क. फिडेल क्यास्ट्राे Fidel Castro Ruz
 

मेरा विचारमा भूमण्डलीकरण कसैको सनक होइन । यो कसैको आविष्कार पनि होइन । भूमण्डलीकरण इतिहासको नियम हो । यो उत्पादक शक्तिहरूको विकासको परिणाम हो । यो वैज्ञानिक र प्राविधिक विकासको परिणाम हो ।

यो कुनै नयाँ चीज होइन । यो पहिला पनि हुँदै आएको हो । अहिले यसमा नयाँ कुरा के छ भने यो नवउदारवादी भूमण्डलीकरण हो, जसले संसारका सारा देशहरूलाई व्यक्तिगत सम्पत्तिमा परिवर्तन गर्न चाहन्छ । यसको पछाडि साम्राज्यवादीहरू छन्, जसको नाइके अमेरिका हो । तिनीहरूले सारा संसारलाई लुटेर, त्यसको शोषण गरेर, अपार धन सञ्चय गरेका छन्, जसले तिनीहरू पुरै विश्वका प्राकृतिक संशााधनहरू, कारखानाहरू, सम्पूर्ण सञ्चार व्यवस्था र सेवाहरू आदि किन्छन् । तिनीहरूले सारा संसारभर जग्गाजमिन पनि किनिरहेका छन्, किनकि अरू देशहरूमा जग्गाजमिन तिनीहरूको देशको तुलनामा अत्यन्तै सस्तो छ र तिनीहरूले यसलाई भविष्यका लागि राम्रो लगानी ठानेका छन् ।

मलाई आश्चर्य लाग्छ, आखिर तिनीहरूले हामीलाई के बनाएर छोड्लान् ? हाम्रै देशहरूमा हामी दोस्रो दर्जाका नागरिक बनाइने छौँ ? या अझ उचित शब्दको प्रयोग गरौँ त – दास ? तिनीहरू सम्पूर्ण संसारलाई खुला व्यापार क्षेत्र बनाउन चाहन्छन् । खुला व्यापार क्षेत्र त्यो ठाउँ हो, जहाँ तिनीहरूले कर दिनु पर्दैन, जहाँ गरिबीको कारण सस्तोमा मजदुरहरू पाइन्छन् । जहाँ तिनीहरूले कच्चा पदार्थ र मेसिनका पाटपुर्जाहरू ल्याएर कारखानाहरू लगाउँछन् र थरीथरीका वस्तुहरू उत्पादन गर्छन् । तिनीहरूले ती वस्तुहरू आफ्नो देशमा उत्पादन गर्न लागि जति मजदुरी दिनुपर्छ, त्यो भन्दा धेरै कम – कहिलेकाँहि त केवल पाँच प्रतिशत मात्रै – दिएर यहाँका मजदुरहरूबाट उत्पादन गर्छन् ।

अझ बढी निराश बनाउने कुराः तिनीहरू हाम्रा देशहरूमा आपसी प्रतिस्पर्धा गराउँछन् कि हामीमध्ये कसले उनीहरूलाई ज्यादा फाइदा दिलाउन सक्छ, कसले उनीहरूलाई उनीहरूको लगानीमाथि करमा कति धेरै छुट दिन्छ । तिनीहरूले तेस्रो विश्वका धेरैजसो देशहरूलाई यस्तो आपसी प्रतिस्पर्धामा फसाइदिएका छन् कि कुन देशले आफ्नो देशमा उनीहरूको पुँजीको लगानी गराउनका लागि आफू कहाँ कति धेरै खुला व्यापार क्षेत्रहरू बनाउन तयार छ ? तिनीले धेरैजसो देशहरूको गरिबी र बेरोजगारीको फाइदा उठायँदै तिनीहरूलाई आफ्नो खुला व्यापार क्षेत्र बनाउन बाध्य गराउँछन् । यसबाट तिनले जुन विशाल मुनाफा कमाउँछन्, त्यसैले हरेक कुरा किन्न थाल्छन् । जमिनदेखि लिएर पानीजहाज र हवाईजहाजका सेवासम्म । हरेक कुरा, जो ती देशका जनताको आफ्नो सम्पत्ति हुन्छ !

