बेथानका सहिदहरू Bethan kaa Sahidharu
 

नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौं फौजी वा गैर–फौजी कार्बाही टिमबद्ध रूपमा सम्पन्न भएका थिए । उक्त कार्बाही सम्पन्न गर्नका लागि स्वयंसेवक दल, सुरक्षा दल, लडाकु दल निर्माण गरेर जनसेना निर्माणको प्रारूप खडा गरिएको थियो ।

पृष्ठभूमि

सम्झँदा लाग्छ, घटना भर्खरको हो तर पात्रो पल्टाएर हेर्दा दुईवटा हिउँद बितिसकेका छन् । जति–जति समय बित्दै जान्छ, उति–उति घटनाको सम्झना कमी आउनुपर्ने हो तर कतिपय घठना र व्यक्तित्व त्यस्ता हु“दा रहेछन्, समयको प्रवाह र गतिशीलताका पनि झन्–झन् जीवन्त र ताजा यथार्थको उद्बोधन गर्ने तथा भविष्यका निम्ति मार्गनिर्देशन गर्ने बनेर स्मृतिपटलमा आइरहेको हुने रहेछ । त्यस्ता खालका घटनाले हरबखत अगाडि बढ्नका लागि मार्गनिर्देशन गरिराखेको हुन्छ ।

Reet Bahadur Khadka Pratap रितबहादुर खड्का
लेखक

ठीक आजभन्दा दुई वर्षअगाडि पुस १९ गते राति नेकपा (माओवादी), पूर्वाञ्चल ब्युरोअन्तर्गत रामेछापको बेथानमा छापामार दस्ताबाट सशस्त्र फौजी कारबाही सम्पन्न भएको थियो । सोही फौजी कार्बाहीका पूर्वाञ्चल उप–क्षेत्रीय ब्युरोका सदस्य तथा छापामार कमान्डर क. तीर्थ गौतम, छापामार सदस्य क. दीलमाया योञ्जन, क. फत्तबहादुर मगर (स्माली) ले दुश्मनविरुद्ध लड्दा–लड्दै सहादत प्राप्त गर्नुभएको थियो । बेथान कार्बाहीको सन्दर्भमा जनयुद्धको विकासको सापेक्षित अवस्था, दुश्मनको फौजी शक्ति र सतर्कता आदि सबै कुरोलाई हेर्ने हो भने उक्त कार्बाही बहुआयामिक र दूरगामी महत्त्वको रहेको छ । यो कार्बाहीको अन्तर्यमा पुगेर अध्ययन गर्ने हो भने राजनीतिक र फौजी दुवै पक्षमा हरेक समस्याको समाधानका कुँजीको रूपमा, ऐतिहासिक महत्वका घटनाको रूपमा नयाँ पुस्ता र युगलाई प्रेरणाको पुञ्ज बनिरहेको छ बेथान ।

जनयुद्धले आफ्नो थालनी योजनाको सम्पूर्ण लक्ष्य र उद्देश्य शतप्रतिशत हासिल गरेर थालनीको योजनाअन्तर्गत, ‘योजनाबद्ध ढंगले छापामार इलाका निर्माण गरौँ’ भन्ने मूल नारासहित २०५३ साउन महिनादेखि नै दोस्रो योजना शानदार ढंगले अघि बढिरहेको थियो । उक्त योजनाको मूल उद्देश्य (क) छापामार इलाकाको निर्माण गर्ने, (ख) युद्धसामग्री कब्जा गर्ने र दुश्मनको शक्ति छिन्नभिन्न गर्ने र, (ग) छापामार इलाका निर्माणका लागि व्यापक जनपरिचालन गर्नेगरी जम्मा तीनवटा रहेका थिए । प्रारम्भिक अवस्थामै दोस्रो योजना अद्भूत ढंगले देशव्यापी रूपमा सफल भइरहेका थिए । यसको विरुद्ध दुश्मनको शक्तिसमेत हत्या, हिंसा, दमन र धर–पकड नयाँ–नयाँ हत्कण्डाहरू अवलम्बन गर्दै जनयुद्धको गला रेट्ने भगीरथ कोसिस गरिरहेको थियो ।

