War between Ram And Rawan
 

रामायण नेपाली समाजमा अत्यन्त प्रचलित र नेपाली जनजीवनमा विशेष महत्त्व राख्ने ग्रन्थ हो । महर्षि वाल्मिकीले लेखेको यो ग्रन्थले भगवान रामका विविध पक्षहरुको गुणगान गाउँदै रावणलाई असत्यको प्रतीकका रुपमा चित्रित गर्दछ । तर रामायणका विभिन्न घटनाक्रमहरुले नै बताउँछ, राम र उनका सेनाले युद्धनीतिको खिल्ली उडाएर रावणलाई युद्धमा हराएका थिए । अरु घटनाक्रमहरुले त झन प्रष्ट बनाउँछ कि रावणले चाहेको भए रामायणको युद्धमा उनी सजिलै विजय प्राप्त गर्न सक्थे तर उनले युद्धलाई ‘जसरी पनि जित्नुपर्ने’ अर्थमा लिएनन् । उनी मर्न तयार भए तर युद्धमा छल तथा संहारको सहारा लिएनन् ।

यसरी हामी के निश्कर्षमा पुग्न सक्छौं भने राम र रावणबीचको लंका युद्ध न त असत्यमाथि सत्यको विजय थियो, न त रावणको अहंकारको संहार नै । यो युद्ध त राम, विभिषण र सुग्रिवको स्वार्थहरुलाई मिलाएर देवगणले राक्षस गणमाथि गरेको प्रहार मात्र थियो । रामायण नपढिकन विश्लेषण गर्नेलाई त भन्नु केही छैन तर रामायणको अध्ययन गरेका जो कोहीले पनि रावणलाई असत्यको प्रतीक मान्न पक्कै तयार हुँदैनन् ।

सर्वप्रथम हामी के कुरामा प्रष्ट हुनु जरुरी छ भने देव र राक्षस सत्य र असत्यको प्रतीक होइनन् । पुराणहरुमा देव र रक्षलाई दुई परस्पर विरोधी संस्कृतिहरुको रुपमा व्याख्या गरिएको छ । कालान्तरमा रक्ष संस्कृतिमाथि देवगणको विजयपश्चात रक्षहरुलाई राक्षस नामाकरण गरी असत्यको प्रतीक मान्ने चलनको शुरुवात भयो ।

Suwas malla
लेखक

देवगणका नाइके विष्णु र यिनीहरुका राजा इन्द्र थिए । विष्णु कुटिल व्यक्ति (देवता) थिए भने इन्द्र भोगी चरित्रका थिए । ईश्वरहरु सून, ऐश्वर्य र सुन्दरी भोगका लालची थिए । उनीहरुको सून (स्वर्ण) प्रतिको अनुराग आफनो राज्यको नाम नै स्वर्ग राखेबाट प्रष्ट हुन्छ । देवगण ऐश्वर्य (धनसम्पत्ति) का लागि मरिमेट्ने गर्थे भन्ने कुरा कालान्तरमा आफूलाई ईश्वर नामाकरण गराएबाट पनि थाहा हुन्छ । उता रक्ष संस्कृतिलाई भगवान शिवको आशिर्वाद थियो । रक्ष संस्कृति सबैको रक्षा गर्नुलाई नै आफ्नो धर्म मान्ने गर्दथ्यो ।

देव र रक्षहरुको बेला बेलामा युद्ध परिरहन्थ्यो । यस्तै क्रममा रक्षहरुका राजा माल्यवणलाई पराजित गरी देवहरुले सूनको लंका रक्षहरुबाट खोसेर आफ्नो अधीनमा लिए । उनीहरुले त्यस राज्यको राजा कुवेरलाई बनाए । वास्तवमा कुवेरले लंकालाई सूनको बनाएका थिएनन्, बरु सूनको अधिराज्यलाई हडपेर आफ्नो बनाएका थिए ।

यो क्षतिबाट हायलकायल रक्षहरु पातालमुनि आंध्रालयमा शरणार्थी जीवन बिताइरहेका थिए । उनीहरुले सूनको लंका पुनः प्राप्त गर्ने प्रयास पनि नगरेका होइनन्, तर आपसी फुटका कारण यो सम्भव भएन । त्यसै क्रममा माल्यवणका भाइ सुमालीले बनाएको कठिन जुक्तिबाट रावणको जन्म भएको हो । रक्षहरुको बल र देवहरुको दिमागको मेल भएको एक महापुरुषको जन्म गराउने र उसैमार्फत आफ्नो लंका फिर्ता ल्याउने ‘ग्राण्ड डिजाइन’ अनुसार सुमालीले आफ्नी बहिनी कैकसीलाई महर्षि विश्रवासँग बिहे गराउन राजी गराए ।