नवउदारवादी भूमण्डलीकरणको कारणले तेस्रो विश्वका देशहरूको भविष्य केवल यस्तै हुन सक्छ । तर यो नसम्झनुस् कि यो भविष्य केवल मजदुरहरूका लागि हो । तेस्रो विश्वका देशहरूका राष्ट्रिय पुँजीपतिहरूदेखि लिएर मध्यम तथा साना पुँजीपतिहरूसम्मको भविष्य यही हो, किनकि उनीहरूले पनि ती बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ, जोसँग अथाह पुँजी छ, सुदृढ प्रविधि छ, वितरणको विश्वव्यापी सञ्जाल छ । फेरि, तिनीहरूलाई व्यापारिक ऋण प्राप्त गर्ने ती सुविधाहरू पनि सुलभ छैनन्, जो ती कम्पनीहरूलाई छन् ।

उदाहरणका लागि, मानौँ, तेस्रो विश्वका देश रेफ्रिजरेटर (फ्रिज) बनाउँछन्, जो गुणस्तरको दृष्टिले स्वीकार्य र सस्तो मूल्यका समेत हुन्छन् । तर के तिनीहरू रेफ्रिजरेटर बनाउने ती बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् त, जो निरन्तर रूपमा आफ्नो प्रविधिलाई सुधार गरिरहन सक्छन्, आफ्ना डिजाइनहरूलाई नयाँ नयाँ बनाइरहन सक्छन्, आफ्नो फ्रिजको विज्ञापन तथा आफ्नो ट्रेडमार्कको प्रतिष्ठाका लागि ठुलो ठुलो रकम लगाउन सक्छन् र जो आफ्नो फ्रिज संसारका ती खुला व्यापार क्षेत्रहरूमा बनाउन सक्छन्, जहाँ उनीहरूलाई कर तिर्नु पर्दैन र मजदुरहरूलाई अत्यन्तै थोरै ज्याला दिए पुग्छ । तिनीहरूसँग आफ्नो विशाल पुँजी त हुन्छ नै, तिनीहरूले यस्ता वित्तीय तरिकाहरू पनि निकालेका हुन्छन् जसबाट तिनीहरूलाई एक, दुई वा तिन वर्षका लागि व्यापारिक ऋण सजिलैसँग मिल्न सक्छ । यस्तो अवस्थामा राष्ट्रिय उद्योगहरूका लागि कुन ठाउँ बाँकी रहन्छ ? उनीहरू प्रतिस्पर्धामा कसरी टिक्न सक्छन् ? उनीहरू आफ्नो फ्रिजको निर्यात कहाँ र कसरी गर्न सक्छन् ? संसारको धेरै ठुलो हिस्सामा त गरिब, बेरोजगार र भोका–नाङ्गा मानिसहरू रहन्छन्, जो उनीहरूको फ्रिजका ग्राहक बन्न सक्दैनन् ।

त्यसो भए के हामीले त्यो बेलासम्म पर्खौं त, जबसम्म संसारका यी तमाम गरिब, बेरोजगार र भोका–नाङ्गा मानिसहरू सबै एउटा फ्रिज, एउटा टिभी सेट, एउटा टेलिफोन, एउटा एयर कन्डिसनर, एउटा कार, एउटा कम्प्युटर, एउटा घर, एउटा ग्यारेज र ग्यास–बिजुली–पेट्रोल आदि किन्न सक्ने बनून् ? साम्राज्यवादीहरूले त हामीलाई हाम्रो विकासको यही बाटो बताउँछन् । तर के तिनीहरूका नवउदारवादी सिद्धान्तकारहरूले कहिल्यै यो भन्न सक्छन् कि संसारबाट बेरोजगारी कहिले अन्त्य हुन्छ ? तेस्रो विश्वका जनताको बेरोजगारीको त कुरै छोडिदिऊँ, धनी देशहरूमा जुन बेरोजगारी छ, के उनीहरूसँग त्यो समस्याको समाधान छ ? विकासको यस्तो हास्यास्पद अवधारणाले गर्दा उनीहरूसँग कहिल्यै पनि यसको कुनै समाधान हुने छैन ।

