Lenin Leading October Revolution
 

विश्व सर्वहारावर्गका महान् नेता क. लेनिनबाट हामीले के सिक्ने ? क. लेनिनको गीत त हामीले खुबै गाउँछौँ । तर उहाँबाट केही सिक्छौं कि सिक्दैनौं ? पार्टीभित्र लेनिनको हतियार प्रयोग गरेर आफ्नो मत नमिल्नेलाई गजबसँग प्रहार पनि गर्दछौं । यस्तो लाग्दछ कि लेनिन तेर्स्याइदिए सब काण्ड पूरा भो ? तर लेनिनको वास्ताविकतालाई ग्रहण गर्ने र लागू गर्नै नपर्ने कस्तो अचम्म ? लेनिनका तर्कहरुलाई तरबारको रुपमा प्रयोग गरेर छपाछप हान्न हुने तर ती तर्कहरुको सहाराले क्रान्ति सम्पन्न गर्ने महान सिर्जनातिर लाग्ने कि नलाग्ने ? बिल्कुल लाग्नुपर्छ । लेनिनबाट हामी निम्न कुराहरु सिक्न र लागू गर्न सक्छौँः

१. विचारमा दृढता तथा दूरदर्शिता र व्यवहारमा लचकताः

आफ्ना विरोधीहरुसँग विचारमा कहिल्यै पनि नलत्रिएर सम्झौताहिन संघर्ष गर्नुहुन्थ्यो लेनिन । तर त्यत्तिकै व्यवहारमा राम्रो लचकता पनि अपनाउनु हुन्थ्यो । यो दृढता, दुरदर्शिता र लचकताको द्वन्द्वात्मकता लेनिनको अनुपम गुण र देन हो ।

२. रणनीति र कार्यनीति निर्माणमा निपुणताः

Lokendra Bista Magar, Ex-Standing Committee Member of Communist Party of Nepal (NCP)
लेखक

रणनीति र कार्यनीतिका बीचको भेद र सन्निकटता लेनिन ज्यादा बुझनु हुन्थ्यो । ‘एक कदम अघि र दुई कदम पछि’ को नारा यसको ज्वलन्त उदाहरण हो । जसकारण आन्तरिक र बाह्य समस्याहरु हल गर्दा रणनीति र कार्यनीति निर्माण अद्वित्तीय अनुपमता प्रदर्शन गर्नुभयो । रुसमा पहिलो समाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्वलाई नै शिक्षित–दीक्षित तुल्याउने महान् काम लेनिनकै दूरदर्शिता र सुक्ष्मदर्शिता हो ।

३. सादा जीवन, उच्च विचार र कडा परिश्रमः

सामान्य किसान–मजदुरको जस्तो जीवन, विश्व बदल्ने महानायकको जस्तो विचार र अटुट एवं कडा परिश्रमको अर्को नाम वा पर्याय लेनिन हो । त्यो गुण हामी नेपाली क्रान्तिकारी कम्युनिष्टहरुले सिक्नु पर्छ कि पर्देन ? विल्कूल पर्छ । यसमा कत्ति पनि आनाकानी नगरीकन पर्छ । हाम्रा लेनिनहरुले झन् पर्छ ।

४. समयको सदुपयोगः

लेनिन जहिले पनि कुनै कार्यक्रममा पहिले नै गएर मजदुर र अन्य सहभागीहरूसँग बसेर छलफल, बहस गरिरहेको पाइनुहुन्थ्यो । ठिक समयमा काम थाल्नु हुन्थ्यो । कुनै खालका भलाद्मीपन नभएर एक सक्रिय सदस्य सरह नै काममा जोतिने गर्नु हुन्थ्यो । एक-एक सेकेन्डको महत्त्व उहाँले बुझे जसरी हामीले पनि बुझौँ कि ?

