Salvador Guillermo Allende Gossens
 

म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यवद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ ।

म यहाँ राष्ट्रपति कमरेड एलेण्डेको मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा तथा उहाँका ती विचार भन्न आएकी हुँ, जसलाई उहाँले गद्दार एवम् फासीवादी सेनाको हमलाको प्रतिकार गर्दै गर्दा जाहेर गर्नुु भएको थियो ।

निश्चय पनि क्युबाली जनतालाई सत्य कुरा थाहा छ । तर अरु धेरै देशहरुमा फासीबादी संसद (जुन्ता) द्वारा फैलाइएको मिथ्या प्रचारको आँधीले निकै प्रभाव पारेको छ । अमेरिकी साम्राज्यवादी संस्थाहरुले यो काममा तिनीहरुको साथ दिइरहेका छन् । तिनीहरुले ती घटनाहरुलाई ढाकछोप गर्ने कोशिस गरिरहेका छन्, जुन राष्ट्रपति अलेन्डेसँग मोनेदा प्यालेसको रणभूमिमा घटेका थिए ।

Beatriz Allende, Daughter of Salvador Allende
लेखक

म यहाँ तपाइँहरुलाई पूर्ण रुपमा विश्वस्त तुल्याउन आएकी हुँ कि चिलीका राष्ट्रपतिले आफ्नो हातमा हतियार लिएर अन्तिम साससम्म लडिरहनु भयो । जनताले उहाँलाई जुन जनादेश दिएको थियो – चिलीको क्रान्तिको जनादेश, समाजवादका लागि जनादेश – त्यसलाई उहाँले जीवनको अन्तिम क्षणसम्म प्रतिरक्षा गर्नुभयो ।

एक क्षणका लागि पनि हार नमानीकन, पुरा विश्वासका साथ, यो आशावादीताका साथ कि चिलीका जनताले कुनै पनि प्रहारको सामना गर्नेछन् र कुनै सम्झौता नगरिकन अन्तिम तथा निर्णायक विजय प्राप्त नगरुञ्जेल लडिरहनेछन् । राष्ट्रपति एलेण्डेले शत्रुहरुका गोलीहरुलाई क्रान्तिको एक सेनानीले जस्तैगरी सामना गर्नुभयो । आफ्नो पदको ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै आफ्नो देशका गरिबहरु र मजदुहरुको हितलाई आफ्नो प्राणपनले रक्षा गर्दै एवम् जनताको संघर्षप्रति दृढ विश्वास राख्दै उहाँले आफ्नो जीवन बलिदान गर्नुभयो ।

ती कठिन क्षणहरुमा पनि उहाँको वाणी र उहाँको हृदयमा क्युबा र फिडेल दुवै उहाँको साथमा थिए । हामीले देख्यौँ कि क्युबाका जनता, क्युबाको क्रान्ति र फिडेल क्यास्ट्रोप्रति जीवनको अन्तिम क्षणसम्म उहाँको हृदयमा गहिरो आस्था र प्रेम कायम थियो ।

११ सेप्टेम्बरको सत्तापलटभन्दा पहिला पुरै १ महिनासम्म हामीले निरन्तर होशियारी अपनायौँ । सैनिक विद्रोह वा सत्तापलटका भ्रमहरु नचलेको कुनै दिननै हुँदैनथ्यो । ११ सेप्टेम्बर, मंगलबारको त्यो बिहान हामीलाई गम्भीर खालका खबरहरु आउन थाले । हामीलाई थाहा भयो कि राष्ट्रपति एलेण्डे सबेरै राष्ट्रपति भवन जानु भएको थियो । हामी पनि त्यहाँ गयौँ । परन्तु हामीलाई कति महत्त्वपूर्ण घटना अगाडि आउँदै छ भन्ने कुराको अनुभूति थिएन !

