Nobel Prize Logo
 

१. नोवेल पुरस्कारको पृष्ठभूमिः

नोवेल पुरस्कार संसारकै उत्कृष्ट पुरस्कारको रुपमा लिइएको छ । यो पुरस्कार अल्फ्रेड नोवेलको नाममा स्थापना भएको हो । उनको जन्म २१ अक्टोबर १८३३ मा भएको थियो भने १० डिसेम्बर १८९६ मा उनले ६३ बर्षको उमेरमा संसार छोडेका थिए । उनि स्वीडेनमा जन्मेका हुन र उनी स्वीडेनी रसायनशास्त्री, इन्जिनियर, आविस्कारक, व्यावसायी र समाजसेवी समेत भनेर प्रख्यात थिए ।

आफ्नो जीवनकालमा उनले धेरै आविस्कारहरु गरे जसमा विभिन्न ३५५ को पेटेण्ट अधिकार नै प्राप्त गरिसकेका थिए । खास गरेर उनको आविस्कारमा डाइनामाईट जस्तो भयानक विस्फोटक बस्तुको नामवाट उनी प्रख्यात भएका हुन् । यसरी उनले उत्पादन गरेको डाइनामाईट हिरा तथा सुन खानी खन्ने र पुरातात्विक वस्तुको खोजी गर्न जमिनमा विस्फोट गराउने उदेश्य थियो । तापनि यसको प्रयोग विभिन्न देशका सरकारले सुरक्षा, युद्ध सामग्रीको रुपमा प्रयोग हुँदा उनको व्यापार ज्यादै फस्टायो र प्रशस्त आम्दानी गर्न सकेका थिए ।

अल्फ्रेड नोवेलले आफ्नो जीवनमा धरै संघर्ष गरे उनका बाबु पनि इञ्जिनियर भएको र आफ्नै उद्योगमा हतियार तथा विस्फोटक पदार्थहरु उत्पादन गरिरहेका थिए । उनको तीक्ष्ण प्रतिभा र काममा निरन्तरताको कारण वनेर प्रसस्त आविस्कारहरु गर्ने प्रयाशः सबै जसो सफल भए । यसबाट उनले धेरै धन कमाए ।

Shiva Adhikari Shiba Adhikari Darhi shiba
लेखक

उनको पारिवारिक जीवन व्यवस्थित भएन । नोवेल जीवनभर अविवाहित नै रहे । परन्तु उनका तीनवटा प्रेमिका भएको कुरा पढ्न पाइन्छ । पहिलो प्रेमिका अलेक्जेण्डर नामकी रसियन महिला थिइन, दोश्री अस्ट्रोबोहेमियन काण्टेश बेचतजब बेर्था किङ्की उनकी  सेक्रेटरी थिइन, त्यसपछिकी बारोन अर्थर गुण्डाकार भोन सट्नरसित पनि नोवेलको विवाह हुन सकेन । यद्यपि उनीसँग अन्तिम समयसम्मको पत्राचार सम्वन्धको प्रभावले नै हुनुपर्छ, ती महिलाले सन् १९०५ मा ले डाउन याेर आर्म्स  नामको किताब लेखेर नोवेलको चाहना अनुसार शान्ति स्थापना गर्न योगदान गरेकोले नोवेल फाण्डेशनले शान्ति पुरस्कार प्रदान गरेको भनिन्छ । उनका कोही सन्तान थिएनन । यसैले हुनुपर्छ उनले आफूले आर्जन गरेको सम्पत्तिको ९४ प्रतिशत अथवा ३१ मिलियन स्विडिस क्रोनरको राशी पाँच विषयमा योगदान गर्ने विश्वविख्यातलाई पुरस्कार दिने गरि फाउण्डेशनलाई दिएका थिए । यो रकम सन् २००८ को मूल्यमा १८६ मिलियन अमेरिकी डलर हो भन्ने उल्लेख भएको पाइन्छ ।

