Mao Ze Dong
 

(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो प्रेमबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले प्रयोग गरेको नाम त्से तुंगको सट्टा नेपालमा प्रचलित नाम माओ उल्लेख गरिएको छ – सम्पादक ।)

नर्मल कलेजको अन्तिम वर्ष अर्थात सन् १९१८ काे मार्चमा माओत्सेतुङकी आमा छाङशा आउनु भयो । उहाँ बिरामी हुनुहुन्थ्यो । शरीर सुन्निएकाे थियो । अर्का छोरा माओत्सेतेमिन र एउटा मजदुरले उहाँलाई डोलीमा बोकेर ल्याएका थिए । तेस्रो छोरा माओत्सेतान त्यो वर्ष नर्मल कलेजसँग अनुबन्धित प्राथमिक विद्यालयमा पढिरहेका थिए ।

आमा उपचारका लागि आउनु भएकाे थियाे, तर कुनै सुधार भएन । उहाँ अक्टाेबरमा बित्नुभयो । माओले आमालाई साह्रै माया गर्नु हुन्थ्याे र उहाँको कारणले मात्रै घरप्रतिको आकर्षण रहेको थियो । अब उहाँ नै रहनु भएन भने, त्यो आकर्षण पनि रहेन ।

Hansa Raj Rahabar
लेखक

माओले पेकिङ (हालकाे बेइजिङ) जाने निश्चिय गर्नुभयो र यसका लागि पितासँग खर्च माग्नु भएन । तिस हुनानी युवकहरुको दल ‘स्वालम्बी हुन पढाैँ’ योजना अन्तर्गत फ्रान्स गइरहेका थिए । ती युवाहरुले फ्रान्स जानु भन्दा पहिले फ्रान्सेली भाषा सिक्नु पर्दथ्याे । माओ पनि उनीहरुसँग पेकिङ जानु भयो । त्यसाे त फ्रान्स जाने युवाहरुको छनौट गर्ने व्यक्ति पनि त्यहीँ थिए ।

चीनमा ‘स्वालम्बी हुन पढाैँ’ नामक एउटा संस्था थियो, जुन सन् १९०३ मा दुई बुद्धिजीवीहरुले स्थापना गरेका थिए । यसको मुख्य कार्यालय पेकिङमा अवस्थित थियो । युद्धको कारण सन् १९१४/१८ मा फ्रान्समा कामदारहरुको संख्यामा कमी आएको थियो । उनीहरुले चिनियाँ मजदुर र विद्यार्थीहरुलाई भर्ति गरेर लैजान्थे । दुई लाखभन्दा धेरै चीनियाँहरु कारखानाहरु, खानीहरु र अन्य सार्वजनिक संस्थानहरुमा काम गर्न फ्रान्स गएका थिए । ‘नयाँ जन स्वअध्ययन संघ’ ले आफ्ना प्रवासी देशवासीहरुमा जागरण ल्याउन र उनीहरुलाई संगठित गर्नका लागि ‘स्वावलम्बी हुन पढौँ’ योजना अन्तर्गत क्रान्तिकारी युवाहरुलाई फ्रान्स पठाउने निर्णय गर्याे ।

साेही उद्देश्यले ‘स्वावलम्बी हुन पढाैँ’ संस्थाको एउटा शाखा छाङशामा स्थापना गरिएको थियो र माओलेले संस्थाको पेकिङस्थित मुख्य कार्यालयसँग पत्रचार गरी यो नियम बनाउनु भयो कि यो योजना अन्तर्गत जाने युवाहरु चरित्रवान हुनुपर्छ र तिनको आदर्श ‘देश सेवा’ हाेस् । योभन्दा पहिले पनि सन् १९११ मा क्रान्तिको असफलता र य्वान श-खाएको दमनकाे कारण क्रान्तिकारी युवाहरु देशको मुक्ति मार्ग खोज्न र आफैलाई प्रशिक्षित गर्न फ्रान्स गएका थिए ।

