Debendra Koirla, Devendra Koirala
 

पहिला,
पाठापाठी कान्लाबाट उफ्रेर
तल्लो गरामा हाम्फाल्दा हाँसिन्थ्यो,
भाउजुले बोकेको पानीको गाग्री
बाङ्गो हुँदा पनि हाँसिन्थ्यो,
दाइले लगाएको खेतको आली
भत्किँदा पनि हाँसिन्थ्यो,
पाडोले माउको दुध चुसेको
हेरेर पनि हाँसिन्थ्यो,
गार्इले पाउर मारेको
हेरेर पनि हाँसिन्थ्यो,
हलीले जोत्दा दिनभर गोरूलार्इ
हप्काएको सुनेर पनि हाँसिन्थ्यो,
चिबेले कागलार्इ
लखेट्दा पनि हाँसिन्थ्यो,
ढिँडोको तातो डल्लो निल्दाखेरी
घाँटी पोल्दा पनि हाँसिन्थ्यो,
बारीमा कोही हग्न बसेको
देखेर पनि हाँसिन्थ्यो,
स्कूलमा साथीले लखेटालखेट
गर्दा पनि हाँसिन्थ्यो,
हाँस्न हुन्न भन्दा पनि
हाँसिन्थ्यो,
अरूले नहाँस भन्दा पनि
झन जोडले हाँसिन्थ्यो ।
अहिले,
हाँस्ने प्रयासहरू सबै
व्यर्थ भए,
हाँस्न बिर्सियो,
फोटो खिच्दा हाँसिने
कृत्रिम हाँसो बाहेक
काउकुति लगाउँदा पनि
हाँस्न छोडियो,
खै के भयो, के भयो,
यो निर्जन शहरमा ।

याे पनि पढ्नुहाेस्ः  एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो – क. बलराम तिमल्सिना ‘विप्लव’

याे पनि पढ्नुहाेस्ः   पृथ्वीको एउटा बिन्दु – क. रसुवाल कवी

याे पनि पढ्नुहाेस्ः  नायक र खेल – क. निमानन्द रिजाल