के रमाउँछौ ओली माला लगाएर
बधाईको शब्द आफन्तबाट लिएर मात्रै
जनता अहिले ज्यादै निराश छन्,
तिमी माला लगाऊ वा प्रधानमन्त्री बन
केही मतलब छैन ।
दिनहुँ घाटमा लासको खात लागेको छ,
लास पोल्न पालो पर्खनु पर्छ,
हस्पिटलमा बिरामीलाई बेड छैन
अक्सिजन छैन,
अनि
भेण्टिलेटर पनि नपाएर
जनता मरिरहेका छन् ।
यस अवस्थामा श्रद्धाञ्जली
अनि समवेदना दिँदादिँदै
फुर्सद छैन भने
तिमीजस्तो लठुवालाई
के बधाईका शब्द खर्च गरूँ खै,
अहिले म त निःशब्द छु,
जनताको मृत्युमा शोकमग्न छु,
तिमीलाई बधाई
दिन म सक्दिन,
तिम्रा लागि मेरो बधाई
शब्द खेर फाल्न चाहन्न ।
म त कोभिडको प्रहारबाट मृत्युभएका
मृतकलाई श्रद्धाञ्जली र
परिवार जनप्रति समवेदना व्यक्त गर्दछु,
तर तिम्रै गल्तिले
यो समाज जलिरहेको छ,
अनाहक संसद भङ्ग गरेर
लाखौँ भिड जम्मा गरिरहने
अवस्था बनायौ,
देशमा कोभिड अक्रमणको बेला पनि
आक्रोशित हुँदै
जनता तिम्रो कालो कर्तुतको
भण्डाफोर गर्न सडक भरिभरि
जम्मा भएको देखेनौ ।
त्यतिबेला
कोरोनाको बेला
यसरी जम्मा नहुनु भन्नुको सट्टा
आफै पनि
होडबाजीमा लागेर
मान्छे जम्मा गरिरह्यौ,
के यो काम राम्रो थियो त
तिमीले गरेको,
त्यसैले म यतिखेर
तिमीलाई बधाई दिन शक्तिन ।
तिमी पदको भोको थियौ,
फेरि प्रधानमन्त्री त भयौ
अरु के नै भयौ र?
तर तिमी सरकार पाँचै वर्ष चलाऊ,
अहिलेसम्म इतिहासमै नभएको
एउटै निर्वाचनबाट
निर्वाचित सरकारले पाँच वर्ष
सरकार चलाएको कुरा भने
तिम्रो कार्यकालको इतिहास बन्नेछ ।
यद्यपि यो शोकको घडीमा
म तिमीलाई
बधाई दिन शक्ति न ओली,
म सक्तिन, यस्तो बेलामा
के रमाउँछौ, ओली माला लगाएर
बधाईको शब्द आफन्तबाट लिएर मात्रै ।
जनता भने तिम्रो नाम सुन्दा पनि
तर्सिन्छन्,
तिम्रो तस्बिर देख्दा
केटाकेटी समेत
भाग्न थाले के आयो भनेर
तर्सन थाले,
बृद्धबृद्धा त
यो फटाहा, देश बेचुवा
कम्युनिस्ट पार्टी तहस नहस गर्ने
दुष्टको अनुहार पनि हेर्न
चाहँदैनन् ।
मान्छे कोभिडले मरेका छन्
सिटामोलसम्म पाइरहेका छैनन्
यस्तो अवस्थामा म तिमीलाई
के पौरखका लागि बधाई दिऊँ ?
अहिले देश रोइरहेको छ,
देश आक्रान्त छ,
तिमी भने सांसद खरिद गरेर भए पनि
प्रधानमन्त्री त भयौ,
एउटा कोही हुने थियो,
भयौ राम्रै भयो,
तर भारतीयको काँधमा चढेर
प्रधानमन्त्री हुन सफल भयौ भनेर
भारतीय मिडिया पनि भनिरहेका छन्,
यस अवस्थामा म तिमीलाई
कसका लागि प्रधानमन्त्री भयौ भनेर
बधाई दिऊँ भन्न सक्छौ?
तिम्रा सहयोगी भारतीय दुतावास पुग्छन्
अनि तिम्रो निवास बालुवाटार धाउँछन्,
भन्न मन नलागे पनि
यो देखिरहनेको कुरा सुनिरहेकोछु
त्यसैले यो कुरा हो नै लाग्यो,
अब मलाई भनिदेऊ,
के भनेर कसको प्रधानमन्त्री भनेर
तिमीलाई म बधाई दिऊँ ?
देशको दुर्दशा छ अहिले
मजदुरहरू खान नपाएर,
छटपटाइरहेका छन्,
उनीहरूका बालबच्चा भोकै छन्
यस्तो अवस्था छ देशको
जनताले अस्पतालमा औषधिमूलो गर्न
धाइरकेका छन्
तर अस्पतालमा बिरामीको भिड छ,
बेड छैन,
रात दिन काम गरिरहेका चिकित्सकहरू
थकित छन्
कति त कोरोना संक्रमणमा परिसके
अहिले देशभर आतंक छ,
महामारीले ग्रस्त देश,
चारैतर्फ हाहाकार छ,
यस अवस्थामा भन त ओली
म तिमीलाई तिम्रो मस्तीका लागि
कसरी बधाई दिऊँ ?
