Vladimir Ilyich Lenin
 

सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए ।

पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको चलिरहेको थियो र त्यो समयमा जब, तिनीहरु आफ्नै बिचमा जीवनमरणको संघर्षमा उल्झेका थिए र अक्टोबर क्रान्ति विरुद्धको संघर्षतिर गम्भीरतापूर्वक ध्यान दिनलाई यी दुवै समुहसँग न समय थियो, न त कुनै साधन नै । यो परिस्थिति अक्टोबर क्रान्तिका लागि निकै महत्त्वपूर्ण थियो, जसले गर्दा यसले स्राम्राज्यवादी विश्व भित्र भैरहेको कठोर द्वन्द्वको फाइदा उठाउन र आफ्नो शक्तिलाई सुदृढ तथा संगठिन गर्न समर्थ बनायो ।

दोस्रो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति साम्राज्यवादी युद्धको समयमा शुरु भयो, जब युद्धबाट थाकेका र शान्तिको तिर्सनामा रहेका मेहनतकश जनसमुदाय युद्धबाट मुक्ति पाउने एउटै मात्र विवेकशील मार्गको रुपमा सर्वहारा क्रान्तिको दिशामा अगाडि बढे । यो परिस्थिति अक्टोबर क्रान्तिका लागि अति महत्त्वपूर्ण थियो किनकि यसले त्यसको हातमा शान्तिको बलशाली हतियार थमाइदिएको थियो, सोभियत क्रान्तिलाई घृणित युद्धको अन्त्यसँग जोडेर यसलाई सहज बनाइदिएको थियो र यसले गर्दा पश्चिमका श्रमिकहरु र पूर्वका उत्पीडित जनसमुदायको बिचमा यसका लागि आम सहानुभूति सिर्जना गर्यो ।

तेस्रो युरोपमा शक्तिशाली श्रमजीवी वर्गको आन्दोलनको उपस्थिति र दीर्घकलीन साम्राज्यवादी युद्धको कारणले पश्चिम तथा पूर्वमा एउटा क्रान्तिकारी संकट परिपक्क हुँदै गरेको तथ्य थियो । यो परिस्थिति रुसमा क्रान्तिका लागि अकल्पनीय रुपले महत्त्वपूर्ण थियो किनभने यसले क्रान्तिका लागि विश्व साम्राज्यवाद विरुद्धको संघर्षमा रुस बाहिर समेत भरपर्दा मित्रहरु बनाइदियो ।

Lenin and Stalin
अक्टाेबर क्रान्तिका दुर्इ महानायकहरूः क. लेनिन र क. स्टालिन

परन्तु यी बाह्य खालका परिस्थितिहरुसँगै त्यहाँ केही अनुकूल आन्तरिक परिस्थितिहरु पनि थिए, जसले अक्टोबर क्रान्तिको विजयलाई सहज बनाए । तीमध्ये तपशीलका परिस्थितिलाई मुख्य मान्नुपर्छः

पहिलो, अक्टोबर क्रान्तिले रुसी श्रमिक वर्गको अत्यधिक बहुमतको अत्यन्तै सकृय समर्थन प्राप्त गरेको थियो ।

दोस्रो, यसले गरिब किसानहरु र बहुसंख्यक सैनिकहरुको निसंकोच समर्थनको सुविधा प्राप्त गरेको थियो, जो शान्ति र जमिनका लागि व्यग्र थिए ।

तेस्रो, यसको नेतृत्वमा एउटा मार्गनिर्देशक शक्तिको रुपमा बोल्सेभिक पार्टी जस्तो एउटा अनुभवी र खारिएको पार्टी थियो, जुन यसको वर्षौंको अनुभव र अनुशासनको कारणले मात्रै नभएर श्रमजीवी जनसमुदायसँगको विशाल सम्बन्धको कारणले पनि बलियो थियो ।

