कमरेड !
निकै फिका देखिएका छौ
रातो कता हरायो?
तिमीले सपनामा देख्दैछु भनेको
समानताको त्यो विपना कता हरायो?
कहाँ चुक्यौ कमरेड?
श्रमजीवीसँगको अङ्गालो तोडेर चुक्यौ?
वा दलित महिलाहरूसँगको हातेमालो छाडेर चुक्यौ?
हजार रोल्पाको रगत बिर्सेर चुक्यौ
वा हजार सोलुको सहादत बिर्सेर चुक्यौ?
कहाँ चुक्यौ कमरेड?
कसरी निमोठ्न सक्यौ
हिजोका सपनाहरू?
जो हजारौँ सहिदहरूको रगतले लेखियो
जो हजारौँ बेपत्ताहरूको बलिदानले कोरियो ।
भन कमरेड कहाँ चुक्यौ?
जसको विरूद्ध हिजो हुँकार उठ्यो
देख्छु,
तिम्रो अँगालोमा छन् आज तिनै
निक्खरा सामन्ती हुँडारहरू
श्रम लुटेरा पुँजीपतिहरू
तस्कर र डनहरू
विदेशी गुप्तचरहरू, दलालहरू
भन कमरेड कहाँ चुक्यौ?
हो कमरेड!
फिका फिका देखिएका छौ
त्यो ज्वाजल्य रातो कता हरायो?
तिमीले सपनामा देख्दैछु भनेको
समानताको त्यो विपना कता हरायो?
यो पनि पढ्नुहोस्ः सम्बोधन लेनिनका नाउँमा – क. शरद पाैडेल
यो पनि पढ्नुहोेस्ः मेरा मित्र – क. सुशान्त पाैडेल
२०७५ बैशाख १३, काठमाडाैँ ।
(क. शरद पौडेल प्रगतिशील साहित्यकार तथा बहुचर्चित ‘लिखे’ र ‘तपन’ जस्ता कृर्तिका रचनाकार हुनुहुन्छ ।)