Kali Bahadur Malla
 

सभ्यताको इतिहासमा विश्वासका अन्य सभ्यताजस्तै सिन्धु (सैन्धव) सभ्यता पनि महत्त्वपूर्ण मानिन्छ। असुरियाबाट अाएका असुरहरुद्वारा स्थापित सिन्धु सभ्यताको समय ई. पू. २८ अाैँ शताब्दीदेखि ई. पू. २२ अाैँ शताब्दी गरी जम्मा ६०० बर्ष मानिएको छ । मोहेन्जोदारो र हडप्पा (जो अाज पाकिस्तानमा पर्दछ) को उत्खनन् पछि फेला परेको थियो – सिन्धु सभ्यता ।

पशुपालनदेखि कृषि उत्पादनमा प्रवेश गरी जाै र गहुँ खेतिबाट सुरु गरेको बुझिन्छ । कुलाे, नहर निर्माणदेखि नगर निर्माण र राज्यसत्ताको सुरुवात पनि गरेको देखिन्छ । सिन्धु सभ्यतालाई ताम्र-काश्य युगको सभ्यता र द्रविडियनको सभ्यता मानिन्छ ।

मातृदेवि र पशुपति (महादेव) लाई मुख्य देवी-देवताका रुपमा मान्ने त्याे सभ्यतामा सर्प, नन्दीलाई देवी-देवताका सहयाेगीकाे रुपमा मानिन्थ्यो । तर प्रकृतिपूजक अवस्था नै मुख्य थियो । तर नदीमा अाएको बाढी र घुमन्ते अार्यहरुको अाक्रमणले सिन्धु सभ्यता समाप्त भयो । द्रविडियनहरु दक्षिण भारततिर लागे ।

कृषि युगमा प्रवेश गरिसकेका द्रविडियनहरुलाई अाक्रमण गरी कव्जा गरेपछि वैदिक अथवा हिन्दु सभ्यताको सुरुवात हुन्छ । वैदिक सभ्यतालाई दुई भागमा बाँडिन्छः पूर्व-वैदिक र उत्तर-वैदिक । पूर्व-वैदिककाल भन्नाले ऋग्वेदकाल (ई. पू. १५०० देखि ई. पू. १२००) लाई बुझाउँछ । बहुदेववादमा विश्वास गर्ने अार्यहरुले अाकासमा ११, पातालमा ११ र मर्त्यलोकमा ११ गरी ३३ देवीदेवता मानेका छन् । मुख्य देवतामा ईन्द्र, अग्नि, वरुण, सोम र सुर्य थिए । तीमध्ये प्रमुख देवता ईन्द्र नै थिए भने महादेवको कुनै स्थान थिएन । बरु सिस्नदेवा (लिंग पुजा गर्ने) भनेर घृणा गरिन्थ्यो, ब्रह्मा (प्रजापति) को पनि स्थान थिएन ।

ऋग्वेद खास गरी देवताहरुलाई सम्मान र अाराधना गर्ने प्रार्थनाको संग्रह थियो । अर्थात जे गरेपनि “म राम्रो सुख, सम्पति,पाऊँ” भन्ने सार थियो । मानिसको मृत्युुपछि गाड्ने, पशुपंक्षीलाई खुवाएर कंकाल गाड्ने वा जलाउने दुवै चलन थियो । क्रिया बस्ने, जुठाे बार्ने चलन सुरु भएको थिएन । बरु मृतकका नाममा वेदका मन्त्र पढेर काम सक्ने गरिन्थ्यो । जातपातको सुरु नभए पनि श्रमको विभाजन भएको र ऋग्वेदको अन्तिमतिर जाति ब्यबस्थाले अाकार ग्रहण गरेको थियो ।

ऋग्वेद निर्माणपछि उत्तर-वैदिककाल प्रारम्भ हुन्छ । ई. पू. १२अाैँ शताब्दीदेखि ई. पू. ६०० सम्मलाई उत्तरवैदिककाल मानिएकाे छ । यो कालमा भूगोल विस्तार, जाति प्रथाको सुरुवात, अाध्यात्मिक दर्शनकाे विकास भएको मानिन्छ । यता देवताहरुको वरियतामा पनि परिवर्तन अाई ईन्द्रलाई घटुवा गरी प्रजापति (ब्रह्मा) प्रमुख देवतामा नियुक्त गरियो । यसैगरी अनार्यका पुर्खा महादेवलाई पनि ब्रम्हा कै समकक्षीमा राखियो । सृष्टिकर्ता ब्रम्हा, पालनकर्ता विष्णु र संहारकर्ताको जिम्मेवारी महादेवलाई ताेकियो ।

ऋग्वेदमा “शिष्णदेवा” लिङ्ग पुजा गर्ने भनेर घृणा गरिएका अनार्य द्रविडियनका देवतालाई उत्तरवैदिककालमा “रुद्र” भनियो । सिन्धु सभ्यतामा साँढे, नाग र मातृदेवी, लिङ्ग पुजा, नाग पुजाको परम्परा अार्यहरुले अनार्यबाट लिएको र अथर्ववेदमा उल्लेख जादु-टुना, मन्त्र-तन्त्र पनि अनार्यबाट उत्तरवैदिककालमा लिएकाे बुझिन्छ ।

ऋग्वेदकालमा रहेको नारीको सम्मान उत्तरवैदिककालमा घटेर गयो । छाेरीलाई दु:खको कारण मान्दै कन्या बेच्ने, दाइँजाे दिने कूप्रथा र सतीप्रथा प्रारम्भ भयाे । “छाेरीको विवाह रजस्वालापूर्व नै गर्ने” ब्यबस्था गरेर बालविवाहको जग बसालियाे ।

यस विषयको सारमा अाज नेपालमा धर्म र परम्पराबारे जे बुझाइ छ, त्यसमा ध्यानाकर्षण हाेस् र विचार हाेस् भनी प्रस्तुत गरिएको हो । स्मरण रहोस्, ऋग्वेदकालमा जे थियो त्यो उत्तरवैदिककालमा रहेन । १९ अाैँ शताब्दी ई. पू. को रामायणकाल र १४ अाैँ शताब्दीको महाभारतमा फरक छ । यी सबै विषय भार्गवले लेखेको मनुस्मृतिले सबै ताेडेर नयाँ परम्परा थालनी गरे, जाे मानवता विराेधी हुन पुग्यो । देवता फेर्न सकिने, परम्परा फेर्न सकिने, जात फेर्न सकिने विगतको इतिहास छ भने नेपालमा ५ हजार बर्ष पुरानो कुरा समातेर अाजको दुनियाँलाई प्रतिगमनतर्फ धकेल्नु हुँदैन । विगत जे थियो, अाज त्याे छैन र भाेलि पनि त्याे हुँदैन । समयको गतिसँगै सबै बदलिन्छन् । हामी बदलिनु पर्छ भन्दा अप्ठ्याराे त पर्दैन?

यी पनि पढ्नुहोस्ः

एक्काइसाैँ शताब्दीमा लेनिन र क. प्रचण्ड – क. कालीबहादुर मल्ल

एनजिओ: साम्राज्यवादको सेवक – जेम्स पेट्रास र हेनरी भेल्तमेयर

लोकप्रियता – क. माधव ढुङ्गेल

बुद्ध जयन्ती र गौतम बुद्ध बारेको वास्तविकता