तिनीहरूको व्यवस्थाको अत्यन्तै ठुलो अन्तर्विरोध के छ भने तिनीहरू प्रविधिमा जति धेरै लगानी गर्छन् र जति बढी त्यसको उपयोग गर्छन्, त्यति धेरै बेरोजगारी बढ्छ । मानवीय प्रतिभाले निर्माण हुने अत्यधिक विकसित र परिष्कृत उपकरणहरूले भौतिक सम्पदा त बढाउँछन्, तर साथसाथै गरिबी, विभेद र बेरोजगारी पनि बढाउँछन् । हुनुपर्ने के थियो भने त्यसका कारणले मानिसहरूको कामको घन्टा कम होओस् र उनीहरूलाई आराम गर्न, खेलकुद गर्न र सांस्कृतिक तथा वैज्ञानिक उन्नतिको कार्यहरूमा लाग्नका लागि धेरैभन्दा धेरै समय मिलोस् । तर यो असम्भव छ किनभने बहुराष्ट्रिय कम्पनीका मालिकहरूले बजारका पवित्र नियमहरूको पालना गर्दै यस्तो कहिल्यै हुन दिने छैनन् । नत्र उनीहरूले सस्ता मजदुरहरू कसरी पाउलान् ? खाने, पिउने र ऐस गर्ने ती चीजहरू तिनीहरूलाई कसरी मिल्नेछन्, जुन तिनीहरूले आफ्नो देशमा आफू स्वयंले उब्जाउन वा बनाउन सक्दैनन् ? ती काम गर्ने नोकरहरू कसरी मिल्नेछन्, जसलाई तिनीहरू आफैले गर्न सक्दैनन् वा गर्न चाँहदैनन् ?

A photograph representing Globalisation.
भूमण्डलीकरण

आफ्ना शानदार आर्थिक नियमहरूको मद्दतले तिनले तेस्रो विश्वका जनतासँग के गरिरहेका छन् ? तिनीहरूले धेरै मानिसहरूलाई आफ्नै देशमा विदेशी बनाइरहेका छन् ।

आफ्नै देशमा एउटा वैज्ञानिक, डाक्टर, इन्जिनियर वा शिक्षक तयार गर्नका लागि तिनीहरूलाई धेरै रकम खर्च गर्नुपर्छ । त्यसैले उनीहरूले तेस्रो विश्वका देशका जनताको रगत–पसिनाको कमाइले तयार गरिएका वैज्ञानिकहरू, डाक्टरहरू, इन्जिनियरहरू आदिलाई आफूकहाँ बोलाउँछन् । यहाँ कुरा आफ्नो खर्च बचाउने र अन्य देशहरूका संशाधनहरू लुट्ने मात्रै होइन, बरु के पनि हो भने नितान्त नयाँ प्रविधिहरूबाट निर्मित ती विशाल उद्योगहरू चलाउनका लागि उनीहरू आफूसँग योग्यता नै छैन ।

केही समय पहिले अमेरिकी अखबारहरूमा छापिएको थियो कि अमेरिकाले तेस्रो विश्वका देशहरूबाट अति दक्ष कामदारहरू बोलाउनका लागि दुई लाख प्रवेशाज्ञा (भिसा) दिनेछ किनभने अमेरिकीहरू धेरै पढे–लेखेका हुँदैनन् । उनीहरूमध्ये धेरैजसो यस्ता भेटिन्छन्, जो ब्राजिललाई बोलिभिया वा बोलिभियालाई ब्राजिल सम्झिन्छन् । स्वयम् अमेरिकामा भएका कयौँ सर्वेक्षणहरूबाट के थाहा लागेको छ भने अमेरिकी जनता आफ्नो देशका बारेमा पनि धेरै कुराहरू जान्दैनन् । यहाँसम्म कि जुन ल्याटिन अमेरिकी देशको नाम उनीहरूले सुन्दै आएका छन्, त्यो अफ्रिकामा पर्छ वा युरोपमा ? कतिलाई थाहा छैन । यो कुनै अतिरञ्जना होइन । यही कारणले गर्दा उनीहरूले हाम्रो संसारबाट (तेस्रो विश्वबाट: अनु.) छानी–छानीकन अत्यन्त दक्ष कामदारहरू लैजान्छन्, जो फेरि कहिल्यै आफ्नो देशमा फर्कंदैनन् ।