हामी ला मोनेदा जाँदैगर्दा बाटोमा परिस्थितिको गम्भीरता महशुस हुन थाल्यो, जब हामीलाई विभिन्न स्थानहरुमा कारबाइनधारी (हलुका अटोमेटिक राइफल) सैनिकहरुको छेकबारहरुबाट जोगिएर अगाडि बढ्नु पर्‍यो । तिनीहरु खुलेआम शत्रुतापूर्ण तरिकाले बाटोमा अवरोध गरिरहेका थिए । बिहान ८ः५० बजे हामी ला मोनेदा पुग्न सक्यौँ । त्यहाँ सामान्य कारबाइनधारी गार्डहरु तैनाथ थिए, जसको काम राष्ट्रपति भवनको रक्षा गर्नु थियो । तर भवनभित्र छिर्नु अगाडि नै हामीले कारबाइनधारी सैनिकहरुलाई या त आत्मसमर्पण गर्दै गरेको वा फेरि ‘कू’मा सहभागी हुँदै गरेको देख्यौँ ।

ला मोनेदामा हामीले तुरुन्तै बुझिहाल्यौँ कि यो एउटा पूर्ण सैन्य ‘कू’ थियो, जसमा सेनाका तीनवटै शाखाहरु र कारबाइनधारी सैनिकहरुले भाग लिइरहेका थिए ।

भवनभित्र संघर्षको तयारी जारी थियो । राष्ट्रपतिका नीजि गार्डहरु अरुपछि भन्दा धेरै संख्यामा थिए र राष्ट्रपतिलाई घेरेर राखेका थिए । यी गार्डहरुले पहिले नै पोजिसन सम्हालिसकेका थिए । धेरै संख्यामा ठूला हतियारहरु बाँडिएको थियो । त्यस बाहेक गुप्तचर सेवाका मानिसहरुको पनि एउटा समूह त्यहाँ उपस्थित थियो, जसले पहिले पनि नीजि गार्डहरुसँग तालमेल गरेर काम गर्ने गर्दथ्यो ।

त्यस बाहेक मन्त्रीहरु, उपसचिवहरु, भूतपूर्व मन्त्रीहरु, प्राविधिकहरु तथा रेडियो र अखबारहरुका पत्रकारहरु पनि त्यहाँ उपस्थित थिए । साथै डाक्टरहरु, नर्सहरु र ला मोनेदाका प्रशासकीय कर्मचारीहरु पनि त्यहाँ उपस्थित थिए, जसले ला मोनेदा छोडेर जानुको सट्टा एलेण्डेको पक्षमा लड्ने निर्णय गरेका थिए । उहाँका नीजि स्टाफका खास सदस्यहरु पनि त्यहाँ उपस्थित थिए, जसमा ११ जना महिलाहरु थिए ।

त्यस दिन उहाँलाई मैले त्यतिबेला देखेँ जब पटक पटक आउने फोनहरुमध्ये एउटा फोन सुन्नका लागि उहाँलाई रिसिभर दिइयो । उहाँ शान्त हुनुहुन्थ्यो र शान्त भावसँगै ती फरक फरक रिर्पोटहरु हेरिरहनु भएको थियो, जुन उहाँ समक्ष ल्याइँदै थियो वा उहाँले कुनै आदेशहरु वा उत्तरहरु दिइरहनु भएको थियो । ती आदेशहरु वा उत्तरहरुमाथि असहमतिको कुनै प्रश्न नै थिएन । उहाँले पहिले स्वयम् आफैले निरीक्षण गर्नुभएको थियो । उहाँले कैयौँ स्थानहरुको निरीक्षण गरेर युद्धको पोजिसन र अत्यन्तै धेरै साथीहरुको बन्दुकको फायरिङ एङ्गलहरुलाई समेत ठिक गर्नु भएको थियो ।

तत्कालै ‘कू’ गर्न चाहने शक्तिहरुले पैदल सेना, ट्याङ्क र तोपखानाहरुबाट राष्ट्रपति भवनमाथि हमला गरे । हाम्रा साथीहरुले जवाफी हमला गरे ।

हामीलाई थाहा भयो कि त्यो दिन बिहानै ‘गल पिस्तास’ सैन्य बटालियनले राष्ट्रपतिलाई पटक पटक आत्मसमर्पण गर्न अपील गर्‍यो तर उहाँले पटक पटक निसंकोच उनीहरुको चेतावनीलाई अस्विकार गर्नु भयो । हामीले उहाँलाई कहिल्यै हिच्किचाएको देखेनौँ । बरु त्यसको विपरीत उहाँले अन्तसम्म संघर्ष गर्ने आफ्नो फैसलालाई गद्दार सेनाको अगाडि पटक पटक दोहोराइरहनु भयो । त्यो सेनालाई उहाँले एकदमै सही नाम दिनुभयो – फासीवादी ।