५. सोचाइमा नवीवनता र सिर्जनाशीलताः

जड भएर होइन, नयाँनयाँ रुपामा सोच्ने शैली (Thinking Style) लेनिनवादी शैली हो । सोचाइमा पूर्वाग्रह, जडता, सीमित घेरा, घिसेपिटेपन आयो भने बुझ्नु पर्छ, विकास र निकास असम्भव छ । भविष्य खुल्ने कुरामा पनि त्यति आशावादी हुन सकिन्न । कम्युनिष्ट पार्टी नेताहरुको पार्टी हो । यो पार्टीभित्र रहेका नेताहरु पूर्वाग्रही, जडवादी, मनोगत, कुपमण्डुक र घिसेपिटे सोँचका शिकार भए भने आन्दोलन बर्वाद हुन्छ । त्यसैले त्यसैले त्यसो नगरौ वा त्यसो हुन नदिऔँ ।

६. गहिरो अध्ययनशीलताः

अहिलेका हामी कम्युनिष्टहरु नपढी, नलेखी, नजानी, दुःख नगरी, पसिना नबगाई स्वाट्टै टाउके नेता हुने सपना देख्छौँ, यो असम्भव पनि छ । आधारभूत ज्ञान नै नभए के गर्ने ? मार्क्सवाद भनेको मासु र भात मात्र बुझ्न थाले त भएन बर्वाद ! आफै मिहिनेत गर्नु त कता, मिहिनेत गरौं भनेर प्रशिक्षण, निर्देशन दिँदा, वातावरण बनाइदिँदा पनि भोको स्याल जस्तो वारिपारि मात्र हेर्ने चलन छ ।  लेनिनबाट सिक्ने भनेको गहिरो र नियमित अध्ययनशीलता पनि हो । हाम्रा लेनिन र लेनिन बन्ने ध्याउन्नमा रहेको धावकहरुलाई झन् यो कुरा चाहिएला कि ?

७. विनम्रता र आत्मालोचनाः

हामीमा हाम्रै खालको अर्थात् आफ्नै सापेक्षताको शालिनता, विनम्रता, आत्मसमीक्षा गर्ने बानी, आत्मालोचित हुन सक्ने स्पिरिट आवश्यक पर्दोरहेछ । लेनिनमा यी कराहरु पर्याप्त थिए । वा उहाँले जीवन–व्यवहारबाट सिक्नुभयो, आर्जन गर्नु भो । लेनिन भौतिक रुपमा सबभन्दा ठूलो र अग्लो हुनु हुन्थेन । हामीले हेर्ने दार नभएर सार रहेछ ।

८. सौर्य, हिम्मत र दूरदर्शिताः

लेनिनको जस्तो क्रियाशीलता, सौर्य, हिम्मत र दूरदर्शिता आजका हाम्रा नेताहरुमा भए कस्तो राम्रो हुन्थ्यो ? रुसबाटै विश्व देख्नसक्ने दूरदर्शिता, आफै‍ँमाथि खनिएको कालका विरुद्ध त्यत्तिकै क्रियाशीलता, सौर्यवान र हिम्मतवान भएर लड्ने–खट्ने लेनिनले फेरि पनि पटकपटक हामीलाई झक्झक्याएजस्तो लागिरहन्छ । आन्तरिक र बाह्य दुवैथरी बैरीको भीषण हमलाको सशक्त सामना गर्ने आँट र हिम्मत चानेचुने हुँदै होइन । ठीक यसबेला भिन्न ढंगले लेनिनबाट हामीले किन नसिक्ने ? सिक्ने, सिक्न सकिन्छ र सम्भव पनि छ ।

कमरेड लेनिनमा अन्तर्निहित उपर्युक्त गुणहरु कम्युनिस्ट नेता र कार्यकर्ताहरुले ग्रहण गरेर परिपालन गर्न पाए वास्तवमै नेपालमा यस्तो कम्युनिष्ट पार्टी बन्थ्यो कि जसले पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गरेर समाजवादी क्रान्तिका आधारहरु तयार पारोस् ।

(साभारः मूलप्रबाह मासिकबाट)