अब जुन तिस हुनानी युवाहरुको समूह फ्रान्स गइरहेकाे थियाे, त्यसमा माओका दुई साथीहरु त्साए हो–सेन र शु ते-ली पनि थिए । शुको उमेर ४० वर्षकाे थियो तैपनि उहाँले प्रध्यापकबाट युवक विद्यार्थी हुन रुचाउनु भयो । माओले चाहेकाे भए उहाँ पनि फ्रान्स जान सक्नुहुन्थ्यो तर उहाँ जानु भएन । (यसबारे उहाँले) लेख्नुभएको छ ‘‘मैले महशुस गरेँ कि मैले आफ्नो देशको बारेमा नै धेरै कम जानेकाे छु र मलाई यहीँ बस्नु उपयोगी हुनेछ ।’’

यी युवकहरुले अधिकांश यात्रा पैदल नै गरे किनभने उनीहरुको उद्देश्य जनसम्पर्क स्थापित गर्नु थियो । उनीहरुले तुङमिङ तालकाे वरिपरि १५५ माइल क्षेत्रको यात्रा गरे । किसानहरुले उनीहरुलाई आफ्नो घरमा राखे र खानपिन गराए । त्यसको सट्टामा युवाहरुले किसानहरुको काममा सहयोग गरे र चाडकाे दिनमा ढोकाहरुमा टाँस्नका लागि सुन्दर–शुभ अक्षर लेखिदिए ।

तालको आसपास जुन उब्जाउ भूमि थियो, त्यसमाथि जमिनदारहरुको कब्जा थियो र तिनीहरुले गरीब किसानहरुलाई धान खेती गराउँथे । त्यसै क्षेत्रको ७१ प्रतिशत भूमिमाथि १.८ प्रतिशत सामन्तहरुकाे नियन्त्रण थियो र उनीहरुसँग सेना थियो । यी कुराहरु माओत्सेतुङको स्मृतिमा अङ्कित भयो ।

उहाँले साथीहरुसँंग केही पैसा सापटी लिनुभएको थियो जुन पेकिङ पुग्दा नै खर्च भयो । फर्कने चाहना थिएन । त्यहाँ बस्ने साधन जुटाउनु थियो । छाङशामा दर्शनशास्त्रका प्रध्यापक याङ छाङ-ची त्यतिबेला पेकिङ विश्वविद्यालयमा हुनुहुन्थ्यो । उहाँले पुस्तकालयका अध्यक्ष ली ती-चाओसँग माओको परिचय गराइदिनु भयो ।

माओ लीको ‘नवयुवक’ पत्रिकाको माध्यमबाट उहाँबारे जानकार हुनुहुन्थ्यो र उहाँको यतिसम्मको प्रशंसक हुनुहुथ्यो कि उहाँको लेख पढेर त्यही लेखनशैली अनुकरण गर्न थाल्नुभएको थियो । लीले उहाँलाई खासै ध्यान दिनु भएन तर पुस्तकालयमा आफ्नो सहायकको जागिर दिनु भयो । तलब आठ डलर प्रतिमहिना थियो । पेकिङजस्तो शहरमा आठ डलरले जीवन बिताउनु कठिन थियो । तथापि काम नभएको समयमा जागिर मिलेको थियो, यति नै ठुलाे कुरा थियो । (उहाँले) यसैमा गुजारा चलाउन सुरु गर्नुभयो । त्रिनेत्र कुवा (सान–यात–चिङ) नामको पिछडिएकाे बस्तिमा उहाँको बसाई थियो ।

