बन्दी कमरेडको कागजको ब्ल्याङ्केट
पुराना कागजहरू र नयाँ पुस्तकहरू सँगै थुप्रिएका छन् ।
ओड्ने नै नहुनुभन्दा त बरु कागजकै ब्ल्याङ्केट राम्रो छ ।
रत्नजडित सयनकक्षमा सुत्नेहरू हो, के तिमीले कहिल्यै सोच्न सक्छौँ
ती कैदीहरूको बारेमा जो एक झप्को पनि निदाउन सक्दैनन् ?
चिसो रात
चिसो शरदको रातमा, न सिरक छ न डसना,
जिउ तताउन म गुँडुल्की पर्छु, तर सक्दिन निदाउन ।
केराको पातमा टल्किरहेको जूनको प्रकाशले झन् चिसो थपिदिन्छ,
म झ्यालखानाबाट चिहाएर हेर्छुः सानो भालु आकाशमा पल्टिरहेको छ ।
(सानो भालुः उत्तरी आकाशमा ध्रुव ताराको वरिपरि चम्किरहने लघु सप्तऋषि तारामण्डल वा ध्रुवमत्स्य तारामण्डल जसलाई अंग्रेजीमा ‘उर्सा माइनर (Ursa Minor)’ भनिन्छ ।)
बिहानी
हरेक बिहानीमा सूर्य (बन्दीगृहका) पर्खालमाथि उदाउँदै,
किरणहरू छर्छ भित्तामा, तर अझै खुलेको छैन प्रवेशद्वार ।
बन्दीगृहभित्र भने निराशाका बादलहरू मडारिँदैछन्,
तर हामीलाई थाहा छ, बाहिर सूर्य उदाइसकेको छ ।
ब्युँझेपछि हरेकले चुसाहा (जुम्रा)हरूको शिकार गर्न थाल्दछ,
आठ बजे बिहानी खानाका लागि घण्टी बज्दछ ।
आऊ, हामी सबै जाऔँ र पेट भर्ने कोसिस गरौँ,
यति लामो दुर्दिनपछि पक्कै आउनेछन् खुसीका दिनहरू ।
साभारः हो चि मिन्हको सुविख्यात कीर्ति ‘प्रिजन डायरी’बाट
अनुवादः नहेन्द्र खड्का