dharahara bhimsen stambha bhimsen tower
 

कदाचित् ठडियो भने भीमसेन धरहरा
छर्लङ्ग देखिने छन् विद्रुप तमासा स्मार्ट महानगरका
र , शासकीय छलछामका घिनलाग्दा दृश्यहरू ।

घाम डुब्ने दिशातिर देखिने छ –
चन्द्रागिरिको अग्लो चुली
जसलाई हरदम नियाल्ने गर्थे
कारागारका चिसा छिँडीबाट
जनताका राता कवि कृष्ण सेन `इच्छुक ´ ।

टलक्क टल्केको देखिनेछ –
शासकले कोरेका काव्यिक हरफका शिलालेख
र, विद्युतीय घिर्लिङको छाँयामुनि देखिने छ
भालेश्वर महादेवले कहिल्यै मुक्ति दिन नसकेका
दीनहीन जनजातिका मसिना बुकुरा ।

क्षितिज उधिनेर घाम जन्मिने दिशातिर
नजर डुलाउँदा देखिनेछ –
उतिबेलै लेनिन र मार्क्सबाजेका तस्विर गायब
कम्युनिस्ट पार्टीको मुख्यालय,
शिवपुरी डाँडाको गजघट्टे टाकुरो
र, त्यसको सियाँलमा देखिनेछ –
दरबारले रैती बनाएका मासिन्या(?)हरुको बबुरो वस्ती ।

उत्तरतिर जब दौडाइने छ दृष्टि
तब देखिनेछ –
विद्रोहको तातो रापले सेकेर नागार्जुन मिल्किएका
र, गुमेको राजकाजमा र्‍याल काढ्दै गरेका
पूर्व राजन्‌को भद्दा चमकदमक ।

दक्षिणतिर घुर्मैलो क्षितिजमुनि देखिने छ –
बालकोटको डाँडामा अवस्थित
पवित्र सोमरसले स्नान गरेका
छोटे राजन्‌को ढोँगी महल ।

किन्तु ,
टड्कारो देखिने छैन कुनै कोणबाट –
गोरेले सिमाना कटाउन बिर्सेका
पहेँलो धातुका अजङ्गका लाप्सा
सिन्डिकेट सुचारु गरेकोमा
तालुकदार मन्त्रीलाई प्राप्त गुप्त नजराना
सदरमा सञ्चालित नग्न व्यभिचारका पाशविक दृश्यहरू
र, काया बेच्न विवश नगरवधूका घायल तनहरू ।

बिलकुल देखिने छैन, शासकीय लेन्सबाट
भग्न सभ्यताको विभत्स तस्विर
खेलमैदान बनेको शुष्क रानीपोखरी
र, गौचरनको भुइँ नछुँदै भुँडीतिर छिरेका
विशालतम्‌ विमानका फाटेका हर ।

देखिने छैन धरहराबाट –
तुन्न छुटेका असङ्ख्य दिलदार मनहरू
निराश बनी लर्खराएका विचलित मनुवाहरू
र, सिंहदरवारको चाबी बुझाउने निश्छल जनार्दनहरू ।

Madhab Ghimire Atal
रचनाकार