Dipawali, Diyo, Tihar, Bhai teeka, Deepawali, tihaar
 

तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र वर्मामा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । नेवार समुदायमा चौँथो दिन म्ह पूजा गरिन्छ ।

गाईलाई लक्ष्मीको प्रतिक मानिन्छ र गाई पूजाकै दिन लक्ष्मीको पनि पूजा आराधना गरी श्रीसम्पत्तिको कामना गरिन्छ । लक्ष्मी पूजाकै दिनदेखि मानिसहरू घरवरपर, भण्डार, बरण्डा, झ्याल र ढोकामा झिलिमिली बत्ती बाली लक्ष्मीको आगमनको कामना गर्दछन् । दाजुभाइको पूजा गर्दा दिदीबहिनीले तिनलाई वरिपरि तेलको घेरा दिएर सुरक्षित साथ मण्डपमा राख्छन् र तेल घस्दै टीकाका साथ माला लगाइदिएर खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई दक्षिणा र उपहार दिन्छन् ।

तिहार लाग्नुअघि बजारमा मानिसको विशेषगरी महिलाहरूको ठूलो भीड हुन्छ । यस अवसरमा रङ्गीविरङगी रङ, उपहारका सामग्री, मिठाइ, फलफुल र फूलमाला विक्रि हुन्छन् । तिहार सुरु भएपछि मानिसहरू समूहसमूहमा गाजा बाजाका साथ गीत गाई देउशीभैलो खेल्ने र पैसा सङ्कलन गर्ने गर्दछन् । तिहारको अवसरमा खाइने विशेष खाना सेल रोटी हो ।

तिहार सम्बन्धमा हिन्दु धर्मवलम्बीहरूमाझ अनेकौँ कथा र किम्वदन्ती प्रचलनमा ल्याइएका छन् । एक प्राचीन कथाअनुसार असुर राजा बलीले अश्वमेध यज्ञ गर्न लाग्दा स्वर्गका राजा इन्द्रले आफूलाई असुरक्षित महसूस गरे र विष्णुलाई गुहारे । इन्द्रको सहयोगार्थ विष्णुले वामनको अवतार धारण गरे र बलीसमक्ष भिक्षा माग्न पुगे । दानी भनी कहिलिएका बलीले के भिक्षा चाहियो भनी सोध्दा वामनले मलाई तीन पाउ बराबरको भूमि दान दिनुहोस् भने । बलीले सोअनुसार दिन कबोलेपछि विष्णुले विशाल रूप धारण गरी दुईवटा पाइतालाले सम्पूर्ण पृथ्वीको भूभाग ओगटिदिए । विष्णुलाई अर्को पाउ राख्ने भूमि दिन नसकेपछि बलीले आफ्नो शीर थापे । विष्णुको भार थाम्न नसकी बली पाताल पुगे । तर वलीको त्यागबाट खुशी भएका विष्णुले उनलाई वर्षमा पाँच दिन स्वर्गमा आई राज गर्ने अनुमति दिए । त्यस पाँच दिनको अवधिमा यमराजको काम नभएकाले उनी बहिनी यमुनाको घर गई समय बिताए । पाँच दिनको आतिथ्यतापछि जब यमराज विदावादी हुन लागे, बहिनीले उनलाई टीका लगाई माला पहिराएर विदा गरिन् । यसबाट खुशी भएका यमराजले बहिनीलाई प्रशस्त दान दक्षिणा उपहार दिनुका साथै वर माग्न भने । यमुनाले पनि त्यस खुशीयालीको अवसरमा जसले तपाईँको सम्झना गर्दछन्, तिनको आयु लामो बनाइदिनुहोस् भनी अनुरोध गरिन् र त्यसमा यमराज राजी भए । त्यसपछि जनतामा यमपञ्चकको रूपमा यो पर्व मनाउने परम्परा बस्यो (चापागाई, २०६७ः ७३) । जसले तिहारको अवसरमा यमराजको पूजा गर्छ ऊ निरोगी भई आयु लामो हुन्छ भन्ने विश्वास जनमानसमा छ । तिहारमा काग र कुकुरलाई यमराजका दूत भनी पुजिन्छ ।

