Nicolas Maduro Moros, President of the Bolivarian Republic of Venezuela, निकोलस मादुरो मोरोस
 

बोलिभारियन गणतन्त्र भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोले जनवरी १० का दिनमा संविधान अनुसार राष्ट्रपति पदको दोस्रो कार्याकालका लागि सपथ गर्हण गरे । उनको विरुद्धमा अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित संसदको अध्यक्ष रहेको खुँवा गुइएदोले गत जनवरी २३ मा केटौले तरिकाले स्वयम्‌लाई राष्ट्रपति घोषणा गरेको थियो । उसको केटाकेटीपूर्ण कथित घोषणालाई अमेरिकी साम्राज्यवाद र उसका पिछलग्गुहरुले तत्कालै समर्थन गरेका थिए । त्यसपछि विश्व दुई ध्रुवमा विभाजित हुन पुग्यो ।

पछिल्ला राजनीतिक घटनाक्रमबाट राष्ट्रपति मादुरो बोलिभारियन क्रान्ति र मुलुकको सार्वभौमसत्ताको रक्षार्थ प्रतिबद्ध नेताको साथसाथै कूटनीतिक रुपमा निपूर्ण, राजनीतिक रुपमा परिपक्क र व्यवहारिक रुपमा दक्ष राजनेता सिद्ध भएका छन् । उनका विरुद्ध षड्यन्त्र गर्ने अमेरिकी राष्ट्रपति ट्रम्प भने जोकरफल्तु साबित भएका छन् र आफ्नै देशको संसदले एकपछि अर्को गर्दै उनका सबै प्रस्तावहरु असफल पारिदिएपछि उनी संकटकालको तयारी गर्नुपर्ने संगीन अवस्थामा पुगेका छन् ।

पाँच मोर्चाको तयारी, पाँचै मोर्चामा ट्रम्प पराजित

यसै बीच जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोले भने कुटनीतिक, राजनीतिक, धार्मिक तथा सा‌स्कृतिक, आर्थिक तथा उत्पादन र सैन्य तथा युद्ध मोर्चा गरी ५ वटै मोर्चामा व्यापक तयारी गरेका छन् र ५ वटै मोर्चामा अमेरिकी साम्राज्यवादलाई पराजित गर्न सफल भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँग सबै मोर्चामा पराजित भएका छन् । उनी अमेरिकी राजनीतिमा एउटा अनाडी र लज्जापूर्ण राष्ट्रप्रमुख बनेका छन् । भेनेजुएला प्रकरणपछि निकोलस मादुरोको लोकप्रियता आफ्नो देश भेनेजुएलाका साथै संसारभर उत्कर्षमा पुगेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पको लोकप्रियता आफ्नै देशमा समेत गिरेको छ ।

१. कूटनीतिक मोर्चा

नहेन्द्र खड्का Nahendra Khadka
लेखक

संयुक्त राष्ट्र संघले राष्ट्रपति निकोलस मादुरोलाई मान्यता दियो भने खुँवा गुइएदोलाई मान्यता दिन र उनीसँग कुनै प्रकारको सम्बन्ध बनाउन अस्विकार गर्यो । त्यसरी नै अमेरिका पक्षधर ‘लिमा ग्रुप’ विभाजित भयो भने युद्धमा जाने कुरालाई अस्विकार गर्यो । त्यतिमात्र नभएर अमेरिका युद्धमा गएको अवस्थामा सहयोग गर्न नसक्ने जनायो । संसारभरका उत्पीडित तथा उदयमान राष्ट्रहरुले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरोको पक्षमा जोडदार समर्थन प्रकट गरे । संयुक्त राष्ट्र संघमा सदस्य रहेका संसारका झण्डै २०० भन्दा धेरै देशहरुमध्ये अमेरिका, बेलायत, क्यानडा, ब्राजिल, कोलम्बिया, पेरु, अर्जेन्टिना, चिली, फ्रान्स र जर्मनीसहित केवल २० वटा जति देशहरुले मात्रै भेनेजुएलामा अमेरिकी हस्तक्षेप र स्वघोषित राष्ट्रपति खुँवा गुइएदोको केटाकेटी हर्कतको समर्थन गरे । बाँकी सबै राष्ट्रहरुले खुला रुपले वा मौन बसेर जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको समर्थन गरे । यसबाट निकोलस मादुरो र उनको सरकार त भेनेजुएलामा झन बलियो भयो नै, बरु ब्राजिल, पेरु, अर्जेन्टिना र चिलीमा त्यहाँका सरकारहरुलाई अत्यन्तै प्रतिकूल भयो । संभवत यस घटनाले उनीहरुले आगामी निर्वाचनमा सत्ताबाट हात धुनुपर्ने अवस्था आउने स्थिति सृजना भएको छ । यो कूटनीतिक क्षेत्रमा राष्ट्रपति मादुरो र भेनेजुएलाको ठूलो सफलता हो ।