केवल कामदारहरू मात्रै होइन, तिनीहरूले हाम्रा खेलाडीसमेतलाई लैजान्छन् । तिनीहरूले आज हाम्रा खेलाडीहरूलाई ठिक त्यसरी नै किन्ने गरेका छन्, जसरी पुरानो जमानामा दासहरू किन्ने गर्दथे । फरक यति मात्रै छ कि यिनलाई धेरै मूल्यमा किन्ने गरिन्छ । हाम्रो साधारण खेलाडीले पनि त्यहाँ गएर धेरै पैसा कमाउँछ र धेरै प्रचार पाउँछ । यदि हामीले आफ्ना (क्युबाका) बेसबल खेलाडीहरूको लिलाम बढाबढ गथ्र्यौं भने साँच्चै धनी हुने थियौँ । तिनीहरू अब अमेरिकी बेसबल खेलाडीहरूका लागि पैसा खर्च गर्न चाहँदैनन् । तिनीहरूका लागि ती अब धेरै महङ्गा पर्न जान्छन् । त्यसैले तिनीहरू भेनेजुयला, ग्वाटेमाला, ब्राजिल, अर्जेन्टिना आदिमा खेलाडीहरूलाई प्रशिक्षित गर्ने एकेडेमी चलाउँछन् र यहाँका मानिसहरूलाई खेलाडी बनाएर लैजान्छन् । यहाँका मानिसहरूलाई के लाग्छ भने उनीहरू लाखौँ कमाइरहेका छन् र मिडियामा छाएर सारा संसारमा प्रसिद्धि कमाइरहेका छन्, तर उनीहरूलाई यो थाहा हुँदैन कि अमेरिकी खेलाडीहरूको तुलनामा उनीहरूलाई अत्यन्तै थोरै मात्रै पारिश्रमिक दिइएको छ र उनीहरूलाई विज्ञापनमा बेचेर त्यसभन्दा धेरै बढी पैसा कमाइँदै आएको छ ।

अमेरिकी संस्कृतिको विशेष कुरा हो अमेरिकी टेलिभिजन । मैले त्यसलाई एकदम कम हेर्छु र जब हेर्छु सहनै सक्दिनँ किनभने प्रत्येक तिन मिनेटमा विज्ञापन आउन थाल्छ । क्युबामा हामी टिभीमा देखाउनका लागि केही टेलिशृङ्खला (सोप अपेरा) बाहिरबाट खरिद गर्छौं । तर ल्याटिन अमेरिकी देशहरूमा बनेका टेलिशृङ्खलाहरू क्युबाली जनतालाई कति आकर्षक हुन्छन् भने तिनलाई हेर्नका लागि कयौँ मानिसहरूले आफ्नो कामधन्दा नै बन्द गरिदिन्छन् । यसरी नै ल्याटिन अमेरिकी देशहरूमा कयौँ राम्रा चलचित्रहरू बन्छन् । तर संसारभरि अमेरिकी चीजहरू चल्छन् – डिब्बाबन्दी संस्कृति ! हाम्रो देशमा कागजको कमी छ, त्यसैले हामीले कागजको उपयोग धेरैजसो पाठ्यपुस्तकहरू र थोरै पृष्ठ भएका अखबारहरू छाप्नमा गर्दछौँ । जबकि पुँजीवादी देशहरूमा धेरै पृष्ठ भएका र रङ्गीन तस्बिरयुक्त चिल्ला पत्रिकाहरू छापिन्छन्, जसलाई गरिब देशका मानिसहरूले पढ्छन् र तिनमा छापिएका विज्ञापनहरूको माध्यमबाट पुँजीवादद्वारा देखाइएको स्वर्गको सपना देख्छन्, जुन उनीहरूलाई कहिल्यै प्राप्त हुँदैन ।