तिहार सम्बन्धमा जनजाति समुदायमाझ अर्को लोककथा सुन्नमा आएको छ । यसअनुसार एक चोटि किराती राजा बलिहाङ बिरामी भई थला परे । उनले आफूलाई यमराजले लैजाने खबर काग र कुकुरमार्फत् परिवारसमक्ष पठाए । यो खबर थाहा पाएपछि बलिहाङकी दिदीले भाइको पूजा नसकिन्जेल नलैजान यमराजसमक्ष आग्रह गरिन् । साथै उनले के शर्त पनि राखिन् भने भाइले पूजामा लगाएको टीका नमेटिउन्जेल, उसको वरपर छर्किएको जल नसुकुन्जेल र उसले लगाएको माला नओइलाउन्जेल यमराजले धैर्य गर्नुपर्दछ । यमराजले यो शर्त स्वीकार गरे । तर पूजाको अवसरमा वलिहाङ्की दिदीले भाइलाई लामो समयसम्म नमेटिने तेलको घेराभित्र सुरक्षित राखी पञ्चरङ्गी टीका लगाइदिइन् र लामो समयसम्म नओइलाउने मखमली माला लगाइदिइन् जसले गर्दा बलिहाङको आयु केही लम्बिन गयो । यही कथालाई विश्वास गरेर नै समाजमा दिदी बहिनीले दाजुभाइलाई पुज्ने प्रचलन चलेको हो (SCFI, 2016 : 1)।

तिहार सम्बन्धमा अर्काथरीको मत बेग्लै छ । तिनले यसलाई रामचन्द्रको विजय महोत्सवको रूपमा व्याख्या गरेका छन् । रामचन्द्रले सीतालाई हरण गर्ने रावणलाई बध गरी १४ वर्षको वनवासपछि अयोध्या फर्कँदा जनताले खुशियालीको रूपमा दिपावली गरेको अवसर नै पर्वको रूपमा वर्षेनि मनाउने गरिएको हो भने तिनको कथन छ ।

तर तिहारसम्बन्धि यी माथि व्यक्त गरिएका कुनै पनि मिथक र कथाहरू सत्यपरक देखिन्नन् । हामीकहाँ परिस्थितिजन्य आवश्यकताबाट सुरु गरिएका कतिपय उत्सवहरूलाई धर्मको लेप लगाएर कर्मकाण्डीय बनाउने जालसाँजी निकै भएका छन् ।

तिहारमा गरिने गतिविधिको अध्ययन गर्दा यो प्रकृतिपरक किसानको पर्व भएको बुझिन्छ । बाली लगाउने र थन्क्याउने अवधिको बीचमा किसानलाई फुर्सद हुने समयमा मनाइने भएकाले यो किसान समुदायसँग सम्बन्धित भएको बुझिन्छ । तिहारको अवसरमा न जाडो हुन्छ न त गर्मी नै । खेतमा सुनौला धानका बाला झुलेका देखिन्छन् भने बगैँचामा रङ्गी विरङ्गी फुलहरू सयपत्री, मखमली, गोदावरी, पारिजात, सुपारी, लालुपाते आदि फुलेको देखिन्छ । चारैतिर उमङ्ग र उत्साहको वातावरण छाएको हुन्छ ।

किसानहरू कामबाट फुर्सद लिएर घर आगन सफा गर्छन् र घरघर डुल्दै नाचगानकासाथ देउशीभैलो खेल्छन् । उनीहरू आफूलाई सहयोग गर्ने प्राणी काग, कुकुर, गाई र गोरुको पूजा गर्छन् । यी प्राणीहरू किसानलाई हित गर्ने प्राकृतिक अवयव हुन् । यिनले मानिसलाई निरन्तर सहयोग गर्दै आएकाले नै यिनको पूजा गरिएको हो ।

कागले फोहर मैला खाएर वातावरण सफा सुग्घर राख्न सहयोग गर्दछ । यो निकै चतुर पन्छी हो । पूर्वीय नीतिशास्त्रले काक चेष्टा मानव जीवनमा अनुकरणीय ठान्दछ ।