यसरी रावण देवगणमा नै जन्मिए । उनका पिता महर्षि विश्रवाका पिता महर्षि पुलस्त्य र पुलस्त्यका पिता बह्मा थिए । यसरी हेर्दा विश्रवाका जेठा पुत्र कुवेर उनका दाजु थिए । त्यति मात्र होइन, विश्रवाका दाजुका छोराहरु इन्द्र, वरुण, सूर्य, अग्नि, वायु, चन्द्र उनका दाजुभाइ नै थिए । यसरी लंकाका राजा कुवेर कै भाइका रुपमा रक्षगणले लंकाको नयाँ राजा रावण जन्माए ।

रावणको बाल्यकाल विश्रवाको आश्रममा विश्रवा र सुमाली दुवैको रेखदेखमा भयो । उनले विश्रवाबाट चारै वेदको ज्ञान प्राप्त गरे भने सुमालीबाट शस्त्रज्ञान समेत लिए । उनमा यस प्रकार अद्भुत मनुष्यको निर्माण भयो । उनले देव र यक्ष संस्कृतिमा रहेका विकारहरुको विरोध गर्न थाले । शिवको तपस्याबाट विशेष वरदान पाए भने बह्माबाट अमरत्वको बरदान र ब्रह्मास्त्र समेत प्राप्त गरे । यसरी देवगणमा जन्मेर पनि प्रतिध्रुवका रुपमा विकास भइरहेका रावणबाट देवहरु नै भयभित भए र उनको यज्ञकर्म, तपस्या आदिमा बाधा पुर्‍याउन थाले । यस्ता गतिविधिले झनै रावणलाई उनको मामा सुमालीसँग नजिक बनायो ।

अन्ततः उनी विश्रवाको महर्षि बन्ने बाटो त्यागेर सुमालीको महायोद्धा बन्ने बाटोतर्फ उन्मुख भए । तर मामाको इच्छाअनुसार उनले लंकामा आक्रमण भने गरेनन् । आफ्नै दाजुका विरुद्ध धावा नबोल्ने वचन उनले दाजु र पितालाई दिएकाले उनी त्यसमा दृढ थिए । उनले लंका बाहेकका धेरै राज्यहरु जित्दै गए । लंका वरपरका धेरै प्रायद्वीपमा रावणको राज्य स्थापित भइसकेको थियो ।

सुमाली लगायतका रक्षगणलाई भने अरु सयौं राज्यहरुभन्दा लंकाकै बढी प्यास थियो । यही परिस्थितिलाई ख्याल गरेर ऋषि विश्रवाले सम्मुखमा आइसकेको संकट निवारणका लागि जेठा छोरा कुवेरलाई अलकापुरीको राज्य दिएर रावणलाई लंकाको राज्य सुम्पन सहमत बनाए । यस प्रकार के थाहा हुन्छ भने न सूनको लंका देवताले बनाएका थिए, न त यो रावणले जवर्जस्ती खोसेर लगेका थिए । बरु सूनको लंका त केही समय देवगणको कब्जामा थियो, जसलाई रावणले छुटाए । जसलाई प्रतिष्ठाको विषय बनाएर देवगणले रामलाई रामायणको युद्ध लड्न बाध्य बनाए ।

Ten heads of Ravana clarifies that he was equal to other 10 people.
रावणका दश टाउका भएकाे बताइनुले उनी शारीरिक र मानसिक रूपमा अरू १० जना मानिस बराबर भएकाे बुझाउँछ ।

रामको धेरै पक्षका बारेमा हामीले सुनेकै छौं, त्यतातिर अहिले चर्चा नगरौं । रामायणको युद्धका केही अमिल्दा पक्षहरुको चर्चा गरौं । लक्ष्मणले रावणको बहिनी सुपर्णखाको नाक काट्नु र रावणले रामको पत्नी सीताको अपहरण गर्नु दुवै असभ्यताको पराकाष्ठा थिए । तर यी प्रसंगहरु युद्धका लागि कारक तत्त्व बन्न सक्ने बलिया काण्डहरु थिएनन् । लक्ष्मणले माफी मागेका भए रावणले सीतालाई सकुशल छाडिदिने कुरा रामायणमा नै उल्लेख छ । तर देवगणका नायक विष्णुले नै लक्ष्मणलाई त्यसो नगर्न उक्साए ।

