Kala sahitya ko antarbastu
 

कुनै वस्तु वा सङ्घटनाको अन्तर्वस्तु र रुप अविभाज्य हुन्छन् । अन्तर्वस्तुको अभावमा रुप र रुपको अभावमा अन्तर्वस्तुको अस्तित्व हुँदैन । तिनको द्वन्द्वात्मक सम्बन्ध हुन्छ र एकले अर्कालाई प्रभाव पार्दछन् । साहित्यमा मात्र होइन, सामाजिक कार्य वा व्यवहार लगायतका समग्र प्रतिक्रियामा अन्तर्वस्तु र रुपको सम्बन्ध गाँसिएको हुन्छ । वस्तु निर्माण गर्ने मौलिक तत्त्व वा प्रक्रियाहरुको कुल योगलाई अन्तर्वस्तु भनिन्छ । रुप अन्तर्वस्तुको ढाँचा वा बनावट हो वस्तुमा अन्तर्वस्तुको प्रमुख भूमिका रहन्छ र त्यसलै नै रुपको निर्माण गर्छ । अन्तर्वस्तु परिवर्तन भएपछि रुपको परिवर्तन हुन्छ तर रुपले पनि अन्तर्वस्तुको परिवर्तन गराउँछ । म यहाँ साहित्यको अन्तर्वस्तुका बारेमा मात्र केही चर्चा गर्न गइरहेको छु ।

Ghanashyam Dhakal घनश्याम ढकाल left review online fagun 1
लेखक

साहित्यमा विषयवस्तु र अन्तर्वस्तु एउटै होइनन् । ती फरक कुरा हुन् । साहित्यिक कृतिमा प्रस्तुत सामग्री विषय हो । कृति, रचनाका निमित्त जीवन र जगतबाट लिएको कुनै पनि यथार्थता विषय बन्न सक्छ । प्रकृति, राष्ट्रियता, राजनीतिक गतिविधि, सामाजिक गतिविधि, अन्याय, अत्याचार र तिनको प्रतिरोध, जनयुद्ध, माया प्रेमजस्ता थुप्रै कुराहरु साहित्यका विषय बन्दछन् । विषय स्वतः अन्तर्वस्तु हुँदैन त्यसलाई अन्तर्वस्तुको तहसम्म विकास गर्नु पर्दछ । साहित्यको अन्तर्वस्तुमा सिर्जनाका आधारभूत तत्वहरु पर्दछन्, जसलाई वस्तुगत पक्ष र आत्मगत पक्षमा विभाजन गरिन्छ । वस्तुगत पक्ष र आत्मगत पक्ष मिलेर अन्तर्वस्तु बन्दछ । वस्तुगत पक्ष यथार्थ जीवनबाट लिएको विषयबाट निर्माण हुन्छ । विषयवस्तु के लिइएको छ भन्ने कुराको केही महत्व हुन्छ । त्यसैले क्रान्तिकारी विषयवस्तुले मात्र रचना क्रान्तिकारी वा प्रगतिशील हुँदैन । क्रान्तिकारी विषयवस्तु गलत उद्देश्यमा प्रयोग गरियो भने त्यो प्रतिगामी अन्तर्वस्तुमा फेरिन्छ । अर्कातिर हेर्दाखेरि सामान्य लाग्ने विषयवस्तु अग्रगामी उद्देश्यका लागि अन्तर्वस्तुको तहसम्म विकास गरिएको छ भने त्यो प्रगतिशील अन्तर्वस्तु बन्न पुग्छ ।

अन्तर्वस्तुको आत्मगत पक्ष भनेको लेखक हो । विषयलाई ग्रहण गर्ने सवाल आत्मगत पक्षसँग सम्बन्धित हुन्छ । लेखकको सौन्दर्यात्मक अभिरुचिलाई उसले आत्मसात् गरेको विचार धारा एवम् जीवन संङ्घर्षले निर्देशित गर्दछ । विषयवस्तुलाई अन्तर्वस्तुको तहसम्म विकास गर्ने आत्मगत पक्ष नै हो । साहित्यको विषयलाई निर्धारण गर्दछ । कलात्मक बिम्बको अन्तर्वस्तु यथार्थ जीवन नै हो । रचनाकारको आफ्नो तरिका , विश्लेषण र दृष्टिकोणले एउटै विषयवस्तु भिन्न भिन्न ढङ्गले प्रस्तुत गरिएको हुन्छ । साहित्य सृजनामा लेखकीय सौन्दर्यबोधको सवाल हो । सौन्दर्यबोधको आधारमा नै भावनाहरु तरङ्गित हुन्छन् र यहीँबाट कुन राम्रो र कुन नराम्रो भन्ने कुराको थालनी हुन्छ । सौन्दर्यबोध नै मूल्याङ्कनको आधार हो । आत्मगत पक्षभित्र विचारधारात्मक,भावनात्मक र सौन्दर्यत्मक तत्त्वहरु र अविभाज्य रुपमा रहन्छन्। यथार्थसँग ती जति घुलमिल हुन सक्छन्, त्यति नै राम्रो रचनाको सृजना हुन सक्छ । अन्तर्वस्तुले मात्र होइन, रुपले पनि जीवनको प्रतिबिम्बित गर्दछ ।