कुकुर नवपाषाणकालदेखि नै घरपालुवा बनाइएको जनावर हो । यसलाई पालेदेखि मानिसले सूचना, सुरक्षा र सिकार प्राप्त गर्न सकेको हो । गाली गर्दा कुकुर भन्ने गरेपनि मानव समाजको विकासमा कुकुरको ठूलो योगदान रहँदै आएको छ ।

दक्षिण एसियाली उपमहाद्विपमा यहाँका किसानहरूका निम्ति गाई र गोरु महत्त्वपूर्ण जनावर हुन् । पश्चिमबाट सिन्धु घाँटीतर्फ प्रवेश गरेको पशुपालक आर्य गण त गाईको बथानसाथ आएको थियो । पशुपालन युगमा गाई र गोरु नै धन सम्पत्तिका स्रोत थिए । यही कारणले गर्दा गाईलाई धनकी देवी लक्ष्मी भनी मानिएको हुनुपर्छ । कृषिको थालनी भएपछि गोरुले जमिन जोतेर अन्न उत्पादनमा सघाई जीविकालाई निकै सहज बनाउँदै आएको छ । गाई गोरुका छाला गार्हस्थ जीवनका अति आवश्यक सामग्री बन्दै आएका छन् । मध्य युगमा आरनमा धातु गलाउन प्रयोग गरिने छाला जोडिएको ढुम्रो भाँडाकुँडा र सामान बनाउनका लागि एक प्रकारको उन्नत प्रविधि थियो जसका कारण आत्मनिर्भर स्थानीय अर्थतन्त्र चल्न सम्भव भयो (आहुति, २०७२ः १२२) । गाई गोरुको मलबाट जमिन उर्वरा बनी प्रशस्त उत्पादन लिन सकिन्थ्यो । गोवर्द्धन पर्वतको रूपमा गोरु र मलको थुप्राको पूजा यिनै पशुहरूको गुनको परिणाम हुनुपर्छ ।

प्राचीन बर्बर समाजमा मानव चेतना कमजोर भएको अवस्थामा मानिसहरू आफूलाई गुन लगाउने वस्तुमा शक्ति देख्थे र त्यसमा ईश्वरीय गुण रहेको ठानी त्यसलाई पुज्ने काम गर्दथे । तिहारमा गरिने काग र गाई गोरुको पूजा यही प्रचलनको निरन्तरता हो । आज मानिसले धेरै ज्ञान प्राप्त गरेपनि पुराना चालचलन छोड्न सकेका छैनन् र तिनलाई परम्परा भनी पालना गरिरहेका छन् ।

जहाँसम्म भाइपूजाको सवाल छ, यो कृषि युगको आगमन र पितृसत्तात्मक राजसत्ताको उदयको अवधिमा निषेध गरिएको गोत्रभित्रको युथ विवाहलाई अन्त गर्ने एक प्रकारको लक्ष्मण रेखा होे । प्राचीन समाजको यौन सम्बन्ध वर्तमान समाजको भन्दा भिन्न थियो । महाभारत ग्रन्थमा भीष्मले चार युगमा विद्यमान यौन सम्वन्धलाई छुट्टाछुट्टै चार नामबाट व्यक्त गरेका छन् – सङ्कल्प, संस्पर्श, मैथुन र द्वन्द्व ।

उनको भनाइअनुसार सत्य युगमा यौन सम्वन्धको स्वरूप सङ्कल्प, द्वापर युगमा संस्पर्श र त्रेतायुगमा मैथुन थियो । कलियुगमा यो द्वन्द्वमा आधारित भएको छ । सङ्कल्प यौन सम्बन्धमा कुनै प्रकारको वन्धन हुँदैन, यो कुनै पनि दुई जोडीबीच हुन सक्छ । संस्पर्श यौन सम्वन्ध एउटा पुस्ताका सखा साथीहरूसँग मात्र हुन्छ, भिन्न पुस्ताबीच यो बर्जित हुन्छ । मैथुन यौन सम्बन्ध गोत्रभित्रका जोडीमा हुन्छ । एउटा जोडीबीच मायाप्रेम भइञ्जेल तिनले अन्य कसैसँग सम्पर्क गर्दैनन् । यौन सम्वन्धलाई वंशगत सन्तान उत्पादनका निम्ति गरिने कर्म ठानिन्छ । द्वन्द्व नामको यौन सम्बन्धमा गोत्रबाहिरका पुरुष र नारीबीच सम्बन्ध कायम हुन्छ । यसमा एउटै परिवार वा गोत्रमा हुने वैवाहिक सम्वन्धलाई दण्डनीय मानिन्छ (डाँगे, २००९ः ८९) ।