२. राजनीतिक मोर्चा

राजनीतिक रुपमा राष्ट्रपति मादुरोले व्यापक तयारी गर्न सफल भए । उनले पुनः निर्वाचनको घोषणा गर्नुपर्ने बताएका युरेपेली संघ र अन्य राष्ट्रहरुलाई आफू निर्वाचनका लागि तयार रहेको जवाफ दिए । उनले विपक्षीहरुमाथि कुनै प्रकारको दमन गरेनन्, बरु विपक्षीहरुसँग निरन्तर वार्तामा बसे । खुलेर वार्तामा आउन लाज मानेका विपक्षीहरुसँग गोप्य भेटघाट गरेर आश्वस्त बनाए ।

परन्तु विगतमा संसदको निर्वाचन पहिले भएकोले पहिले संसदको निर्वाचन गर्ने र त्यस लगत्तै राष्ट्रपतिको निर्वाचन गर्न पनि तयार रहेको बताउँदै आफूलाई जनताको बीचमा जान कुनै आपत्ति नभएको सन्देश दिए । त्यहाँ खुँवा गुइएदो अध्यक्ष रहेको र विपक्षी दलहरु बलियो भएको एक मात्र संसद (राष्ट्रिय सभा) छ । राष्ट्रपति मादुरो राजनीतिक ‘कू’को प्रयास र साम्राज्यवादी हस्तक्षेपको विरुद्ध हरेक दिन विभिन्न जनप्रदर्शनहरुमा सहभागी भैरहेका छन् र हरेक दिन दशौँ लाख जनतालाई सम्बोधन गर्ने, उनीहरुसँग सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुने, जनतासँगै खाने, नाच्ने, गाउने, नारा भट्याउने र जनतालाई प्रशिक्षित गर्ने लगायतका कार्यहरु गर्दै आफ्नो निर्वाचनको तयारी समेत सँगसँगै गरिरहेका छन् ।

परन्तु भेनेजुएलाका वरिष्ठ विपक्षी नेताहरुसँग सल्लाह समेत नगरी अमेरिकी साम्राज्यवादको लहैलहैमा उरन्ठ्यालो केटोको रुपम चिनिएको खुँवा गुइएदोले आफूले आफैलाई असंवैधानिक रुपमा राष्ट्रपति घोषणा गर्ने केटौले हर्कत र त्यसपछि अमेरिकाले गरेको प्रत्यक्ष हस्तक्षेप तथा पीडादायी आर्थिक नाकावन्दीका कारण भेनेजुएलाका जनता अमेरिकी साम्राज्यवाद र विपक्षीहरुसँग क्रुद्ध छन् । राष्ट्रपति मादुरो दिनदिनै झन भन्दा झन लोकप्रिय बन्दै छन् ।

यदि यतिबेला निर्वाचन घोषणा भएमा विपक्षीहरुको बहुमत रहेको संसद र राष्ट्रपति पद दुवैमा राष्ट्रपति निकोलस मादुरोको गठबन्धनले ७५ प्रतिशत भन्दा बढी मत ल्याएर विजयी हुने कुरा अमेरिका र अमेरिकाका सहयोगी मानिएका विभिन्न संस्थाहरुले गरेका सर्वेक्षणले देखाएका छन् ।

तसर्थ निर्वाचनको माग विपक्षीहरुका लागि ‘निल्नु न ओकल्नु’ साबित भएको छ भने राष्ट्रपति मादुरोले निर्वाचनको मिति घोषणा नगर्दै आफ्नो तयारी पूरा गरिसकेका छन् । यसरी अमेरिकी साम्राज्यवाद र त्यसका कठपुतलीहरु राजनीतिक मोर्चामा निर्लज्ज तरिकाले पराजित भएका छन् ।

३. धार्मिक तथा सांस्कृतिक मोर्चा

केही समय अगाडि भेनेजुएलाभरका सम्पूर्ण क्रिश्चियन पादरीहरु र विभिन्न धर्मका धर्मगुरुहरुलाई बोलाएर आफूले धर्म र जनताको विरुद्ध कुनै गल्ति गरेको आफूलाई धर्मअनुसार दण्डित गर्न र सो नभएमा आफूलाई समर्थन गर्न एउटा भावुक र अनुरोधपूर्ण सम्बोधन गरेका थिए । क्रिश्चियन तथा स्थानीय प्रकृतिपूजक धर्मालम्बीहरुको बाहुल्यता रहेको भेनेजुएलाको सो कार्यक्रममा उपस्थित सबै धर्मगुरुहरुले राष्ट्रपति मादुरो जननिर्वाचित र संवैधानिक राष्ट्रपति भएको र उनले गरेका कार्यहरु देशको संविधान र धर्म अनुरुप भएको दावी गर्दै राष्ट्रपतिलाई जुनसुकै परिस्थितिमा सघाउने प्रतिबद्धता जनाए । यसबाट अमेरिकी साम्राज्यवाद र विपक्षी दलहरुको धर्मको नाममा राजनीति गर्ने र राष्ट्रपति मादुरो विरुद्ध धार्मिक तवरले आक्रमण गर्ने संभावना अन्त्य भयो । यो उनको अर्को महत्त्वपूर्ण सफलता हो ।