रुप र रुपवाद फरक फरक चिज हुन् । रुपवाद प्रतिक्रियावादी सौन्दर्यदृष्टि हो र यसका पछाडि सिङ्गै दर्शन, मूल्य–मान्यता र सामाजिक संरचना छ । रुपवादले साहित्यको अन्तर्वस्तुलाई महत्त्व नदिने मात्र होइन , त्यसलाई अस्वीकार समेत गर्दछ । यसका दृष्टिमा रचनाका रुप नै सबै कुरा हो । मार्क्सवादी सौन्दर्यशास्त्रले मात्र रचनामा अन्तर्वस्तु र रुपको उचित संयोजनमा जोड दिन्छ । रुप र अन्तर्वस्तुमा सधै मेल मात्र रचना सुन्दर हुन्छ । रुप तत्त्वभित्र अन्तर्वस्तुलाई अभिव्यक्त गर्ने विभिन्न माध्यमहरु पर्दछन् ।भाषा, बिम्ब, कथानक, प्रतीक, शैलीजस्ता तत्त्वहरु रुपका माध्यमहरु हुन् ।

साहित्यिक कृतिको अन्तर्वस्तुलाई विश्लेषण गरेर भाव, विषय । मूल्याङ्कनमा विभाजन गर्न सकिन्छ । केन्द्रीय भावका आधारमा विषयको व्याख्या हुन्छ र यही व्याख्याबाट मूल्याङ्कन गरिन्छ । विचारको ठाडो प्रस्तुति कलात्मक विषय होइन । विचारलाई बिम्ब र भावनाद्वारा प्रस्तुत गर्न सकिन्छ । अनुभूति, भावना र प्रभावको आवरणमा विचारहरु प्रस्तुत गरिन्छन् । कृतिको केन्द्रीय भाव यथार्थ वा सम्भावित यथार्थमा आधारित हुनु पर्दछ । साहित्यको अन्तर्वस्तु विश्व दृष्टिकोण वा वर्ग विचारधाराको प्रस्तुतीकरण हो भनी ठान्नु गलत चिन्तन हो । वर्गीय चेतनाले ओतप्रोत भएर जीवनको प्रतिबिम्बन गर्नु अन्तर्वस्तुको केन्द्रीय कार्य हो । आखिर भाव भनेको के हो ? भावको केन्द्रीयतामा चिन्तनको रहन्छ र यसले मानिसका इच्छा र आकाङ्क्षालाई समायोजन गर्दछ । चिन्तनको व्यापकताभित्र प्रेम, घृणा, सहानुभूति, सासह, जोस, क्रोध, हर्ष र दुःख आदि सबै पर्दछन् । कृतिभित्र निर्मित बिम्ब र परिस्थितिहरुले हाँसो, आँसु, सहानुभूति र घृणा जगाउन सफल भए भने सिर्जित बिम्ब र परिस्थितिहरुको औचित्य रहन्छ ।

अन्तर्वस्तु र रुप दुबैले जीवनकै प्रतिबिम्बन गर्ने हुनाले सतरी धारणाले तिनको विभेद गर्न सकिँदैन । अन्तर्वस्तु विचार, कथानक वा लेखकको अन्तर्जगत्को अभिव्यक्ति मात्र होइन । जीवन र जगत्बाट छनोट गरिएको विषयलाई लेखकले आफ्नो वैचारिक आर्दश अनुरुप कलात्मक रुप दिएपछि मात्र त्यो साहित्यको अन्तर्वस्तु बन्दछ । साहित्यमा अन्तर्वस्तुको एउटा प्रत्यक्ष रुप हुन्छ भने अर्को परोक्ष । चिन्तन र भावना प्रत्यक्ष र चित्रात्मक अघिव्यक्ति परोक्ष अन्तर्वस्तुमा पर्दछन् ।