दुश्मनले दोस्रो योजनालाई हर–तरहले विफल पार्न र माओवादीलाई तहस–नहस पार्न प्रयत्नशील थियो । यस्तो कठिन परिस्थितिमा उच्च साहस, शौर्य र विवेकको उचित सन्तुलनबेगर दुश्मनको फौजी अखडामा धावा बोलेर घरेलु र कमसल हतियारले परास्त पार्न प्रायः सम्भव थिएन । जब सिंगो पार्टी र योजनाको उद्देश्यले उच्च फौजी कार्बाहीको अपेक्षा गरिएको थियो । ठीक त्यही परिस्थितिमा बेथान फौजी कार्बाहीको बारेमा उत्कर्ष बन्न पुग्यो । यस कार्बाहीको बारेमा प्रशस्त प्रकाश पार्दै काम भएका छन् । तर, हाल महान् आधार इलाका निर्माण गर्ने सन्दर्भमा अझ सो कार्बाही र त्यहाँ बगेको रगतको मर्म र अर्थलाई गहिराइका साथ आत्मसात गर्नुपर्ने आवश्यकता खट्किएको छ । यसर्थ, यसका गहिराइलाई निम्न रूपमा चर्चा गर्ने र बुझ्ने कोसिस गरिएको छ :

मालेमावादप्रति प्रतिबद्ध बेथान कार्बाही

संसारमा थुप्रै प्रकारको विद्रोह जन्मने गर्दछन् । अन्ततः ती विद्रोहहरू मालेमासँग नहुँदा मार्क्सवाद–लेनिनवाद–माओवादका सार्वभौम सच्चाइलाई आफ्नो विशिष्टतामा सिर्जनात्मक ढंगले लागू गर्न नसक्दा असफलतामा टुङ्गिने गर्दछ । इमानदारितापूर्वक असल नियतले विद्रोहको झन्डा उठाउन मात्र पर्याप्त मानिँदैन । त्यसलाई एकपछि अर्को विजयको शिखरमा उठाउन र टिकाइराख्नका निम्ति मालेमावादका जाललाई कुशलतापूर्वक व्यवहारमा लागू गर्न सक्नुपर्दछ । चाहे त्यो एउटा कार्यनीतिक सवाल होस्, चाहे रणनीतिक सवाल नै किन नहोस् । मालेमावादको उचित समायोजनको र प्रयोगद्वारा मात्रै कुनै पनि युद्धलाई विजयसम्म पुर्याउन सकिन्छ । मालेमावादको सही प्रतिबद्धता, दृष्टिकोण, चिन्तन, व्यवहार र क्षमताको उचित समायोजनको अभावमा कुनै पनि विद्रोह विजयसम्म पुर्याउन सकिँदैन । क्रान्तिकारी युद्धमा आत्मसुरक्षावाद र दुस्साहसवाद दुवै हानिकारक सिद्ध हुने गर्दछ । मालेमावादलाई सही रूपमा पकड्न नसक्दा युद्ध या त आत्मसुरक्षावाद, या त दुस्साहसवादमा फस्नु अनिवार्य छ । दुवै प्रकृतिको वर्ग निम्न पुँजीवादी वर्ग भएकोले यसको विसर्जनमा पतन पनि त्यत्तिकै अनिबार्य छ । यो जसरी समग्रयुद्धमा लागू हुन्छ किनकि दृष्टिकोणको अभिव्यक्ति रूप नै व्यवहार भएकोले हरेक कार्यनीतिक प्रश्न वा कार्बाहीमा समेत मालेमावाद पेचिलो ढंगले लागू भएको हुन्छ । त्यस्तै, बेथानामा बगेको रगत राजनीतिक रूपमा अकर्मण्यतावाद र फौजी रूपमा आत्मसुरक्षावाद विरुद्धको एक सशक्त द्योतक हो भन्ने कुरामा दुईमत हुनै सक्दैन ।

युद्धलाई शान्त, सभ्य, शालीनतापूर्वक सोच्नु र अपेक्षा राख्नु आदर्शवाद फगतदेखि अरू केही हुन सक्दैन । युद्धमा बलिदानदेखि डराएर तिघ्रा कमाउनुको अर्थ हुन्छ, अन्ततः युद्ध नै नगर्नु । मात्र कुरो के भने युद्धमा रगत उचित र सचेत ढंगले बग्छ कि बग्दैन भन्ने नै हो । त्यसैले, महान सहिद क. तीर्थ गौतमले भन्नुभएको थियो, ‘सहिदहरू दुईप्रकारका हुन्छन्, एकथरी बनाइएको हुन्छ भने अर्काथरी बनेका हुन्छन् ।’

