Vainkatesh Athreya on Das Capital
 

“पुँजी” किन पढ्ने ?

“पुँजी”को अध्ययनले मेरो जीवन पूर्णरुपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तत्थ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दैछु ।

मैले भारतको एक प्रतिष्ठित संस्थावाट सन् १९६९ मा रसायन अभियन्त्रीकरण (केमिकल इञ्जिनियरिङ) मा डिप्लोमा उत्तिर्ण  गरेँ र अमेरिकन विश्वविद्यालयमा अर्थशास्त्रको विद्यावारिधिका लागि छनौट भएँ । म भर्ना भएको विश्वविद्यालयमा भियतनाममा अमेरिकी हस्तक्षेपको विरुद्धमा शक्तिशाली विद्यार्थी आन्दोलनको सुरुवात भएको थियो । तर मेरो विद्यावारिधिको पाठ्यक्रममा किन यति शक्तिशाली राष्ट्रले भियतनाम जस्तो तेस्रो विश्वको सानो राष्ट्रमाथि आक्रमण गरिरहेको छ भन्ने प्रश्नको जवाफ दिने विषयवस्तु थिएन ।

यसै समयमा म कार्ल मार्क्सको “पुँजी” अध्ययन समुहमा संलग्न हुन पुगेँ । मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन् । तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरुले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन् । त्यसैले म “पुँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो ।

मैले विभिन्न सामाजिक विज्ञानका विषयहरुलाई आधार मानी विद्यावारिधि गरिरहेका विश्वविद्यालयका १० जना विधार्थीहरुको समूहमा समावेश भई अंग्रजी भाषामा “पुँजी”को अध्ययन गरेँ ।

सर्वप्रथम मलाई के लाग्यो भने यो पुस्तकलाई निकै सावधानीपूर्वक अध्ययन गर्नुपर्दछ र जसका वाक्यको महत्त्वपूर्ण अर्थ रहेको छ । क्रमशः मैले के पाएँ भने मार्क्सको यो पुस्तक निकै विष्लेषणात्मक रहेको छ जसको अध्ययनवाट मैले मनोरञ्जन लिन थालेँ । मैले विश्वविद्यालयको सेमेष्टरसँगै यसलाई निकैपटक दोहोर्याएर अध्ययन गरेँ, जसमा मैले केही नयाँ धारणा प्राप्त गर्न थालेँ ।

“पुँजी”को अनुवादमा समेत कवितात्मकता रहेको छ । मार्क्सको विज्ञतामा यति व्यापकता छ कि “पुँजी”मा राजनीतिक अर्थशास्त्र, द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद र सेक्सपियर वा गोथेका भनाइहरु समेत समाविष्ट छन् ।

मार्क्सको लेख्ने कलामा केही मनोरञ्जनात्मकता र बुर्जुवा अर्थशास्त्रीहरु र पुँजीवादी प्रणालीप्रति कटाक्ष रहेको छ । इञ्जिनियरिङमा स्नातक र गणितिय अर्थशास्त्रमा तालिमप्राप्त मैले “पुँजी”बाट के सिक्न सक्दथे ? सर्वप्रथम मैले के बुझेँ भने समाज र यसको गतिशीलता बुझ्नका लागि ऐतिहासिक दृष्टिकोण आवश्यक पर्छ । दोस्रो, समाजको गतिशीलता उतपादनका साधनमाथिको स्वामित्त्व, उत्पादक शक्ति र उत्पादनका साधन बिचको सम्बन्धले निर्धारित गर्दछ । तेस्रो, पुँजीवादी उत्पादन पद्धति निम्न तिन कुरामा आधारित रहेको छः

१. उत्पादक शक्तिहरुलाई उत्पादनका साधनबाट अलग्याउनु र तिनीहरुलाई ज्यालादारी मजदुरमा रुपान्तरित गराउँदै एक ध्रुवमा पुर्याउनु ।

२. उत्पादनका साधनहरुलाई निजी स्वामित्त्व वा एकाधिकारमा रुपान्तरित गर्दै अर्को ध्रुवमा पुर्याउनु ।