नोवेल फाउण्डेशन स्वीडेनमा निजी संस्थाको रुपमा २९ जुन १९०० मा स्थापना भएको हो । स्थापनाकालदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको यो संस्थाले सन् १९०१ देखि भाैतिक शास्त्र, रसायनशास्त्र, शान्ति, चिकित्साशास्त्र र साहित्यमा पुरस्कार दिन शुरु गरेको हो । सन् १९६९ देखि भने आर्थिक क्षेत्रमा विशेष योगदान गर्नेलाई समेत यो पुरस्कार दिने घोषणा गरेर जम्मा ६ विधामा अहिले यो पुरस्का दिने गरिएको छ ।

सन् १९०१ देखि २०१८ सम्म ५९० पटक र व्यक्ति तथा संस्था गरी ९३५ जनालाई यो पुरस्कार प्रदान गरिसकिएको छ । कुनै व्यक्तिले दुईपटक पुरस्कार पाएको हिसाब गर्दा व्यक्तिगत रुपमा पुरस्कार पाउने ९०४ जना छन् भने २४ संस्थाले संस्थागत रुपमा पुरस्कार पाइसकेका छन् । परन्तु यति धेरैको संख्यामा र यति धेरै पटक पुरस्कार दिइरहँदा पनि नेपालजस्तो अकंण्टक स्वतन्त्र देशको कुनै पनि व्यक्ति वा संस्थाले  आज सम्म सो पुरस्कार नपाउनु वा पाउन योग्य नहुनु सुखद कुरा होइन ।

२. नेपाल र नोवेल पुरस्कार

नेपालकै कुरा गर्ने हो भने के यो देश नोवेल पुरस्कार प्राप्त गर्न कहिल्यै योग्य नहुने देश हो त ? के यो देशका मान्छेले केही पनि पुरस्कार दिन योग्य काम गरेका छैनन त ? यो प्रश्न नेपाली जनमानसमा सधैँ खुल्दुलिको रुपमा उठिरहने गर्छ ।

Map of Nepal, Maile Bujhna Nasakeko Desh
नेपाल

साहित्यकारकै कुरा गर्ने हो भने लक्ष्मी प्रसाद देवकोटा बेजोडका साहित्यकार थिए । त्यस्तै पारिजात चर्चित साहित्यिक हस्ती थिइन । यति मात्र नभएर अरु पनि साहित्यकार आज तेजिला बनेर उपस्थित भएका छन् । आविस्कारक भन्ने हो भने नेपाल जस्तो कतै पहुँच नभएको देशमा गेहेन्द्र समशेरले मेशिन गन बनाएर अर्को चमत्कार गरेका थिए । राजनीतिकस्तरमा त्यस्तै बेजोडका हस्तीहरुले आफ्नो जीवन बलिदान गरिरहेहो इतिहास नेपालको पनि छ । त्यसमा पनि जनयुद्ध जस्तो कठोर बलिबेदीमा होमिएर नेपालका युवाहरुको नेतृत्व गर्दै पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशमा संघीय गणतन्त्र प्रणाली स्थापित गर्ने सफलता प्राप्त गरेका छन् । के यो सामाजिक राजनीतिमा गतिलो उदाहरण हैन र ?

३. क. प्रचण्ड र नोवेल पुरस्कार

क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा महत्त्वपूर्ण योगदान गरे भनिरहँदा नेपालका केही स्वघोषित बुद्धिजीवीहरूको जमात आक्रामक पनि हुनसक्छ । यद्यपी क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठाउँमा आफै रहेर यो अभियान सफल बनाएका भए साच्चै विश्वमै यो उपलब्धिपूर्ण थियो भनेर दावा गर्ने उनीहरुनै हुने थिए । किनभने जीवनभर एउटा बौद्धिक क्षमता भएको विद्वान युवाले सरकारी जागिरमा रहेर उच्च पद हासिल गर्न सक्थ्यो । राजनीति नै गर्दा पनि जनतालाई धोखा दिएर आजीवन आफू उच्च पदमा रहिरहनु त्यस्तो युवाका लागि कुनै नौलो कुरा थिएन । तथापि देशमा प्रतिबन्धित राजनीतिक पार्टी संगठनमा लागेर निरङ्कुश एकदलीय व्यवस्थालाई चुनौति दिने लहरमा खरो उत्रने व्यक्तित्व अथवा नेता प्रचण्ड नै हुन् ।

