोन (फिलिपिन्सको एउटा मुख्य टापु) मा रहेको एउटा कुनै दूरवर्ती (एक्लो) गाउँमा गएर त्यहाँ एउटा स्थानीय पितृसत्तावादी मुखियाको खोजी गरेर त्यसको विरुद्ध सङ्घर्ष गर्नु नै राम्रो हुन्छ ।

वर्गीय ऐक्यबद्धताका विरुद्ध विदेशी दाताहरूसँग एनजिओको ऐक्यबद्धता

‘ऐक्यबद्धता’ शब्दको यसरी दुरुपयोग गरिएको छ कि कैयौँ सन्दर्भमा यसले आफ्नो अर्थ नै गुमाएको छ । एनजिओकर्मीहरूका लागि ‘ऐक्यबद्धता’ शब्दमा कुनै तोकिएको ‘अतिविपन्न’ समूहका लागि छुट्याइएको विदेशी (आर्थिक) सहायता पनि समावेश भएको हुन्छ । पेसाकर्मीहरूद्वारा गरिने गरिबहरूको ‘अनुसन्धान’ र ‘प्रशिक्षण’ लाई पनि ‘ऐक्यबद्धता’ भनिन्छ । धेरै तरिकाले ‘(आर्थिक) सहयोग’ र ‘तालिम’को श्रेणीबद्ध ढाँचा र सञ्चालनको तरिका उन्नाइसौँ शताब्दीका च्यारिटीसँग मेल खान्छ र यसका प्रबर्द्धनकर्ताहरू क्रिस्चियन मिसनरीहरूभन्दा खासै भिन्न छैनन् ।

एनजिओकर्मीहरू राज्यको पुरुषवाद (प्याट्रनालिज्म) र निर्भरतालाई प्रहार गर्नका लागि ‘स्वयं सेवा’मा जोड दिन्छन् । नवउदारवादबाट पीडित मानिसहरूलाई गोलबन्द (कब्जा) गर्ने एनजिओहरू बिचको प्रतिस्पर्धामा युरोप र अमेरिकामा रहेका तिनका समकक्षीहरूबाट अनुदान सहयोग प्राप्त गर्छन् । ‘स्वयं सेवा’को विचारधाराले सरकारी कर्मचारीलाई स्वयंसेवकहरू र अस्थायी रूपमा अनुबन्धित गरिने वर्गउत्थानमा उद्दत पेसाकर्मीहरूले विस्थापन गर्ने कुरामा जोड दिन्छन् ।

एनजिओहरूको आधारभूत दर्शन हो– धनी वर्गको राजकीय संशाधनहरूबाट ध्यान हटाएर र गरिबहरूको स्वयम्शोषणबाट ‘ऐक्यबद्धता’लाई नवउदारवादको बृहत् अर्थव्यवस्थासँग समन्वय गराउनु र त्यसको मातहतमा ल्याउनु ।

यसको विपरीत मार्क्सवादले बाह्य (विदेशी) तथा घरेलु (स्वदेशी) शोषकहरूका विरुद्ध वर्गभित्रै वर्गीय ऐक्यबद्धता र उत्पीडित समूहहरू (महिला, फरक रङका मानिसहरू) सँगको ऐक्यबद्धतामा जोड दिन्छ । यसको मुख्य ध्यान छोटो समयका लागि वर्गविभाजन ल्याउने र क्षणिक रूपमा स–साना समूहहरूलाई खुसी तुल्याउने ‘अनुदान सहयोग’ माथि हुँदैन । ऐक्यबद्धताको माक्र्सवादी अवधारणा साझा आर्थिक समस्याहरूलाई आदानप्रदान गर्दै र सामूहिक सुधारका निम्ति सङ्घर्ष गर्ने ध्येयसहित साझा वर्गका तिनै सदस्यहरूको साझा कारबाहीमाथि केन्द्रित हुन्छ । यसले सङ्घर्षमा रहेका सामाजिक आन्दोलनहरूको पक्षमा लेख्ने, बोल्ने र तिनीहरूको जस्तै राजनीतिक परिणति बेहोर्न प्रतिबद्ध रहेका बुद्धिजीवीहरूलाई पनि सहभागी गराउँछ । ऐक्यबद्धताको अवधारणा ती ‘मौलिक’ बुद्धिजीवीहरूसँग सम्बद्ध छ, जो आधारभूत रूपमा आन्दोलनका हिस्सा हुन्, स्रोत व्यक्तिका रूपमा वर्गसङ्घर्षको पक्षमा विश्लेषण र शिक्षा उपलब्ध गराउँछन् र प्रत्यक्ष कारबाहीको सोही राजनीतिक जोखिमको सामना गर्छन् । यसका विपरित एनजिओकर्मीहरू संस्थाहरू, प्राज्ञिकहरू, अन्तरक्रियाहरू, विदेशी फाउन्डेसन र अन्तर्राष्ट्रिय सम्मेलनहरूको संसारमा झुन्डिएर रहन्छन्, जसले सारतत्ववादी पहिचानको आत्मगत प्रशंसाबाट ‘दीक्षित’हरूले मात्र बुझ्ने भाषा बोल्दछन् ।