तिनीहरूले हामीलाई सपना देखाउँछन् । तिनीहरूले हामीमा इच्छा जगाउँछन् कि हामीमध्येका हरेक व्यक्तिसँग एउटा कार होस् । अर्थात् बङ्गलादेश, भारत, इन्डोनेसिया र चीनका प्रत्येक घरमा एउटा कार होस् । यसैलाई तिनीहरू विकास भन्दछन् । तर के यस्तो विकास कहिल्यै सम्भव छ ? मानिलिनोस्, यस्तो कुनै तरिकाले सम्भव भइहाल्यो भने के होला ? यदि चीनको प्रत्येक घरमा एउटा कार भयो भने त्यहाँको सबै उर्बर जमिन (कृषि भूमि) सडक, पेट्रोल पम्प र पार्किङ क्षेत्रका लागि यसरी परिणत हुनेछ कि त्यहाँ धानको एक गेडा पनि उब्जाउन सकिने छैन । अतः तिनीहरूले संसारमाथि जुन उपभोक्तावाद लादिरहेका छन्, त्यो केवल पागलपन हो, बकवास हो । यसको अर्थ के होइन भने यो संसार तपस्वीहरूको आश्रम (तपस्या गर्ने ठाउँ) बन्नुपर्छ । सुख–सुविधाका चीजहरू हुनुपर्छ, तर उपभोगको मापदण्ड पनि हामीले नै बनाउनु पर्छ । अन्यथा यो पृथ्वी मनुष्यहरू बस्नयोग्य रहने छैन ।

उदाहरणका लागि, उपभोगका वस्तुहरूमा गाडीलाई नै किन आवश्यक ठानिएको छ ? किन किताबलाई त्यस्तो ठानिएको छैन ? आजको विश्वमा किताब पढ्ने मानिसहरूको सङ्ख्या दिनप्रतिदिन घट्दै छ । आखिर मानिसहरूलाई पढाइको सुखबाट अर्थात् संस्कृति र मनोरञ्जनको क्षेत्रबाट प्राप्त हुने सन्तुष्टिबाट किन वञ्चित गरिँदै छ ? के मानवका लागि भौतिक सम्पदा मात्रै जरुरी छ, आत्मिक समृद्धि जरुरी छैन ?

यसका बारेमा के तर्क दिइन्छ भने आजको मानवसँग आत्मिक समृद्धिका लागि समय कहाँ छ ? तर म भन्छु कि स्त्री–पुरूषहरूका लागि आठ घन्टा नै काम गर्नु किन आवश्यक छ ? यदि हामीसँग हाम्रो उत्पादकत्व बढाउन सक्ने यति धेरै प्रविधिहरू छन् भने आठ घन्टाको सट्टा चार घन्टा मात्रै काम गरे हुँदैन ? यसरी बेरोजगारीको पनि अन्त्य हुनेछ र मानिसहरू फुर्सदिला पनि हुनेछन् ।

जब मानिसले आफ्नो विवेकले मानवताको खुसियालीका लागि नयाँ नयाँ प्रविधि र तरिकाहरू विकसित गरेको छ भने मानिसहरू दिन–रात पैसा कमाउने चक्करमा मात्रै किन परिरहन्छन् ? भोका, बिरामी र बेरोजगार किन रहने ? ज्ञान, विज्ञान, संस्कृति र अरू मानवीय कुराहरूबाट किन वञ्चित रहने ? त्यो केही विशेषाधिकारप्राप्त र शक्तिशाली अभिजात वर्गको व्यावसायिक लाभ वा मुनाफाका लागि ती पागल बनाउने खालका आर्थिक नियमहरू अनुसार किन जिउनु ? ती कहिल्यै शाश्वत् या अपरिवर्तनीय थिएनन् । ती परिवर्तन भइरहेका छन् र ती परिवर्तन हुने निश्चित छ ।