विद्यार्थीकालदेखि सरकारको स्वेच्छाचारी शासन विरुद्ध कडा उत्रिएर चुनौति दिँदै रहेका क. प्रचण्डले २०४६ सालको संसदीय व्यवस्थाको पुनःस्थापनालाई उपलब्धि ठानेनन् । यसको विरुद्धमा वास्तविक रुपमा जनतालाई स्वतन्त्र बनाउनका लागि देश विकास अभियानमा अवरोध बनेको गुटगत संसदीय राजनीतिको समाप्ति नै उनको अभिष्ट थियो ।

संसदीय व्यवस्था र यसको संरक्षक राजसंस्थालाई चुनौति दिँदै गणतन्त्र स्थापनाका लागि २०५२ साल फागुन १ गतेदेखि नै यसपूर्व राखिएका ४० सूत्रीय माग पुरा नगरेकोले सरकारसँग आमने सामने भएर लड्ने ताकतकासाथ सशस्त्र युद्धको घोषणा गरेर युद्धमा होमिए । शुरुकै अवस्थादेखि हजारौँ युवालाई आकर्षित गरेर कठोर बलिदानीपूर्ण संघर्षको नेतृत्त्व गरिरहेका प्रचण्डमाथि देशी/विदेशी प्रतिकृयावादी शक्तिको कठाेर षडयन्त्रले घेरिरहेको थियो ।

सरकारले अनेकौँ ताकत लगाएर उनलाई समाप्त गर्न खोजे पनि प्रचण्डले जनताको निमित्त निरन्तर लडिरहे । यसै क्रममा जनसेनाका हजारौँ युवाले बलिदान हुनुपरेको थियो भने सरकारीतर्फका सिपाहीहरुले पनि ज्यान गुमाइरहेका थिए । यसरी युद्ध चलिरहेकै बेला तत्कालिन सरकारले प्रचण्ड लगायत माओवादी नेताहरुको ‘टाउकाको मोल’ तोकेर हत्या गराउने षडयन्त्र पनि गरेको थियो । यो अवस्थालाई समेत बडो चतुर्याइँपूर्वक नेतृत्व गरेर आफू सधै सुरक्षित रहनु पनि सानो कुरा थिएन ।

Comrade Prachanda, Chairman of the Communist Party of Nepal (NCP)
अध्यक्ष प्रचण्ड

यसैबिच वार्ताको निमित्त लचकता देखाउँदै अत्यन्त कुशलतापूर्वक युद्धको नेतृत्व गरिरहेका प्रचण्ड कहिल्यै विचलित भएनन् । सरकारले ‘टाउकाको मूल्य’ तोकेर युद्धरत सिपाहीहरुबाटै उनी र उनका सहयोद्धा नेतृत्वलाई मार्ने षडयन्त्र गरेकै हो । अपितु प्रचण्डको निमित्त होइन, देशका लागि लडिरहेका युवा सिपाहीहरु कहिल्यै विचलित भएनन् । युवाहरुलाई उनले अत्यन्त आत्मीयताका साथ आफ्नो विश्वासमा लिएका थिए ।