त्यसरी नै विपक्षीहरुलाई सहयोग गर्नका लागि कोलम्बिया र ब्राजिलको सिमानामा विभिन्न अमेरिकी व्याण्डहरुले सांगितिक कार्यक्रमहरु गरे । तिनमा जनसहभागिता भएन, झिनो उपस्थिति मात्रै देखियो । बरु जनताले आफैले सडकमा जनसांस्कृतिक कार्यक्रमहरु गरिहेका छन्, जसमा लाखौँ जनसमुदायको उपस्थिति हुने गरेको छ भने कैयौँ कार्यक्रमहरुमा राष्ट्रपति र सरकारका मन्त्रीहरु नै सहभागी हुने र जनतासँगै नाचगान गर्ने गरेका छन् । यसबाट सांस्कृतिक मोर्चामा पनि राष्ट्रपति मादुरोले विजय हासिल गरेका छन् ।

४. आर्थिक तथा उत्पादन

राष्ट्रपति मादुरो र भेनेजुएला सरकारलाई अप्ठ्यारो पार्न अमेरिकी साम्राज्यवादको इशारामा व्यापक आर्थिक नाकावन्दी लगाइयो । यसको प्रतिरोधमा भेनेजुएला सरकारले अमेरिकी डलरको अवमूल्यन गरिदियो भने आयातलाई नियन्त्रणमा लियो । सम्पूर्ण क्षेत्रमा आत्मनिर्भरता उन्मुख कार्यक्रमहरु लागू गरियो ।

कच्चा तेल र अन्य विभिन्न बहुमूल्ययुक्त धातुहरु बेचेर प्राप्त रकमलाई राष्ट्रपति मादुरोले व्यापक रुपमा कृषि, कृषि औजार, कृषिजन्य उद्योग, साना तथा घरेलु उद्योगहरु, प्रशोधन उद्योगहरु, धातुजन्य उद्योगहरुको स्थापना गरी उत्पादनमूलक कार्यहरुमा खर्च गर्न शुरु गरेका छन् । लाखौँ स्वदेशी र विदेशी स्वयम्‌सेवकहरु सहित कृषि क्षेत्रको विकासलाई नयाँ ढंगले अगाडि बढाउँदै छन् र देशको कूल बजेटको १५ प्रतिशत बजेट कृषि क्षेत्रमा खर्च गर्ने र आवश्यक परेमा त्यसलाई अझ बढाएर लैजाने घोषणा गरेका छन् ।

त्यसको परिणामस्वरुप अरुले बाहिरबाट हेर्दा नाकावन्दी र अन्य जटिलताको व्याख्या भइरहेको भेनेजुएलामा भने नयाँ नयाँ रोजगारीहरु सिर्जना भइरहेका छन् । स्वदेशी सामान प्रयोग गर्ने र आयातित सामानहरुप्रति घृणा गर्ने संस्कृतिको विकास हुँदैछ । यसले भेनेजुएलाको राजनीतिक र आर्थिक जीवनमा दूरगामी महत्त्व बोकेको छ ।

भेनेजुएलाको आर्थिक नाकावन्दी संयुक्त राष्ट्र संघ मार्फत गरिएको नाकावन्दी होइन । त्यो अमेरिका र त्यसका पिछलग्गुहरुले लगाएको एकपक्षीय नाकावन्दी हो । यसको कथित आतंकवादसँग कुनै साइनो छैन । यसबाट अमेरिका र उसका पिछलग्गुहरुको भेनेजुएलाको बजार कट्दैछ भने उसले अमेरिका विरोधीहरुसँग हातेमालो गरेर उनीहरुसँगको व्यापार र व्यावसाय बढाउँदै छ । परिणामतः अमेरिकाले आफ्नो सस्तो तेलको स्रोत गुमाउँदै छ भने आफ्ना सामानहरु बेच्ने अवसरबाट समेत बञ्चित हुँदैछ । यसबाट अमेरिका र अमेरिकी लबीलाई नै हानी भएको छ भने भेनेजुएला आत्मनिर्भर समाजवादी अर्थतन्त्रमा रुपान्तरण हुँदैछ ।

