Jeevan Sharma and Raktim Cultural Movement, Raktim Sanskritik Abhiyan
 

जनताको सुख दुःख सबैमा साथ दिने वास्तविक मनोभावनालाई सम्बोधन गर्दै परिवर्तनलाई आत्मसात गरेको मार्क्सवादी विचारबाट ओतप्रोत साहित्य तथा संस्कृतिलाई प्रगतिशील सांस्कृतिक फाँट अथवा प्रगतिवादी साहित्य भनिन्छ ।

नेपालको कठिन राजनीतिक परिस्थितिमा नेपाली प्रगतिशील कलाकारहरुले आफ्नो सिर्जनाका माध्यमबाट जनतालाई संगठित विद्रोहमा ऊतार्न महत्त्वपूर्ण भूमिका खेलेको कुरा प्रष्ट छ । चाहे जहानियाँ शासन होस्, या त पञ्चायतकालीन कालरात्रिको समय होस् या त निरङ्कुश राजतन्त्रको शोषणको समयमा होस्, प्रगतिशील कलाकर्मीहरुले एकल एवम् सङ्गठित रुपमा जनवादी सांस्कृतिक आन्दोलनलाई भूमिगत रुपमै भएपनि अगाडि ल्याउने काम गरे ।

सोही सन्दर्भमा चरणबद्ध रूपमा प्रगतिशील सांस्कृतिक सङ्गठनहरूको निर्माण हुँदै गयो । तर देशका कम्युनिस्ट पार्टीहरूमा आएको विभाजनसँगै ती सङ्गठनहरु पनि तितरबितर बन्न पुगे । तीमध्ये धेरै सङ्गठनहरु केही समयका लागि सक्रिय भए । तर केही समय पश्चात अधिकांश सङ्गठनहरु लोप हुन पुगे । यसका कारणहरु धेरै छन् । अबको समयमा हामीले यसका मुख्य दुई कारणको बारेमा वर्णन गरिने छ । आशा गरिएको छ कि यसले नेपाली प्रगतिशील संस्कृतिको बारेमा सबैले बुझ्नका लागि सहयोग पुग्नेछ ।

Bimal Pande, Raktim Cultural movement, Raktim sanskritik Abhiyan
लेखक

पहिलो कारण बाह्य शक्ति हो भने दोस्रो कारण आन्तरिक कमजोरी हो । विगतका कठिन राजनीतिक परिस्थितिमा खुला रुपमा जनताको गीत, सङ्गीत, साहित्य पस्किन पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । प्रगतिशील कलाकर्मीहरुलाई प्रशासनद्वारा प्रक्राउ गर्ने र जेल चलान गर्ने काम हुन्थ्यो । त्यसकारण अधिकांश जनवादी कलाकारहरू भूमिगत रुपले जनताको घर,आँगनका साथै मझेरीमा पुगेर आफ्नो कला प्रस्तुत गर्थे । जनताको चेतनामा परिवर्तन ल्याउनका निम्ति लागिपर्थे । उक्त समयमा पनि जनवादी धार समातेका केही कलाकारहरु प्रशासन विरुद्ध लगातार संघर्ष गर्न सकेनन् र प्रगतिशील सांस्कृतिक आन्दोलनबाट टाढा बस्न पुगे ।

२०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्यसँगै बहुदलीय व्यवस्था आयो । सम्पूर्ण जनतासंगै क्रान्तिकारी कलाकारहरुमा पनि ऊत्साह, उभार आयो । अब केही स्वतन्त्रताको महशुस पाउने कुरामा कलाकारहरु आशावादी भए । तर सोचेजस्तो स्वतन्त्रता मिलेन, निरङ्कुश राजतन्त्रले फेरि पनि कलाकारहरुमाथि दमन गरिरह्यो । प्रगतिशील सांस्कृतिक सङ्गठनहरू भूमिगत शैलीमा नै अगाडि बढ्न बाध्य भए । उनीहरुका रचनामाथि प्रतिबन्ध लगाइयो । प्रगतिशील कलाकर्मीहरुले निकै नै कठिन अवस्था झेल्नुपर्‍यो ।

२०५२ सालमा तत्कालीन नेकपा (माओवादी ले सशस्त्र युद्धको घोषणा गर्यो । १० वर्षसम्म चलेको‘जनयुद्ध’मा होमिएका सेनाहरुको विद्रोह एवम् उत्साहको खुराक तिनै जनवादी गीत तथा संगीत थियो । यो विषय जिवित, घाइते तथा मृत लडाकुहरुको साथमा फेला परेका जनवादी गीतका भिसिडी तथा पुस्तकहरुले पुष्टि गर्दछन् ।