मार्क्सवादीहरूले ऐक्यबद्धतालाई वर्गीय राजनीतिक आन्दोलनमा जोखिमको साझेदारी ठान्छन्, बाहिर बसेर प्रश्न उठाउने तर प्रतिरक्षा नगर्ने आलोचकका रूपमा रहेर होइन । एनजिओकर्मीहरूको मूल उद्देश्य आफ्नो ‘परियोजना’को निम्ति विदेशी आर्थिक सहयोग ‘प्राप्त गर्ने’ हुन्छ ।

मार्क्सवादीहरूका लागि प्रमुख मुद्दा सामाजिक रूपान्तरण सुनिश्चित गर्नका लागि राजनीतिक सङ्घर्ष र शिक्षाको प्रक्रिया हो । आन्दोलन नै सबथोक हुन्छ, सामाजिक परिवर्तनको उद्देश्य बारे चेतना जागृत गर्ने र बहुसङ्ख्यक जनताको अवस्था सुधार गर्न राजनीतिक सत्ता निर्माण गर्ने एउटा साधन हुन्छ । एनजिओकर्मीहरूका लागि ‘ऐक्यबद्धता’ले मुक्तिको उद्देश्यसँग सम्बन्ध विच्छेद गरिसकेको हुन्छ । यो केवल रोजगारी पुनप्र्रशिक्षण कार्यक्रम वा शौचालय निर्माणका लागि केही मानिसहरू भेला गर्नु हो । माक्र्सवादीहरूको निम्ति सामूहिक सङ्घर्षको ऐक्यबद्धतामा भावी जनवादी सामूहिकतावादी समाजका बीजहरू रहेका हुन्छन् । यो व्यापक दूरदर्शिता वा यसको अनुपस्थितिले ऐक्यबद्धताका भिन्न अवधारणाहरूलाई तिनको भिन्न भावार्थ प्रदान गर्छ ।

वर्गसङ्घर्ष र सहयोगः

एनजिओकर्मीहरू नवउदारवादी सत्ताहरू र विदेशी दातृ निकायहरूको सहयोग सुनिश्चित गर्नका लागि गहन तरिकाले कुनै मूल्य वा सर्तहरूको खोजबिन नगरीकन प्रत्येक व्यक्ति – नजिक होस् वा टाढाको – को ‘सहयोग’को कुरा बारम्बार लेख्छन् । वर्गसङ्घर्षलाई अहिले अस्तित्वमा नरहेको अतीतको संज्ञाहीन कुराका रूपमा हेर्छन् ।

आज हामीलाई बताइँदै छ कि ‘गरिब’ नवजीवनको निर्माणको निम्ति दृढसङ्कल्पित छ । तिनीहरू परम्परागत राजनीति, सिद्धान्त र नेताहरूबाट दिक्क भइसकेका छन् । लौ, यो त ठिकै छ । परन्तु समस्या कहाँ छ भने एनजिओकर्मीहरूले विदेशी सहयोग हत्याउनका लागि बिचौलिया र दलालका रूपमा खेल्ने आफ्नो भूमिकाका बारेमा कमै मात्र कुरा बाहिर ल्याउँछन् । सहयोग, लघु उद्यम र स्वयंसेवाका कैयौँ वर्षहरूपछि पनि आज आम्दानीको सङ्केन्द्रण (केन्द्रीकरण) र बिषमता पहिलेभन्दा धेरै बढेको छ । आज विश्व बैंक जस्ता बैंकहरूले लघु उद्यमहरूलाई वित्तीय सहयोग गरिरहँदा निर्यातमूलक कृषि–व्यापारमा आर्थिक सहयोग गरिरहेका छन्, जसले दशौँ लाख कृषि श्रमिकहरूलाई शोषण र विषाक्त गरिरहेको छ । एनजिओहरूले लघु उद्यमहरूमा तल्लो स्तरबाट उठ्ने राजनीतिक प्रतिरोधहरूलाई मत्थर गर्ने भूमिका खेल्छन्, जबकि माथिल्लो स्तरमा नवउदारवादलाई प्रबद्र्धन गरिन्छ । सहयोगको विचारधाराले गरिबहरूलाई एनजिओको माध्यमले उच्चपदस्थ नवउदारवादीहरूसँग आबद्ध गरिदिन्छ ।