सर्वहारावादी उच्च नैतिकता र आदर्शको प्रतीक बेथान

युद्धमा थुप्रै मान्छेहरू आउने गर्छन्, जो मार्क्सवाद–लेनिनवाद–माओवादका ज्ञानले पोख्त हुन्छन् तर ऊ साँचो अर्थमा सर्वहारा बन्न सकिराखेको हुँदैन । एकैचोटि यो बन्नु सम्भव पनि छैन । सर्वहारावर्ग बन्नु भन्नाको मतलब हो, उसको सांस्कृतिक रूपान्तरण सर्वहारासम्मत हुनु । पुरातन, रुढीवादी सामन्ती, निम्न पुँजीवादीमा प्रतिगामी सांस्कृतिक आचरणको परित्याग र प्रगतिशील, उध्र्वगामी वैज्ञानिक चिन्तन र सोचको अनुशरण नै सर्वहारावादी संस्कृतिको झिल्को हो । क्रान्तिकारी नेतृत्व र योद्धा जबसम्म सर्वहारावादी उच्च नैतिकता र आदर्शलाई आफ्नो आचरण बनाउन सक्दैन, तबसम्म ऊ अविराम रूपमा युद्धलाई हाँक्न र लागिरहन असमर्थ हुन्छ । व्यक्तिवाद, जातिवाद, क्षेत्रीयतावाद र अन्ततः संकीर्ण राष्ट्रियवादसमेत गैर–सर्वहारावादी चिन्तनका कसिला अभिव्यक्ति हुन् । यी सबै चिन्तनका विरुद्ध सर्वहारावादी हित र मुक्तिका निम्ति आफ्नो प्राणको उत्सर्ग गर्नु नै सर्वहारावर्ग आदेश अन्तर्निहित रहेको ठहर्छ । यस्तो गैर–सर्वहारा प्रवृत्ति हरेक खालको कार्बाहीमा समेत झल्कने गर्दछन् । तर, बेथान कार्बाहीमा बगेको रगत अत्यन्तै उच्च र महान् छ । त्यहाँ क्षेत्रीयतावादको नमीठो सीमारेखालाई तोडेर उदात्तभावका साथ काभ्रेको रगत बेथानमा बगेको छ ।

क्रान्तिकारी वीरता, साहस र विवेकको अनुपम सङ्गमको प्रतीक बेथान

युद्ध रक्तपातपूर्ण राजनीति हो । त्यसैले युद्धमा रगत बग्नु अनिवार्य नियम हो । क. शैशवले भन्नुभएझैँ “रगत क्रान्तिको उर्जा हो ।” त्यस्तै, माओ “युद्धमा बलिदानदेखि नडराई लगातार लड्दै जाऊ” भन्नुभएको छ । युद्धलाई शान्त, सभ्य, शालीनतापूर्वक सोच्नु र अपेक्षा राख्नु आदर्शवाद फगतदेखि अरू केही हुन सक्दैन । युद्धमा बलिदानदेखि डराएर तिघ्रा कमाउनुको अर्थ हुन्छ, अन्ततः युद्ध नै नगर्नु । मात्र कुरो के भने युद्धमा रगत उचित र सचेत ढंगले बग्छ कि बग्दैन भन्ने नै हो । त्यसैले, महान सहिद क. तीर्थ गौतमले भन्नुभएको थियो, “सहिदहरू दुईप्रकारका हुन्छन्, एकथरी बनाइएको हुन्छ भने अर्काथरी बनेका हुन्छन् ।” ठीक कुरा त्यही हो । युद्धको हरेक योजना र चरणहरू उचित ढंगले बन्छ कि बन्दैन भन्ने नै हो । त्यसैले, बेथान कार्बाहीपूर्व एकजना जिम्मेवार कमरेडसँग कुरा गर्दै क. तीर्थ गौतमले भन्नुभएको थियो, “अब रगत अलि माथिल्लो तहबाट बगाउनुपर्छ ।” त्यस्तै, सोही कार्बाहीमा प्रस्थान गर्नुअघि पनि उहाँले दृढतापूर्वक एकजना छापामारलाई “तिमी पहिला रगत बगाऊ” भन्नुभएको थियो । उहाँको यो महान् उद्गारलाई उहाँले कार्बाहीमा वीरतापूर्वक लडेर आफ्नै जीवनमा कार्यान्वयन गरेर देखाउनुभयो । वर्गदुश्मनको फौजी किल्लामा आफ्नो रगत बगाएर जनयुद्धको विकासलाई अर्काे मञ्जिलमा उठाउनुभयो । त्यसैले, बेथान कार्बाहीमा बगेको रगत तमाम क्रान्तिकारीहरूलाई वीरता, साहस र विवेकले प्रज्वलित भएको प्रेरणापुञ्जको उपहार हो, जहाँ यसको अत्यधिक मात्रामा अभिव्यक्त भएको पाइन्छ । त्यसैले नेकपा (माओवादी), पूर्वाञ्चल क्षेत्रीय ब्युरोले पुस १९ गतेलाई ‘वीरता दिवस’ को रूपमा मनाउने निर्णय गरेको छ, जसमा भनिएको छ, “बेथानले देखाएको बाटोमा अघि बढौँ ! पुस १९ गते वीरता दिवस मनाऔँ !”

