Pipal chautari
 

प्रिय मन,
विकासे कारखाना आएकोमा स:प्रणाम ।

”ग्रीन नगरी” बनाउने नाममा
चौपारी मासेर, बृक्षारोपण हुँदैछ
वर-पीपलको रुख मासेर,
सल्लाको बिरुवा सारिँदैछ,
बस्ने शीतलु बतास छहारी मासेर,
प्रतीक्षालय बनाइँदैछ,
ढुङ्गा माटोको चौतारो भत्काएर,
विकासे सिमेन्ट दलिँदै छ,
प्रिय मन, नयाँ विकासको मूल खुलेकोमा सलाम ।
प्रिय ग्रामीण जन,
घरगाउँमै विकास खुलेकोमा मालामाल
बटुवा बास बस्ने ठाँटी मासेर,
तारे होटल खोलिँदैछ,
घुम्न जाँदा बास बस्ने पौवा मासेर,
होम स्टे खोलिँदैछ,
आफ्नै कोदोको घरेलु खोया बिर्के निषेध गरेर,
बियर हुस्की लगिँदै छ,
गाउँकै अन्नको खान्कि हटाएर,
विदेसी पोका आएको छ,
मेरो प्रिय जन,
स्थानिय श्रोत परिचालन भएकोमा सलाम ।

प्रिय मन,
स्थानीय सरकारबाटै विकास खुलेकोमा सम्मान,
गाउँघरकै लोकल कखुरा हटाएर,
विकासे ब्रोइलर भित्राइएको छ,
स्थानीय ताजा बिउ मासेर,
विकासे बिउ किन्न पाइएको छ,
सुन जस्तै धान झुल्ने खेत मासेर,
महल बनाउने घडेरी देख्न पाइया छ,
कूअन्न खानै हुन्न भनी,
कोदोसँग प्लाष्टिककै चाँमल साटेको छ,
जे होस, प्रिय मनहरु,
नयाँ आधुनिक विकासलाई सम्मान ।

प्रिय आत्मिक मन,
स्थानीय तहगत विकासे आयाममा स्वाभिमान,
गोरेटो- घोडेटो बाटो भत्काएर,
घर- घर सडकको धुलो उडेको छ,
नदी तर्ने स्थानीय साँघु र पुल हटायर,
विदेशी पुल र कार हुलेको छ,
आफ्नै खरी-चकले पार्टीमा लेख्न लेखाउन छोडेर
ह्वाइट बोर्ड आएको छ,
गाउँकै जडिबुटी बेचर,
विदेशी महंगो ओखतिमुलो खुवाएको छ,
खैर थाहा होस्, प्रिय मन,
कम लागतमै स्थानीय विकासमा स्वाभिमान ।

प्रिय नेपाली मन,
आफ्नै परिवेशमै विकासे संस्कृतिमा ज्यू-ज्यान,
फरिया-चौबन्दी हराएर,
कट्टु र क्याप टोपी आयातित भा’को छ,
आमा- बुबा भन्न हुन्न भनेर,
ड्याडि-मम्मीको संस्कृति छा’को छ,
मादल-पञ्चे बाजा हटाएर,
गितार र ब्याण्ड बाजाहरु घन्क्या छ,
जल, जमिन, जंगल भएपनि,
हिटर, राइस कुकर, जङ्क फुड तन्क्या छ,
जे भा’नि ग्रामीण परिवेशमा
विकासे खोजमूलकलाई ज्यु-ज्यान ।