Patrice Lulumba
 

पेट्रिस लुमुम्बा (१९२५-१९६१) – बेल्जियमको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि आम निर्वाचनबाट निर्वाचित लोकतान्त्रिक गणतन्त्र कंगोका प्रथम प्रधानमन्त्री । औपनिवेशिक शासनको विघटनले तिब्रता लिइरहेको थियो । औपनिवेशिक शक्ति नाखुश थिए – लुमुम्बा जो परे राष्ट्रवादी नेता ।

Tanka Karki, former Ambassador of Nepal to China
लेखक

उनी ‘अफ्रिकी समाजवादी लोकतन्त्र’लाई आफ्नो विचारधारात्मक आधार मान्दथे । यसलाई साम्राज्यवादी शक्तिहरु अफ्रिकी ढाँचाको साम्यवाद मान्दथे । लगत्तै उनको सरकारको विरुद्धमा षडयन्त्र रचना गर्न थालियो । उनले सत्ता सम्हालेको लगभग साढे दुई महिनापछि उनलाई सैनिक ‘कू’ मार्फत अपदस्त गरियो ।

उनी १७ जनवरी १९६१मा ३५ वर्षको उमेरमा षडयन्त्रपूर्वक मारिए । उनको हत्यामा नेपालीहरुले पनि रोष प्रकट गरे । तल प्रस्तुत कविता यसको साक्षी हो । त्यति बेलाका बामपन्थीहरु लगभग सबैले यो कविता पढेका छन् । यो कविता त्यति बेलाको नेपालीहरुको अन्तर्राष्ट्रिय ऐक्यवद्धताको दशी पनि हो ।

यो कविता द्रोण कोइरालाले कुनै पत्रिकाबाट हस्तलिखी उतार गरेर राखेका रहेछन् । त्यति बेला संचारका साधन आज जस्तो खुला र व्यापक थिएनन् – लिथो गरेर या हस्तलिखित उतार गरेर प्रचार प्रसार गरिन्थ्यो ।

मलार्इ सम्झना भएन, यो कविता स्वयम् लुमुम्बाको सृजना र कसैले नेपालीमा अनुवाद मात्रै गरेको हो या कुनै नेपाली कविको सृजना ? तर पछि कवि बम देवानले यसको रचनाकार धरानका मान बहादुर शाक्य भएको पुष्टि गर्नुभएको छ ।

जे होस् यो नेपाली काव्य विधाको अन्तर्राष्ट्रियतावादी प्रवृत्तिको प्रतिनिधि कविता हो । यसले हामीलाई यो पनि स्मरण गराई रहनेछ कि औपनिवेशिक प्रणालीको विघटनलाई दिगो राख्न चर्को मूल्य चुकाउनु परेको थियो । द्रोण कोइराप्रति आभार !

पेट्रिस लुमुम्बाको अन्तिम पत्र

Last Letter of Patrice Lulumba
कविताको हस्तलिखी

म मर्छु होला कुटिएर थुनामा म मरेँ भने
मेरो लास बहुला कुकुरलाई दिनू ।
छोरा र छोरीले सोधेछन् भने
परदेश गएको छ भनिदिनू ।
मेर प्रियसी, मेरी प्रियतमा !
तिमी कहिल्यै नरुनू ।
मेरो रगतले कंगो देश ब्युँझन्छ भने
कसरी कासा बुबुसँग क्षमा मागौं ?!
मेरो विश्वास र इमान्दारितामा साथीहरु मर्छन् भने
कसरी विश्वासघात गरौँ ?!
तिमीले कहिल्यै विरोध नगर्नू ।
देशको एउटा सपुत छोरो म हुँ भने
मेरो मृत्युमा कहिल्यै नरुनू ।
माया ममता दुनियाँको जित हो भने
मायाले कोही मर्ने थिएन ।
माया एउटा सांसारिक रीत हो भने
मलाई मायाले बचाउँदैन ।
मलाई तिमीले सपनामा देख्यौ भने
ब्युँझिएर कहिल्यै नखोज्नु ।
अन्धकारमा कालो छायाँ देख्यौ भने
भूत आयो कहिल्यै नभन्नू ।
दरिद्रता काँडा भनेर आयो भने
कुल्चिएर पन्छाई दिनू ।
छोरा-छोरीको भलो चाहन्छौ भने
आत्महत्या कहिल्यै नगर्नू ।
यो सानो घर स्वर्ग बनाउँछौ भने
जिन्दगीमा हरेश कहिल्यै नखानू ।
एकदिन यहाँ मारेर बाँच्नु छ भने
दुर्इ फूल हेरेर मलाई बिर्सिदिनू ।
अनि तिम्रो आँखामा दुई चिचिला फुले भने
म मरेको छ भनिदिनू ।
मेरो यादमा नानीहरु ‘बाबा !’ भन्दै रोए भने
मेरो चिहान देखाइदिनू ।

यी पनि पढ्नुहोस्ः

सेप्टेम्बर ११ः जब चिलीका जननिर्वाचित राष्ट्रपतिलार्इ राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गरियो – क. बेट्रिज एलेण्डे 

फासीवाद र इण्डाेनेसियामा कम्युनिस्ट नरसंहार – क. अानन्दस्वरूप वर्मा

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र – क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा

मि टू अर्बन नक्सल – क. बलराम तिमल्सिना ‘विप्लव’