History of Nepal: A Marxist Perspective
 

जागरण बुक हाउस बागबजार, काठमाडौँद्वारा प्रकाशित श्री रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण’ बजारमा आएपछि त्यसबारे निकै चर्चा परिचर्चाहरु भएका छन् । एकाध नायकहरूका गुणगानका आधारमा अहिलेसम्म नेपालको इतिहास लेखिने गरेकोमा रेग्मीले नेपाली धरतीको वर्ग सङ्घर्षलाई आधार बनाएर जनताको भूमिका देखाउने जुन प्रयत्न गरेका छन्, त्यो सह्रानीय छ । नेपालबारे जनपक्षबाट लेखिएको यो पहिलो इतिहासको पुस्तक हो ।

यही पुस्तकबारे लेखक तथा समीक्षक डा.ऋषिराज बरालले मिति २०७५ भाद्र २३ (८ सेप्टेम्बर २०१८) को अनलाइन पत्रिका ‘जनदिशा’ मा ‘मार्क्सवादका नाममा पाठक ठग्ने परिपञ्चः नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’ भन्ने शीर्षकमा एक समीक्षा प्रकाशित गरेका रहेछन् । समीक्षा गरिएको उक्त कृति बजारमा उपलब्ध भएपछि किनेर यस पङ्तिकारले पनि अद्योपान्त पढेकाले र त्यस समीक्षामा अभिव्यक्त गरिएका कतिपय विषयहरु चित्त नबुझेकाले यहाँ समीक्षामाथि पुनर्समीक्षा गर्ने जमर्को गरेको छु ।

१. सर्वप्रथम समीक्षाको शीर्षक देख्दा नै टिठ लाग्यो । हाम्रो जस्तो पछौटे राष्ट्रमा दुर्इ तिहाइको वाम सरकार भएपनि राजनीतिक, आर्थिक र सांस्कृतिक हरेक क्षेत्रमा सामन्ती र साम्राज्यवादी हस्तक्षेप रहँदै आएको छ । वास्तविक सत्ता अझै जनताले प्राप्त गर्न सकेका छैनन् । बजारमा प्रचारप्रसारका सामग्रीहरु, पुस्तक र पत्रपत्रिकाहरू विपन्न वर्गको पक्षमा अतिनै कम मात्रामा उपलब्ध हुन्छन् ।

यस्तो खडेरीको अवस्थामा केही प्रगतिवादी लेखकहरूले जनताका पक्षमा बोल्न र लेख्न खोज्नु अति नै प्रशंशनीय कुरा हो । यस्ता कार्यमा प्रोत्साहनको खाँचो पर्दछ । रेग्मीजीले जनताको पक्षमा उभिएर जुन कलम चलाउने प्रयास गरे, त्यसमा उनको इमान्दारिता नै देखिन्छ । तर विडम्बना उनी प्रोत्साहन पाउनुको बदला, डा. ऋषिराजजीको आँखामा पाठकलाई ठग्ने लेखक देखिएका छन् ।

आखिरमा यो कस्तो संस्कार हो ? हामी कस्तो नेपाल निर्माण गर्ने अभियानमा लागेका छौँ ? निश्चयनै पुस्तकमा केही त्रुटीहरु छैनन् भन्न म सक्दिन । त्रुटी नै नगर्ने त्यस्तो कुन चाँहि मानिस होला र ? एक जना व्यक्तिले लेखेको पुस्तक सम्पूर्णताको दृष्टिबाट आफैँ पूर्ण हुँदैन ।

कुनै पनि विषयवस्तुलाई विभिन्न कोणबाट हेरिन्छ । एउटाको हेराइमा अर्काले खोट देख्न सक्छ, यो स्वभाविक पनि हो । तर रामराज रेग्मीको कृतिमा मैले नकारात्मक भन्दा सकारात्मक विषयहरु धेरै भेट्टाएको छु । डा. ऋषिराज बरालजस्तो विद्वान व्यक्तिले उक्त कृतिलाई कसरी पाठक ठग्ने प्रपञ्च देखे, अचम्मको कुरा हो । एकजना विद्वत व्यक्ति यसरी छुद्रतापूर्वक तल झरेकाे देख्दा मलार्इ अत्यन्तै दुःख मात्रै हाेइन, अनाैठो पनि लाग्याे । वास्तवमै यस्तो कूण्ठाग्रस्त छुद्रताले मानिस स्वयम्, समाज, देश र क्रान्तिलार्इ के पो फाइदा गर्ला र ?