मलाई के पनि थाहा भयो भने पपुलर युनिटी (लोकप्रिय एकता) गठबन्धन र क्रान्तिकारी बामपन्थी पार्टीहरुका प्रतिनिधिहरु पनि बिहानै उहाँलाई भेट्न आउनु भएको थियो र निरन्तर रुपमा फोनहरु पनि आइरहेका थिए कि संघर्षको बाटो नै अपनाइयोस् ।

एउटा धोखेबाज जर्नेलले ‘बाइजा’ नामले उहाँलाई कैयौँ पटक फोन गरेको थियो । मलाई के पनि थाहा भयो भने ‘कू’ गर्न चाहने तत्त्वहरुले उहाँको अगाडि आफ्नो परिवार र आफ्नो स्टाफलाई साथै लिएर मन परेको ठाउँमा जानका लागि पनि प्रस्ताव राखेका थिए । राष्ट्रपतिले त्योसँग भन्नुभयो कि तिमीजस्तो एउटा देशद्रोही जर्नेलले यो कुरा बुझ्न सक्दैन कि एउटा गौरवशाली व्यक्ति कस्तो हुन्छ र आक्रोश र घृणायुक्त भाषामा उसको प्रस्तावलाई अस्विकार गरिदिनु भयो ।

राष्ट्रपति एउटा लामो लँडाईमा सहभागी हुने तयारी गर्दै हुनु हुन्थ्यो । उहाँ लगातार एक ठाउँबाट अर्को ठाउँमा जानुहुन्थ्यो । भावी हवाई हमलाबाट आफ्ना योद्धाहरुलाई बचाउनका लागि उहाँले सबैभन्दा सुरक्षित स्थानहरु पहिचान गर्न भन्नुभयो । उहाँले भोजन र पानीको आपूर्तीको स्थितिको पनि जानकारी लिइरहनु भएको थियो ।

Salvador Allende with His Wife
राष्ट्रपति क. साल्भाडोर एलेण्डे अाफ्नी श्रीमतिसँग

उहाँले मेडिकल युनिटलाई आदेश दिनुभयो कि घाइतेहरुका लागि एउटा सर्जरी वार्ड तयारी अवस्थामा राखियोस् । उहाँले एक जना कमरेडसँग भन्नुभयो कि सबै महिलाहरुलाई एकत्रित गरेर कुनै सुरक्षित स्थानमा लगियोस् । उहाँले आफ्ना व्यक्तिगत दस्तावेजहरुसहित ती सबै दस्तावेजहरुलाई नष्ट गर्ने आदेश दिनुभयो, जसले अरु क्रान्तिकारीहरुलाई समस्यामा पार्न सक्दथे । उहाँले तीन जना कमरेडहरुलाई, जसमा दुई जना महिला पनि हुनु हुन्थ्यो, भविष्यको प्रतिरोध जारी राख्ने मिसनमा पठाउनु भयो ।

त्यतिबेलै हामीलाई थाहा भयो कि राष्ट्रपति भवनको सुरक्षामा तैनाथ कारबाइनधारी सेनाहरु फासीवादी जुन्तासँग मिलिसकेका थिए ।

मैले केहीबेर राष्ट्रपतिसँग एक्लै कुरा गर्ने अवसर पाएँ । उहाँले पुनः भन्नुभयो कि उहाँ अन्तिमसम्म संघर्ष गर्नु हुनेछ । उहाँको दृष्टिमा यतिबेला जे भइरहेको थियो, त्यो अत्यन्तै स्वभाविक थियो । फेरि पनि उहाँ सुरक्षाका लागि केही कदमहरु उठाउँदै हुनुहुन्छ, ता कि यो लँडाई सबैभन्दा राम्रो तरिकाले लड्न सकियोस् । प्रतिकूल परिस्थितिमा यो कठिन काम हुन सक्दछ । परन्तु उहाँले अगाडि भन्नुभयो कि यो एकमात्र यस्तो परिस्थितिजन्य कदम हो, जहाँ एउटा क्रान्तिकारीको रुपमा अथवा एउटा जनताले निर्वाचित गरेको र ती प्राधिकारहरुको रक्षा गरिरहेको संवैधानिक राष्ट्रपतिको रुपमा अपनाउन सकिन्थ्यो । आत्मसमर्पण नगरेर र आफ्नो प्राधिकार सजिलैसँग फिर्ता नगरेर उहाँले सबै फासीवादी र गद्दार सेनालाई पर्दाफाँस गर्नु हुनेछ ।

