Comrade Prachanda, Chairman of the Communist Party of Nepal (NCP)
 

उनी उदण्ड परीक्षण गर्न सक्छन् । अरुको कल्पभन्दा अगाडि बढ्छन् र एक जिउँदोजाग्दो बिम्ब बनाउँछन् । त्यसैलाई पाउने पागलपूर्ण प्रयत्न गर्छन् । असाध्यै मिलाइएका समीकरणहरुले जवाफ उनले चाहेको जस्तै उत्पादन गर्छन् । यस्तोमा फेल हुनु सामान्य हो, उनी जहाज पल्टाउँछन् र फेरि डुङ्गा चढेरेै भए पनि यात्रा जारी राख्छन् । जित्न हिँड्नुपर्छ, उनलाई थाहा छ । उनीे प्रत्येक पललाई अर्थपूर्ण बनाउन जान्दछन् । कर्मले सपनालई भेट्टाउने हो । उनी कर्मद्वारा निर्देशित र इच्छाद्वारा सिञ्चित छन् । उनका लागि परिणाम दोश्रो कुरा भएकोले सायद उनलाई निद्रा नपर्ने हुँदैन । उनी अर्थात प्रचण्ड

अँ, उनी बद्मास हुन् । उनी योजनामा मानिसको टाउकोमा काउसो हाल्छन् । त्यो काउसोले मानिसलाई मुक्त हुने रहर हाल्छ र मृत्यु जित्न सिकाउँछ । उनी मृत्यु जितेका र जित्नेहरुका केन्द्र हुन् । लट्पटिने र चिन्ताले टाक्सिने बानि उनलाई सायदै मन पर्दैन । नत्र पहिलोबाट तेश्रो हुँदा उनलाई सन्यासको अवसर थियो । हिसाब मिलाउनै नसकिने माओवादी समीकरण उनी बाबुरामलाई सुम्पँदा हुन र राष्ट्रपति खाँदा हुन् । तर उनी जोतिनुलाई जीवन देख्छन् । जति बाँच्नु छ, सपनामा बाँच र त्यसलाई भेट्टाउन तागत लगाऊ । यो नै सार्थक जीवनको कडी हो । पुष्पकमलबाट प्रचण्ड हुनुको यो नै एक सुत्र हो ।

Shaiendra Ghimire 'Rajan', Syanja
लेखक

उनी विरक्तताले सिद्धिँदैनन् । आरोपले गल्दैनन् । बस, अभियान बनाउन खोज्छन् र बन्छन् पनि । अभियानमा आफू हुनु हुँदैन भनेर भन्नु राजनीतिको दाउपेचमा मस्तिष्क फेल भएकाहरुको आरोप हो । चाणक्यको गणितमा मार्क्सको उद्देश्य मिलाएपछि जनवादको वरिपरि केद्रित हुनसक्ने उपलब्धिलाई जनपक्षीय बनाउन खोज्नु बाबुरामको हावादारी बुद्धिमत्ताभन्दा उत्तम कुरा हो । यसो हुँदा नै सगरमाथाको देशमा कम्युनिस्ट आन्दोलन जिवित छ । किताबका पुरेतले व्यवहारबाट विचारलाई अलग गरेर मार्क्सवादको फुलबारीलाई सहाराको चौरजस्तो बनाइरहँदा उनी सहारालाई बंगालको खाडी छेउ उभ्याउन खोज्छन् । कतिमा असफल हुन्छन् तर सहारामा परेको प्रत्येक थोपा पानीमा यिनको यत्नकै करामत बढी छ ।

वायुलाई बाटो बिगार्ने बानि लगाइयो भने बंगाल सहरामा पुग्छ । उनी बानिको हानिमा विरक्त नमानी उभिन्छन् र भन्छन्ः संसार कति बदलियो अलग कुरा हो, प्रयत्न गरियो कि गरिएन, त्यो प्रमुख कुरा हो । उनी ‘पहाड खन्ने मुर्ख बुढो’को डिउटीलाई जीवनमा आत्मसात गरेर परिवर्तनका कहानीहरुको पुस्तान्तरणमा हिस्सेदारी खोज्छन् ।

आत्मीयसँगको सम्बन्ध विच्छेद कम्युनिष्ट आन्दोलनको मूल रोग हो । उनी यसका लागि तयार छन्, छोडिने छोडेर जोडिने खोज्छन् । सानो झुण्डको सरदार हुनुमा उनलाई विश्वास छैन । उनी परालसहितको धान नै भकारीमा हाल्न सक्छन् । राजनीति आगो हो, जसले नजिकको चिजलाई सबैभन्दा पहिला टिप्छ भन्ने उनलाई थाहा छ । पराल धान बनेको दिन जितिने छ, तर उनी खेती भित्र्याउँन छोड्दैनन् । यसकारण पीडाका बीचमा उनी संभावना देख्छन् । विभाजनसँग एकताको प्रसंग जोडिरहन सक्नु एक जब्बर कला हो भने यो उनीसँग छ ।

कहिलेकाहिँ अनुमान विपरीत हारिन्छ । उनी हारको समीक्षामा खर्चालु बन्दैनन् । धुलो टकटकाएर गम्भीर बनेर ओठ सुकाउँदैनन् । यसो गरेको भए यो आन्दनोलन असंभावनाको गणित खोजेर विप्लवको बाटोमा जान्थ्यो अथवा सकिएन वा सकिँदैन भनेको भए बाबुरामको विचार उभिन्थ्यो । यो दायाँ पनि छैन, बायाँ पनि होइन । क्रान्तिकारी मध्यतामा उनी किरणको घिस्राई होइन, चेको उफ्राइ मन पराउँछन् । यसकारण आन्दोलनका थुप्रै जन र अंशियारले छोड्दा पनि उनीसँग आन्दोलन छ र यसको अर्थपूर्ण गति र उपस्थिति छ ।

