street children, khate, sadak balak
 

माघ महिनाको कठ्यांग्रिने जाडोमा
पेटीमा सुत्ने त्यो बालक
ऊसँग
न ओड्नेछ
न ओछ्याउने छ
न खुट्टामा चप्पल छ
न हातमा पञ्जा छ
न शीरमा टोपी छ
न गलामा गलबन्दी छ
जति रात छिप्पिँदै जान्छ
उति शरीर कठ्यॉंग्रिदै जान्छ
ऊ गुटुमुटु हुन्छ ।
अनि
एउटै डल्लो पर्छ
सँगैका कुकुरहरु जस्तै
उसको निम्ति आकाश नै सिरक बन्छ
उसको निम्ति पृथ्वी नै डसना बन्छ
शीत र तुषारापात नै शरीरमा बर्सिन्छ ।
ऊ जाडोले कठ्यांग्रिन पुग्छ
उसका कलिला ओठहरु निलाम्य हुन्छन्
उसका कलिला हातहरु कठ्यॉग्रिदै जान्छन्
कानहरु धमिलो हुँदै जान्छन
नाकबाट सिंगान चुहिन्छ
आखाभरि आँशु भरिन्छ
जाडोले ठ्युठ्यु गर्दै काम्न थाल्छ
तुषारोले शरीर सेताम्य हुन्छ
जाडोले दाह्रा किट्न थाल्छ
मुटुको गति नै मन्द हुँदै जान्छ
बिहान हुस्सु र कुहिरोले ढाकेको हुन्छ ।
आमाले दिएका पातला ती लुगाहरु
तुषारा ले निथ्रुक्क भिजेकोछ
प्वालै प्वाल भै थोत्रिएको छ
धेरै ठाँउमा च्यातिएको छ
धेरै ठाँउमा टालिएको छ
मयल नै मयलले कट्कटिएको छ
कपाल लामा लामा र जिङ्ग्रिङ्ग परेको छ
शरीर ह्वास्स गन्हाएको छ
नङहरु लामा लामा छन्
नाकमा सिँगान कट्कटिएको छ
आँखामा चिप्रा लागेको छ
बिहानको पहिलो पहर नहुदै
मानिसको चहलपहल हुँदै जान्छ
अरु ताता लुगा लगाएर हिँड्छन् ।
ऊ त
कठ्यांग्रिएको शरीर लिएर
हिड्न थालेपछि
१० बजेपछि घाम नदेखे पनि
ऊ घामको सहारा खोज्छ
घामको राप आउन थाल्छ
घाम नै तातो लुगा बन्छ
शरीर तात्दै जान्छ ।
अनि
उ माग्न थाल्छ
भीख मागेको पैसाले
किन्दै खाँदै बाँच्छ
ऊ सानो गाँठीको छ
उसको आँत छिनेको छ
ऊ त कमेजोर र निर्धो छ
उसको शरीर पीतलो र जीर्ण छ
पेटी मै उसको बास छ
खाने कुनै ठेगान छैन
लगाउने तातो लुगा छैन
यो काठमाण्डौ सहर हो
कस्ले नै दया र माया गर्छ र ?
कस्ले नै सहारा दिन्छ र ?
त्यो अबोध बालकलाई
उसको आफ्नो त केछ र ?
एक बर्षमा बाबु मर्यो
तीन बर्षमा आमा मरिन
अनि ऊ बाल टुहुरो बन्यो ।
उसलाई के थाहा ?
उसको पनि एउटा घर थियो भन्ने
घरबार साहुले खाइदियो भन्ने
सानै छँदा घर निकालेको भन्ने
उससे जाडोमा लुगा लगाउन पाएन
उसले गर्मीमा शितल हुने छहारी पाएन
उसले ओत लाग्ने बास पाएन
उसले भोकमा खाना पाएन
उसले अप्ठ्यारोमा साथ पाएन
बाल्यकालमा स्याहार सुसार पाएन ।
तर पनि
उसले कहिल्यै हरेश खाएन
उसले कहिल्यै निरास भएन
उसले बाँच्ने आशा कहिल्यै मारेन ।
बरू
उसले हुरी, बतास र झरीसँग जुध्यो
चैत्र-बैशाखको टन्टलापुर घामसँग जुध्यो
पुस-माघको तुषारोसँग पौँठेजोरी खेल्यो
झमझम बर्षे झरीसँग खेल्यो
आलिशान महलमा बस्ने पनि बाँचेकै छ
सडकको पेटीमा सुत्ने पनि बाँचेकै छ ।
तर
फरक धेरै कुरा छ
महलमा जे पनिछ
सडक पेटीमा खाली पेटी मात्रै छ
त्यो दिनमा होइन
रातमा मात्रै खाली छ ।
अब त
त्यो असमान जीवन होइन
सबैले समान जीवन ज्युने
नयाँ दिनको खोजिमा छ
त्यो पेटीमा सुत्ने बालक ।

Keshab Nepal Bijaya Kumar / Keshav Nepal Vijaya Kumar
रचनाकार