अन्तर्वस्तुको प्रस्तुतिमा अभिप्रायः र पणिामको ठूलो महत्व हुन्छ । अभिप्रायः र परिणाममा अन्तर्विरोध भएमा त्यसबाट दुई भिन्न वस्तु निस्कन सक्छन् । राम्रो अभिप्रायः लिइएको विषयले नराम्रो परिणाम निस्कन सक्छ र नराम्रो अभिप्रायः लिइएको विषयले राम्रो परिणाम ल्याउन पनि सक्छ । कृति रचनामा यथार्थ जीवन र जगतबाट विषय लिइए तापनि लेखकका अगाडि जे पर्छ त्यही मेसो लगाएर लिइँदैन । छनौट, निरीक्षण र मूल्याङ्कन विना लिइएको विषय कलाको विषय बन्दैन । केन्द्रीय भाव र विषयको अन्योन्य सम्बन्ध हुन्छ । अन्तर्वस्तु निर्माणमा भाव, विषय र मूल्याङ्कनको जैविक सम्बन्धलाई टुुटाउन खोजियो भने सृजनात्मक प्रक्रिया दुर्घटनामा पर्न जान्छ ।

साहित्य रचना गर्नका लागि विषयवस्तु जेसुकै पनि लिन सकिने कुरा मैले माथि नै उल्लेख गरिसकेको छु । यसो हुँदाहुुँदै पनि रचना सुन्दर हुनका लागि समयसापेक्ष विषयवस्तु हुनै पर्छ । युग सचेत लेखकले मात्र यस्तो विषय छान्न सक्छ । युग सचेत हुनेको अर्थ जनता, समाज, राष्ट्र र विश्वले भोगेका/भोग्नेपरेका समस्या र तिनका समाधानका सङ्घर्षसँग सचेत र सहभागी हुनु हो । सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा सबै किसिमका शोषण र उत्पीडनबाट मुक्तिका लागि सचेत र सहभागी नभएको स्रष्टामा युगबोध हुँदैन । अग्रगामी सोच रहेको लेखकसँग आफू बाँचेको युगको सबैभन्दा प्रगतिशील विचार हुन्छ र त्यस्तो विचार भनेको मालेमावादी चिन्तन धारा हो । नेपाल जस्तो वर्ग सङर्घ तीव्र भएको मुलुकमा यसबाट प्रभावित नहुने वा साहित्यिक सामग्री नलिने लेखक सचेत लेखक मानिँदैन । जनताले गणतन्त्र वा जनतन्त्र प्राप्तिका लागि युद्ध वा आन्दोलन चलाइरहेको बेलामा एउटा स्रष्टा त्यतातिर अन्धो हुनु वा गुटगत मानसिकताले घेरिनु लज्जाजनक अवस्था हो । वर्ग सचेत लेखक श्रमजीवी तथा उत्पीडित जनताका पीडा, समस्या र आकाङ्क्षाबाट विमुख हुन सक्दैन । वर्ग समाजमा वर्गभन्दा माथि उठेको सृजना कोरा कल्पना हो , यथार्थ होइन । सुन्दर प्रगतिवादी साहित्यिक रचनाका लागि एकातिर सर्वहारा विश्व दृष्टिकोण सहितको पक्षधरता र अर्कातिर युग जीवनले भोगेका र सामना गर्नु परेका यावत विषय र समस्या अनि तिनको समाधानका प्रक्रिया र सङ्घर्षहरुलाई साहित्यिक सामग्रीको रुपमा लिइनु पर्दछ यसो भयो भने मात्र साहित्यको कच्चा सामग्रीलाई राम्रो अन्तर्वस्तुमा विकास गर्न सकिन्छ । कलाको जलप विना अन्तर्वस्तुबाट सौन्दर्य सृष्टि हुँदैन । नवीन सौन्दर्य चेतना विना नयाँ यथार्थको बोध हुँदैन । नयाँ यथार्थ युद्धको यथार्थ हो, आन्दोलनको यथार्थ हो र यो समाज रुपान्तरणकारी अग्रगामी यथार्थ हो । नयाँ यथार्थले नयाँ अन्तर्वस्तुको जन्म दिन्छ र यसले सृजनालाई समाजवादी यथार्थवादसँग लगेर जोड्दछ ।

साहित्यको अन्तर्वस्तु जति छिटो बदलिन्छ, रुप बदलिँदैन । अन्तर्वस्तु र रुप छिटो–छिटो बदलिने कलाको रुप सङ्गीत हो । यसमा अन्तर्वस्तु रुपमा र रुप अन्तर्वस्तुमा परिवर्तन भइरहन्छन् । कसैले सङ्गीतलाई अन्तर्वस्तु विहिन कला ठान्दछन् तर त्यो गलत चिन्तन हो साहित्यमा जस्तो सङ्गीतमा अन्तर्वस्तु त्यति पुष्ट नभए तापनि यो अन्तर्वस्तु विहीन भने हुँदैन । सामाजिक एवम् वर्गगत मूल्य मान्यताले पनि सङ्गीतको अन्तर्वस्तु निर्धारण गर्दछन् । जुन शब्द वा गीतले एउटा परिवेशका लागि जुन अर्थ र अभिप्राय बोक्दछन्, तिनकै आधारमा निर्मित सङ्गीतबाट पनि त्यहाँ अर्थबोध हुन्छ ।