तिनीहरूले गाडी बनाउने क्षमता दुई गुना गरिदिएका छन् । यसबाट जुन गाडीहरू बन्नेछन्, तिनलाई कसले किन्ला ? तिनका ग्राहकहरू तेस्रो विश्वका देशहरूमा खोजी गरिनेछ । त्यहाँका मानिसहरूलाई विकसित पुँजीवादी देशहरूको संस्कृति अनुसार जिउने आवश्यकता व्याख्या गरिएका अनेकौँ विज्ञापनका माध्यमद्वारा यो बताइँदै छ कि प्रत्येक घरमा एउटा गाडी हुनु जरुरी छ । तर जहाँ मानिसहरूसँग खानका लागि रोटी छैन, त्यहाँ गाडी कसले किन्ने ? तिनै थोरै मानिसहरूले, जो धनी छन् । तर यदि ती थोरै धनी मानिसहरूको पनि हरेकको घरमा गाडी भयो भने त्यहाँ यति धेरै गाडी हुनेछन् कि उत्पादनका साधनहरू र पर्यावरण नष्ट हुनेछ । यति मात्रै होइन, सामाजिक विकासका लागि आवश्यक सीमित स्रोत–साधनहरू पनि गाडी किन्ने, तिनका लागि सडक बनाउने र पेट्रोल किन्ने लगायतका काममा नै खर्च हुनेछ ।

औद्योगिक देशहरूले तेस्रो विश्वका मानिसहरूको मनमा असम्भव सपनाहरूको बिउ रोपिदिएर मानवजाति र पृथ्वीका लागि भयङ्कर खतरा उत्पन्न गरिदिएका छन् । पुँजीवादी व्यवस्थाले वातावरणमा विष भरिदिएको छ र त्यसले ती प्राकृतिक संसाधनहरूलाई नष्ट गरिरहेको छ जसलाई एक पटक उपयोग गरेपछि पुनरुत्पादन गर्न सकिँदैन । जबकि भविष्यका लागि ती अत्यन्तै जरुरी छन् र तिनलाई संरक्षण गर्नु आवश्यक छ । यो आजको केवल एउटा विचार वा अवधारणा मात्रै होइन, बरु ठोस वास्तविकता हो । पुँजीवाद असमानतामा टिकेको हुन्छ । तर जब पृथ्वीमा बस्ने ८० प्रतिशत मानिसहरू त्यसको कारणले दुःखी हुन्छन्, त्यतिबेला यो व्यवस्था चल्न सक्दैन । त्यसैले हामीलाई यस्ता विचारहरू तथा यस्ता अवधारणाहरूको आवश्यकता छ, जसका आधारमा चल्न सक्ने, टिकाउन सकिने एउटा सुन्दर संसार निर्माण गर्न सकियोस् ।

Globalization
भूमण्डलीकरण

आज सवाल यो छ कि सुन्दर संसार कसरी निर्माण गर्ने ? र, यसको जबाफ एउटै छः हामी सबैले र हाम्रा देशहरूले यो नवउदारवादी भूमण्डलीकरणका विरुद्ध एकजुट हुनुपर्छ । यो कठिन काम हो । धेरै नै कठिन । तर यसलाई सहज बनाउन सकिन्छ ।

यदि भूमण्डलीकरणलाई एउटा खराबी मानेर त्यसलाई नष्ट गर्ने बारे सोचियो भने यो काम कठिन मात्रै होइन, असम्भव जस्तो लाग्न थाल्नेछ । र, त्यो वास्तवमा असम्भव नै हुनेछ । त्यसैले हामीले यो सोचेर अगाडि बढौँ कि भूमण्डलीकरण स्वयम्मा कुनै खराब कुरा होइन । भूमण्डलीकरण यस्तो प्रक्रिया हो, जसलाई उल्टाउन सकिँदैन । तर यसलाई बदल्न सकिन्छ । अतः हामीले प्रश्न उठाउनु पर्छ, कस्तो भूमण्डलीकरण ? अर्थात् भूमण्डलीकरण पुँजीवादी नै किन ? समाजवादी किन हुँदैन ?

