पानी पर्‍यो, असिना झर्‍यो, बादल फाटिएछ,
सालको पात झरेको मन, माया साटिएछ ।

तोरी फुल्यो, पैयुँ फुल्यो, लेक माथि- माथि,
दुख: पीडा साट्न पनि छैनन् संगी साथी ।
आकाशमाथि हेरिरा’छु, जुन ताराको मुस्कान,
क्षितिज चुम्ने हाम्रो चाह, सबै भयो बिस्कुन ।
पानी पर्‍यो, असिना झर्‍यो ………………………..।

माथि माथि आकाशमा बादलुको घेरो,
साटिएछन् बैंसहरु पसिनाको धारो ।
देख्छु कहिले विपनीमा, इन्द्रेणीको लर्को,
दुई किनारा पुग्दा-पुग्दै हराई जान्छ अर्को ।
पानी पर्‍यो, असिना झर्‍यो, ……………………… ……….।

सुमसुम्याउँछु लालीगुराँस, डाँफे चरी चिरबिर,
खुशीसँग आँशु साट्छु, मन हुदैन, झन्‌ थिर ।
आशुँभित्र मुस्कान देख्छु, आँशुमा नै आगो,
श्वच्छ निलो आकाश जस्तै, माया साट्न गारो ।
पानी पर्‍यो, असिना झर्‍यो, बादल फाटिएछ………………..।

हिमालको हिउँफूलमा फूलै फूलको गुच्छा,
मायाप्रितिमा चढाउन बिलाई जान्छ पक्का ।
फलिरहन्छ, धानका बाला पसिनाको मोति,
फुल्नै छाडे फूल सारा, सोधौँ न एक चोटी ।
पानी पर्‍यो, असिना झर्‍यो, बादल फाटिएछ………….।

माहुरीहरु एकभई बस्छन्, आफ्ना आफ्ना श्रममा
मान्छे जातले सिक्लान् भनी बस्छन् घर दैलोमा
नेतृत्वलाई प्रतीक ठान्छन्, मायाप्रिति गाँसी
सामूहिक भई माया साट्छन अमर हुन्छन् साक्षी,
पानी पर्‍यो , असिना झर्‍यो ………………..।

मिलाई हिँडौं अंगालोमा, सगर छुने यात्रा,
तोरी फुल्यो, पैयुँ फुल्यो, लेकमाथि- माथि,

दुख: पीडा साट्न पनि छैनन् संगी साथी ।
आकाशमाथि हेरिरा’छु, जुन ताराको मुस्कान ।

पानी पर्‍यो, असिना झर्‍यो, बादल फाटिएछ,
सालको पात झरेको मन, माया साटिएछ ।

Sitaram thapa Seeta Ram thapa
लेखक