Hasta Bahadur KC at Russia
 

मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्त्व र ती सबैको विलुप्तीको वैज्ञानिक अध्ययन गरिन्छ ।

सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसँग सामना गर्नसक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो मार्क्सवाद–लेनिनवाद र माओवाद/विचारधाराका रूपमा विकसित भएको छ ।

यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने मार्क्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । मार्क्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्त्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू मार्क्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्दछन, त्यो बेला संशोधनवादको जन्म हुन्छ ।

मार्क्सवादको जन्मको लगत्तै प्रुधोंजस्ता अवसरवादीहरूको जन्म भएको हो । मार्क्सवादलाई पुरानो भइसकेको ‘जडसूत्रवादी’ सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्थापना पेश गर्ने पहिलो व्यक्ति बर्नस्टाइन हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवम् मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रहिआएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यो संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हो । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै संशोधनवादले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्छ । सामाजिक र सैद्धान्तिक विशेषताहरूसहित संशोधनवादको जन्म हुने गर्दछ ।

ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक स्रोत निम्नपुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहँदै आएको छ । साम्राज्यवादको जन्म इङ्ल्याण्डबाट भएको थियो । जब साम्राज्यवाद अन्य देशहरूमा फैलँदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो ।

जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौं अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे मार्क्स–एङ्गेल्सले उद्घाटित गर्नुभएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवादी विचारधारा नै हो ।

संशोधनवादले मार्क्सवादका संघटक अंगको बारेमा दर्शन, राजनीति र समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवं विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्टवाद, प्रत्यक्षवाद, अनुभववाद, व्यवहारिकतावाद, संकल्पवाद, भँडुवा विकासवाद र नानाथरीका विचारपन्थी सारसंग्रहवादलाई आत्मसात गर्दै आएको छ ।

द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादका विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी संकट तथा मूल्यसिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतःस्फूर्ततावादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु, यसका मूलभूत सिद्धान्त हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसंघर्ष, सर्वहारा अधिनायकत्त्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, पुँजीवादी अधिनायकत्त्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दछ र मजदुर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउनु यसका मूल विशेषता हुन् ।

हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधाराका तीन गुणात्मक चरणमा भएको छ । त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्गदुश्मनहरू, उनीहरूको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरू र संशोधनवादीहरूका विरुद्धको भीषण वर्गसंघर्ष, अन्तरसंघर्ष र दुईलाइन संघर्षका बीचबाट निकै जटिल, संगीन र ओजपूर्ण रहेको छ ।

मार्क्सवाद इतिहास–विज्ञानको महान खोज थियो । वर्गसंघर्षको सर्वहारा अधिनायकत्त्वमा विकास र साम्यवादको स्थापना त्यस खोजको केन्द्रीय कडी सर्वहारा वर्गको अधिनायकत्त्व थियो । अराजकतावादीहरूले मार्क्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरुद्ध ‘स्वतन्त्र राज्य’ को पक्ष पोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्त्वका पुँजीवादी नारालाई अलंकृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातीय तत्त्वहरूलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पूरा जोड दिएका थिए ।

मार्क्स–एंगेल्सले ती सबका विरुद्ध लड्दै मार्क्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको सम्वाहक पार्टीलाई समेत स्थापित गर्नुभएको थियो । दोस्रो अन्तर्राष्ट्रियकालमा बर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्त्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, बालिग मताधिकार, पुँजीवादी अधिनायकत्त्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्सेविकवाद, विसर्जनवाद, काउत्स्कीवादलगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्दार काउत्स्कीले बर्नस्टाइनको पदानुसरण गर्दै सर्वहारा अधिनायकत्त्व र बल प्रयोगको सिद्धान्तका विरुद्ध ‘शुद्ध जनवाद’को पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशीलसमेत बताएको थियो ।

आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः ख्रुश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दै तथा वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्त्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गर्‍यो । खु्रश्चोभदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसीवादका रूपमा गिर्न पुग्यो ।

पछिल्लो अवधिमा आउँदा क. माओत्सेतुङले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयम् चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनर्स्थापना रोक्नका लागि सर्वहारा अधिनायकत्त्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान १० वर्षे साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा मार्क्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी मार्क्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बीचबाट गुज्रँदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौँ घटनाहरू घटिसकेका छन् । सारा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतंकवादी, जडसूत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन्, भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् ।

वास्तवमा संशोधनवादीहरू बर्नस्टाइन, काउत्स्की र खु्रश्चोभभन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्तसम्म अँगाल्न पुगेका छन् र आज संशोधनवाद नांगो पुँजीवादमा समेत गिर्न पुगेको छ ।

हामीले सञ्चालन गर्दै आएको वर्गसंघर्ष, अन्तरसंघर्ष, दुई लाइनको संघर्ष, अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको मार्क्सवाद र संशोधनवादबीचको यो भीषण लडाइँ आज आएर एकातिर मार्क्सवाद–लेनिनवाद–माओवाद र अर्कोतिर, शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावादबीचको लडाइँ अभिव्यक्त हुन पुगेको छ । यो एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मार्क्सवाद र संशोधनवादका बीचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने, अर्कोतिर त्यस लडाइँको मार्क्सवाद र प्रतिक्रियावाद बीचको लडाइमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज मार्क्सवाद र संशोधनवादबीचको संघर्ष सारमा भन्नुपर्दा माओवाद र प्रतिक्रियावादबीचको भीषण संघर्षमा बदलिन पुगेको छ ।

यी पनि पढ्नुहोस्ः

मेरो रुसी यात्रा र महान् अक्टोबर क्रान्ति – क. हस्तबहादुर केसी

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल – क. स्वनाम साथी

अक्टोबर समाजवादी क्रान्ति – क. अानन्दस्वरूप वर्मा