डाक्टर साहेबमा लेखकप्रतिको आग्रहपूर्ण रबैया अर्को के कुराबाट पनि देखिन्छ भने उनले लेखकलाई उक्त पुस्तक पढेपछिमात्र चिनेको भनेका छन् । लेखक भरखरका सिकारु हुन् भन्ने हेपाहा मनोबृत्तिका साथ समीक्षा अघि बढे जस्तो देखिन्छ ।

म रेग्मीलाई काँध हाल्न उभिएको छैन । तर म कसैमाथि ज्यादति गर्न पनि हुँदैन भन्ने पक्षमा छु । त्यसैको प्रतिकारमा मलाई यहाँ उत्रन मन लागेको हो । रेग्मीका कृतिहरु धेरै पहिलेदेखि नै निरन्तर बजारमा आइरहेछन् । उनको कृति ‘मानिसको समाजका विभिन्न जुगहरु’ पञ्चायत कालमा भूमिगत काम गर्ने गण्डक क्षेत्रका क्रान्तिकारीहरुका लागि पाठ्यपुस्तक थियो भनी प्रख्यात प्रगतिवादी लेखक खगेन्द्र संग्रौलाले उच्च तारिफ गरेका छन् । उनका अन्य रचनाहरुः मानव समाजको रुपान्तरण, पूर्वीय दर्शनमा भौतिकवाद र राष्ट्रिय पहिचानका मूल मुद्दाहरु कम पठनीय छैनन् ।

मार्क्सवादी लेखन क्षेत्रमा नाम कहलिएका व्यक्तिको आँखा आखिर यी सामग्रीहरुमा किन जान सकेनन् ? उदेकको कुरा छ । यस्तो लाग्छ, पुस्तकका लेखक रेग्मी तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य भएका र डा. ऋषिराज बराल त्यस पार्टीका प्रतिपक्षी खेमाका व्यक्ति भएकाले बरालजीको काम जसरी हुन्छ आफूभन्दा फरक राजनीतिक धरातलमा उभिने व्यक्तिको खोइरो खन्ने हो ।

बरालजीकोे आग्रह रेग्मीजीलाई ‘प्रचण्ड–ओली’को कथित मार्क्सवादी धरातलमा उभिएको भनी उनले समीक्षा लेखमा गरेको आलोचनाबाट पनि प्रष्ट हुन्छ । के लेखन क्षेत्रमा अघि बढ्ने प्रगतिवादी लेखकहरु यस्तो आग्रह र पूर्वाग्रह मनमा लिएर अघि बढ्ने हो ? जो जसले लेखे पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो किन नभन्ने ?

२. अब लागौँ, डा.ऋषिराजजीले उठाएका एक दुई सवालबारे । पृथ्वीनारायण शाहको मूल्याङ्कन सम्बन्धमा दुई अतिवादी चिन्तन हाम्रो समाजमा देखापरेका छन् । एक थरीले उनलाई साम्राज्यवाद विरोधी राष्ट्रवादी नायकका रुपमा व्याख्या गरेका छन् भने अर्काथरीले उनलाई विस्तारवादी र साम्राज्यवादी खलनायकका रुपमा व्याख्या गरेका छन् ।

लेखक रेग्मीले आफ्नो कृतिमा पृथ्वीनारायण शाहलाई सचेत रूपमा साम्राज्यवाद विरुद्ध उभिएका ऐतिहासिक पात्रका रुपमा लिएका छैनन् । विगतमा सामन्त राजा-महाराजाहरुले जुन उद्देश्यले राज्य विस्तार गर्दथे, पृथ्वीनारायण पनि त्यही नीतिबाट प्रेरित भएर राज्य विस्तार गरेको सविस्तार व्याख्या उनले गरेका छन् ।

पृथ्वीनारायणको साम्राज्यवाद विरोधी चेतना विशाल नेपाल अस्तित्वमा आएपछि मात्र देखिन्छ । भारतीय राज्यहरुलाई जसरी बेलायती साम्राज्यवादले अधीनमा लियो, त्यसरी नै कतै नेपालमा व्यापार र धर्म प्रचारका निहुँमा साम्राज्यवादी हस्तक्षेप त हुँदैन भनी उनी सतर्क रहे र मल्ल राजाका पालादेखि कार्यरत इशाई पादरीहरुलाई निस्काशन गर्नुकासाथै ‘फिरङ्गी (अङ्ग्रेज)हरुलाई नेपालका सीमानाभित्र पस्न नदिनू’ भनी उर्दी जारी गरे ।

‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’ मा पृथ्वीनारायणले विगतदेखि स्वतन्त्र अस्तित्वमा रहेका सार्वभौम जातीय राज्यहरुलाई गोर्खा राज्यको अधीनमा राख्ने साम्राज्यवादी नीति अपनाए भनी कहीँ कतै भनिएको छैन । विगतको नेपाली भूखण्ड तीन राज्यः नेपालमण्डल, तिरहुत र खसराज्यबाट विभाजित बनेका राज्यहरुलाई नै एकीकरण गरेको व्याख्या रेग्मीको कृतिमा पाइन्छ । उनले दुवै अतिवादी दृष्टिकोणको खण्डन गरेका छन् ।

तर समीक्षाको क्रममा डा. बरालले पृथ्वीनारायणको अभियानलाई अङ्ग्रेजी साम्राज्यवादलाई नेपाल प्रवेशमा रोक्नका लागि गरिएको सकारात्मक कदम मान्दै लेखकले त्यस दृष्टिबाट कलम नचलाएको र पृथ्वीनारायणको अवमूल्यन गरेको दोषारोपण गरेका छन् । वास्तवमा रेग्मीले पृथ्वीनारायणको न त अवमूल्यन गरेका छन्, न त उनलाई महान् राष्ट्रवादी नायक भनी तारिफ गरेका छन् ।

उनले त राज्यविस्तारको यथार्थ चित्र प्रस्तुत गरी निस्कर्षमा जे जसरी भए पनि पृथ्वीनारायण नेपालको निर्माता भएकाले नेपालको इतिहासमा उनकोे राष्ट्र निर्माताको स्थान छ भनेका छन् जुन मलाई सही विश्लेषण लाग्दछ । कतै डा. ऋषिको विचार प्रश्रित मार्काको दरबारिया राष्ट्रवादसँग मेल त खान्न ?

३. राजा महेन्द्रका बारेमा पनि डा. ऋषिराजजीको आलोचनात्मक टीप्पणी विवादास्पद देखिन्छ । राजा महेन्द्रको स्थान नेपालको इतिहासमा एक निरङ्कुश तानाशाहको रुपमा छ । २००७ मा आएको सीमित खालको बहुदलीय व्यवस्थालाई निमोठ्ने काम उनले गरे, योगी नरहरिनाथजस्ता मतियार अघि सारेर २०१५ को निर्वाचित संसदीय सरकारलाई प्रगतिशील काम गर्नमा बाधाबिरोध खडा गरे र आखिरमा २०१७ सालमा फौजको सहायतामा लोकतन्त्रको गला निमोठेर तीन दशकसम्म देशमा सामन्ती अधिनायकवादी शासन सत्ता खडा गरे ।

उनका एकाध सुधारका कामः जातीय भेदभाव कम गर्ने, मुलुकी ऐन, भूमि सुधार, असंलग्न परराष्ट्र नीति आदि देश र जनताका स्वार्थले भन्दा पनि आफ्नो सिंहासन जोगाउने स्वार्थले प्रेरित थिए । रेग्मीजीले यही कुरा आफ्नो इतिहासको पुस्तकमा देखाएका छन् ।

तर महेन्द्रको आलोचना गरेको विषयमा डा. ऋषिराजजीलाई चित्त बुझेको देखिन्न । महेन्द्रको बचाउ गर्दै उनी भन्दछन्, “महेन्द्रको भारतीय विस्तारवादका विरुद्ध आर्थिक विकास, भाषिक समृद्धि, राष्ट्रिय स्वाधीनताका पक्षमा चालेका कदमहरु सकारात्मक छन् ।”

उनी महेन्द्रप्रतिको लेखक रेग्मीको धारणा उट्पट्याङ खालको देख्दछन् । महेन्द्रको सुधारमा राष्ट्रवाद र प्रगतिशीलता देख्ने डा.ऋषिराजको यो कस्तो क्रान्तिकारिता हो ? शङ्का गर्नुपर्ने विषय भएको छ ।

अन्त्यमा, यी कमी कमजोरीका बावजुद डा. ऋषिराजजीले एक नवीनतम् कृतिको समालोचना गरी पाठकहरुलाई यस पुस्तकको खोजी गर्नुपर्ने स्थानमा पुर्याउन जुन सहयोग गरेका छन्, त्यस कार्यप्रति भने उनको तारिफ गर्दछु ।

यी पनि पढ्नुहोस्ः

नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण

कार्ल मार्क्सको “पुँजी” अध्ययन गरेपछि प्राप्त शिक्षा र मेरा अनुभवहरू

(कास्की)