रामायणको युद्ध गराएर जुनै हालतमा रावणलाई पराजित गराउने सपना देखेका देवगणले त्यसका लागि रामलाई भन्दा छिटै प्रभावमा पार्न सकिने उनका भाइ लक्ष्मण, बाँदर सेनाका राजा बालिका भाइ सुग्रिव र रावणका भाइ विभिषणलाई प्रयोग गरे । त्यसैले त आफ्नो वाणबाट जीवनमरणको दोसाँधमा मृत्युशैयामा भएको बेला रावणसँग राजनीति सिक्न रामले भाइ लक्ष्मणलाई अह्राएका थिए । रावणको मुखनेर आएर बसेका लक्ष्मणलाई रावणले ‘सिक्ने भए गोडातिर बस्नु’ भनेर पहिलो शिक्षा दिएका थिए । रावणको शिक्षा प्राप्त गरेपछि नै लक्ष्मणको जीवन परिवर्तन भएको ठानिन्छ ।

रावणको विरुद्ध प्रयोग गर्नका लागि बानरराज बालिको विशाल सैनिकको साथ रामलाई चाहिन्थ्यो । यसको प्रबन्ध बालिमार्फत हुन नसक्ने देखेपछि उनका भाइ सुग्रिवलाई त्यहाँको राजा बन्ने ढोका खोल्नका लागि महत्वाकांक्षी बनाइयो । त्यस्तै ललासा रावणको भाइ विभिषणमा पनि जगाइयो । रावणले विजय प्राप्त गरेका राज्यहरुका पराजित राजाहरुलाई पनि उनीहरुको राज्य फिर्ता हुने शर्तमा सहयोग गर्न उक्साइयो । फलतः बालि र रावण दुवैको हत्या गरी लंकाको पराजयको प्रतिशोध लिने देवगणको आकांक्षा पूर्ण भयो । सुग्रिव र विभिषणको लालसाले पनि बाटो पायो । अन्य केही राज्यहरु पनि यही क्रममा लंका साम्राज्यबाट स्वतन्त्र भए ।

सोझो बाटो र सहज तौर तरिकाबाट कुनै पनि हिसाबले यी महायोद्धाहरुलाई पराजित गर्न नसकिने ठहरका साथ युद्धको सामान्य नीतिको समेत खिल्लि उडाएर लंका साम्राज्यको पतन गराइयो । रावणले पनि युद्धलाई प्रतिष्ठाको विषय बनाएर ‘जसरी पनि जित्ने’ रणनीति बनाएको भए संसार पतनको बाटोतर्फ पनि जान सक्थ्यो भन्ने रामायणमा उल्लेख छ । रावणले आफूसँग भएको ब्रह्मास्त्र समेत प्रयोग गरेनन् । उनले युद्धको अन्तिम दिन आफ्नो अधीनमा रहेका नवग्रहहरुलाई मुक्त गरी आफ्नै बलमा युद्ध लड्ने संकल्प गरे । सायद उनी सम्भावित पराजयबाट परिचित भएको हुनुपर्छ । ‘रावण: एक अपराजित योद्धा’ पुस्तकका लेखक शैलेन्द्र तिवारी लेख्छन्, “प्रकृतिलाई आफ्नो काबुमा राख्ने रावणले रामसँग युद्ध हार्ने कुनै कारण देखिँदैन । उनले रामको हातबाट मृत्यु स्विकार गरेको हुनुपर्छ ।”

त्यसो त युद्धको अगाडि विजयको कामनाका साथ गरिएको रामको पूजाको पण्डित रावण नै थिए । भनिन्छ उनले पूजा सफल बनाउनका लागि सीतालाई समेत पुष्पक विमानमा लिएर आएका थिए र कर्ताका रुपमा रामसँगै राखिदिएका थिए । तर पूजा सकिएपछि उनले पुनः सीतालाई आफूसँगै लिएर गएका थिए । यो कार्यको लंका दरवारमा घोर विरोध भएपछि उनले तर्क दिएका थिए, “पण्डित रावणले सीतालाई रामसँगै राखेर पूजा गराई विजयको आशिर्वाद दियो । तर राजा रावणले सीतालाई पुनः लिएर आयो किनकी सीता फिर्ता गराउनकै लागि युद्ध गरिँदै थियो । अर्थात पूजा गराउने पण्डित रावण हो र युद्ध लड्ने राजा रावण हो ।” लक्ष्मणको माफी नआउँदा सीता फिर्ता लाने एउटै बाटो युद्धमार्फत रावणलाई हराउनु नै थियो । लक्ष्मणलाई त कुनै पनि हालतमा माफी मगाउन देवगण तयार थिएनन् ।

युद्धको क्रममा लक्ष्मण रावणको छोरा ईन्द्रजीतको वाणबाट बेहोश भए । उनको उपचारका लागि आयुर्वेदका कुशल ज्ञाता आयुर्वेदाचार्य सुषेणलाई रावणले नै पठाएका थिए । जसको सिफारिसमा नै सञ्जीवनी बुटी खुवाएर लक्ष्मणलाई पुनर्जीवन दिइएको थियो । तर त्यसको केही दिनमा नै लक्ष्मणले यज्ञ गरिरहेको बखत निशस्त्र र एक्ला ईन्द्रजीतलाई हत्या गरी लाशलाई टुक्राटुक्रा पारेर फालिदिए । यो हत्याकाण्डको डिजाइनर विभिषण थिए ।

