अरूण बराल, arun baral,
 

बाटो जटिल छ, काँडै काँडा छन् ।
बाटो कठिन छ, डाँडै डाँडा छन् ।

मष्तिष्कमा गन्तव्यस्थानको
चित्र कोरेर हिँडिसकेपछि
कुम्लोमा तिमीले
प्रतिकारहरु पनि बोक्नुपर्छ ।

पहिले त बाटो यता होइन,
बाटो गलत हो भन्दै
छट्टुहरुले तिमीलाई
बीचैबाट फर्काउन कोशिस गर्छन्
तर,
एकपटक विश्वासको पोको
काँधमा झुण्ड्याएर हिँडिसकेपछि
तिमीले
ढुलमुल – ढुलमुल बन्नुहुँदैन ।

नहिँडोस् भनेर तिमीलाई
अगाडि बढ्न नमान्ने साधुहरुले
बाटामा काँडाहरु लगाइदिन सक्छन्
मुढाहरु तेर्स्याइदिन सक्छन्
तर,
एकपटक साहसको कुटुरो बोकेर हिँडिसकेपछि
तिमीले आफ्नो बाटो सफा पार्दै जानुपर्छ ।
भिराला बाटा खार्दै जानुपर्छ ।
बाटो हिँडिसकेपछि
तिम्रो विरोधमा
स्यालहरुले तर्साउनलाई
खस्य्राक्क पार्न सक्छन् ।
सर्पले लुसुक्क निस्केर
झम्टन सक्छ ।
बाघले
जङ्गलै थर्कने गरी गर्जन गर्न सक्छ ।
तिमी बटुवा हौ ।
हिँड्नु तिम्रो कर्तव्य हो ।
हिँड,
दृढ पथ्थरको सहास बोकेर हिँड
कडा चट्टानको विश्वास बोकेर हिँड।

बाटामा,
भोगविलास र वासनाको नशामा
ठस्स गन्हाउँदै कोही आएर
तिमीलाई अङ्कमाल गर्न खोज्ला
कसैले तिम्रा फोका उठेका पैतालामा
तेल घसिदिने लालचामा
एकछिन बस्न अनुरोध गर्ला
कसैले तिमीलाई
सत्कार गर्ने निहुँमा
आफ्नो घर जाने बाटोमा डोर्‍याउला
तिमी आफ्नो कर्तव्य बोध गर
तिमी बटुवा हौ ।

बटुवाले धेरै टाढासम्म जानुपर्छ
अर्काको लहैलहैमा लागेर
एकैछिन अल्मलियौ भने,
धैर्यता र विश्वासको कुम्लो कुटुरो
बीचबाटामा फ्यात्तै बिसायौ भने
तिमी अल्मलिनेछौ ।
जीवनभरि हराएर तिमी
बाटोविहीन बन्नेछौ ।
लक्ष्यविहीन बन्ने छौ ।

तिमी बटुवा हौ ।
बटुवाले टाढा–टाढा जानु छ
आफूलाई सम्हालेर हिँड ।
आफूलाई राम्ररी तयार पारेर हिँड ।
लगातार हिँड ।

बाटो जटिल छ, काँडै काँडा छन् ।
बाटो कठिन छ, डाँडै डाँडा छन् ।

(रचनाकार रातोपाटी डट कमका प्रधानसम्पादक तथा प्रगतिशील लेखक हुनुहुन्छ। सामाजिक सञ्जालबाट साभार ।)