पूर्वीय पौराणिक साहित्यमा विगतका सङ्कल्प र संस्पर्श विवाहका थुप्रै उदाहरणहरू भेट्टिएका छन् । ऐतरेय ब्राह्मणमा मानिसको सृष्टि सम्वन्धमा चर्चा गर्ने प्रसङ्गमा प्रजापतिले आफ्नी छोरीसँग विवाह गरेको कुरा उल्लेख छ । हरिवंश पुराणमा बसिष्ठकी छोरी शतरूपा जवान भएपछि बसिष्ठकै पत्नी बन्दछिन् । मनुले आफ्नी छोरी इला/इडासँग विवाह गर्छन् । जहु ऋषिले आफ्नै छोरी जहवीलाई पत्नी बनाउँछन् । दश प्रचेतस्ले आफ्नी नातिनी मरिषाबाट दक्ष प्रजापति नामको छोरो जन्माउँछन् । दक्ष प्रजापतिले आफ्ना बाबु रोमलाई सन्तान उत्पति गर्नका लागि सत्ताइसवटी छोरी दिन्छन् । कपिलवस्तुमा शासन गर्ने शाक्यहरू सहोदर दाजुबहिनीका सन्तान हुन् भनिएको छ । यस्ता खालका यौन कार्यहरू प्राचीन समाजमा स्वभाविक मानिन्थे । समयको प्रवाहसँगै ती अस्वाभाविक, अमर्यादित र दण्डनीय बनेका छन् (डाँगे, २००९ः ९१/९२) ।

आज हामीले तिहारका अवसरमा जुन भाइपूजाको परम्परा अवलम्बन गर्दै आएका छौँ, त्यो एउटै रक्तसम्बन्धभित्र एउटै परिवार र गोत्रभित्र यौन सम्बन्धलाई बर्जित गर्नाका लागि चालिएको विधिविधान हो । पूजा गरिने वस्तुलाई पवित्र दृष्टिले हेरिन्छ भन्ने मान्यताका आधारमा यो प्रचलन चलाइएको हो ।

यस तथ्यलाई ऋग्वेदको दशौँ मण्डलको दशौँ शुक्तमा उल्लेखित दाजु बहिनी यम र यमीको सम्वादले पुष्टि गर्दछ । यम र यमी सूर्य र सरन्यूका छोराछोरी हुन् । एक दिन एकान्त निर्जन सामुद्रिक टापूमा दुईजना मात्र रहेको अवस्थामा यमसमक्ष यमीले सन्तानका लागि सहवास गर्ने इच्छा प्रकट गर्दछिन् । तर त्यस प्रस्तावलाई खण्डन गर्दै यमले भन्दछन्, “हामी एउटै आमाबाबुका सन्तान हौँ । हामीले सामाजिक मर्यादा उल्लङ्घन गर्न हुँदैन ।”

यमी परम्पराको पक्षमा उभिन्छिन् । उनी भन्दछिन्, “हामी गर्भमा सँगै रह्यौँ र जन्मेपछि पनि लामो समयसम्म बाहिर सँगै रहँदै आएका छौँ । प्राकृतिक जगतमा यौन सम्बन्धमा मर्यादाको कुरा हुँदैन । त्यहाँ जो जससँग पनि सम्बन्ध राख्न स्वतन्त्र हुन्छ । हामी मात्र प्रकृतिको नियमविरुद्ध जाने किन ? आउ, मेरो इच्छालाई पुरा गरिदेऊ ।”

“यमी, यस्तो कुरामा जिद्दी नगर । तिमी मेरी बहिनी हौ र म तिम्रो दाजु हुँ । हामी वरुण र मित्रले बाँधेको नियमभित्र प्रतिबद्ध हुनुपर्छ । हामी जहाँ जस्तोसुकै ठाउँमा भए पनि स्वर्गका देवताको दृष्टि हामीमाथि परिरहेको हुन्छ ।”

