Balram Timalsina 'Biplab'
 

यो अन्तिम चिठ्ठी
यो अन्तिम सम्झना
धोकेवाज कमरेडको नाममा !

तिमी खुसीले गदगद् हौला
अलपत्र छोडेर वाचाहरू
जसै उक्लियौ बलजफ्ती कुर्सीमा
मानौँ कुर्सी जवान सुन्दरी हो
र तिमी तालिमप्राप्त बलत्कारी !

गाम बिर्सियौ होला
हाम्रो नाम बिर्सियौ होला
(हुन त तिम्रो नाम पनि बदलिएछ )
जसरी भुल्छन् प्रेमिल क्षणहरू
लसपसमा फसेपछि कुनै पुरुष
आफ्नी पतिव्रता श्रीमतीसँगका !

यो अन्तिम मोडबाट
सँगै जान सकिएन कमरेड
जसरी सँगै जान सक्दैनन्
चोर र साधु अनन्तसम्म यौटै बाटो
कहिँ न कहिँ छुट्टिने गर्छन् !

जुन दिनबाट तिमी भयौ
विद्रोहीबाट सरकारी कमरेड
त्यही दिन हो हामी छुट्टिएको
ज्यान मात्रै सँगै थियो हाम्रो
जसरी मृग र बाघ एकै जङ्गलमा हुन्छन्
तर कहिलै सँगै बस्दैनन् !

तर यो पटक भने कमरेड
तिमी जुन भव्य महलमा छिर्यौ
खुट्टै उठेन मेरो सँगै जान
मेरो घर नै हैनजस्तो लाग्यो
जसरी मुसाफिरहरू छिर्दैनन्
ढोका खुल्ला देख्नासाथ
हरेक गगनचुम्वी घरभित्र !

यो कमरेड भनेर नाता लगाउँने
अन्तिम बोली हो मेरो
जसरी सम्बन्ध विच्छेदको समय
अन्तिम पटक बोल्दा
पुरानै नाता लगाउँदा हुन्
छुट्दै गरेका भूपू प्रेमीहरू !

तिमी रातो पखालेर गयौ
मैले पखाल्न सकिन रातो
रातो राखेरै मर्ने प्रण गरेँ मैले
जसरी प्रण गर्छन्
प्रेमको उत्कर्षमा जोडिहरू !

बिरालो कालो भए नि मुसा मार्छ
बिरालो सेतो भए नि मुसै मार्छ
कुन बिरालोले मुसा मार्ने भनेर
किन लफडामा फस्ने
तिमीले यस्तो गफ लडायौ
जसरी गफ लडाएका थिए
पूराना धोकेवाजहरूले !

मैले सोचें –
प्रश्न मुसा मार्ने मात्र पटक्कै होइन
कुरा त मुसा खाने पो हो
बिरालोले मुसा मार्दा
राम रमाइलोका लागि मार्दैन
खानका लागि मार्छ कमरेड
जसरी हामी रमाइलोका लागि
रोटी पकाउँदैनौं !

विगतका क्षणहरू सम्झदै
र वर्तमानका चर्तिकलाहरू हेर्दै
दिलमा मचमची भएको छ कमरेड
क्षमा गर म तिमीसँगै जान सकिन
जसरी घाट या चिहानमा पुगेपछि
कुनै मलामी या आफन्त सँगै जादैनन् लासको !

म अर्कै रहेँ तिमी अर्कै भयौ
म अन्तै गएँ तिमी अन्तै गयौ
तिमी आफ्नो गन्तव्य आइपुग्यो भनेर
थचक्क बस्यौ उठ्दै उठेनौ
मेरो गन्तव्य त कहाँ हो कहाँ !

ल त म हिडेँ कमरेड
तिमी बस्दै गर !
जसरी ढलेपछि कहिल्यै उठ्दैन लास !
तिम्रो चिहानमा
एक थुङ्गो फूल चढाउँन पनि
पर्खाल ठडियो
जसरी बर्लिनको पर्खाल ठडिएको थियो !

२०७४|११|१६
सुविधा नगर

याे पनि पढ्नुहाेस्ः अचेल मेरो कमरेड र म

याे पनि पढ्नुहाेस्ः किमलाई चिठ्ठी