कहिले जनताकाे बिचमा रहँदै त किहले भूमिगत हुँदै, कहिले बाहिर निस्कँदै त कहिले भूमिगत हुँदै,  खाई नखाई, न भोक न निन्द्राको अवस्थामा लडिरहने हजारौँको संख्याका युवा सिपाहीहरु र लाखौँ जनताको समर्थ उनीमाथि उर्लिंदै गयो । दरबार समेत यो अवस्थावाट पछि हटेर राजा विरेन्द्रले गोप्य रुपमा वार्ताको वातावरण बनाउँदै रहेको अवस्था पनि बाहिर आयो । यसैबेला एउटा भलाद्मी राजाको छबी बनाएका तत्कालीन राजा विरेन्द्र शाहलाई अब प्रचण्डसँग गद्दीत्यागको बाटोमा जाने भयो भनेर सबै प्रतिकृयावादी शक्ति मिलेर वंशनाश गरियाे । अहिले उनका भाइ ज्ञानेन्द्र भने गद्दीच्युत हुनुको बाबजुद पनि अझै केही पाइन्छ कि भनेर ताउर माउर गरिरहेका छन् ।

जनयुद्ध व्यापक बन्दै गयाे । सरकार सेनाको ब्यारेकसम्म थाम्न नसक्ने अवस्थामा पुग्यो । राजीतिक अवस्था विकराल बन्न पुग्यो । अाखिर सरकार हार खाएर दमनको नीतिबाट ओर्लन वाध्य हुनुपरेको अवस्था वन्यो । यसै आधार भूमिलाई अझ गोडमेल गर्न गद्दीको उपहार प्राप्त गरेका ज्ञानेन्द्रले सवै दललाई दबाउने रणनीति लिएपछि वाहिरी दलको सहित संयुक्त सहयोगमा २०६२/६३ को अर्को जनआन्दोलनपछि गणतान्त्रिक बातावरण बनेको हो । यसपछि पनि प्रचण्ड भूमिगत हुँदा र तर्यसपछि बाहिर खुला राजनीतिमा आउँदा पनि तेत्तिकै तेजिलो बनेर नेतृत्व गरिरहे । उनले सरकारको दुई पटकसम्म नेतृत्व गरेर विभिन्न सुधारका कार्यक्रम ल्याउनुकासाथै संविधान सभाबाट संविधान लेखन र घोषणा गराउन समेत सफलता प्राप्त हुनु देशका लागि उनको एउटा महत्त्वपूर्ण याेगदान रह्यो । यो नेपाली जनताले प्रचण्डकाे नेतृत्त्वमा र आफ्नो समेत सहभागितामा आफ्नै जीवनकालमा प्राप्त गरेको एक अमूल्य उपहार हो ।

संविधानको घोषणपछि उनी देशका अझ चम्किला नक्षेत्र बन्न पुगे । संविधान अनुरुप तीन तहको निर्वाचनकै क्रममा कम्युनिष्ट पार्टीलाई एकीकरण अभियानमा पुर्‍याएर नेपाली जनतालाई मात्र होइन विश्वलाई नै चकित बनाउने कामलाई सफलतापूर्वक नेतृत्व दिइरहे र अहिले उनकै नेतृत्वले ठूलो महत्त्व ग्रहण गरिरहेको छ ।

अहिले दुई तिहाई बहुमत प्राप्त सत्ताशीन पार्टीको नेतृत्व गरिरहेका प्रचण्डकै युद्धकालिन सबै एजेण्डा सफल भएका छन् । संविधान सभाबाट संविधान लेखन, संघीयता, गणतान्त्रिक व्यवस्था, समावेशिता, धर्म निरपेक्षता जस्ता सबै मागहरु प्रचण्डकै नेतृत्वमा युद्ध गरिहेको माओबादी पार्टीकै हुन् । अहिले उनले राखेको मागमा कतै पनि ठेस लागेको छैन ।