छापामार युद्धकौशलको भरपूर उपयोग भएको बेथान

जब दुश्मन फौजी रूपमै अत्यधिक श्रेष्ठतामा हुन्छ, त्यस अवस्थामा कमजोर फैजी क्षमताद्वारा परास्त गर्न गाह्रो पर्ने गर्दछ । त्यस स्थितिमा कार्यनीतिक रूपमा एकको विरुद्ध दसको शक्ति प्रयोग गर्नु र छापामार युद्धकलाको प्रयोग गर्नु नै एक मात्र विकल्प रहन्छ । जतिखेर बेथान कार्बाही सम्पन्न हुन लागेको थियो, त्यस अवस्थामा एकातिर जनताको फौजी क्षमता दुश्मनको सापेक्षतामा अत्यन्तै न्यूनः कोटिमा थियो भने अर्काेतिर हाम्रो योजना दुश्मनसम्म एक्सपोज भएको स्थिति थियो । त्यस जटिल असाधारण परिस्थिति सिर्जना भएको बेला दुश्मनको अत्यधिक सतर्कता (चौबीसै घन्टा एलर्ट पोजिसनमा) को बाबजुद पनि बेथान कार्बाही शानदार ढंगले सम्पन्न गरेर विजयपश्चात् पनि आफ्ना सम्पूर्ण फौज र उपलब्धिको एकरति पनि क्षति नपुर्याई संरक्षण गर्न सक्नु त्यत्तिकै महत्त्वको विषय थियो । तसर्थ, उक्त कार्बाहीमा छापामार युद्धकला ‘हान र भाग’ को प्रचुर मात्रामा प्रयोग भएको थियो ।

जनसेना निर्माणको उद्गम–विन्दुको रूपमा बेथान

हुन त नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौँ फौजी वा गैर–फौजी कार्बाही टिमबद्ध रूपमा सम्पन्न भएका थिए । उक्त कार्बाही सम्पन्न गर्नका लागि स्वयंसेवक दल, सुरक्षा दल, लडाकु दल निर्माण गरेर जनसेना निर्माणको प्रारूप खडा गरिएको थियो । जुन अद्यावधि जनसेनाको आधारभूत शक्तिको रूपमा क्रियाशील रहेका छन् । त्यति नै बेला निर्माण भएका लडाकु दल परिष्कृत र विकसित रूप नै वास्तवमा हिजोका छापामार दस्ता र आजको प्लाटुन दस्ता हो भन्न सकिन्छ तर, बेथान कार्बाही नेपाली क्रान्तिकारी इतिहासकै एउटा कोशेढुङ्गाको रूपमा स्थापित बन्न पुगेको छ । जुन कार्बाहीमा जनताका सेनाहरूले दुश्मनको फैजी किल्लामाथि धावा बोलेर घन्टौँसम्म दोहोरो भिडन्त गरी ऐतिहासिक विजय हासिल गर्न सफल भए । अहिले भएका हरेक कार्बाहीहरू बेथान कार्बाहीको निरन्तर रूप हुन् भन्दा अतिशयोक्ति नहोला । त्यसैले यो दिनलाई नेकपा (माओवादी), पूर्वाञ्चल क्षेत्रीय ब्युरोले क्षेत्रीयस्तरमा ऐतिहासिक वीरता दिवसको रूपमा पुस १९ गते मनाउने निर्णय गरेको छ । त्यसैले बेथानको कार्बाही जनसेना निर्माणको उद्गम–विन्दु पनि हो भन्न सकिन्छ ।