५. सैन्य तथा युद्ध मोर्चा

‘कू’को प्रयास हुनु अगाडिबाटै राष्ट्रपति मादुरोले स्थल सेना, वायु सेना, जल सेना, जगेडा सुरक्षा फौज, मिलिसिया र लाल सुरक्षा गार्डहरुको बिचमा निरन्तर रुपमा पुगिरहेका छन् । त्यहाँ पुगेर उनले आफूले शान्तिको लागि वार्ता र आवश्यक सबै कदम चाल्ने तर साम्राज्यवादले जबरजस्ती युद्ध थोपरेमा प्रतिरोधका लागि तयार रहन आग्रह गर्ने गरेका छन् । सुरक्षा क्षेत्रका सबै युनिटहरुले आफू राष्ट्रपति निकोलस मादुरोप्रति पूर्ण रुपमा वफादार रहने र मुलुकको सार्वभौमसत्ताको रक्षार्थ जुनसुकै युद्धको सामना गर्न तयार भएको जनाएका छन् ।

लाखौँ विभिन्न रुपका सेनाहरु, हजारौँ रुसी, फ्रान्सेली तथा चिनियाँ सैन्य विमानहरु, युद्धपोतहरु, ट्याङकरहरु तथा आणविक हतियारहरुद्वारा सुसज्जित भेनेजुएलाको सैन्य शक्ति बलियो र सुदृढ छ । हरेक दिन कम्युनिस्ट अन्तर्राष्ट्रिय (कम्युनिष्ट इन्टरनेशनल) गीत गाएर आफ्नो दिन चर्या शुरु गर्ने भेनेजुएलाको सैन्य शक्ति जुनसुकै युद्धको सामना गर्न तयार देखिन्छ । सेनामा पूर्ण एकता देखिएको छ । आम जनतालाई व्यापक रुपमा छापामार तथा सैन्य तालिम तथा प्रशिक्षण दिएर युद्धका लागि तयार गरिएको छ ।

युद्धको अवस्थामा भेनेजुएला अमेरिकाबाट धेरै टाढा छैन भने उसको सबैभन्दा भरपर्दो मित्र देश क्युवा अमेरिकाको नजिकै छ । यसकारण युद्ध शुरु भएको अवस्थामा भेनेजुएलाको आणविक हतियारद्वारा सुसज्जित जल तथा वायु सेनाले अमेरिकी मुख्य भूमिमा समेत ठूलो क्षति गर्ने सामर्थ्य राख्दछ । तसर्थ भेनेजुएलामा हुने युद्ध इराक वा अफगानिस्तानको जस्तो हुने छैन । यो युद्ध अमेरिकालाई फलामको च्युरा हुनेछ ।

त्यसैले राष्ट्रपति मादुरोले यदि अमेरिकाले आफ्नो देशमा युद्ध शुरु गरेमा त्यो भियतनाम युद्धभन्दा खतराजनक हुने र अमेरिका रगत लत्पतिएको अनुहार बोकेर फिर्ता हुनुपर्ने चेतावनी दिएका हुन्, जसलाई ट्रम्पजस्तो छुच्चो स्वभावका राष्ट्रपतिले समेत कुनै जवाफ फर्काउन सकेनन् । दोस्रो विश्वयुद्ध अगाडि संसार थर्काउने क्षमता राख्ने जापान दुई वटा अमेरिकी बम खसेपछि जसरी सँधैका लागि लत्र्याकलुत्रुक पर्ने अवस्था आयो, अमेरिकाले त्यस्तै स्थिति बेहोर्नु पर्ने संभावना प्रचुर छ, जुन अमेरिकी सेना र शासकहरुलाई राम्ररी थाहा छ ।

अन्त्यमा,

यसरी साम्राज्यवादी अमेरिका र यसका राष्ट्रपतिको अलोकतान्त्रिक, हठपूर्ण, अविवेकी र गैरजिम्मेवार हर्कतलाई शान्तिपूर्ण, कूटनीतिक र चलाखीपूर्ण तरिकाले बोलिभारियन गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो, उनको सरकार र भेनेजुएलाका जनताले सचेततापूर्वक असफल बनाएदिएका छन् । महान् माओले भनेजस्तै ‘साम्राज्यवाद कागजी बाघ’ साबित भएको छ । यसले श्रमजीवी जनता नै इतिहासका निर्माता हुन् र सर्वहारा क्रान्तिको संभावना मरेको छैन् भन्ने कुरा पुनः प्रमाणित भएको छ ।

यो पनि पढ्नुहोस्ः

भेनेजुएला र मादुरोको पक्षमा ह्वाइट हाउस अगाडि विशाल जनप्रदर्शन