युद्धकालिन अवस्थामा कठोर लडाईं लडिरहेको रक्तरञ्जित अवस्थाबाट शान्ति प्रकृयामा आउँदासम्मको सदग्र  नेतृत्व पनि उनकै हातमा छ । जनता अहिले पनि उनलाई नै विश्वास गरिरहेको अवस्थामा छन् । यसको कारण युद्धरत जनसेना समायोजन गरेर हात हतियार बुझाइसकेपछि देशमा पूर्ण रुपमा शान्ति र समृद्धिको कार्यक्रमलाई उनले नै नेतृत्व गरिरहेका छन् । उनले चुनाब जितेको क्षेत्र चितवन साँच्चै सुन्दर बनिसकेको छ । यिनै पृष्ठमूमिमा रहेर कृयाशील हुने नेता सायद संसारले भेट्टाउन निकै कठिन हुन्छ । किनभने छापामार युद्ध देखि चुनावी माहोलसम्म आएर पनि कहिल्यै विचलित नहुने खरो नेता प्रचण्ड नै हुन ।

४. पूर्वाग्रहीहरुको सोच

प्रचण्डलाई नोवेल शान्ति पुरस्कार दिनुपर्छ भन्दा यो लेखकले यसपूर्व पनि धेरै आरोप खेपेको हो । उनि हत्यारा हुन्, यो पुरस्कार प्रचण्डले पाए त्यो पुरस्कार दिने संस्था नै समाप्त हुन्छ, यो दलाली गरेको हो जस्ता अनेकौँ आरोप खेपेकै हो । यद्यपि प्रचण्डबाट यो लेखकले केही लिनु छैन । केही जिम्मेवारी पाएमा पनि आफ्नो क्षमताकै कारण हुनसक्छ ।

अब नेपालका लागि नै सोच्नुपर्छ । नेपाललाई विश्वमै चर्चित र चमत्कारिक भूमिकाबाट सम्पन्न भएको देशको रुपमा उठाउनु पर्छ । यदि नेपालबाट विश्व शान्तिको अभियान शुरु नगर्ने हो भने विश्वमै निकट भविष्यले विकराल मानवसंहारको घटना बेहोर्नुपर्ने अवस्था टाढा छैन । यो शान्तिका अग्रदूत गौतम बुद्धको देश हो । यसलाई सार्थक बनाउन प्रचण्ड जस्ता नेतृत्वमा खाँटि सुधार आउनु पर्छ र प्रचण्डलाई एकोहोरो विरोध गरिरहने पूर्वाग्रही सोच त्यागेर अब नेपाललाई चिनाउन नोवेल पुरस्कार प्राप्त गर्ने अभियानमा सबै एकजुट हुनुपर्छ ।

यहाँ यो नेवेल पुरस्कार प्रचण्डले पाउनुपर्छ भनेर कुरा उठाउनु भनेको राष्ट्रको सम्मानका लागि हो । किनभने के यो पुरस्कार नेपालले चाहिँ पाउनै नहुने हो र ? के अल्फ्रेड नोवेलले अमेरिकी र युरोपेलीहरुकै पोल्टामा परोस् भनेर यो फाउण्डेशन स्थापना गरेर आफ्नो सबै सम्पत्ति दिएका हुन् र ? यो पुरस्कार सन् २०१८ कै लागि प्रचण्डले पाएको भए नेपाल गौरवान्वित बन्ने थियो । यो हुन सकेन तर आउँदो बर्षको यो पुरस्कार नेपालबाट प्रचण्डले पाउनै पर्छ । त्यो नोवेल फाउण्डेशनले पनि उन॥ जत्तिको परिस्कृत व्यक्तित्व पाउन गारो नै पर्छ भन्ने दावा हामी नेपालीको हुनुपर्छ ।

५ . नोवेल पुरस्कार क. प्रचण्डले नै पाउनुपर्ने कारण

क. प्रचण्डले नोवेल पुरस्कार पाउनुपर्ने धेरै कारण छन्, नपाउनु पर्ने कारण बरू कम छन् ।  जहाँसम्म आतंककारी भनिएकालाई दिनुहुन्न भन्ने हो भने यसपूर्व आतंककारी भनिएका याशेर अराफातलाई पनि यो पुरस्कार दिएकै हो । याशेर अराफातले सन् १९९४ मा लेबनान र इजरायल बिचको सम्बन्ध सुधार गर्न गरेको प्रयासको आधारमा उनलाई र इजरायली प्रधानमन्त्री यित्ज्याक रबिनलाई नोवेल शान्ति पुरस्कार दिइएको थियो ।