यो प्रश्न उठिरहेको पनि छ । क्युबामा हामीले विभिन्न देशका ६०० अर्थशास्त्रीहरूको एउटा सम्मेलन गर्यौँ । त्यसमा हामीले हरेक किसिमका विचारधाराका अर्थशास्त्रीहरूलाई बोलायौँ । हामीले वामपन्थी वा दक्षिणपन्थी किसिमको कुनै सङ्कीर्णतावादी सम्मेलन चाहेका थिएनौँ । तसर्थ हामीले नवउदारवादी पुँजीवाद र भूमण्डलीकरणका समर्थकहरूलाई पनि आफ्नो कुरा खुलेर राख्ने अवसर दियौँ । हामीले वास्तवमा आजको सङ्कटपूर्ण विश्व परिस्थिति र नवउदारवादी भूमण्डलीकरणलाई बुझ्नका लागि फराकिलो र गहिरो तरिकाले सबै प्रश्नहरूमाथि विचार गर्न चाहेका थियौँ । हामीले पाँच दिनसम्म लगातार बहस ग¥यौँ । सम्मेलनमा प्रस्तुतिका लागि सैयौँ कार्यपत्रहरू आएका थिए । ती मध्ये ५५ वटा छानिए र ती सबैमाथि बहस भयो । सबै कार्यपत्रहरू अत्यन्तै रोचक र शिक्षाप्रद थिए ।

मैले सम्मेलनको समापन गर्नुपर्ने थियो । समापनको अवसरमा मैले जुन भाषण दिएँ, त्यसमा मैले अत्यन्त सङ्क्षिप्त रूपमा, टेलिग्रामको शैलीमा र धेरैजसो आफैसँग संवाद गर्दै यो कुरा भनेँ,
“तपाईंहरूको कुरा सुनेर मैले धेरै कुरा सिकेको छु । यहाँ अत्यन्तै धेरै र विविध प्रकारका विचार व्यक्त गरिएका थिए । यहाँ विद्वता र प्रतिभाको असाधारण, स्पष्ट र सुन्दर प्रदर्शन भयो । हामी सबैका आफ्ना विचार र आ–आफ्ना दृढ मान्यताहरू छन् । हामी एक–अर्कालाई प्रभावित गर्न सक्छौँ । अगाडि बढेर हामी एउटै जस्तो निष्कर्षमा पुग्ने छौँ । मेरा दृढ मान्यताहरू हुन्, जुन अविश्वसनीय र अभूतपूर्व भूमण्डलीकरणमाथि यहाँ विमर्श भयो, त्यो एउटा ऐतिहासिक विकासको देन हो । मानव सभ्यताको प्रतिफल हो । जुन केवल ३००० वर्षको छोटो अवधिमा हासिल भएको हो । यसको सुरुवात हाम्रा पूर्वजहरूले गरेका थिए, जो पहिले नै मानवजातिका रूपमा विकसित भएका थिए । आजको मानिस पेरिक्लज, प्लेटो वा अरस्तुभन्दा धेरै बुद्धिमान् छैन र हामीले अहिलेसम्म यो जानेका छैनौँ कि उसमा आजका अत्यन्त जटिल समस्याहरूलाई समाधान गर्न सक्ने खालको बुद्धि छ कि छैन । हामीले प्रश्न उठाइरहेका छौँ कि उसले यो काम गर्न सक्छ या सक्दैन । वास्तवमा यो सम्मेलनमा हामीले यही गरेका छौँ ।”

“एउटा प्रश्न छः के यो प्रक्रिया उल्टाउन सकिन्छ ? मेरो उत्तर छ, जुन मैले आफू स्वयंलाई दिने गरेको छु – सकिँदैन ।