अन्तिम युद्ध अगाडि रावणले रत्नागिरी पर्वतमा आयोजना गरेको अविजित चण्डी यज्ञलाई हनुमान र अंगदले बानर सेना लगाएर ध्वस्त गराए । यज्ञमण्डपबाट होम गराइरहेका गुरु वृहस्पतिलाई अपरहण गरियो भने रावणपत्नी मन्दोदरीमाथि पनि दुर्व्यवहार भयो । सानोमा आफैंले पालनपोषण गरेको अंगदले दुर्व्यवहार गरेकोले त्यसलाई मृत्युदण्डको सजायँ दिनुपर्ने मन्दोदरीको मागलाई रावणले अस्विकार गरी अह्राएको काम गर्नेलाई नमार्ने भनी छाडिदिएका थिए । यज्ञबाट रावणले अग्नीरथ हासिल गर्ने र त्यसले रावणलाई थप शक्तिशाली बनाउने भयले विभिषणले लक्ष्मणलाई त्यसो गर्न उक्साएको देखिन्छ ।

Ranagil Cave at 8000 ft in srilanka where Ravana's dead body is supposed to be mummified.
श्रीलंकामा समुद्र सतहबाट ८,००० फिटकाे उचार्इमा रहेको रणगिल गुफा जहाँ रावणको मृत शरीर ममीकाे रूपमा रहेको मानिन्छ ।

युद्धमा रावणले कुण्डलिनी जागृत गर्ने भयले रामको सेनाले ब्रह्मास्त्र प्रयोग गरेर रावणको सेनाको नाश गरिदियो । युद्धमा अन्तिम अस्त्रको रुपमा प्रयोग गरिने ब्रह्मास्त्र आजको एटम बमजस्तै घातक अस्त्र हो । त्यसो त रावणसँग पनि ब्रह्मास्त्र थियो, तर दुई ब्रह्मास्त्रको मारमा संसारमा ठूलो प्रलय आउने भएकाले रावणले त्यसको प्रयोग गरेनन् । बरु ब्रह्मास्त्र स्विकार गरी मृत्युको बाटो रोजे ।

रावणको जीवन नाविमा छ भन्ने विषयको जानकारी रामको सेनामा उनकै भाइ विभिषणलाई बाहेक कसैलाई थिएन । सत्तालिप्साले अन्धो भएका विभिषणले लंका सेनाको अन्त्यपछि रावणको जीवनको अन्त्यको त्यो राज पनि रामलाई भनिदिए र रावणको अन्त्य भयो ।

रावणको मृत्युपछि विभिषणलाई राजगद्दीमा सिंहासन गर्ने यति हतारो भयो कि उनले रावणको लासको कुनै वास्ता गरेनन् । राज्यभिषेक गरिसकेपछि बल्ल अन्त्यष्टीको तयारी गर्नका लागि लास ल्याउन आदेश दिए । तर त्यतिबेलासम्म आक्रोशित जनताले रावणको लास लुकाइसकेका थिए । नागकूलका जनताले राजसम्मानसहित उनको अन्तिम संस्कार गरेर डामुवाला भन्ने ठाउँको जंगलको बीचमा रहेको डाँडामा लासको अन्त्यष्टी गरेका थिए । त्यो लास हालसम्म पनि सुरक्षित छ र श्रीलंका सरकारले त्यो चिहानलाई संरक्षण गरेर राखेको छ ।

यसरी अनेकौं प्रसंगहरु हेर्दा रामायण कुनै पनि हालतमा सत्य र असत्यको लडाईं थिएन । यो त दुई पक्षहरुबीचको अनवरत संघर्षको अर्काे कडी मात्रै थियो । यसमा हार्नेलाई न त दानवीकरण गर्नु जरुरी छ, न त जित्नेलाई देवत्वकरण गर्नु नै । सत्यलाई सत्यकै रुपमा आत्मसात गर्दै सोही अनुसार दशैं मनाउँदा सबैको जय हुन्छ । भारत र श्रीलंकाका कयौं ठाउँहरुमा रावणको मन्दिर बनाइएको छ र दशैंमा भव्य पूजा पनि हुन्छ भने उनलाई किन दानव मान्ने ? त्यसै पनि रावणका पक्षधरहरुले रामलाई कहिल्यै दुष्ट मानेका छैनन् ।

यो पनि पढ्नुहोस्ः

दशैँकाे सम्बन्धमा एक एेतिहासिक तथा भाैतिकवादी दृष्टिकोण – क. रामराज रेग्मी