यी सबै पृष्ठभूमि केलाउने हो भने प्रचण्ड भूमिगत र लोकतान्त्रिक अभ्यासमा पनि उत्तिकै तेजिला बनेर नेतृत्व गरिरहेका छन् । उनको पछिल्लो पटक प्रधानमन्त्रित्वकालमा देशको आर्थिक बृद्धिदर १ प्रतिशत वाट ६.५ प्रतिशत हुनु, चीन तथा भारतसँगको सम्बन्ध सुमधुर बनाउनु, सी चिनफिङ बेल्ट एण्ड रोड अभियानलाई विश्व शान्ति अभियानको रुपमा अगाडल बढाउन सम्झौता गर्नु, देशभर लोडसेडिङ मुक्त गरेर उज्यालो कार्यक्रम सञ्चालन गर्नु, युवाहरुलाई इजरायली प्रविधि सिक्ने मौका प्रदान गर्न इजरायल कृषि तालिममा सहभागी गराउनु, कृषिलाई व्यावसायीकरण गर्ने अभियान देशभर लागु गर्नु, उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्नु, वातावरणीय संरक्षणका लागि बैकल्पित उर्जा कार्यक्रम सञ्चालनमा ल्याउनु, देशभर नमुना गाँउ कार्यक्रम सञ्चालन गरेर श्रोत साधनको उपयोग गर्दै देशलाई औद्योगीकरण अभियानमा अग्रसर गराउने जस्ता विशेष अभियानबाट देशलाई सम्बृद्ध बनाउने मात्र होइन, सार्क क्षेत्रकै प्रतिष्ठाका लागि रातदिन कृयाशील रहने प्रचण्ड जस्तो नेता नोवेल फाउण्डेशनले पाउनु संस्थाकै लागि गर्वको विषय हुनसक्छ ।

नोवेल पुरस्कारको स्थापना विश्व शान्तिको बृहत अभियान थियो भन्ने कुरा स्वयं अल्फ्रेड नोवेलको आविस्कार र उनको व्यावसायिक पृष्ठभूमिले पनि स्पष्ट पारिसकेको छ । उनले डाइनामाइट बनाउनुको उद्देश्य विश्वमा खनिज उद्योग, निर्माण पुनः निर्माण, सामाजिक कल्याण जस्ता अभियानमा आउने आर्थिक अभाव हटाएर समाजिक औद्योगीकरण नै थियो भन्ने कुरा व्यउवहारिक रुपमा स्पष्ट भैसकेको छ । किनभने उनले उत्पादन गरेको विस्फोटक पदार्थ उद्देश्य विपरित प्रयोग भएर राज्य राज्यको जितहारको कारण बन्नु दुःखद कुरा थियो । यसबाट लाखौँलाख जनताको हत्या भएकोले यो विकरालता उनको हृदयमा उकुसमुकुस अवस्थामै थियो । फलस्वरुप उनले आफ्नो सम्पत्ति सबै नोवेल फाउण्डेशनलाई दिनुको अर्थ आउने युगले त्यो त्राशदी बेहोर्नु नपरोस् र राम्रो काम गर्ने र सामाजिक शान्तिका लागि जीवन अर्पण गर्नेहरुलाई प्रोत्साहित गर्नु नै थियो । यद्यपी यो पुरस्कार पश्चिमा शक्तिको क्रुरताभित्र गुम्सिएर वास्तविक योगदान दिने व्यक्तिहरु भन्दा धेरै टाढा राखिएको छ ।