सात जनाले एउटा सानो कोठा भाडामा लिएका थिए । जब उनीहरु रातमा कोठामा सुत्दथे, उनीहरुको सास एक–अर्कासँग ठाेकिन्थ्याे र कोल्टे फेर्न समेत अप्ठ्यारो हुन्थ्यो । तथापि राजधानीको सौन्दर्यले नीरस जीवनको कमीलाई पुरा गर्दथ्यो । वसन्तकाे दृश्य अत्यन्त मनाेरम थियाे । उहाँ (माओ) पार्कहरु र मैदानहरुमा घुम्त निस्कनु हुन्थ्याे । पेकिङमा रुखै रुख थिए, तिनमा अड्किएकाे हिउँलाई देखेर उहाँकाे कवि हृदय भन्दथ्याे, “नास्पातीका हजाराैँ रुखहरुमा सेता फुल फुलेका छन् ।”

पुस्तकालयमा उहाँको काम दराजहरुबाट पुस्तक निकालेर ल्याउने, पुस्तक लैजानेहरु र पत्र-पत्रिका पढ्न आउनेहरुकाे नाम खाता (रजिस्टर)मा दर्ता गर्नु थियो ।

यस कामको दौरानमा माओले छद्म बुद्धिजीवीहरुको घमण्ड र अहंकाे तीताे स्वाद चाख्नु भयो । (उहाँले) लेख्नुभएको छ ‘‘मेरो त्यो कामलाई यति निम्नस्तरकाे ठानिन्थ्यो कि मान्छेहरु मसँग दूरि बनाउँथे । …… (पुस्तकालय)मा आउनेहरुमध्ये अधिकांशकाे नजरमा म मानव नै थिइन । तिनीहरुमध्ये केही पुनर्जागरण आन्दोलनका प्रसिद्ध नेता थिए र मेरा लागि तिनीहरुका नाम परिचित थिए । म उनीहरुसँग राजनीतिक तथा सांस्कृतिक समस्याहरुबारे कुराकानी गर्नका लागि उत्सुक थिएँ तर उनीहरु यति व्यस्त थिए कि दक्षिणी लवज बोल्ने एउटा सहायक पुस्तकालायाध्यक्षसँग कुरा गर्नका लागि उनीहरुसँग समय नै थिएन ।’’

उहाँले पेकिङ विश्वविद्यालयको पुस्तकालयमा जुन पाँच महिना बिताउनु भयो, त्यो समयमा ती तथाकथित बुद्धिजीवीहरुलाई धेरै नै देख्नु भयाे र जाँच-परख गर्नुभयाे । (उहाँ) देशकाे रक्षा गर्ने उद्देश्यबारे तिनीहरुको धुवाँदार भाषणहरु सुनेर दङ्ग पर्नुहुन्थ्यो । तिनीहरुको अमूर्त ज्ञानकाे व्यवहारसँग कुनै सम्बन्ध थिएन । अध्ययन गर्नु र बहस गर्नु तिनीहरुको एउटा लत (व्यसन) थियो र आफ्नो पक्ष परिवर्तन गर्न उनीहरुलाई अलिकति पनि संकोच हुँदैनथ्यो । ‘बोल्ने मेशिनहरु’ को व्यंग्य तिनीहरुमाथि एकदमै सुहाउँथ्यो ।

माओ ती मानिसहरुका कारण हतास हुनु भएन । उहाँ दर्शन परिषद् र पत्रकारिता परिषद्मा भर्ना हुनु भयो र तिनका कक्षाहरुमा जान थाल्नु भयो । पत्रकारिता परिषद्का एक प्रध्यापक शाओ प्याओ पिङसँग उहाँको घनिष्टता भयो । उहाँ धेरै नै मिलनसार, सहयाेगी र असल मानिस हुनुहुन्थ्यो । उहाँको विचार एक प्रकारले अराजकतावादी थियो तर यो प्रवृत्ति ती दिनहरुमा सामान्य थिए । उहाँ माअाेका लागि धेरै नै सहयाेगी सिद्ध हुनुभयो । सन् १९२७ मा चाङ चो-लीनले उहाँको हत्या गर्यो । छन कुङ-पो , शान र चाङ खो-थाओसँग पनि त्यहीँ परिचय भयो । यी तिनै जना कम्युनिस्ट पार्टीमा अाए तर पछि बदलिए । चाङ खो-थाओ त लम्बे अभियान (लङ मार्च) मा माओ त्सेतुङविरोधी बने र तिनको विरुद्ध कडा संघर्ष गर्नु पर्यो ।