उनीसँग मन छ । मन हुनुको नाताले संवेग र आवेश दुवै छ । अरुले यसलाई अभिनय नै ठानुन् तर आँशु त्यत्तिकै आउँदैन । अनि आक्रोशको बीचमा गलल हाँसो उठाउन सक्छन् । यसको अर्थ जीवनमा उनी टाउको कम, मुटु ज्यादा प्रयोग गर्छन् । राजनीतिमा भने उनी फरक छन् । उनी मुटुलाई कम स्थान र मस्तिष्कलाई अधिक उपयोग गर्छन् ।

त्यसकारण नै नीजि जीवनमा परिवारकोे प्रभावमा उनी पर्छन् । कहिलेकाहिँ आन्दोलन भित्रकै आत्मीय आफन्त समेतले दुरुपयोग गर्छन् । उनले यसमा पनि चित्त दुखाउँदैनन् । उनी ठान्छन्, बहर दुहेर दुध आउँदैन । मान्छे जे छ त्यो देखिन्छ । त्यसमा पीडाबोधको कुनै स्थान छैन । फरक यत्ति हो मानिसहरुका बारेको ज्ञान प्रयोग हो । प्रयोगबाट ज्ञान जन्मिन्छ र उसको कमजोरीहरुको मर्मत तालिका बन्छ ।

उनी मर्मत कलामा माहिर छन् । अर्काको आरनमा आफ्नो औजार अर्जापने कुरा राजनीतिमा करिब असंभव ठानिन्छ तर उनी यसको संभावना हेरिरहन्छन् । आफ्नो आरनमा आगो नबलेको दिन उनी अर्काको आरनको धुँवाले आफ्नो औजार तिखार्न सक्छन् । त्यसकारण उनी सबै दल र बलमा छन् ।

उनको बारेमा धारणा बनाएर अरु बहुमत र अल्पमतमा पर्छन् तर उनी हार्दैनन् । बाजि नराखिएको खेलमा अर्कैको अखडामा जसले जितेर, जो हारे पनि प्रचण्डले त्यसलाई जीत बनाउँछन् ।

यो कला छ, यसकारण प्रचण्ड छन् । जहाँबाट संभावना सिद्धिएको देखिन्छ उनी त्यहिँवाट यसको प्रस्थानविन्दु खोज्छन् र विजयको यात्रामा निस्किन्छन् । यो राजनीति हो, वर्गपक्षधरताको यो अजीबपन कहिँ छ भने सगरमाथाको देशमा प्रचण्डसँग छ । यो नै माओवादी आन्दोलनको गौरव हो ।

एउटा परीक्षणको असफलताले उनी अत्तालिँदैनन् । उनी ठान्छन् प्रयोगको निरन्तरताले, विज्ञान निखारिन्छ र आविष्कारको प्राप्ति हुन्छ । महान सफलताका लागि महान् धक्का बेहोर्नै पर्छ । गुरुहरुले त्यसै महाबिपत्तिको सामना सुनाएका होइनन् । उनी फेरि प्रयोग र फेरि सामनाको सिद्धान्त जान्दछन् । उनलाई अगाडि-पछाडि, दायाँ-बायाँ, तल र माथि थाहा छ । उनी यसकै बीचबाट रातो झण्डाको अस्तित्त्व खोज्छन् ।

मार्क्सवादका चुनौती न उत्तेजना न बिसर्जन, यो दुवैले सामना गर्दैन । यसले त पल-प्रतिपलको जवाफ दिन्छ र दिनुपर्छ । यहि प्रयत्नमै नेपालको मार्क्सवाद छ । केही असफलताले यसलाई झन बलियोसँग निखारेको भन्ने बलियो जब्बर तर्क उनीसँग छ ।

खेल नखेल्नु, खेलेपछि नियममा छिर्नुः उनको सिद्धान्त हो । उनी जहाँ कमजोर ठानेर अरुले दुरुपयोग गर्न खोज्छन्, प्रचण्डले तिनैलाई प्रयोग गर्छन् । अरुको खेलेर उनले जित्छन् र यसकारण नै उनी सदैव संभावित प्रधानमन्त्रीका दावेदार बन्छन् ।

घर छोडेर हिँड्नेहरुको भागमा प्रचण्ड गर्मी र भाेकको घेरा बनाउँछन् । घर छोडेकाहरु केही माइल हिँडेपछि घर संझेर फर्किन्छन् । उनी फर्काइलाई भव्य बनाउँछन् र एउटै पार्टीको पटक-पटक नाम फेरर अध्यक्ष बन्छन् । अरु बहसमा तर प्रचण्ड सर्वसम्मत भन्न नपाउँदा अरुको दिमागमा काउसो उफ्रिनु पर्ने सँधैको परीणति । उनको राजनीतिक कलाको श्रेष्ठता हो ।

यो पनि पढ्नुहोस्ः

प्रिय सुप्रिमो प्रचण्डसँग मनका कुराः क. आस्था केसी

(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आबद्ध हुनुहुन्छ ।)

साभारः मुलखबर डट कम