दूर दूर लालसेना यात्रा गरिर’न्छन्,
सन्त्रास कुनै नलि’कन अगि अगि बढ्छन्,
वीर निम्ति पहाड नदी छेकवार छैनन्,
उलिङका पाँच पहाड अवरोध हैनन्,
उमङ्गका उच्च शिखर हाँसी पार गर्छन्,
माटाका ती डल्लासरी तलतिर झर्छन्,
चिन्स्याङको चोखो पानी याङ्सी नदीनिर
जस्तोसुकै प्रहार पनि खप्ने नदी तीर
कठिन नदी तातूका ती किल्ला सर गर्दै,
मिनसानका हिमचुली माथि माथि सर्दै
फहराउँछन् लालध्वजा फरफर गर्दै
लालसेना अगि बढ्छन् हाँसी हाँसी सर्दै।
(१९३५)
![Sheshmani Acharya](http://www.leftreviewonline.com/wp-content/uploads/2018/10/Sheshmani-Acharya-leftreviewonline.jpg)
( प्रस्तुत कविता कवि माओले विश्वविख्यात चिनियाँ लालसेनाको लङ मार्च अभियानको प्रशंसामा लेखेका हुन् । यो अभियान १९३४ अक्टोबर १६ देखि १९३५ अक्टोबर २० मा सम्पन्न भएको थियोे । यो अभियान जापानी आक्रमणको सशक्त प्रतिरोध गर्न छरिएका जनसेनालाई एकत्रित गर्नुका साथै येनानको सुविख्यात आधार इलाकाबाट जनक्रान्ति सम्पन्न गर्न माओको नेतृत्वमा सम्पन्न महान् अभियान थियो । चिनियाँ क्रान्तिकाे इतिहासमा र स्वयं चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा यसको उच्च स्थान छ । चार हजार माइल कठोर पहाड, नदी, भञ्ज्याङ, पार गर्दै शत्रु सैन्यको बमवर्षक हमलाको सामना गर्दै १८ ठूलाठूला पहाड पार गर्दै, २४ महान् नदीहरु छिचोल्दै जनताको एउटा पनि धागोको टुक्रा र सियो पनि नलिँदै, वीरहरुको उल्लास र वलिदानको गाथा रच्दै, सुकेका पेटीका छाला उसिन्दै खाना खाने कथा रच्दै उत्तरमा रहेका चु तेहका लालसेनासँग मिल्न र क्रान्ति सम्पन्न गर्न यसको निर्णायक भूमिका रहेको छ । यसै अभियानमा कमरेड माओले सूत्रबद्ध गर्नुभएको गुरिल्ला युद्ध नीति (शत्रु सैन्यले लखेट्दा आफू जोगिने, ऊ आराम गर्दा आक्रमण गर्ने, ऊ भाग्दा लखेट्ने, ऊ अगि बढ्दा छक्काउने जस्ता गुरिल्ला रणनीति) कार्यान्वयन गरेर नेतृत्व गर्नुभयो । यसै समयमा माओको नेतृत्व पनि स्थापित भयो । च्याङकाई शेकलाई दोस्रो संयुक्त मोर्चामा आउन आफ्नै पार्टी (कोमिन्ताङ) मा दवाव पनि पर्यो । अनुवादक शेषमणि आचार्य । )
र, यो पनि पढ्नुहोस्ः