तर यमी यमका कुरा सुन्दिनन् र भन्छिन्, “यस्ता फोस्रा आदर्शका कुरा छोड, यम । प्रेमका सामु यी सबै तुच्छ हुन् । हाम्रै पुर्खालाई हेर । तिनले यौन कार्यमा नजिक टाढा केही भनेनन् । मलाई आफ्नो बाहुपासमा कस ।”

तर यम आफ्नो मान्यतामा एक इञ्च पनि तलमाथि हुँदैनन् । उनले बहिनीलाई सम्झाउँदै भन्छन्, “हेर यमी, पद्धतिबाहिरको कुरा नगर । हिजोकाले गरेको गल्ती दोहराउने हो भने समाजमा प्रगति हुन्न । हो, सामाजिक नियम र पद्धतिलाई तोड्ने कोही होलान् । तर म यसप्रति प्रतिबद्ध छु । भविष्यमा मानव समाजले मेरै बाटो पछ्याउने छ । तिमीलाई विवाह गर्ने इच्छा छ भने रक्त सम्बन्धभन्दा बाहिरको कुनै पुरुष खोज ।”

यमले यति भाँति सम्झाउँदा पनि यमी आफ्नो प्रस्तावमा जिद्दी गरिरहन्छिन् । तर यम आफ्नो विचारबाट कत्तिपनि डग्दैनन् (Vartak, 1975 : 1) ।

जतिखेर ऋग्वैदिक समाजमा यम र यमीबीच यो संवाद चलेको हुन्छ, त्यतिखेर रक्तसम्बन्धभित्र हुने यौन सम्बन्धलाई बर्जित बनाउन खोजिएको तर यो पुरै लागु हुन नसकेको सङ्क्रमणकालीन अवस्थामा देखिन्छ ।

तैतरीय ब्राह्मणमा सीता र सावित्रीको कथा आउँछ । तिनले आफ्नो भाइ सोमसँग प्रणय गर्न चाहन्छन् तर सोमले अस्वीकार गर्दछन्  (डाँगे, २००९ः ९३) ।

यम र यमीको सवालमा पनि यमी र यम दुवै गलत धरातलमा उभिएका छैनन् । उनीहरूमा एउटा प्राचीन पद्धति र अर्को नवीन पद्धतिमा उभिएका कारण अन्तर्विरोध पैदा भएको देखिन्छ । यमीले प्रकृतिमा जे देखिन् अथवा पाखापुर्खाले जे पद्धति अपनाए, त्यही पछ्याउन खोजिन्, तर यमले नयाँ नियमलाई मान्न चाहे ।

उनीहरूको संवादपछि त्यसको परिणाम के भयो ? यस सम्बन्धमा ऋग्वेद मौन छ, तर पछि ऋग्वैदिक विषयवस्तुमा अनेकौँ मिथक र कथा जोडी निर्माण गरिएका उपनिषद् र पुराणहरूमा मृत्युदेव यमराज मत्र्यलोकमा आफ्नी बहिनी यमुनाको घरमा पाँच दिन बसेपछि उनीहरूबाट भाइपूजाको स्थिति (रीति) बसेको कुराले ऋग्वेदकालीन यम र यमीले नै दाजु बहिनीबीचको यौन सम्बन्धलाई बर्जित बनाउने कार्यको थालनी गरेको बुझिन्छ ।

आजभोलि कतिपय प्राचीन घटना, क्रियाकलाप र विधिविधानमा अनेकौँ मिथक जोडी तिनलाई धार्मिक आस्थाको विषय बनाइएको छ । तिहार यस्तै पर्व हो जसमा अनेकौँ धार्मिक कथा र किम्वदन्ती जोडिएका छन् । कसैले यो रामचन्द्र अयोध्या फर्कँदा जनताले मनाउने गरेको खुशियालीको निरन्तरता हो भनेका छन् । कसैले यो लक्ष्मीलाई खुशि बनाउनका निम्ति थालिएको पर्व हो भनेका छन् त कसैले यमराजलाई प्रशन्न बनाई मानव आयु लामो बनाउने पर्वको रूपमा यसलाई लिएका छन् ।