मान्छे मरिरहेका छन्
शोक पो मनाउनु पर्ने बेला हो यो,
राष्ट्रिय शोकको घोषणा गर,
छँदाखाँदाको
कम्युनिस्ट एकतालाई सखाप पारेऊ,
सक्छौ सबै कम्युनिस्टलाई,
एक बनाउन पट्टि लाग,
निश्चय पनि यो तिम्रो कामै होइन,
तिमी त विदेशीको इसारामा
देश भाँड्न तल्लीन छौ भने,
माला के खुशीमा लगाउने खै,
मैले तिमीलाई के बधाई दिऊँ ?
तिमी चुनावमा जाँदा,
सँगै हिँडियो,
उत्साहका साथ भोट मागियो,
तिमी प्रधानमन्त्री पनि भयौ,
त्यतिबेला तिमी त देउताजस्तै लाग्थ्यौ,
तर अहिले त्यही स्वरूप,
कुरूप बन्दै गएर,
देख्यो कि तर्साउने जस्तो,
भएको पाइन्छ,
भन त किन यस्तो भयो?
तिमीलाई लाग्ला यत्रो खुसियालीमा,
किन बधाई पनि नभन्ने,
तर माफ गर ओली,
म तिमीलाई बधाई दिन सक्दिन
मनले मान्दैन,
केही नभनौँ भने पनि,
भन्न मन लागिरहन्छ,
मैले भनेको फेरि
तिम्रा भरौटेलाई मन पर्दैन,
गालीको ओइरो लाग्छ,
तिम्रा भरौटेहरूको धाक धम्कीले
सधैँ त्रसित हुनुपर्ने अवस्था छ,
यसैले तिम्रो खुसीमा,
देश रोइरहेको छ भने
म कसरी बधाई दिऊँ भन्न सक्छौ ?
यस्तो अवस्थामा
अलिकति पनि संवेदनशील छौ भने
सबैलाई साथ लिएर
यो राष्ट्रिय संकट निवारण गर्न पहल गर,
संसदमा संकल्प प्रस्ताव ल्याऊ,
सबै पार्टीले
कोभिड राहत विभाग बनाएर
काम गर्ने वातावरण बनाऊ,
कसैलाई मन बिझाउने
छुच्चो कुरा नगर,
देश विकास त के गर्थ्यौ,
त्यो तिम्रो गफ न हो,
जीवनको उत्तरार्धमा
देशघातको अपराध नबोक,
कोसिस गर,
तिम्रो कार्यकालको
इतिहास राम्रो लेखियोस्,
तर अहिलेसम्मको तिम्रो कार्यक्रमले
सरकार दुर्गन्धित भएको छ,
यस अवस्थामा तिमी प्रधानमन्त्री
हुँदा म किन खुसी हुनु र
बधाई दिऊँ तिमीलाई ?
तिम्रो सहयोगका लागि
महन्थ ठाकुर र राजेन्द्र महतो भन्दा त
प्रचण्ड नै तिम्रो नजिक हुनुपर्ने नि,
सँगै कबुल गरेर सम्झौतासहित
पार्टी एकता गरेको,
तिम्रो भने ठट्टा रहेछ,
प्रचण्डले भने यो एकतालाई
साँचो एकता ठानेका रहेछन्,
यस्तो विध्वंसकारी तिमीलाई
प्रधानमन्त्री पनि विदेशीको सहयोगमा
हुनुपर्ने गफाडी टुक्के खिचडीलाई
भन त म कसरी बधाई दिऊँ ?
आफैले एकता गरेर
एकजुट बनाएको
पार्टी भङ्ग भएकोमा,
कम्युनिस्ट एकतामा
विग्रह आएकोमा,
तिमीलाई पीडा हुनुपर्ने
त्यो छैन कति पनि,
त्यस्तो असहिष्णु मान्छे
तिमी प्रधानमन्त्री भएर
देशले के पायो र,
म तिमीलाई बधाई दिऊँ ?
म कम्युनिस्ट भएको
देशको स्वतन्त्रताका लागि हो,
जनताको मुक्तिका लागि हो,
देश समृद्ध बनाउन हो,
तर जिन्दगीभर मैले
जनताका लागि भनेर दिएको पसिना
आहाल बनाएर तिमी पौडिरहेका छौ,
मेरा सबै सपना विपनाहरू
तिम्रो भ्रष्टाचार र अत्याचारको
आहालमा डुबेका छन्
कसैले सोधे मैले के जवाफ दिऊँ?
भन त,
तिमी कम्युनिस्ट भएर के पायौ,
तिमीले के पौरख गरेऊ,
भन्दा म नाजबाफ हुन्छु,
यस अवस्थामा
म कसरी तिमीलाई बधाई दिऊँ ?
अहिले म त निःशब्द छु,
जनताको मृत्युमा शोकमग्न छु,
म कोभिडको प्रहारबाट
मृत्युभएका मृतकलाई
श्रद्धाञ्जली र परिवारजनप्रति
समवेदना व्यक्त गरिरहेको छु,
अहिले मसँग तिमीलाई
बधाई दिने शब्द पाउँदिन,
बधाई भन्ने फुर्सद पनि पाउँदिन,
भन त ओली
म तिमीलाई कसरी
बधाई दिऊँ ?
३१ बैशाख २०७८
(रचनाकार विकास अर्थशास्त्री तथा प्रगतिशील साहित्यकार पनि हुनुहुन्छ ।)