उहाँले ती महिलाहरु र आफ्नी अर्की छोरी इसाबेललाई लिएर चिन्तित हुनुहुन्थ्यो, जो त्यतिबेला त्यहाँ थिएनन् । उहाँ चाहनुहुन्थ्यो कि हामी सबै राष्ट्रपति भवन छोडेर बाहिर जाऔँ । उहाँ चाहनुहुन्थ्यो कि हामी आफ्नी आमाको हेरचाह गरौँ, जो टम समोरो (राष्ट्रपति एलेण्डेको नीजि निवास) मा हुनुहुन्थ्यो, जहाँ लँडाई चलिरहेको थियो ।

त्यसपछि उहाँले मलाई बताउनु भयो कि जुन परिस्थिति उत्पन्न भएको छ, त्यसले एक ढंगले उहाँको काँधबाट बोझ उतारेको छ । उहाँले भन्नुभयो कि यसबाट सबै कुरा प्रष्ट भयो र उहाँ स्थितिलाई लिएर निश्चिन्त हुनुहुन्छ किनभने यसले उहाँलाई पछि समस्या उत्पन्न गर्ने थियो । दुर्भाग्यवश जनसरकारको राष्ट्रपति पदमा उहाँ आसिन हुँदाहुँदै पनि सशस्त्र सैनिकहरु तथाकथित ‘शस्त्र नियन्त्रण अधिनियम’ अन्तरगत मजदुरहरुमाथि अत्याचार गरिरहेका थिए र कारखानाहरुमा घुसिरहेका थिए । यो कुरा उहाँले मलाई पहिले पनि कैयौँ पटक भन्नुभएको थियो ।

उहाँमा एउटा अनौठो उत्साह थियो र युद्धमा भाग लिनका लागि आतुर हुनुहुन्थ्यो । उहाँका टिप्पणीहरुले ती घटनाहरुको बारेमा गम्भीरतापूर्वक सोचेर बनाइएका दृष्टिकोणहरुलाई प्रतिबिम्बित गरिरहेका थिए कि क्रान्तिकारी संघर्ष अनिवार्यतः कुन बाटोबाट भएर गुज्रिनेछ ।

उहाँले भन्नुभयो कि सबैभन्दा महत्त्वपूर्ण छ राजनीतिक नेतृत्व, जसले सबै क्रान्तिकारी शक्तिहरुलाई एकीकृत नेतृत्त्वको सुनिश्चितता प्रदान गर्न सकोस् किनभने मजदुरहरुलाई एकीकृत राजनीतिक नेतृत्वको आवश्यकता छ । त्यसैले उहाँ अनावश्यक सहादत चाहनु हुँदैन्थ्यो । उहाँको विचारमा प्रतिरोधको नेतृत्व गर्नका लागि एउटा एकीकृत राजनीतिक नेतृत्वका लागि त्यही दिनबाट प्रयास सुरु गर्नुपर्छ किनभने यो कामका लागि स्पष्ट दृष्टिकोणसहितको राजनीतिक नेतृत्वको आवश्यकता पर्नेछ ।

