sohra shraddha hindu ritual
 

“मात्रीदेवो भव: ! पितृदेवो भव: !! “
“माता यस्य गृहे नास्ति, भार्या च पृय वादिनिम् !
अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!”
– संस्कृत नीतिश्लोकहरु

“पुत्रले हो पितालाई देवता मान्नु पर्दछ” ।
– बालकृष्ण सम

जीवित रहँदासम्म छोराछोरीहरुले पिता-मातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ति र आज्ञापालन गर्ने अनि उहाँहरुप्रतिको आफ्नो धर्म-कर्तव्य पूरा गर्ने जस्ता गौरवमय र अनुकरणीय मान्यता वा संस्कार-संस्कृति छन् हाम्रो पूर्वीय वाङ्ग्मय र परम्परामा । उक्त श्लोकहरु यसै मान्यताका अभिव्यक्तिहरु हुन् ।

पूर्वीय वाङ्ग्मयमा अर्थात् साहित्य, दर्शन, इतिहास, वेद, पुराण, धर्म र संस्कार-संस्कृतिमा लिखित-मौखिक रुपमा पाइने विभिन्न कथा, कविता, नाटक, गीत, भजन, गाथा, अर्ति, उपदेस, उखान-टुक्का, वाणी र किंवदन्तिहरुमा पितृभक्ति, मातृभक्ति, गुरुभक्ति, देवभक्ति, वीरभक्तिका रुपमा असल, महान्, विद्वान, परोपकारी, गुनी, ज्ञानी, नैतिकवान, चरित्रवान्, त्यागी, योगी र कर्तव्यपरायण महात्माहरुको गरिमा र महिमा भरिपूर्ण रहेको पाइन्छ । त्यति मात्र होइन, ती महान् नरनारीहरु निश्चित आस्था-निष्ठा, मूल्य-मान्यता, धर्म-कर्तव्य, नीति-विधि, नैतिकता-इमान्दारिता, वचनबद्धता-आज्ञाकारिता आदिप्रति प्रतिबद्ध, कटीबद्ध र पूर्ण समर्पित नै रहेको पाइन्छ र यसलाई उदात्तीकरण गरी उदाहरणीय, अनुकरणीय र गरिमामय बनाइएको पाइन्छ ।

Narayan Sharma Kamal Prasad
लेखक

रामचन्द्रको पितृभक्ति र आज्ञाकारिताका कारण न्यायले, नियमले, रोलक्रमले, परम्पराले, जेष्ठता-वरिष्ठता आदि जम्मै कारणले आफूले राज्यारोहण गर्ने बेलामा रामचन्द्र १४ वर्षका लागि बनबास गएर सौतेनी आमाका छोरा भरतलाई सहर्ष राज्याभिषेक गर्न दिएकोले उनको यो कार्य र यसै कार्यका कारण रामकथा स्मरणीय छ र स्तुत्य मानिन्छ ।

यसैगरी चाणक्यले आफ्नी आमालाई माया र श्रद्धा गर्ने सन्दर्भमा आफ्ना अघिल्ला दुई दाँतमा राजा हुने योग/लक्षण भएको र राजा भएमा आमालाई भुलिन्छ कि भनेर राजै नबन्ने तर जीवनभरि आमाको सेवासुसुश्रा गर्ने भनेर ती दुई दाँत नै फुकालेर विद्या आर्जन गरी विद्वत्ताको माध्यमबाट आमालगायत राजा, राज्य र सम्पूर्ण मानवजातिकै सेवा गरेको कथा पनि उल्लेखनीय छ ।

यसैगरी हस्तिनापुरका राजा शान्तनुका छोरा देवव्रतले आफू राजा हुने अधिकार सुनिश्चित भएर पनि आफू राजा हुने व्यवस्था हुँदासम्म आफ्ना बाबुले इच्छाएकी राजपुत्री सत्यवतीसँग बाबुले विवाह गर्न नपाउने अवस्था हुँदा बाबुको इच्छा पूरा गराइदिन बरु आफू राजा नहुने मात्र होइन कि आफूले विवाह नै नगरी आजीवन ब्रह्मचर्यमा बसेर सन्तान पनि नजन्माई सौतेनी आमा सत्यवतीकै सन्ततिलाई राजा हुने बाटो सहज गरिदिएर त्यत्रो अनुपम त्यागद्वारा पितृभक्तिको अद्वितीय उदाहरण प्रस्तुत गरेको कथा पनि हाम्रो साहित्यमा छ ।

