काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुख पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, सिन्धुपाल्चोकका सांसद तथा महान जनयुद्धका योद्धा क. अग्निप्रसाद सापकोटा ‘कञ्चन’ निर्विरोध निर्वाचित हुनुभएको छ ।
आइतबार बसेको संघीय प्रतिनिधि सभाको बैठकबाट नेता सापकोटा निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकको अध्यक्षता गरेका प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले क. सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सभामुखको निर्वाचनमा उहाँको मात्रै उमेदवारी परेको थियो ।
क. अग्निप्रसाद सापकोटा नेपाली कम्युनिस्ट आन्दोलनका एक इमानदार सिपाही तथा दस वर्षे महान जनयुद्धका एक महान योद्धा हुनुहुन्छ । पार्टी र क्रान्तिलाई आफ्नो सर्वस्व ठान्ने नेता सापकोटा जनयुद्धकालमा क. कञ्चनको नामले परिचित हुनुहुन्थ्यो । सिन्धुपाल्चोकका जनताका प्रिय नेता क. सापकोटा सिन्धुपाल्चोकबाट तीन पटकसम्म जननिर्वाचित सांसद हुनुहुन्छ भने दुई पटकसम्म नेपाल सरकारको मन्त्रीको रूपमा काम गरिसक्नु भएको छ ।
युद्धका पक्षधरहरू, शान्ति विरोधीहरू र कम्युनिस्ट विरोधी साम्राज्यवादका वफदार प्रतिनिधिको रूपमा रहेका केही स्वघोषित मानवअधिकारको धन्दा गर्ने डलरकर्मीहरूले अनावश्यक कानुनी अवरोध खडा गर्ने प्रयत्नको बाबजुद पनि क. अग्नि सापकोटाको सभामुखको यात्रा रोकिएन । चिहानबाट मुर्दा उखेलेर डलरले मुख सेक्न पल्केकाहरूलाई यो एउटा गतिलो झापड बन्न पुगेको छ भने नेकपा थप एकताबद्ध र सुदृढ भएको छ ।
सभामुख क. अग्निप्रसाद सापकोटालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।









