Krishna Sen 'Ichchhuk'
 

कृष्ण सेन ‘इच्छुक’को हत्याको खबर
यो धर्तीभरी सनसनी फैलिँदैथ्यो
मैले पनि सुनेँ त्यो हत्याको खबर ।

त्यतिखेर मेरो मानसपलटमा
‘इच्छुक’को चेप्टो अनुहार देखेँ
निधारमाथि पातलो कपाल देखेँ
तेजिला आँखा मतिर हेरेको देखेँ
ठूला कानहरु सलक्क देखेँ
ओठमा मीठो मुस्कान छोडेको देखेँ
हात मिलाउन ल्याएको देखेँ
कस्तो छ भन्दै सोधेको सुनेँ
मैले हात मिलाउन लग्दा
एक्लै मेरो हात पसारेको पो पाएँ
त्यहाँ मलाई एक्लै पो पाएँ ।

मेरा आँखा रसाउँदै थिए
निधारमा पसिना आउँदै थियो
शरीर गह्रुँगो बन्दै थियो
मैले त अन्धकारैअन्धकार पो देखेँ ।

Keshab Nepal Bijaya Kumar / Keshav Nepal Vijaya Kumar
रचनाकार

आफ्नो वर्गप्रति
तिम्रो त्यो निष्ठा
तिम्रो त्यो आस्था
तिम्रो त्यो प्रतिबद्धता
तिम्रो त्यो नम्रता
तिम्रो त्यो इमान्दारिता
तिम्रो त्यो सरलता
तिम्रो त्यो दृढता
तिम्रो त्यो शिष्टता
तिम्रो त्यो शालीनता
तिम्रो त्यो निर्भिकता
तिम्रो त्यो त्याग र बलिदानले
तिमी आँखाको नानी बन्यौ
सर्वहारावर्गको सारथी बन्यौ
मुक्तियुद्धको अगुवा बन्यौ ।

अनि
वर्गवैरीका लागि
तिमी एउटा डरलाग्दो लालआतङ्क हौ
तिमी तरबारभन्दा धारिला अस्त्र हौ
तिमी पड्किन तयार बमगोला हौ
तिमी अजङ्गका विद्रोही हौ
तिमी ज्वादामुखीभित्रका अग्निवाण हौ
तिमी अतरनाक मेसिनगन हौ
तिमी धारिलो सङ्गीन हौ
सागरभन्दा अग्लो चुचुरो हौ
तिमी बन्दुकभित्रको गोली र बारुद हौ
तिमी मुटुभित्रका अग्राखका किल्ला हौ
तिमी वर्षामा उर्लेको भेल हौ ।

त्यसैले, तिम्रा स्वरहरुमा प्रतिवन्ध लगाए
तिम्रा लेखमा रोक लगाए
तिम्रा विचारमा प्रतिवन्ध लगाए
तिम्रा कवितामा प्रतिवन्ध लगाए
तिम्रा आस्थामा रोक लगाए
तिम्रा हातमा हत्कडी लगाए
तिम्रा मुखमा ताल्चा लगाए
तिम्रा खुट्टामा नेल भिराए
तिमीलाई आतङ्ककारी भन्दै
तिम्रो टाउकाको मो तोके
तिम्रो सिङ्गो शरीरलाई जेलमा थुनाए
कैयौँ दिन त बेपत्ता बनाए ।

तर पनि
तिम्रा आस्थाहरुलाई न गाल्न सके
तिम्रा विचारलाई न पगाल्न सके
तिम्रा आदर्शलाई न कमजोर पार्न सके
तिम्रो विश्वासलाई न मार्न सके
तिम्रो दृढतालाई न खल्बल्याउन सके ।

बरु,
तिम्रा आस्था दृढ बन्दै गए
तिम्रा विश्वास स्पात बन्दै गए
तिम्रा आवाज बुलन्द हुँदै गए
तिम्रा विद्रोही मुट्ठी कस्सिँदै गए ।