प्राज्ञिक रूपमा एनजिओहरू बौद्धिक प्रहरी हुन्, जसले ‘स्वीकार्य’ अनुसन्धानलाई परिभाषित गर्छन्, अनुसन्धान कोषहरू वितरण गर्छन् र वर्ग विश्लेषण तथा सङ्घर्षको सोचलाई प्रतिबिम्बित गर्ने शीर्षक र सोचलाई छनौट गर्छन् । माक्र्सवादीहरूलाई यस्ता सम्मेलनहरूबाट पर राखिन्छ र उनीहरूलाई ‘सिद्धान्तवादी’का रूपमा कलङ्कित गरिन्छ भने एनजिओहरूद्वारा स्वयम्लाई ‘सामाजिक वैज्ञानिक’का रूपमा प्रस्तुत गरिन्छ । बौद्धिक फेसन, प्रकाशन, सम्मेलन र अनुसन्धान कोषमाथिको नियन्त्रणले उत्तरमाक्र्सवादीहरूलाई एक महत्त्वपूर्ण शक्तिपीठ प्रदान गर्दछ, परन्तु त्यो अन्ततः तिनीहरूका बाह्य संरक्षकहरू (सहयोगदाताहरू) सँग द्वन्द्व ननिम्त्याउने कुरामा निर्भर रहन्छ ।

मार्क्सवादी आलोचनात्मक बुद्धिजीवीहरूले कुन तथ्यबाट शक्ति आर्जन गर्छन् भने तिनका विचारहरू सतहमा देखा परिरहेका सामाजिक वास्तविकताहरूसँग प्रतिध्वनित हुन्छन् । तिनका सिद्धान्तहरूले पूर्वसूचित गरेजस्तै वर्गहरूको ध्रुवीकरण र हिंसात्मक प्रतिरोध बढ्दै गइरहेको छ । यस सन्दर्भमा एनजिओका तुलनामा माक्र्सवादीहरू कार्यनीतिक रूपमा कमजोर छन्, तर रणनीतिक रूपमा बलिया छन् ।

वैकल्पिक एनजिओ:

कसैले तर्क दिन सक्छ कि कैयौँ फरक किसिमका एनजिओ पनि छन्, जसले (संरचनात्मक) समायोजनका नीतिहरू, आई.एम.एफ., ऋण भुक्तानी आदिको आलोचना गर्छन र तिनका विरुद्ध सङ्गठित हुन्छन् । ती सबैलाई एउटै थैलो (समूह) मा हालिदिनु अनुचित हुन्छ । यसमा सच्चाइका केही कणहरू त छन्, तर यसमा एउटा अझ धेरै आधारभूत विषय लुकेको छ । एसिया र ल्याटिन अमेरिकाका अधिकांश किसान नेताहरू जसका बारेमा ‘प्रगतिशील’ एनजिओहरूले समेत विभाजनकारी र अभिजात्य भूमिका खेल्ने गरेको तिक्ततापूर्ण आरोप लगाएको टिप्पणी गरिन्छ– एनजिओहरू किसान नेताहरूलाई आफ्नो सङ्गठनको मातहतमा राख्दै गरिबहरूका पक्षमा नेतृत्व गर्न र बोल्न चाहन्छन् । तिनीहरूले मातहतको (आफू तल पर्ने) भूमिका स्वीकार गर्दैनन् ।

‘प्रगतिशील’ एनजिओहरूले किसान र गरिबहरूलाई आफ्नो अनुसन्धान–परियोजना (रिसर्च–प्रोजेक्ट) का लागि उपयोग गर्दछन् र तिनको प्रकाशनबाट फाइदा लिन्छन् । (किसान) आन्दोलनहरूसम्म फर्केर केही पनि आउँदैन, तिनीहरूको नाममा गरिएका अध्ययन/अनुसन्धानका प्रतिलिपिहरू समेत पुग्दैनन् ! त्यसपछि किसान नेताहरूले सोध्ने गर्छन् कि एनजिओहरू शैक्षिक सेमिनारहरू पश्चात् आफ्नो अनुहार फर्काएर देखाउने जोखिम किन उठाउँदैनन् ? तिनीहरूले धनी र शक्तिशालीहरूको अध्ययन किन गदैनन् ? हाम्रो मात्रै किन ?