यही कुरा उहाँले आफ्ना मन्त्रीहरु र आफ्ना स्टाफका अन्य सदस्यहरुलाई पनि भन्नुभएको थियो, जसलाई उहाँले ‘टिएस्का कक्ष’ मा भेला गर्नुभएको थियो । उहाँले दोहोराएर भन्नुभयो कि उहाँ आफ्नो जीवनको बलिदान दिएर राष्ट्रपतिको प्राधिकारको रक्षा गर्नु हुनेछ । फेरि उहाँले विगत तीन वर्षमा सहयोगका लागि उहाँहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । जोसँग हतियार थिए, उनीहरुलाई लँडाईको स्थानमा जान भनियो र जो हतियारबद्ध थिएनन्, उनीहरुलाई राष्ट्रपतिसँग ला मोनेदामा गएर महिलाहरुलाई त्यो ठाउँ छाडिदिन मनाउन भनियो । यो काम उहाँले स्वयम् गर्न चाहनु हुन्थ्यो किनभने मजदुर वर्गलाई संगठित गर्ने र उनीहरुलाई नेतृत्व गर्नुपर्ने महत्त्वपूर्ण समयमा उहाँ अनावश्यक बलिदान चाहनु हुदैन्थ्यो ।

महिलाहरु र अन्य कमरेडहरुले आफ्नो अन्तिम क्षण सर्जरी वार्ड नजिकै एउटा सानो भूमिगत कक्षमा बिताउनु भयो, जहाँ दस्तावेजहरु राख्ने गरिन्थ्यो । राष्ट्रपतिले त्यहाँ जैतुनको रङको आफ्नो सैनिक हेलमेट लगाएर जानुभयो । उहाँको हातमा एउटा अटोमेटिक राइफल थियो, जुन उहाँलाई फिडेल क्यास्ट्रोले उपहारस्वरुप दिनुभएको थियो । जसमा लेखिएको थियो – ‘हाम्रो सहयोद्धा कमरेडका लागि’ ।

हामीमाथि छिटै नै बमबर्षा सुरु हुँदै थियो । हवाईजहाजहरु एकदमै कम उचाईमा उडिरहेका थिए । अन्ततः उहाँले आदेश दिनुभयो कि हामीले कुनै बिलम्ब नगरिकन राष्ट्रपति भवनबाट बाहिर निस्कौँ । उहाँले हामीमध्ये प्रत्येकसँग व्यक्तिगत रुपमा कुरा गर्नुभयो र बुझाउनु भयो कि बाहिर हामी किन बढी उपयोगी हुन सक्छौँ र कसरी हामीले क्रान्तिकारी उद्देश्य पुरा गर्न सक्नेछौँ ।

उहाँले फेरि दोहोराएर भन्नुभयो कि सबैभन्दा महत्त्वपूर्ण काम संगठन, एकता र आफ्ना जनतालाई नेतृत्व दिनु हो ।

Salvador Allende with Fidel Castro
राष्ट्रपति क. साल्भाडोर एलेण्डे, क. फिडेल क्यास्ट्रोकाे साथमा

उहाँले मलाई आफू गर्भवती हुँदाहुँदै पनि त्यहाँ किन आएको भन्दै झपार्नु भयो र म क्युबाली राजदुतावासका कमरेडहरुसँग बस्नुपर्थ्यो भन्नुभयो । उहाँले मलाई भन्नुभयो कि उहाँलाई के लागिरहेको थियो भने पछिल्ला केही महिनादेखि क्युबाली राजदुतावासको विरुद्ध उक्साहट र हमलाहरु यसरी भइरहेका थिए कि मानौँ ती उहाँमाथि नै भइरहेको होस् । उहाँलाई चिन्ता थियो कि त्यो दिन पनि उहाँहरुलाई उक्साइयोस् र त्यो दिन उनीहरुले (पिनोसेका सेनाले क्युबाली राजदुतावासमा) लँडाई नै सुरु गरुन् ।

उहाँले हामीलाई मोरान्दे स्ट्रिटको बाहिरी ढोकासम्म लिएर आउनुभयो । त्यतिबेला उहाँले गोलीबारीको बिचमा एकछिन रोकिन भन्नुभयो र फेरि एउटा मिलिट्रि जीपको बन्दोबस्त गर्नुभयो ता कि महिलाहरुलाई कुनै कठिनाइँ बिना बाहिर पठाउन सकियोस् ।