ली ता-चाओ मार्क्सवादबारे लेख्ने र सन् १९१७ को रुसी क्रान्तिको प्रशंसा गर्ने वुद्धिजीवीहरु मध्ये पहिलो चिनियाँ व्यक्ति हुनुहुन्थ्यो । उहाँले सन् १९१८ को अन्तिममा ‘मार्क्सवादी अध्ययन समूह’ को स्थापना गर्नुभयो । माअाे त्यसकाे सदस्य बन्नुभयो र लीले मार्क्सवादबारे जे लेख्नुभएको थियाे, ती सबै पढ्नुभयो । उहाँले अनुवाद गर्नुभएका लेनिनका कृतिहरु पढ्नु भयो । (उहाँले) लेख्नुभएको छ ‘‘लीकाे मातहत रहेर म तीब्र गतिमा मार्क्सवादतिर अघि बढेँ ।’’

‘‘नवयुवक’’ पत्रिकाका सम्पादक छन् तू-श्यूसँग पनि सम्पर्क स्थापित भयो । लेख्नुभएको छ, ‘उहाँले मलाई सबैभन्दा धेरै प्रभावित गर्नु भयो ।’’ धेरै समयसम्म माओले छन तू-श्यूलाई चीनको सबैभन्दा ठूलो क्रान्तिकारी मान्नु भयो तर पछि उसले नै उहाँलाई सबैभन्दा धेरै निराश बनायो । त्यतिबेला छनको उमेर ३९ र लीको ३० वर्ष थियो । सन् १९२७ मा लीलाई च्याङ काइ-सेकले हत्या गर्यो जबकि छन् आत्मसमर्पणवादी प्रमाणित भयाे ।

विचार परिवर्तन भएपछि माओको जीवनमा पनि परिवर्तन आयाे । ‘नयाँ जनस्वाध्ययन संघ’मा काम गर्दा उहाँ साधु स्वभावको तपस्वी हुनुहुन्थ्यो, जोसँग ‘प्रेम र राेमान्स’ का लागि समय थिएन, जसकाे ‘स्त्रीमा अलिकति पनि दिलचस्पी थिएन ।’ तर अब उहाँलाई प्राध्यापक याङकी सुन्दर छोरी याङ काइ-हुईसँग प्रेम भयाे ।

याङको ढोका विद्यार्थीहरुका लागि सँधै खुला रहन्थ्यो । उहाँ माओका परम् मित्र हुनुहुन्थ्यो । उहाँलाई पढ्नका लागि पुस्तकहरु दिनुहुन्थ्यो, उहाँलाई हरेक किसिमले सहयोग गर्नुहुन्थ्यो र अरु मानिसहरुसँग उहाँको प्रतिभाको प्रशंसा गरेर कहिल्यै थाक्नु हुँदैनथ्यो । याङ काइ-हुुई पत्रिकारिताको कक्षामा आउने गर्नुहुन्थ्यो । माओकाे उहाँसँग कक्षामा र पिताको घरमा प्रायः भेट हुन्थ्यो । याङ काइ-हुईको जन्म सन् १९०१ मा भएको थियो । उहाँ शिष्ट स्वभाव भएकी अत्यन्त सुन्दर सु–शिक्षित सुन्दरी हुनुहुन्थ्याे । उहाँले केवल पिताबाट माओकाे प्रशंसा सुन्नुभएको मात्रै थिएन, आफैले सबै देख्नु र बुझ्नु भएको थियो । जुन विचारहरुले माओलाई आन्दोलित बनाउँदथे, ती उहाँलाई पनि पिताको विरासतवाट प्राप्त भएका थिए ।

दुबै आफ्नो दृष्टिकोणप्रति पूर्ण रुपमा समर्पित एवम् पूर्ण रुपमा निष्ठावान हुनुहुन्थ्यो । त्यही दृष्टिकोण उहाँहरु दुईकोे प्रेमको आधार बन्यो ।