अब प्रचण्डले यो पुरस्कार किन पाउने भन्ने विषयलाई हेर्दा प्रचण्ड जीवनभर संघर्षरत रहे, सामाजिक -आर्थिक परिवर्तन र सामाजिक सम्पन्नताका लागि । यसका लागि राजनीतिक सुधार नै जरुरी थियो । यसका लागि जनसेना गठन गरे, निरङ्कुश साशन विरुद्ध लड्नै पर्ने बाध्यता थियो । शब्दले नमान्नेलाई बज्र नै हान्नुपर्छ भन्ने भनाई पनि यो अवस्थामा स्मरण गर्न सकिन्छ । यो युद्धमा आमने सामने भएर उनले त्यो शक्तिलाई परास्त गरेकै हुन् । कसैले नेपालमा आजको राजनीतिक व्यवस्था ल्याउन उनको भूमिकै थिएन भन्नु भनेको घाम लागेको बेलामा अँध्यारो भयो भनेर टुकी बाल्नु जतिकै हो ।

उनी संवेदनशील व्यक्ति हुन् । उनले जे गरे देशका लागि गरेको हो भन्ने कुरा संघर्षको इतिहासले पनि बताइरहेको छ । एउटा सामान्य परिवारमा जन्मेर शैक्षिकस्तरमा उत्कृष्टता हासिल गरेको व्यक्ति जागिरे जीवनमा प्रवेश गर्न सक्थ्यो । तर आफ्नो सबै सुख समृद्धिलाई बेवास्ता गरेर परिवारै भूमिगत गराउन सक्नु उनको विशेष क्षमता हो । सिङ्गो परिवारनै उनले युद्धमा होमिदिए । त्यस अवस्थामा उनी र उनका सबै परिवार मारिन पनि त सक्थे नि । त्यो त्यागलाई कम आँकलन गर्नेले आफ्नो योगदान पनि त हेर्नुपर्छ ।

नोवेलकै जस्तो प्रचण्डको सामाजिक आर्थिक जागरणको अभियान थियो उनले शुरु गरेको जनयुद्ध । किनभने उनले नचाहँदा नचाहँदै पनि यो अभियान युद्धको कठोर घटना क्रममा प्रवेश गर्ने बाध्यता थियो । यो युद्धमा दुवै पक्षबाट मानिसहरु मारिए, जनधनको क्षति भयो । यसमा उनी संवेदनशील छन् र त्यो क्षति छिटोभन्दा छिटो पुरा गर्न देशको समृद्धिमा उनी लागेका छन् । युद्धमा नभए पनि कारणवस उनले छोरी गुमाए, छोरा गुमाए पनि, देशका लाखौँलाख युवालाई आफ्ना छोरा छोरी हुन् भन्ने पवित्र उद्देश्यका साथ सबैलाई राष्ट्रनिर्माणको अभियानमा सामेल गराउन उनी आतुर छन् । सबै घटनाक्रमलाई हेर्दा प्रचण्ड विश्व सामाजिक आर्थिक सुदृढीकरण अभियानका उदाहरणीय पात्र हुन् ।

यिनकै नेतृत्वलाई उदाहरण बनाएर विभिन्न देशमा देखा परेका द्वन्द्वको समाधान गरे विश्व शान्ति कायम गरेर संसारलाई नै मानवीय समृद्धि र अमन चैनको क्षेत्र बनाउन सकिन्छ । यसै कारण पनि हामीले कुनै नेता अगाडि आएको छ र उनीमा केही कमजोरी छ भने पनि त्यो कमजोरीलाई निराकरण गरेर त्यस्ता व्यक्तिलाई सबल बनाउन हामी सबैले आफ्नो कर्तव्य ठान्नुपर्छ । त्यसैले प्रचण्डलाई प्रोत्साहन गर्नु भनेको उनमा रहेका सहि सोचलाई अझ सुदृढ बनाउनु हो, थप जिम्मेवारीवोध गराउनु पनि हो ।

यो काममा कोही पछि नपरौँ र नेपालका लागि नोवेल पुरस्कार लिने वातावरणका लागि सबै कोणवाट प्रयास गरौँ । अहिले यो अवस्थामा नोवेल पुरस्कार पाउने संभावना भएको व्यक्तित्व प्रचण्ड बाहेक अरु कोही देखिँदैन ।