जनपक्षीय भूमण्डलीकरणको सांकेतिक चित्र
 

क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोले भने जस्तै भूमण्डलीकरण कसैको आविष्कार नभएर इतिहासको नियम हो । यो उत्पादक शक्तिको विकासको परिणाम हो । तर आज संसारभर लादिएको भूमण्डलीकरण भने नवउदारवादी भूमण्डलीकरण हो । यो बहुसङ्ख्यक जनतालाई चुसेर मोटाउने अल्पसङ्ख्यक पुँजीपतिहरू र निर्धन देशका जनतालाई लुटेर सुन्निएका साम्राज्यवादी देशहरूको हित अनुकूलको भूमण्डलीकरण हो । यो भूमण्डलीकरणले जनताको लुट र कमजोर राष्ट्रहरूमाथिको हस्तक्षेपलाई वैधानिकता दिएको छ । त्यसैले यो मूर्दावादका लागि योग्य छ ।

संसारलाई अहिलको साम्राज्यवादी र जनविरोधी होइन, एउटा नयाँ भूमण्डलीकरण चाहिएको छ – न्याय, समानता, विकास, शान्ति, अग्रगमन, खाद्यसम्प्रभुता, कृषि क्रान्ति, शिक्षा, स्वास्थ्य, रोजगारी, जनसंस्कृति र जनताका अधिकारहरू सुनिश्चित भएको भूमण्डलीकरण । जनताको चाहना राज्य, वर्ग, विभेद, शोषण, दमन, अन्याय र अत्याचार विहीन भूमण्डलीकरण हो । त्यो रोग, भोक, शोक र गरिबीका साथै उत्पीडन, हस्तक्षेप, आतङ्क र मृत्युलाई विश्वव्यापी बनाउने भूमण्डलीकरण नभएर शान्ति, अग्रगमन, विकास, न्याय र उन्नत जीवनलाई सर्वव्यापी बनाउने भूमण्डलीकरण हो । यस्तो भूमण्डलीकरण भनेको पुँजीवाद र साम्राज्यवाद विनाको भूमण्डलीकरण हो, समाजवाद हुँदै साम्यवादको गन्तव्यतर्फ लम्कने भूमण्डलीकरण हो, हुनेछ र हुनुपर्छ ।

आजभोलि संसारभरका कम्युनिस्ट पार्टीहरू, समाजवादी पार्टीहरू, सामाजिक जनवादी पार्टीहरू, सामाजिक सङ्घ–संस्थाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, नागरिक समाजका मूर्धन्य व्यक्तित्वहरू, लेखकहरू, कविहरू, कलाकारहरू, विचारकहरू र विभिन्न आन्दोलनका अभियन्ताहरूले वर्तमान नवउदारवादी भूमण्डलीकरणको चर्को स्वरमा विरोध गरिरहेका छन् । त्यो कर्म धन्यवाद योग्य छ । तर महान् विचारक कार्ल माक्र्सले भनेझैँ मूल कुरो त संसारलाई चिन्नु होइन, यसलाई बदल्नु हो । ती स्वघोषित नवउदारवाद र साम्राज्यवाद विरोधीहरू मध्ये जो जति पुँजीवादको उत्पीडनलाई अन्त्य गरेर समाजवादको बाटो हुँदै साम्यवादको दिशामा अगाडि बढ्न तयार छन् । ती मात्रै जिन्दावादका लागि योग्य छन् । अरू सबै भ्रम हुन् ।

करोडौँ रकम खर्च गर्नु पर्ने, जनताको भोटलाई खरिद–विक्री र संरचागत धाँधली गर्न सकिने, मतपेटिका साट्ने सुविधा उपलब्ध भएको, सत्ता र शक्तिको दुरुपयोग हुने र आचारसंहिता पालन गर्नु नपर्ने निर्वाचन प्रणाली सहितको संसदीय व्यवस्थाले विश्वलाई समाजवादमा र साम्यवादमा पुर्याउँदैन । बरु समावजादीहरूलाई भ्रष्ट, अनैतिक र पुँजीवादपरस्त बनाउँछ । मार्क्सवादमा नवउदारवादको बीजारोपण गरेर संशोधनवादको पुँजीवादी वर्णसङ्कर मात्रै पैदा हुन्छ, क्रान्ति हुँदैन । परन्तु यसको अर्थ सधैँभरि बन्दुक बोकेर दीर्घकालीन जनयुद्धको नाममा संसारका कयौँ कम्युनिस्ट पार्टीहरू जस्तै दशकौँसम्म धरतीका जङ्गल र ओडारहरूतिर मात्रै रुमल्लिइरहनु पर्छ भन्ने होइन । दीर्घकालीन जनयुद्धको अर्थ ‘लडेको लड्यै गर्नु’ होइन । जनयुद्ध क्रान्तिको साधन हो, साध्य त नयाँ जनवाद हुँदै समाजवाद स्थापना गर्ने लक्ष्य हो । क्रान्तिका लागि बल प्रयोग आवश्यक छ तर त्यति मात्रै पर्याप्त छैन ।

मालेमावादको रक्षाको अर्थ जडसूत्रवाद र किताबपन्थ होइन भने यसको विकासको अर्थ संशोधनवाद, दक्षिणपन्थी अवसरवाद र पलायनवाद होइन । मालेमावादको रक्षा सँगसँगै वर्ग सङ्घर्ष, क्रान्तिका लागि बल प्रयोग, सर्वहारा वर्गको अधिनायकत्व, सर्वहारा अन्तर्राष्ट्रवाद र निरन्तर क्रान्तिको सिद्धान्त अनुरूप यसको द्वन्द्वात्मक भौतिकवादी प्रयोग र विकास नै वैज्ञानिक समाजवादको आधार हो ।

पदार्थ प्रधान हो र त्यसले चेतनाको निर्धारण गर्छ । तर अस्तित्वमान् पदार्थलाई मानव श्रमले एक रूपबाट अर्को रूपमा रूपान्तरण गर्छ, जसमा प्रगतिशील र सिर्जनशील मानव चेतनाको अहम् भूमिका हुन्छ । नयाँ पदार्थद्वारा विकसित नयाँ चेतनाले पुरानो चेतनाको विकासमा मद्दत गर्छ । यो द्वन्द्वात्मक भौतिकवादको सार्वभौम नियम मालेमावादमा पनि लागु हुन्छ किनकि मालेमावाद जीर्ण र पुरातत्त्वको भग्नावशेष होइन, संसारको सबैभन्दा उन्नत तथा विकसित विचार हो र निरन्तर विकसित भइरहने छ ।

(लेफ्ट रिभ्यु वर्ष ४ अंक १ बाट)