माअाेले पेकिङ होखो रेल-वे मजदुरहरुको बिचमा सामाजिक अनुसन्धानको काम पनि गर्नुभयो । उहाँले यस क्रममा दक्षिणमा ९३ माइल च्याङ शिन-श्येन रेल-वेसम्म पुग्नुभयो, जुन मजदुरहरुसँग उहाँले सम्पर्क स्थापित गर्नुभयो, तीमध्ये कयौँ कम्युनिस्ट ट्रेड युनियनका कार्यकर्ता बने र कम्युनिस्टहरुद्धारा संचालित सन् १९२० को रेल-वे हड्तालमा भाग लिए । केहीलाई माओले सन् १९२१ मा ‘स्वाबलम्बी हुन पढौंँ’ आन्दोलन अन्तर्गत फ्रान्स पठाइदिनु भयो ।

सन् १९१८ काे नोभेम्बरदेखि १९१९काे अप्रिलसम्म ६ महिनामा माओका हुनानी साथीहरुले फ्रान्सेली भाषाको कोर्स पुरा गरे । अब उनीहरु शाङ्घाईबाट फ्रान्स जानु थियो । उहाँ उनीहरुलाई बिदा गर्न सँगै जानु भयो । उहाँले पैसा सापटी लिनुभएको थियो, त्यो केवल थ्येनचिनसम्मको रेल भाडा थियो, अगाडि जानका लागि समूहको एउटा विद्यार्थीबाट अरु दस डलर प्राप्त भयो ।

सिधै जानुको सट्टा उहाँ नानकिङ भएर जानुभयाे । बाटोमा उहाँले कन्फूसियसको समाधि देख्नुभयो । ती बाटोेहरु देख्नुभयो, जहाँ ती महान् विचारको बचपन बितेको थियो र नदी देख्नुभयोे जहाँ उहाँका शिष्यहरुले खुट्टा धुने गर्दथे । उहाँले मेशियस र पेनहुईको जन्मस्थानको दर्शन गर्नुभयो र शानतुङको ताए पर्वतमा चढ्नुभयो, जुन आफ्नो प्राकृतिक सौन्दर्य एवम् ऐतिहासिक स्मृतिहरुका लागि प्रसिद्ध छ । थुङ–शिङ सरोवर देख्नुभयो र ती सबै ऐतिहासिक ठाँउ तथा मन्दिर देख्नुभयो, जसको विवरण प्राचीन ग्रन्थमा पढ्नु भएको थियो । देशको महानता र विशालता उहाँको मनमा अङ्कित भए ।

जब उहाँ नानकिङ हुदै हुआ हुक–ओ पुग्दा पुनः त्यही समस्या सामुन्ने थियो कि अगाडि कसरी जाने ? उहाँसँग न टिकट थियो, न पैसा नै । राति स्टेशनमा बिताउँदा समस्यामाथि समस्या पर्यो कि चोरले उहाँको जुत्ता चोरिदियो । संयोगवस त्यतिबेला हुनानकोे एकजना पुरानो साथीसँग भेट भयो । उहाँबाट पैसा पाउनु भयो र जुत्ता खरीद गर्नुभयो र शाङ्घाईको टिकट पनि ।

ती साथीहरुलाई बिदा गरेर अप्रिलको अन्तिमतिर छाङशामा संगठनको काममा व्यस्त हुनुभयो ।

उहाँ फर्किएको केहि दिन भएको थियो कि ‘चार मई’ काे आन्दोलन सुरु भयो ।

(अनुवादः नहेन्द्र खड्का) 

याे पनि पढ्नुहाेस्ः  सि जिनपिङ-किम जाेङ उन भेटवार्ताकाे ऐतिहासिक सन्देश

याे पनि पढ्नुहाेस्ः अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव

याे पनि पढ्नुहाेस्ः राति बास्ने कुखुरो