चौथो, अक्टोबर क्रान्तिले यस्ता शत्रुहरुको लड्नु परेको थियो जसलाई पराजित गर्न तुलनात्मक रुपले सजिलो थियो, जस्तो कि साह्रै कमजोर रुसी पुँजीपति वर्ग, किसान “विद्रोहहरु” को कारणले पूरै नैतिकबल गुमाइसकेको जमिन्दार वर्ग र सम्झौतावादी पार्टीहरु (मेन्सेविकहरु र सामाजवादी–क्रान्तिकारीहरु), जो युद्धको क्रममा पूर्णतः टाट पल्टिसकेका थिए ।

पाँचौ, यसको छेउछाउमा भर्खरै विकसित हुँदै गरेका राज्यहरुको विशाल क्षेत्र थियो, जहाँ यसले खुला रुपले सैन्य तयारी गर्न, परिस्थिति अनुरुप पछि हट्न, विश्राम लिन र शक्ति आर्जन गर्न आदि सक्दथ्यो ।

छैठौँ, प्रतिक्रान्ति विरुद्ध यसको संघर्षमा अक्टोबर क्रान्तिले मुलुकभित्रै पर्याप्त मात्रामा खाद्यान्न, इन्धन र कच्चामालको स्रोतहरुको व्यवस्था गर्न सक्दथ्यो ।

यी बाह्य र आन्तरिक परिस्थितिहरुको संयोजनले एउटा यस्तो अनौठो परिस्थिति सिर्जना गर्यो, जुन अक्टोबर क्रान्तिको विजयलाई तुलनात्मक रुपले सहजतापूर्वक सम्पन्न गर्न निर्णायक रह्यो ।

यसको अर्थ पक्कै पनि के होइन भने अक्टोबर क्रान्तिका बाह्य र आन्तरिक पृष्ठभूमिमा कुनै प्रतिकूलताहरु थिएनन् । उदाहरणका लागि अक्टोबर क्रान्तिमा केही हदसम्म एक्लोपन, यसको नजिक वा सिमानामा भरपर्दो सोभियत देशको समर्थनको अभाव वा कमीलाई त्यस्ता प्रतिकूलताको रुपमा लिन सकिन्छ । कुनै संशयबिना भावी क्रान्तिले– उदाहरणका लागि जर्मनीमा – यो भन्दा धेरै अनुकूल परिस्थिति पाउने छ किनकि त्योसँग नजिकै छिमेकमा हाम्रो सोभियत संघ जस्तो एउटा शक्तिशाली सोभियत देश छ । मैले अक्टोबर क्रान्तिको एउटा प्रतिकूल विशेषताको रुपमा देशभित्र सर्वहारा (मजदुर) वर्गको बाहुल्यताको अभाव हुनुलाई भनिरहनु नपर्ला ।

अपितु यी प्रतिकूलताहरुले मैले माथि उल्लेख गरेका अक्टोबर क्रान्तिका अनौठा आन्तरिक र बाह्य परिस्थितिहरुको अत्यधिक महत्त्वलाई बढाइदिन्छन् ।

यी अनौठा परिस्थितिहरुलाई एक क्षणका लागि पनि नजरअन्दाज गर्नु हुँदैन । विशेषतः जर्मनीमा सन् १९२३ को हेमन्त ऋतुका घटनाहरुलाई विश्लेषण गर्दा यी परिस्थितिहरुलाई ध्यान दिनुपर्छ । सबैभन्दा बढी, तिनलाई ट्राटस्कीले आफ्नो दिमागमा राख्नु पर्छ, जसले अक्टोबर क्रान्ति र जर्मनीको क्रान्तिको बिचमा अज्ञात विरोधाभास कोर्न खोज्छन् र जर्मन कम्युनिस्ट पार्टीका वास्तविक र कथित कमजोरीहरुमाथि निर्मम प्रहार गर्छन् ।