उत्पादनमा सहयोग गर्ने मलको खातप्रति किसानको कृतज्ञतालाई घनघोर वर्षा गराएर गोकुलमा आतङ्क खडा गर्ने इन्द्रलाई ठेगान लगाउन कृष्णजीले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई विपत्तिबाट जोगाएको हुनाले यसको पूजाको परम्परा बसेको हो भनेका छन् । अनि तिहारको अवसरमा घर घरमा पैसा माग्दै खेलिने देउशी भैलोलाई बली राजाको दानकर्मसँग जोडिएको छ । सत्य एकातिर छ, व्याख्या आआफ्ना छन् ।

यथार्थमा दिपावली किन गरिन्छ भन्ने सम्बन्धमा यसमा गहिरो जीवन दर्शन रहेको छ । चन्द्रमाको कृष्णपक्ष (अँधेरो समय) अस्त भएर शुक्ल पक्ष (उज्यालो समय) आउने बेलामा मनाइने यस पर्वले मानिस अन्धकारबाट उज्यालोतर्फको यात्रामा जान चाहेको सङ्केत गर्दछ । औँशीको चकमन्न रातमा झिलीमिली बत्ती बाली उज्यालोको खोजी गर्ने कुरा ‘तमसोमा ज्योतिर्गमय, असतोमा सद्गमय’ (अँध्यारोबाट उज्यालोतर्फ जाउँ, असत्यबाट सत्यतर्फ अघि बढौँ) भन्ने बृहदारण्योपनिषद्मा उल्लेखित प्राचीन पुर्खाको दर्शनसँग मेल खान्छ ।

युथ विवाह अथवा रक्तसम्बन्धभित्रको वैवाहिक सम्बन्धलाई गोत्र बाहिरको एकनिष्ठ विवाहमा रूपान्तरण गर्नु उज्यालोको खोजी हो । यो नूतन विचारको खोजी हो । उज्यालोको खोजी प्राणी जगतमा मात्र सीमित छैन, वनस्पति जगतमा बोटबिरुवा पनि प्रकाश आउने दिशातर्फ झुकेका देखिन्छन् ।

तिहारको लगत्तैपछि मधेशमा सुर्यको पूजा गरी जुन छठ पर्व मनाइन्छ, त्यो पनि उज्यालोको खोजी गर्ने संस्कृति हो । सुर्य दक्षिणायन हुन लागेको अवसरमा किसानको निम्ति घामको चाहना हुनु नितान्त आवश्यक कुरा हो । नेवार समुदायमा तिहारको चौँथो दिनमा जुन ‘म्ह पूजा’ (आफ्नो शरीरको पूजा) गर्ने प्रचलन छ, त्यो प्राचीन पुर्खाको भौतिक शक्तिलाई पुज्ने प्रचलनको निरन्तरता हो । त्यस कुराले तिहार अलौकिक शक्तिमा होइन, भौतिक जगतको वास्तविकतामा आस्था राख्ने जनसमुदायको पर्व भएको पुष्टि गर्दछ । म्ह पूजा भनेको कुनै बाह्य शक्तिको पूजा होइन, आफ्नै शरीरको पूजा (स्व पूजा) हो । प्राचीन पुर्खाहरूले भन्ने गरेको ‘अहम् ब्रह्मास्मि’ ईश्वर भनेकै म हुँ भन्ने कुरालाई यसले आत्मसात गर्दछ ।

सन्दर्भ सामग्रीहरूः

आहुति, २०७२, नेपाली समाज र वर्ग विश्लेषण, वैज्ञानिक समाजवाद, एनेकपा (माओवादी), केन्द्रीय समिति ।

डाँगे, श्रीपाद अमृत, २००९, आदिम साम्यवाददेखि दासप्रथासम्मको इतिहास, अनुः गोपीरमण उपाध्याय, पुस्तक सेन्टर ।

चापागाई, निनु, चाडवाडसम्बन्धि सही नीति के हो ?, साँस्कृतिक रूपान्तरण, खोजी प्रकाशन गृह प्रा.लि. ।

Vartak, P.V., 1975, Scientificconcepts in the Yama-Yami Dialogue of the Rigveda, https.//sites.google.com 

SCFI, 2016, Diwali, the Festival of Lights, www.diwalifestival.org/bhai-tika.html