“आजको भूमण्डलीकरण कस्तो प्रकारको हो ? यो – जस्तो कि हामीमध्ये धेरै मानिसहरूले भन्छौँ – नवउदारवादी भूमण्डलीकरण हो । के यो चल्न सक्छ ? सक्दैन । के यो लामो समयसम्म टिकिरहन सक्छ ? बिल्कुल सक्दैन । के यो शताब्दीऔँसम्म चल्ने कुरा हो ? बिल्कुल होइन । के यो केही दशकको विषय हो ? हो, दशकको मात्रै । छिटै नै यसको अस्तित्व समाप्त हुनेछ ।

“के म स्वयम्लाई कुनै पैगम्बर या भविष्यवक्ता (ज्योतिष–अनु.) सम्झिन्छु ? होइन । के म अर्थशास्त्रका बारेमा एकदमै धेरै जान्दछु ? होइन । सायद बिल्कुल जान्दिनँ । तर जुन कुरा मैले भनेको छु, त्यसका लागि जोड–घटाउ–गुणन–भाग जान्नु नै पर्याप्त छ, जुन कुरा बच्चाहरूले स्कुलमा सिक्दछन् ।

“यो परिवर्तन कसरी होला ? मलाई थाहा छैन । के यो हिंस्रक क्रान्तिहरू अथवा विध्वंसक युद्धहरूका माध्यमले होला ? यो त असम्भव, अतार्किक र आत्मघाती लाग्छ । त्यसो भए के यो गहिरो र महाविनाशकारी सङ्कटका माध्यमले होला ? दुर्भाग्यवश यस्तै तरिकाले हुने आशङ्का सबैभन्दा बढी छ । यस्तो हुनु अनिवार्य छ र यो हुनेछ । कयौँ प्रकारका उपायहरूले तथा सङ्घर्षका अनेकौँ प्रकारका रूपहरूको माध्यमले ।

“त्यतिबेला भूमण्डलीकरण कस्तो प्रकारको हुनेछ ? त्यो भूमण्डलीकरण चाहे समाजवादी होस् वा कम्युनिस्ट होस्, अथवा तपाईं त्यसलाई जुनसुकै नाम दिनुहोस् – यस्तो हुनेछ, जुन चल्नेछ ।

“के प्रकृति र त्यसको साथसाथै मानवजाति यस्तो परिवर्तनविना लामो समयसम्म बँचिरहन सक्छ ? सक्दैन, उससँग धेरै समय बाँकी छैन ।

“नयाँ संसारको निर्माता को हुनेछ ? हाम्रो पृथ्वीवासी स्त्री–पुरुषहरू ।

“तिनका हतियार के हुनेछन् ? विचार र चेतना ।

“यी हतियारहरूलाई कसले बनाउने छ ? कसले यिनमा सान लगाउने छ ? कसले यिनलाई अजेय बनाउने छ ? यो सबै तपाईंहरूले गर्नु हुनेछ ।

“के यो युटोपिया (कल्पना) हो ? अत्यन्तै धेरै सपनामध्येको एउटा सपना ? होइन, किनकि यो वस्तुगत रूपले अवश्यम्भावी छ र यसको कुनै विकल्प छैन । यो सपना पहिले पनि देखिसकिएको छ, तर सायद त्यतिबेला समय (ठिक समय आउनु–अनु.) भन्दा अगाडि नै देखिएको थियो ।”

यो पनि पढ्नुहोेस्ः मार्क्सवादी–लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो – क. फिडेल क्यास्ट्रो

(यो रचना क्युबाली क्रान्तिका महानायक तथा तत्कालीन राष्ट्रपति कमरेड फिडेल क्यास्ट्रो रुजले सन् १९९९ मा गणतन्त्र भेनेजुयलाको भ्रमणका क्रममा काराकास विश्वविद्यालयमा दिनुभएको साढे चार घन्टा लामो ऐतिहासिक मन्तव्यको सङ्क्षिप्त भावानुवाद हो – सं.)

(अनुवादकः नहेन्द्र खड्का)