ऐतिहासिक दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्‍यो । झन्‌झन जनकलाकारहरुमा उत्साहको लहर झाङ्गिरह्यो । अबको राज्यव्यवस्थाबाट जनता तथा प्रगतिशील कलाकर्मीले ठूलो अपेक्षा राखेका थिए । राजतन्त्रको अन्त्य भएपछि कहिले माओवादी, कहिले काँग्रेस त कहिले एमालेले सत्ता सञ्चालन गरिरहे । कांग्रेस स्पष्ट रुपमा प्रतिगामी शक्ति भएकाले त्यसबाट कायापलटको सम्भावना थिएन । तर आफूलाई कम्युनिष्ट बताउने पार्टीहरुले पनि विगतमा आन्दोलनमा होमिनु अगाडि आफूले गरेका उद्घोष तथा जनताको अपेक्षा अनुरुप काम गर्न सकेनन् । आफ्नो पार्टीलाई कम्युनिष्ट सिद्धान्तअनुरुप अगाडि बढाउनुको साटो उनीहरू दलालीकरणमा चुलुम्मै डुबे, कम्युनिष्ट बताउने पार्टीको नेतृत्वमा दलालहरु पुगे र देशलाई, तस्करी, भष्टाचार, हत्या, हिंसा आदिको चङ्गुलमा लगे । विगतमा जसरी जनसंगीतको आडमा उनीहरु अगाडि बढेका थिए, वर्तमान अवस्थामा त्यही प्रगतिशील कलाकृतिलाई भसस्क भुलेर उल्टो उक्त फाँटमाथि प्रहार गर्ने काम उनीहरुबाट नै भयो । जनवादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउनुको साटो पुँजीवादी एवम् साम्राज्यवादी संस्कृतिको उत्थानमा उनीहरु सक्रिय रहे । आज फेरि पनि उनीहरु सत्ताको मोहमा रमाउदै गीत, संगीतका माध्यमबाट जनतालाई सचेत बनाउँदै हिँडेका जनकलाकारहरुमाथि बर्बर दमन गरिरहेछन् । पछिल्लोसमयमा जनवादी कलाकार माइला लामाप्रति राज्यको हर्कत यसको ताजा उदाहरणको रूपमा रहेको छ ।

प्रगतिशील साँस्कृतिक आन्दोलन मासिनुको अर्को प्रमुख कारण सङ्गठनभित्रको आन्तरिक पक्ष कमजोर हुनु हो । सांस्कृतिक कलाकर्मीहरुले प्रगतिवादको महत्त्व एवम् मर्मलाई हृदयको गहिराइबाट नै उत्साहित भएर बुझ्न सके मात्र जनवादी आन्दोलन एकढिक्का भएर अगाडि बढ्छ र यसो हुँदा मात्र क्रान्तिकारी साँस्कृतिक आन्दोलनले राम्रो उत्पादन निकाल्न सक्छ । वर्तमानर पुँजीवादको अवस्थामा यो खालको गतिलाई निरन्तरता दिनु आफैमा चुनौतीपूर्ण पक्ष हो ।धेरै कलाकर्मीहरु केही समयका लागि महान् तर अप्ठयारो बाटोमा हिँड्ने साहस गरेता पनि अन्ततः अधिकांश कलाकर्मीहरु विभिन्न लोभ लालचमा फसेर, अवसरवादी सत्ताका रैतीहरुसँग रमाउदै यही व्यवस्थाको जालोमा अल्झिएर प्रगतिशील साँस्कृतिक आन्दोलनलाई धरापमा पार्न सहयोग गरेको पाइन्छ । यस्ता कलाकारहरुका लागि साँस्कृतिक परिवर्तन भन्दा पनि व्यक्तिगत सुख र समृद्धिको सपना प्रमुख हुने गर्छ र तिनले सिङ्गो सङ्गठनलाई नै आफ्नो आवश्यकताको खाँतिर प्रयोग गर्ने गर्छन् ।

विभिन्न कालखण्डमा नेपालमा थुप्रै किसिमका प्रगतिशील साँस्कृतिक सष्टाहरु तथा संस्थाहरुको जन्म भयो । यसै सन्दर्भमा अझ प्रगाढ रूपमा जनचेतना जगाउने गरी काम गर्न हरेक परिस्थितिलाई नियाल्दै जनताको सुख-दुःख र मनमनको सहयात्री बन्नको निमित्त २०४३ चैत्र ६२ गते काठमाडौं घण्टाघरको फेदमा जनगायक जीवन शर्मा, माणि थापा लगायतका केही जनकलाकारहरुले रक्तिम सांस्कृतिक अभियान नामक प्रगतिशील साँस्कृतिक संस्थाको निर्माण गरे, जसलाई आजसम्म पनी निरन्तरता दिएको अवस्था छ ।

अनेकौँ आरोह र अबरोहहरुलाई छिचोल्दै दुःखीको वेदनालाई शिरोधार्य गर्दै, न्याय, स्वतन्त्रता र समानताको निम्ति सँधैसँधै आफूलाई समर्पित गर्ने र गीत, संगीतको माध्यमबाट जनतालाई सचेत बनाउँदै मानव मुक्तिको सुनौलो यात्रा तय गर्दै आफ्नो पाइला अगाडि बढाइरहेको सङ्गठन हो रक्तिम । रक्तिम किरणले अन्धकार भूमिलाई उज्यालो प्रकाश दिएर सबै अन्धकारमा रुमलिएका दुःखीहरुलाई वास्तविक मानव सौन्दर्यबोध गराउन हरपल काम गरिरहेको छ । अर्थात रक्तिम भन्ने वित्तिकै बहुआयामिक जनआकांक्षाको पर्यायवाची भन्ने बुझिन्छ । चाहे एउटा युद्धमा होमिएको सिपाही होस् या त हलो जोत्ने किसान किन नहोस् अथवा घाँस काट्ने घाँसीदेखि भारी बोक्ने भरिया किन नहोस्, हरेकले रक्तिमका गीत संगीतलाई माया गर्ने गर्छन् । तिनै गीत, संगीतरुपी कोशेलीहरुले उनीहरुलाई सफलता र विद्रोहको नयाँ मार्गनिर्देशन गरिरहेका हुन्छन् । यसलाई रक्तिम साँस्कृतिक अभियानको गहनाको रुपमा लिन सकिन्छ ।