‘प्रगतिशील’ एनजिओहरूभित्र पनि सामाजिक–राजनीतिक आन्दोलनका निम्ति काम गर्ने केही अल्पसङ्ख्यक स्रोत व्यक्तिहरू छन् भन्ने कुरालाई स्वीकार गर्ने हो भने पनि तथ्य के हो भने एनजिओहरूसम्म जाने आर्थिक सहयोगको एउटा तुच्छ भाग मात्रै जनतासम्म पुग्छ । त्यसका साथै, एनजिओहरूको विशाल समूह पूर्व उल्लिखित विवरणसँग मिल्दछन् । यदि केही अपवादहरू भए ती स्वयम्मा निर्भर छ कि तिनले आफूलाई अन्यथा सिद्ध गरून् ।

‘प्रगतिशील एनजिओहरू’ले अगाडि चाल्नुपर्ने एउटा मुख्य कदम यो छ कि तिनीहरूले आफ्ना सहकर्मीहरूको साम्राज्यवाद तथा त्यसका घरेलु सेवाग्राहीहरू (दलालहरू) का बिचमा रहेको सम्बन्ध, नवउदारवादसँग अनुकूलन (मिलजुल) गर्ने तिनको सिद्धान्त र तिनीहरूको निरङ्कुश तथा अभिजातवर्गीय स्वरूपलाई सुसङ्गत तरिकाले आलोचना र विरोध गरून् । त्यसपछि तिनीहरूले आफ्ना पश्चिमी समकक्षी एनजिओहरूलाई यो भन्नु उपयुक्त हुन्छ कि (तिमीहरू हाम्रो देशका) सरकारी/फाउन्डेसनहरूको सञ्जाल परित्याग गर र युरोप तथा उत्तर अमेरिकाका आफ्नै जनसमुदायलाई सङ्गठित र प्रशिक्षित गर्दै यस्ता सामाजिक–राजनीतिक आन्दोलनहरू निर्माण गर्नका लागि फिर्ता जाऊ, जसले बैंकहरू र बहुराष्ट्रिय निगमहरूको सेवा गर्ने प्रमुख सत्ताहरू र पार्टीहरूलाई चुनौती दिन सकून् ।

अर्को शब्दमा, एनजिओहरूले केवल गैरसरकारी संस्थाहरू बन्न छोडेर आफूलाई सामाजिक–राजनीतिक आन्दोलनका सदस्यका रूपमा रूपान्तरण गरून् । दाताहरूको टाट्नोमा दानापानी खाने दसौँ हजार एनजिओहरूको समूहबाट पृथक् रहनका लागि यही नै एउटा सर्वश्रेष्ठ मार्ग हो ।

उपसंहार: एनजिओबारे एक सिद्धान्त

संरचनात्मक दृष्टिकोणले एनजिओहरूले ‘पुराना’ पसलेहरू (व्यापारीहरू), स्वतन्त्र बुद्धिजीवीहरू र ‘नयाँ’ सरकारी कर्मचारीहरूको समूहभन्दा भिन्न एउटा नयाँ निम्न पुँजीपतिवर्गको उदयलाई प्रतिबिम्बित गर्छन् । यो सहायक ठेक्काको क्षेत्र पुराना ‘दलाल’ पुँजीपतिहरूसँग यस अर्थमा निकट छ कि यसले कुनै वास्तविक वस्तुहरू (माल) को उत्पादन गर्दैन तर साम्राज्यवादी उद्यमहरूलाई लघु उद्यमहरूमा संलग्न स्थानीय साना माल उत्पादकहरूसँग जोड्न सहयोग गर्दछ । यो नयाँ निम्न पुँजीपतिवर्ग – कम्तीमा यसको ‘मध्य अवस्थाको रूपान्तर’ – लाई यो तथ्यबाट सजिलै चिन्न सकिन्छ कि तिनीहरू पूर्व–माक्र्सवादीहरू हुन्, जसले ‘लोकप्रिय नाराहरू’ र केही सन्दर्भमा त तिनले आफ्ना सङ्गठनहरूमा अभिजातवर्गीय (विशिष्टतावादी) र ‘अग्रदस्तावादी’ अवधारणाहरू समेत ल्याउँछन् ।