दोस्रो योजनाको उत्कर्ष विन्दु बेथान

दोस्रो योजना जनयुद्धको निरन्तर योजनाको पहिलो चरण थियो । यो योजनाको मुख्य उद्देश्य भनेको मूलतः तीनवटा थिए : (क) योजनाबद्ध ढंगले छापामार इलाकाको निर्माण गर्नु, (ख) व्यापक रूपमा जनपरिचालन गर्नु र, (ग) दुश्मनसँग रहेको युद्धसामग्री कब्जा गर्नु । यस चरणमा पहिलो र दोस्रो उद्देश्य अत्यधिक र अपेक्षाकृत ढंगले नै हासिल भइराखेका थिए । तेस्रो उद्देश्यका निम्ति देशैभर भरपूर कोसिस भएको थियो । यसैक्रममा थुप्रै योद्धाहरूले उच्च सहादत पनि प्राप्त गरिरहनुभएको थियो । पश्चिममा क. दौलतविक्रमको सहादत सोही उद्देश्यका निम्ति भएको थियो । जिल्लामा स्थानीय सामन्ती सुदखोरहरूको हतियार कब्जा गर्ने काम पनि द्रुतगतिमा त्यही चरणमा सफल भएका थिए । फेरि पनि दोस्रो चरणको अन्तिम निष्कर्षमा भने कुनै कार्बाही पुग्न सकिरहेका थिएनन् । जतिखेर राजनीतिक रूपमा अकर्मण्यतावाद र फैजी रूपमा आत्मसुरक्षावादको पार्टीभित्र प्रवेश गरेको खतरा थियो, त्यसलाई ठीक समयमा पहिचान गरेर जसले उच्च साहस, शौर्य र विवेकको प्रतीकको रूपमा बेथान कार्बाही भयो । साँच्चिकै यस कार्बाहीले वर्गदुश्मनको मनोबल गिराउन र जनताको मनोबल उठाउन ठूलो मद्दत गर्यो । तसर्थ, यो कार्बाहीलाई जनयुद्धको दोस्रो योजनालाई उत्कर्षमा पुर्याउने ऐतिहासिक कार्बाहीको रूपमा लिन सकिन्छ ।

निष्कर्ष

यसरी हामी के भन्न सक्छौँ भने २०५३ सालको पुस १९ गते रामेछापको बेथानमा भएको ऐतिहासिक सफल कार्बाही क्रान्तिकारीहरूका निम्ति अत्यन्तै अनुकरणीय र प्रेरणापुञ्जकारी युगान्तकारी घटनाको रूपमा स्थापित भएको छ । यसको दूरगामी महत्त्व झन्–झन् अभिव्यक्त भइराखेको छ । हरेक नेतृत्व बेथानमा उच्च सहादत प्राप्त गर्नुहुने महान् तीफदि सहिदहरू हाम्रो गोरेटो बन्नुभएको छ । दोस्रो वार्षिकीमा बेथानलाई स्मरण गर्नु भनेको महान् आधार इलाकालाई निर्माण, रक्षा र सुदृढीकरणका निम्ति उचित ढंगले सचेततापूर्वक रगत बगाउनका लागि लागिपर्नु नै हो । यही आदर्शले अभिप्रेरित भएर मात्रै बेथानले देखाएको बाटोमा हिंड्न सकिन्छ । यसरी मात्र साँचो अर्थमा महान् सहिदहरूप्रति सम्मान र सद्भावको महत्वलाई झल्काउँछ ।

अन्त्यमा ‘तीफदी’ को दोस्रो वार्षिकीमा म यहाँहरूको अधुरो सदिच्छा पूरा गर्न सम्पूर्ण रूपले लागिपर्ने प्रण गर्दै श्रद्धाञ्जलि अर्पण गर्दछु ।

महान सहिद ‘तीफदि’ – लाल सलाम !

(साभारः जनादेश साप्ताहिक, १४ पुस, २०५५)