तिनै वर्गवैरी विरुद्ध
तिमीले निरन्तर आवाज घन्काउँदै गयौ
वर्गवैरीका काला कर्तुत उदङ्ग्याउँदै गयौ
दुश्मनका लागि कविता नै बमगोला बनेपछि
दुश्मनका लुटको स्वर्ग बचाउनका लागि
कायर, आततायीले
प्रहरी हिरासतभित्रैको
मानववधशालामा
तिम्रो हत्या गर्ने योजना बनाए
बर्बर जङ्गली यातना दिए
क्रुरताका पराकाष्टा देखाए ।

तिमीले धोका र गद्दारी होइन, मृत्यु रोज्यौ
तिमीले जीवनको भीख नमागेपछि
तिमीले आस्थाका लागि मृत्यु नै रोजिसकेपछि पनि
कायर जल्लादहरुले
क्रुर यातना शिविरमा
बुट बजार्दै सङ्गीन तेर्स्याउँदै अन्तिमपटक
मर्न डर लाग्दैन भन्दै
आस्थाको मोलतोल गर्दै थिए
गद्दारीको माग गर्दै थिए
विचार र विश्वासलाई जोख्दै थिए
जति केरकार गरे पनि
जति प्रश्न सोधे पनि
ठाडै दुत्कारी दियौ
ठाडै ललकारी दियौ ।

आफ्नो आस्था र विश्वासमा
शरीरमा एकथोपा रगत रहेसम्म
शरीरमा एकमुट्ठी सास रहेसम्म
निरन्तर निरन्तर अडिग रहिरह्यौ
तिमीले आफ्नो
महान् आस्था र विश्वासलाई
अठोट र सङ्कल्पलाई
महान् आदर्श र लक्ष्यलाई
बाँच्नका लागि जीवनको भीख कहिल्यै मागेनौ
क्रान्तिविरुद्ध कहिल्यै धोका र गद्दारी गरेनौ
कायर जल्लादहरुले आफ्नो चेत गुमाए
आफ्नो विवेक गुमाए
आफ्नो होश गुमाए ।

अनि त्यो मध्यरातमा
निरन्तर शारीरिक यातना दिए
एक मुट्ठी सास रहुन्जेल एकथोपा रगत रहुन्जेल
हिँस्रक बाघलेझैँ झम्टिरहे
त्यतिखेर तिमीले रगत नै वान्ता गर्दै थियो ।

जल्लादहरु डरले थरथर काम्दै
त्यसरी तिम्रो निर्मम र नृशंस हत्या गरे
त्यो विभत्स हत्याले
जल्लादहरुको मुटुमा ढ्याँङ्ग्रो ठोकिरह्यो
रातकै बिचमा
लाशैसम्म गायव बनाए ।

तिम्रो हत्यामा वर्गवैरीरमाए
वीभत्स मृत्युउत्सव मनाए
के थाहा ?
ती जल्लादहरुलाई
के थाहा ?
ती दासहरुलाई
जनताका रगत ‘रक्तबीज’ बन्छ भन्ने
एकको लाखौँलाख बनेर जन्मन्छन् भन्ने ।

हाँसी हाँसी मर्न तयार भयौ
हाँसी हाँसी गोली थाप्न तयार भयौ
आस्थाकै लागि मृत्यु रोज्न पुग्यौ
आस्थाकै लागि सहिद बन्न तयार भयौ
आफ्नो विचार र आदर्शलाई कायम राख्न
तिम्रो त्यत्रो त्याग
तिम्रो त्यत्रो बलिदान
तिम्रो त्यत्रो हिम्मत
तिम्रो त्यत्रो समर्पण
हो, त्यसैले
तिमी एकपटक त मर्यौ
तर युगौँयुगसम्म बाँचिरह्यौ
कायरहरु धेरैचोटि मर्छन्
वीरहरु एकैचोटि मर्छन्
तिमी मरेर पनि युगौँयुग बाँचिरहन्छौ
तिमी अमर र अजर बनिरहन्छौ
वीरले रोज्ने बाटो त्यही हो ।

२०५९, जेठ ।