यसको केही मिनेट पहिले उहाँले बुझाउनु भयो कि आत्मसमर्पण गराउनका लागि उहाँलाई बन्धक पनि बनाइन सक्छ । तर उहाँले भन्नुभयो यदि यस्तो भयो भने पनि उहाँ हिच्किचाउनु हुनेछैन, बरु उल्टै त्यो चिलीका जनता र सारा संसारलाई देखाउनका लागि एउटा उदाहरण हुनेछ कि फासीवादीहरु गद्दारी र र्निलज्जतामा कुन हदसम्म पुग्न सक्छन् र उहाँका लागि यो संघर्ष गर्नका लागि एउटा ठोस कारण हुनेछ ।

यसरी हामीले बमवर्षा सुरु हुनभन्दा केही मिनेट पहिले उहाँसँग त्यो समयमा विदा लियौँ, जतिबेला उहाँ आफूसँग मिलेर लड्नका लागि त्यहाँ लुकेर बसेकी एकजना महिलासहितको क्रान्तिकारीहरुको एउटा सानो टुकुडीको साथमा युद्धमा सहभागी हुनुहुन्थ्यो ।

कमरेडहरु, राष्ट्रपतिको यो त्यो छबी हो, जुन मलाई याद छ ।

क्युबाका प्यारा दाजुभाइ तथा दिदीबहिनीहरु, यही त्यो छवी हो, जुन मैले तपाईंहरुको मन र मस्तिष्कमा उतार्न चाहन्छु ।

आज यस प्लाजामा जहाँ केही महिना पहिले उहाँले अत्यन्तै भावपूर्ण स्वरमा हाम्रो देश, हाम्रा मजदुरहरु, हाम्रा बालबालिकाहरु, नारीहरु, बृद्धबृद्धाहरु र तपाईंहरु सबैप्रति ऐक्यबद्धता र आभार प्रकट गर्नुभएको थियो, आज क्रान्तिकारी गर्वले भरिपूर्ण उहाँको छवी हाम्रा आँखाअगाडि छाइरहेको छ ।

चिलीको यस एकता र्‍यालीमा म त्यो कुरा दोहोराउन चाहन्छु, जुन उहाँले मलाई तपाईंहरुसँग भन्न अह्राउनु भएको थियो । ला मोनेदामा लँडाईंको बिचमा उहाँले भन्नुभएको थियो –

“फिडेललाई भन्नु कि मैले आफ्नो कर्तव्य निभाउनेछु । उहाँलाई भन्नु कि हामीसँग चिलीका जनताका लागि सर्वश्रेष्ठ, एकताबद्ध राजनीतिक नेतृत्व हुनु आवश्यक छ । उहाँले भन्नुभएको थियो कि यो दिन एउटा लामो प्रतिरोधको सुरुवात हो र क्युबा एवम् अन्य क्रान्तिकारीहरुले हामीलाई सहयोग गर्नु पर्नेछ ।

फासीवादको विरुद्ध जीवनमरणको लँडाईं सुरु भइसकेको छ र यो त्यस दिन अन्त्य हुनेछ जुन दिन चिली एउटा सम्प्रभु र समाजवादी देश बन्नेछ, जुन दिनका लागि तपाईं लड्नुभयो र जीवन दिनुभयो ।”

आज यहाँबाट अमेरिकाको यो पहिलो मुक्त क्षेत्रबाट हामी कमरेड एलेण्डेलाई भन्न सक्छौँ कि तपाईंका मानिसहरु समर्पण गर्ने छैनन्, तपाईंका जनताले क्रान्तिको झण्डा झुक्न दिने छैनन् । फासीवादको विरुद्ध वार–पारको लँडाईं सुरु भइसकेको छ र यो त्यही दिन समाप्त हुनेछ, जुन दिन स्वतन्त्र, सम्प्रभु र समाजवादी चिली बन्नेछ, जसका लागि तपाईं लड्नुभयो र आफ्नो जीवन दिनुभयो ।

यी पनि पढ्नुहोस्ः

इण्डोनेसियामा भएको कम्युनिस्ट नरसंहारबारे – क. अानन्दस्वरूप वर्मा

कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु – क. माइकल लुकास

क. लेनिनको गोली हनी हत्या गर्ने षड्यन्त्रबारे – क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा

किसान सहिद क. भीमदत्त पन्तकाे हत्या – क. चित्रबहादुर श्रेष्ठ

(अनुवादः नहेन्द्र खड्का)