रक्तिमलाई यो अवस्थामा ल्याउनका लागि धेरै साँस्कृतिक योद्धाहरुको अतुलनीय योगदान रहेको छ । विशेषगरी रक्तिम अभियानलाई जन्माउने समयदेखि नै निरन्तर रुपमा यसलाई नेपाली जनताको साँस्कृतिक आन्दोलनको आस्थाको धरोहर आदरणीय जनवादी गायक जीवन शर्माले नेतृत्व गर्दै आउनु भएको थियो । मणि थापा, झोकेन्द्र थापा, नारायण योगी, राजेश बि.क, रेम राना, दलबहादुर बिक, दलबहादुर भण्डारी, मानबहादुर भण्डारी, नारायण शर्मा, भरत श्रेष्ठ, निलिमा पुन, लक्ष्मी गुरुङ, तेजेन्द्र कुँवर, नबिना थापा, गीता थापा, लक्ष्मी रिजाल, धनबहादुर थापा, सुमन रोका, ओम श्रीष, ज्योती फौजा लगायतका अन्य कलाकारहरुको समेत भुल्नै नसकिने योगदान रहेको छ ।

स्थापनाकालदेखि नै विभिन्न अवसरवादी भड्कावको विरुद्ध सम्झौताहीन संघर्ष गर्दै आएको रक्तिम अभियानले कठिन परिस्थितिमा पनि आफ्नो सङ्गठनको क्रान्तिकारी गतिलाई जनता र रक्तिम अभियानको मूलभूत सिद्धान्तबाट कहिल्यै विचलित हुन दिएन । तर चौथो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको समयमा रक्तिम अभियानको जन्मदातालाई एकाएक रक्तिम साँस्कृतिक आन्दोलनको मूलप्रबाहमाबाट निकालिएको समाचार नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्मेलनको दुई दिन अगाडि एउटा जिम्मेवार पार्टीले जन्मदातालाई संस्थाको मूलप्रबाहबाट बाहिर फ्याँक्नु कति ठिक वा कति बेठिक हो ? आम जनताले विश्लेषण गरेका छन् । यसको बारेमा मैले मुल्याङ्कन गर्नु भन्दा आम जनभावनाको कदर गर्नु नै वेश हुनेछ । रक्तिमलाई फूलाउन, फलाउन आफ्नो रगत-पसिना खर्चेर आफ्नो जीवनलाई समेत संस्थाको हकहितका खाँतिर समर्पित गरेका कैयौँ योद्धाहरुलाई पनि बिडम्बना नै भनौँ आज रक्तिमको मूलप्रबाहबाट बाहिर राखेर, केही अवसरवादको चङ्गुलमा फसेका र व्यक्तिगत स्वार्थमा रमाउनेहरुलाई समेत नेतृत्वमा ल्याएर रक्तिम अभियानको गर्विलो इतिहासलाई मेटाउने प्रयास हुन थालेको आमजनमानसमा कता कता महसुश हुन थालेको छ ।

‘कमजोर खेतमा धर्मको बाली राम्रोसँग फल्छ’ भनेजस्तै आज साँस्कृतिक आन्दोलनका साथै पार्टी समेत कमजोर भएको अवस्थामा व्यक्तिगत स्वार्थबाट ओतप्रोत भएका र यथास्थितिमा रमाउनेहरुलाई लिएर तपाईं हामी जनमुक्तिको सुन्दर यात्रामा पुग्न सक्दैनौँ । यसकारण जनताको भावना र वास्तविकतामा आधारित रहेर हामीले निर्णय लिन सकेनौँ भने हाम्रो इतिहास कतै मेटिने त होइन अथवा इतिहासको पानामा मात्र सीमित हुने त होइन ? सवालको रुपमा यो बिषय उठेको छ । यसकारण हामी सचेत बनौँ । आलोचनात्मक चेतको सही प्रयोग गरौँ । द्वन्दात्मक स्थितिलाई बुझौं र आफ्नो लक्ष्यको सुनौलो यात्रालाई समयमै पूरा गरौँ । अन्यथा, सबै उद्देश्य ‘दाइको लाहुर भैरहवासम्म मात्र’ भने जस्तै नहोला भन्न सकिन्न । धन्यवाद ।

२०७६ श्रावण २१, पोखरा
(लेखक रक्तिम सांस्कृतिक अभियानका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।)