मार्क्सवादी सौन्दर्यशास्त्रले अन्तर्वस्तु र रुपको सम्बन्धलाई एकतामा मात्र होइन, अन्तर्विरोधमा पनि व्याख्या गर्दछ । क्रान्तिकारी अन्तर्वस्तु र त्यसै अनुसारको रुप सृजना गर्नु समाजवादी यथार्थवादी साहित्यको सिर्जना प्रक्रिया हो । यहाँ अहिलेसम्म छलफल गरिएका कुराहरुको सारलाई बुँदागत रुपमा यसरी राख्न सकिन्छः

♦ अन्तर्वस्तु साहित्यमा मात्र सीमित नभएर दर्शन, विज्ञान लगायतका समग्र सामाजिक एवम् कला रुपहरुसँग सम्बन्धित छ ।

♦ कुनै वस्तु निर्माण गर्ने मौलिक तत्व वा प्रक्रियाको कुल योगलाई अन्तर्वस्तु भनिन्छ ।

♦ रुप भनेको अन्तर्वस्तु प्रस्तुत गर्ने ढाँचा, बनावट वा रुपात्मक तत्त्वहरुको विन्यास हो ।

♦ अन्तर्वस्तु र रुप एक आपसमा छुट्याउनै नसकिने गरी द्वन्द्वत्मक ढङ्गले अन्तर्सम्बन्धित छन् । तिनले एकले अर्कालाई प्रभावित पारे पनि अन्तर्वस्तुको भूमिका प्रमुख हुन्छ ।

♦ प्रतिक्रियावादी चिन्तन अनुसार रुप वस्तुको तात्विक र उच्चतर अवस्था हो ।

♦ साहित्यमा विषय र अन्तर्वस्तु फरक फरक कुरा हुन् ।

♦ साहित्यिक कृतिमा प्रस्तुुत सामग्री विषय हो ।

♦ अन्तर्वस्तुमा वस्तुगत र आत्मगत पक्ष हुन्छन् ।

♦ विषय वस्तुगत पक्ष हो र त्यसमा आत्मगत पक्ष मिलाएपछि त्यो अन्तर्वस्तु बन्दछ ।

♦ लेखकको विचारधारात्मक, भावनात्मक एवम् सौन्दर्यात्मक तत्त्वहरु मिलेर अन्तर्वस्तुको आत्मगत पक्ष बन्दछ ।

♦ क्रान्तिकारी विषयवस्तु लिए पनि त्यसलाई अन्तर्वस्तुसम्म विकास गरिएको छैन भने रचना प्रगतिवादी हुँदैन ।

♦ साहित्यिक कृतिमा अन्तर्वस्तुलाई भाव, विषय र मूल्याङ्कनमा पनि विभाजन गरिन्छ ।

♦ भावको केन्द्रीयतामा चिन्तन रहन्छ र चिन्तनभित्र प्रेम, घृणा, साहस, जोस, क्रोध, दुःख, हर्ष आदि पर्दछन् ।

♦ अन्तर्वस्तुको प्रस्तुतिमा अभिप्रायः र परिणामको ठूलो महत्व हुन्छ ।

♦ अन्तर्वस्तुको विषय यथार्थ जीवनबाट छानिन्छ ।

♦ अन्तर्वस्तु छिटो बदलिन्छ र रुप ढिलो । सङ्गीतमा रुप र अन्तर्वस्तु एकदमै छिटो छिटो बदलिन्छ ।

♦ विषयवस्तुको छनोट गर्दा वर्तमान यथार्थलाई प्रस्तान विन्दु बनाउनु पर्छ । वर्तमान यथार्थको अग्रणी रुप नयाँ यथार्थ हो ।

♦ वर्तमान विश्वको सबैभन्दा प्रगतिशलि विचार मालेमावादी चिन्तनधारा हो ।

♦ रुप र अन्तर्वस्तुको सन्तुलनबाट सुन्दर कृतिको सृजना हुन्छ ।

♦ युग सचेत नभएको लेखकले प्रगतिवादी रचना सृजना गर्न सक्दैन ।

(जन समीक्षा प्रकाशन, पोखराद्वारा प्रकाशित राजमार्ग वर्ष ४, अंक २, २०६९ बाट साभार)