३. उत्पादनको सम्पूर्ण नाफा र बजारवाट प्राप्त मुनाफा व्यक्तिगत खातामा जानु ।

मार्क्सले यी सम्पूर्ण नाफामुखी प्रणालीहरुको विस्तारको बारेमा व्याख्या गर्नुभएको छ । “पुँजी”को पहिलो भागमा उपनिवेशवादको आधुनिक सिद्धान्त र पुँजीवादको विश्वव्यापी चरित्रको बारेमा ब्याख्या गरिएको छ । यसलाई मार्क्सले पुँजीवादी उत्पादन पद्धतिको नाफामुखी चरित्र र नाफाको औपनिवेशिक बिस्तारसँग जोडेर ब्याख्या गर्नुभएको छ । पछि लेनिनले यसलाई साम्राज्यवादी प्रणालीको रुपमा व्याख्या गर्नुभयो ।

मार्क्सले “पुँजी”मा पुँजीवादी आर्थिक प्रणालीको विरोधाभासी चरित्रको बारेमा उल्लेख गर्नुभएको छ । पुँजीपति बिचको द्वन्द तथा पुँजीपति र कामदार वर्ग बिचको द्वन्दले समाजमा उत्पादक शक्तिहरुमा द्रुततर बृद्धि भइरहेको छ एकातिर भने अर्कोतिर अत्यधिक उत्पादन, उपभोक्ताको क्रय क्षमतामा ह्रास, अत्यधिक नाफा र बेरोजगारीमा बृद्धि भइरहेको छ । यो विरोधाभासले पुँजीवादी समाजको बढ्दो उत्पादन क्षमता र उपभोग क्षमताको घट्दो ह्रास देखाउँछ । जसले मागमा संकट र बेरोजगारीको दरमा बृद्धि गराइरहेको छ ।

यसले पुँजीवादको बेथिति र अराजकता देखाउँछ जसको फलस्वरुप सम्पूर्ण आर्थिक क्षेत्रमा संकट उत्पन्न भइरहेको छ । त्यसैगरी प्रविधिको बढ्दो विकासले उत्पादन दरमा बृद्धि भइरहेको छ । जसले बेरोजगारीमा बृद्धि र नाफामा घटबढ गराइरहेको छ । यी सम्पूर्ण ऐतिहासिक कारक तत्त्वहरुले पुँजीवादी प्रणालीमा उतारचढाब ल्याइरहेको छ र बेरोजगारीमार्फत कामदार वर्गको जीवनमा निकै नकारात्मक प्रभाव पारिरहेको छ ।

यी सबैको बावजुद पुँजीपति वर्ग र पुँजीवादी राष्ट्रको बिचमा विश्वस्तरमा द्वन्द झांगियो, दुइवटा विश्वयुद्धमा लाखौँ मानिस मारिए र ठूला कर्पोरेसनहरुले अत्यधिक नाफा हात पारे । हालसम्म पनि विश्व पुँजीवादमा संकट कायम छ, अर्थतन्त्रमा गिरावट र बेरोजगारीको दर उच्च नै रहेको छ । अहिलेको विश्व पुँजीवादमा रहेकोे संकट र जलवायु परिवर्तनको विश्वव्यापी संकटमा पनि पुँजीवादी प्रणालीको मुख्य हात रहेको छ ।

Das Capital and Karl Marx
कार्ल मार्क्स र “पुँजी”

मार्क्सको “पुँजी”ले पुँजीवादी उत्पादन स्वरुपको ऐतिहासिक विघटन र १९ औ शताब्दीमा भएका पुँजीवाद जीवन्त राख्ने प्रकृयाको विश्लेषण गर्दछ । बिसौं शताब्दीको अनुभवले के देखाउँछ भने विश्वका औद्योगिक राष्ट्र र उपनिवेशमा रहेका राष्ट्रका जनताले पुँजीवादको विरुद्धमा विद्रोह गरिरहेका छन् । विज्ञान र प्रविधिमा आएको परिवर्तन, खाने, बस्ने स्थान, लुगाफाटो, शिक्षा र स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको परिपूर्तीका बावजुद २१ औ शताब्दीमा पनि पुँजीवादी प्रणालीमा संकट नै रहेको छ । मार्क्सको “पुँजी”मा गरिएको पुँजीवादी प्रणालीको वैज्ञानिक व्याख्याले आधुनिक समाजमा रहेको धनी र गरिब बिचको असमानता बुझ्न झन् सघाउ पुर्याइरहेको छ ।

के “पुँजी” पढ्नु निकै चुनौतीपूर्ण हो ?