कुनै सम्पति वा राज्ययन्त्रमा कुनै निश्चित पद (स्थान) नरहेको यो नयाँ वर्ग आफ्नो पुनरुत्पादनका लागि विदेशी दातृ निकायहरूमा अत्यन्तै धेरै आश्रित हुन्छ । परन्तु आफ्नो तोकिएको कार्यक्षेत्रमा यसलाई माक्र्सवाद–विरोधी र सर्वसत्तावाद–विरोधी अपिललाई लोकप्रिय नारासँग जोड्नु पर्ने हुन्छ, जसले गर्दा ‘तेस्रो बाटो’ र ‘नागरिक समाज’का मनगढन्त विचारहरूको सूत्रपात गरिन्छ, जुन दुवै आधारलाई समेट्नका लागि पर्याप्त रूपमा द्विअर्थी हुन्छ । यो नयाँ निम्नपुँजीपति वर्गले आफ्नो अस्तित्वका लागि मुख्य आधारका रूपमा अन्तर्राष्ट्रिय भेलाहरूमा जोड दिन्छ, जबकि आफ्नै देशभित्र यसको कुनै ठोस मौलिक आधार हुँदैन । ‘भूमण्डलवादी’ नाराले ‘अन्तर्राष्ट्रियवाद’ माथि एक किसिमको नक्कली पर्दा हाल्छ, जसमा साम्राज्यवाद विरोधी प्रतिबद्धताहरू हुँदैनन् । सङ्क्षिप्तमा, यो नयाँ निम्नपुँजीपति वर्गले नवउदारवादी संस्थापन (सत्ता) को ‘परिवर्तनकारी शाखा’ को रूप लिन्छ ।

राजनीतिक रूपमा, एनजिओहरू साम्राज्यवादी रणनीतिकारहरूका नयाँ सोचहरूभित्र ठीकसँग मेल खान्छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र बहुराष्ट्रिय निगमहरूले अर्थतन्त्रलाई लुट्नका निम्ति घरेलु अभिजातवर्गसँग उच्चतहमा काम गर्दछन् भने एनजिओहरूले तल्लो तहमा अर्थव्यवस्थाको बर्बरताको कारणले प्रस्फुठित हुने असन्तोषहरूलाई निस्क्रिय र विखण्डित गर्ने सम्पूरक गतिविधिहरूमा सहभागी हुन्छन् । जसरी साम्राज्यवादले शोषण र रोकथामको दुई धारयुक्त बृहत् र सूक्ष्म रणनीति अपनाउँछ, त्यसरी नै परिवर्तनकारी आन्दोलनहरूले पनि दुई धारयुक्त साम्राज्यवाद विरोधी रणनीति तय गर्नु पर्दछ ।

एनजिओहरूले अधिकांश ती मानिसहरूलाई आफूमा समाहित गरेका छन्, जो ‘स्वतन्त्र रहेका’ बुद्धिजीवीहरूका रूपमा रहने गर्दथे र आफ्नो वर्गस्रोत परित्याग गरेर जनआन्दोलनहरूमा सहभागी हुन्थे । यो पुँजीवादका गहिरा सङ्कटहरू (एसिया र ल्याटिन अमेरिकामा मन्दी, पूर्व सोभियत सङ्घको विघटन)को र सार्थक सङ्गठित क्रान्तिकारी आन्दोलनहरूको अभाव – अपवादका रूपमा ब्राजिल, कोलम्बिया र सम्भवत दक्षिण कोरिया – का बिचमा एक खाडलको परिणाम हो ।

आधारभूत प्रश्न के हो भने के यी परिवर्तनकारी सामाजिक आन्दोलनहरूबाट मौलिक बुद्धिजीवीहरूको नयाँ पुस्ता प्रकट होला, एनजिओको मोहनीबाट टाढा रहला र अर्को क्रान्तिकारी लहरको अभिन्न सदस्य बन्न सक्ला ?

(नेपालमा झ्याऊ सरी फैलिएका र राज्यको कूल अर्थतन्त्रकै हाराहारीमा समानान्तर अर्थतन्त्र चलाइरहेका गैरसरकारी संस्था (एनजिओ)हरू बारेको ठोस सैद्धान्तिक बहसलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सुप्रसिद्ध वाम लेखकद्वय जेम्स पेट्रास र हेनरी वेल्तमेयरद्वारा लिखित ‘ग्लोबलाइजेसन अनमास्क्ड’ नामक पुस्तकमा प्रकाशित प्रस्तुत आलेखलाई अनुवाद गरी प्रस्तुत गरिएकाे याे अालेख अाजकाे सन्दर्भमा महत्त्वपूर्ण महशुस गरेर पुनः प्रस्तुत गरिएकाे छ । अनुवादः नहेन्द्र खड्का – सं.)