“रुसका लागि यो धेरै सजिलो थियो,” लेनिन भन्नु हुन्छ, “विशेष रुपमा, सन् १९१७ को त्यो ऐतिहासिक अवस्थामा समाजवादी क्रान्ति शुरु गर्न तर क्रान्तिलाई निरन्तरता दिन र त्यसलाई अन्तिमसम्म पुराउन रुसका लागि युरोपेली देशहरुलाई भन्दा धेरै कठिनाईं हुनेछ । मैले सन् १९१८ को शुरुदेखि नै यसलाई औँल्याएको थिएँ र विगत दुई वर्षको हाम्रो अनुभवले यो विचार पूर्णतः सही भएको पुष्टि भएको छ । यस्ता विशिष्ट अवस्थाहरु जस्तै — १. सोभियत क्रान्तिलाई यो क्रान्तिको परिणामस्वरुप साम्राज्यवादी युद्धको अन्त्यसँग जोड्ने संभावना, जोसँग श्रमिकहरु र किसानहरु साह्रै थाकिसकेका थिए, २. साम्राज्यवादी डाँकाहरुको दुई विश्वस्तरका शक्तिशाली गुटहरु बिचको जीवनमरणको युद्धबाट निश्चित समयका लागि फाइदा लिन सक्ने संभावना, जो आफ्नो सोभियत शत्रुको विरुद्ध एकतावद्ध हुन असमर्थ थिए, ३. देशको विराट् आकार र कमजोर सञ्चारका साधनहरुको कारणले तुलनात्मक रुपले लामो गृहयुद्धलाई थेग्न सक्ने संभावना र, ४. किसानहरुको बिचमा विद्यमान यस्तो पुँजीवादी लोकतान्त्रिक क्रान्तिकारी आन्दोलनको अस्तित्व ताकि सर्वहारा पार्टीले किसान पार्टीका (समाजवादी–क्रान्तिकारी पार्टी, जसका बहुसंख्यक सदस्यहरु बोल्सेविक पार्टी विरोधी थिए) क्रान्तिकारी मागहरुलाई ग्रहण गर्न सक्थ्यो र तिनलाई एकै पटकमा महशुस गराउन सक्थ्यो, सर्वहारालाई राजनीतिक सत्ताको विजयका लागि साधुवाद छ — यस्ता विशिष्ट अवस्थाहरु वर्तमान पश्चिम युरोपमा विद्यमान छैनन् र यिनै वा यस्तै अवस्थाहरु त्यति सजिलैसँग दोहोरिने छैनन् । यसका साथै केही अन्य कारणहरुले गर्दा पश्चिम युरोपलाई समाजवादी क्रान्ति शुरु गर्न हामीलाई जति सजिलो छैन । (संकलित रचना भाग २५, पृष्ठ २०५(अंग्रेजी) र संकलित रचना भाग ७ पृष्ठ ५७–५८ (नेपाली) ।”

लेनिनका यी शव्दहरुलाई (कहिल्यै) भुल्नु हुँदैन ।

यी पनि पढ्नुहोस्ः 

सर्वहारा, किसान र ट्राटस्कीवाद – क. जोसेफ स्टालिन

अक्टोबर समाजवादी क्रान्ति – क. अानन्दस्वरूप वर्मा

मेरो रुसी यात्रा र महान् अक्टोबर क्रान्ति – क. हस्तबहादुर केसी

(महान् अक्टोबर समाजवादी क्रान्तिका एक महानायक क. जोसेफ स्टालिनको “अन् द रोड टु अक्टोबर” नामक पुस्तकको भूमिकाको रुपमा लेख्नुभएको “दि अक्टोबर रिभोलुसन एण्ड ट्याक्टिक्स् अफ कम्युनिस्ट्स्” नामक आलेखको पहिलो अंशलाई अनुवाद गरी प्रस्तुत गरिएको छ । यसलाई “प्रोब्लम्स् अफ लेनिनिज्म” पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको हो – सं.। अनुवादकः नहेन्द्र खड्का ।)