अब मैले “पुँजी”बाट के सिकेँ भन्ने तथ्यलाई उल्लेख गर्दैछु । मेरो बुझाइमा राजनीतिक कार्यकर्ता र बौद्धिक वर्गले समेत भनिरहेको “पुँजी” निकै कठिन छ भन्ने भनाइमा कुनै सत्यता छैन । तर के चाहिँ सत्य हो भने “पुँजी”को पढाइमा एकस्तरको लगाव, अध्ययनमा निरन्तरता र तार्किकता हुन जरुरी छ । त्यसैले “पुँजी”को अध्ययन अत्यन्तै फाइदाजनक र असामान्यरुपले ज्ञान आर्जन उन्मुख छ ।

“पुँजी”मा मार्क्सले “पुँजी”वादी उत्पादनको पद्धतिको विश्लेषण, यसको आन्तरिक गतिशिलता र विरोधाभाषको उल्लेख गर्दै पुँजीवादको गतिशीलताको नियमलाई संक्षेपीकरण गर्नुभएको छ । यस्तो विश्लेषण ऐतिहासिक भौतिकवादी धारणाको आधारमा हुनुपर्छ, जसले उत्पादनको स्वरुपको विश्लेषणमा समेत सघाउ पुर्याउँछ । यसका लागि एकस्तरको भावनात्मकता अनिवार्य हुन्छ । मार्क्स कै शब्दमा “आर्थिक स्वरुपको विश्लेषणमा, न सुक्ष्मदर्शक यन्त्र न रासायनिक अभिकर्ताको नै प्रयोग गर्न सकिन्छ । भावनात्मक क्षमताले मात्र यसलाई विस्थापित गर्न सक्दछ ।”

मार्क्सले आफ्नो लेखनमा सम्पूर्ण विज्ञानको प्रयोग गर्नुभएको छ । मार्क्सको पुँजीको प्रथम भागका तिन एकाइहरु वस्तु र मुल्यको धारणामा आधारित छन् । मार्क्सको “पुँजी”को अध्ययनमा कुनै नियमितता नभई जुनसुकै एकाइलाई जतिखेर जसरी पढे पनि हुन्छ । पाठकहरु जसले ऐतिहासिक दृष्टिकोणको आधारमा विश्लेषण गर्दछन्, उनीहरुले “पुँजी”को प्रथम भागकोे अन्तिम एकाइ पुँजीको आदिम वा प्राथमिक संकलन वा सञ्चय पढ्दा उपयुक्त हुन्छ । यस एकाइको ६० पेजले बेलायतमा सत्रौँ शताब्दीदेखि उन्नाइसौँ शताब्दीसम्म कसरी पुँजीवादी उत्पादन प्रद्धतिको ऐतिहासिक विकास भयो भन्ने प्रक्रियाको राम्रो ढंगले विश्लेषण गर्दछ ।

कामदारवर्गको आन्दोलनको जुझारूपनको बारेमा “पुँजी”को भाग एकको एकाइ ३, ४ र ५ मा उल्लेख गरिएको छ । जसमा सापेक्ष र निरपेक्ष अतिरिक्त मुल्यको विश्लेषण गरिएको छ । त्यस्तै पुँजीको १० औँ एकाइमा “कार्य दिवस” को बारेमा लेखिएको छ जसले तेस्रो विश्व खास गरी भारतको उपयोग र अन्य क्षेत्रमा रहेको काम गर्ने समयको बारेमा रहेको विविधताको व्याख्या गरिएको छ । यो एकाइले इतिहास खासगरी वैधानिक इतिहासको उल्लेख गर्दै वर्ग, अतिरिक्त मुल्यको पुँजी र शोषण विरुद्धको कामदार वर्गको प्रतिरोध आन्दोलनको उल्लेख गरेको छ ।

