कमरेड, Sharad Poudel, Sarad Poudel, शरद पौडेल,
 

साहुलाई
साहुजी भन्न पाइयोस्
ऊसँगै
सैकडा चालिसमा ऋण लिन पाइयोस्
ब्याजस्वरूप बेरूवा औँठी बुझाएर
हजुर त मेरो भगवान्,
ठुलो गर्जो टारिदिनुभो भन्दै
खुट्टामा छाँद हालेर रून पाइयोस् ।

त्यही पैसा दलाललाई बुझाएर
खाडी जान पाइयोस् ।
सके जिउँदै
नभए कोफिनमा भए पनि देश फर्कन पाइयोस्,
तब न समृद्ध समाजवाद ।

सबसे पछिल्लै पालो सही
मुखियाले पानी भर्ने गरेकै पँधेरामा
पानी भर्न पाइयोस् ।
गामकै विष्ट त हुन्
हाम्रा भाग्य विधाता/भगवान सरी
बचनले व्यवहारले जति दपेटे पनि, लपेटे पनि,
हाम्रै खाँतिर त हो !
तँलाई डुम्, चमार र आरने भनेर के भो र?
हामीमाथि छुवाछुत गरेर के भो र?
होनहारका मुखियाका
आगन डिल बसेर
आफ्ना मुखियालाई हेर्न पाइयोस्
मुखियालाई सुन्न पाइयोस्,
तब न समृद्ध समाजवाद ।

राम्रीलाई राम्री
सुन्दरीलाई सुन्दरी भन्न पाइयोस् ।
तिनको विज्ञापन होस्
तिनको मोलतोल होस्
आइमाई न हुन्
तिनको छाती नापियोस्
तिनको नितम्ब नापियोस्
तिनको सबथोक जाँचियोस्
र भनियोस्
तिमीहरूको जीवन नै यस्तै प्रतियोगिताका लागि हो,
बाँकी जीवनको राजनीति,
जीवनको अर्थनीति सामाजिकता
तिमीहरूको चासो होइन ।

बरू बजार पस र हेर
लिपिष्टिकको ब्राण्ड र रङ
साडी बनारसीको मूल्य र रङ
गाउनको मूल्य र रङ
लेहङ्गाको मूल्य र रङ ।
यसरी रङहरूमै अलिमलिन पाइयोस्
बाँकी सब बिर्सेर
हामी आधा धर्ती
पुरूषका मन रिझाउन पाइयोस्
पुरूषका खेलौना बन्न पाइयोस्
सन्तानको कारखाना बन्न पाइयोस्,
तब न समृद्ध समाजवाद ।।।

पाे पनि पढ्नुहाेस्ः  वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे – क. स्वनाम साथी

याे पनि पढ्नुहाेस्ः  ए बजार सुन्दरी – क. बलराम तिमल्सिना ‘विप्लव’

याे पनि पढ्नुहाेस्ः  हाँस्न सकिएन यो निर्जन शहरमा – क. देवेन्द्र काेइराला

२०७४ चैत्र २९

(क. शरद पौडेल प्रगतिशील साहित्यकार तथा बहुचर्चित ‘लिखे’ र ‘तपन’ जस्ता कृर्तिका रचनाकार हुनुहुन्छ ।)