मार्क्सको शब्दमा “काम गर्ने दिनको बारेमा पुँजीपति र मजदुरको बिचमा लामो समयदेखि द्वन्द चलिरहेको छ, जसले दुई विपरित वर्गको प्रवृतिलाई देखाउँछ… ।” मार्क्सले मजदुरलाई आफ्नो श्रमको मालिक भएको उल्लेख गर्दै यसलाई उसले आफू खशी बेच्न पाउनुपर्ने तर्क राख्नुभएको छ । त्यसैले कामको घण्टा तोकिनु वास्तममै म्याग्नाकार्टा नै हो भन्ने धारणा मार्क्सको छ । यसलाई मार्क्सले सन् १८६० को दशकमा बेलायतको सन्दर्भमा ब्याख्या गर्नुभएको थियो । जसलाई भारत, नेपाल लगायतका राष्ट्रको सन्दर्भमा पनि ब्याख्या गर्नु पर्दछ ।

“पुँजी”को XII, XIII र XIV एकाइमा क्रमशः सहकारिता, श्रम विभाजन र उत्पादन तथा यान्त्रिकता र आधुनिक उपयोगको बारेमा व्याख्या गरिएको छ । मार्क्सले इञ्जिनियर र प्राविधिकहरुको बारेमा उपयोगी हुने यो एकाइमा औद्योगिक उत्पादनका विषयवस्तुबारे ब्याख्या गर्नुभएको छ । यसलाई मार्क्सले सामाजिक र ऐतिहासिक रुपान्तरणको प्रकृया मान्दै यसले पुँजीवादी उत्पादन पद्धतिमार्फत मजदुरको बेरोजगारी अवस्थाको समेत ब्याख्या गर्नुभएको छ ।

मार्क्सले उद्याेगमा प्रविधिकाे प्रयाेगले क्रान्तिकारी परिवर्तन ल्याएकाे धारणा राख्दै परम्परागत उत्पादनकाे स्वरूपलार्इ परिवर्तन गर्नुपर्ने धारणा राख्नु हुन्छ । उद्याेगमा रसायन, प्रविधि र अन्य अाधुनिक विधिकाे प्रयाेगले उत्पादन प्रकृयामा समेत परिवर्तन हुने र यसले सामाजिक सम्बन्धमा समेत प्रभाव पार्ने गर्दछ । प्रविधिकाे  प्रयाेगले श्रम विभाजन, विश्वव्यापी श्रमिक गतिशीलता र पुँजीवादी उत्पादन पद्धतिमा अत्यधिक प्रभाव पार्ने धारणा राख्दै यसले श्रमिककाे अवस्था र बेराेजगारीमा समेत असर पार्ने धारणा राख्नु हुन्छ ।

मार्क्सले आधुनिक उधोगको भूमिकाकोबारेमा सन्तुलित र ऐतिहासिक धारणा राख्नु हुँदै पुँजीवादी उत्पादन स्वरुपका अन्य विभिन्न पक्षहरुको विश्लेषण गर्नुभएको छ । उद्योग र कृषिको सम्बन्धमा समेत मार्क्सले आफ्नो धारणा राख्नुभएको छ । मार्क्सले पुँजीवादी औद्योगिक आधुनिकीकरणले कृषि र कृषि कामदारको जीवनमा पारेको प्रभावको समेत विश्लेषण गर्नुृभएको छ । मार्क्सका अनुसार पुँजीवादी उत्पादनले कृषि र निर्माणको क्षेत्रमा अत्यधिक प्रभाव पारेको छ । यसले भविष्यको भौतिक अवस्थाको उच्चतामा कृषि र उद्योगको एकताले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । मार्क्सले मानव र माटोबिचको सम्बन्धको समेत ब्याख्या गर्दै माटोको उत्पादकताको विश्लेषण गर्नुभएको छ । मार्क्सका अनुसार पुँजीवादी कृषिले माटोलाई आफ्नो हितमा प्रयोग गरेको छ । उत्पादकत्त्वको नाउँमा माटो र श्रमिकहरुको शोषण गरेको छ ।

“पुँजी”: एक आनन्दपूर्ण अध्ययन

“पुँजी”को अध्ययन सरल र ज्ञानवर्द्धक छ । “पुँजी”को पहिलो भागको अध्ययनले हामीलाई पुँजीवादका मुख्य धारणा र पुँजीवादी उत्पादन पद्धतिको बारेमा बुझ्न सघाउ पुर्याउँछ । यो अत्युक्ति हुदैन कि शासक वर्गले समेत पुँजीवादी उत्पादन स्वरुपको विश्लेषणका लागि “पुँजी”को अध्ययन गर्दछन् । बुर्जुवा बिचारकहरु र बौद्धिक वर्गले समेत मार्क्सको पुँजीलाई अस्वीकार गर्दै यसको बौद्धिक चोरी गरिरहेका छन् । अर्थशास्त्रीहरुले मार्क्सलाई अर्थशास्त्रीको रुपमा नभई राजनीतिक प्रचारकको रुपमा ब्याख्या गरिरहेका छन् । पुँजीवादभित्रको संकट गहिरिदै जाँदा र नवउदारवाद तथा किन्सको सिद्धान्तले यसको ब्याख्या गर्न नसकेको सन्दर्भमा मुख्य अर्थशास्त्रीहरुले माक्र्सलाई पनि उत्तररिकार्डियन भनी हल्ला फिँजाइरहेका छन् । मार्क्सको सिद्धान्तलाई गलत ढङ्गले प्रचार गरिरहेका छन् ।

मार्क्सको “पुँजी”को प्रथम भागमा उल्लेख गरिएको वस्तु र मुल्यको धारणा नै पुँजीको सबैभन्दा महत्त्वपूर्ण र कठिन धारणा हो । यो भागमा मार्क्सले वस्तुको उपयोग मुल्य र विनिमय मुल्यको उल्लेख गर्नुभएको छ । मार्क्सको विनिमय मुल्यको धारणा एक जटिल सामाजिक सम्बन्धको प्रतीक हो । जुन बाह्य र देखिने स्वरुपमा मात्र नभएर अत्यन्त गहिरो र पुँजीवादी उत्पादन स्वरुपलाई उजागर गर्ने धारणा समेत हो ।

“पुँजी”को प्रथम भागको २५ एकाई पनि त्यतिकै महत्त्वपूर्ण छ, जसले पुँजीवादी सञ्चितीकरणको नियमको बारेमा उल्लेख गर्दछ । यसले पुँजीवादी उद्विकासको विरोधाभास मात्र नभएर वास्तविक संसारको विरोधाभास समेत उल्लेख गर्दछ । मार्क्सको “पुँजी”का सम्पूर्ण एकाइहरु यति महत्त्वपूर्ण छन् कि प्रत्येकले विगत र वर्तमान संसारको आवाज बोलिरहेको देखिन्छ । मार्क्सले तत्कालीन तथ्याङ्कलाई सावधानीपूर्वक प्रयोग गर्नुभएको छ र अनुभवसिद्ध तथ्यहरुको समेत प्रयोग गर्नुभएको छ । उहाँले पूर्वीय साहित्य र तत्कालीन समयका दार्शनिक विचारहरुलाई समेत यथास्थानमा राम्रो ढङ्गले प्रयोग गर्नुभएको छ ।

मार्क्सले त्यस समयका प्रसिद्ध कवि गोथेको उल्लेख गर्दै पुँजीवादको विकास र यस भित्रका विरोधाभास र यसको विनासको राम्रो ढङ्गले ब्याख्या गर्नुभएको छ । त्यसैले “पुँजी”को अध्ययन गर्नुहोस्, यसको भूमिका पढ्न नछुटाउनुहोस र तिनै भागको अध्ययनले तपाईंको ज्ञानको क्षितिज नवीन र फराकिलो समेत हुनेछ ।

यो पनि पढ्नुहोस्ः समाजवादी भूमण्डलीकरणबारे – क. फिडेल क्यास्ट्रो

यो पनि पढ्नुहोस्ः अक्टाेबर समाजवादी क्रान्ति – क. अानन्दस्वरूप बर्मा

यो पनि पढ्नुहोस्ः दर्शन, वर्गसङ्ङर्ष र सामाजिक क्रान्तिकाे सम्बन्ध – क. प्रचण्ड

यो पनि पढ्नुहोस्ः सर्वहारावर्गका महान् गुरू कार्ल मार्क्सकाे जीवनी – क. शिशिर श्रेष्ठ

(प्रा. बैंकटेश आत्रेयद्वारा लिखित मार्क्सवादी राजनीतिक अर्थशास्त्रः पुँजि भाग १ को परिचय पुस्तकको एक अंश)

अनुवादः गाेकर्ण ज्ञवाली र प्रमेश पोखरेल