यद्यपि पितामाताका इच्छा र चाहनाहरु त्यति स्वाभाविक र न्यायपूर्ण थिए-थिएनन्, त्यो बहसकै विषय होला । तैपनि ती सन्ततिहरुले गरेको त्यो सम्मानको विशेष अर्थ छ । त्यसैले पनि हाम्रो समाजमा हाल चलेको यस पितृपक्ष/श्राद्धपक्ष अर्थात् सोह्र श्राद्धका सन्दर्भमा यी कुराहरु विशेषरुपले स्मरणीय छन् ।

साँच्चै भन्नुपर्दा आफ्ना पिता, मातालगायतका आदरणीय अग्रज र पूर्वज-पुर्खाहरुबिना यस धर्तीमा कसैको उदय/जन्म असंभव हुनेमात्र होइन, शृष्टिस्थिति नै नहुने हुन्छ । पिता-पुर्खाहरुकै प्रेरणा पाएर, उनीहरुबाटै जीवनदान, लालन-पालन, शिक्षा-दीक्षाको प्रबन्ध र प्राप्ति भएरै सबैका सबै सन्ततिहरु बाँचेका, बढेका र विकास गरेका हुन्छन् । यसरी उनीहरु महान्, अमर, पूज्य, स्तुत्य र अविस्मरणीय समेत बनेका हुन्छन् ।

त्यसैले भनिन्छ इतिहास र पूर्वजका अनि वर्तमानका पनि विद्वान, वीर, नायक, महानायक आदि प्रतिभाशाली महापुरुषहरुका योगदान र सत्कर्महरुको संस्मरण, श्रद्धा, अवलम्बन र कार्यान्वयनबिना अर्थात् महान् कार्य र कर्ताहरुप्रतिको कृतज्ञता र आभारबिना अनि ती सत्कार्यहरुको अनुसरण र कार्यान्वयनबिना वर्तमान र भविष्यको सार्थकता त हुदैन नै, साथै समुन्नत र सुखद जीवनका कल्पनाहरु पनि निरर्थक नै हुन्छन् ।

श्राद्ध भनेको श्रद्धाभक्तिको विधिद्वारा अर्थात् सत्यनिष्ठापूर्वक श्रद्धेय/पूजनीय महात्माहरुको सम्झना र सम्मानमा गरिने श्रद्धेय कार्य हो । जीवित मातापितादि महानुभावहरुलाई गरिने सम्मानलाई श्रद्धा भनिन्छ भने मृतक मान्यजन र महात्माहरुलाई गरिने सम्मानलाई श्राद्ध भनिन्छ । त्यसैले आधुनिक युगमा क्रान्तिकारीहरुले सम्मानित व्यक्तित्व वा नेतृत्वको मृत्युपश्चात सम्मानस्वरुप श्रद्धाञ्जली अर्पण गर्दछन् ।

स्पष्ट छ कि श्रद्धाले, श्रद्धापूर्वक, श्रद्धेय व्यक्तिको श्रद्धास्वरुप गरिने श्रद्धेय कार्य नै वास्तवमा श्राद्ध हो । यो श्रद्धाले गरिने शुद्ध कार्य भएकाले नै श्राद्धमा अश्रद्धेय अर्थान् नीच, पतीत वा अधम् व्यक्तिहरुलाई आमन्त्रण गर्नु नहुने मान्यता छ । आफ्ना गुरु, पुरोहित, बन्धुवान्धव, इष्टभित्र, ज्वाँइ, चेली, भान्जाभान्जी, नातागोता, छरछिमेकी आदि असल र सहोदर-सहयोगी जनमनहरुलाई आमन्त्रण गरेर यो कर्म गरिन्छ ।

श्राद्ध एउटा पर्व नै हो ता पनि यसमा अन्य पर्व वा उत्सवमा जस्तो खुसियालीपूर्वक धूमधाम गर्ने, बाजागाजा र शंखघण्ट बजाउने अनि धेरै भिडभाड भने गर्ने गरिन्न किनकि यो हर्षोल्लासको उत्सव नभएर दिवङ्गत बाबुआमाजस्ता महात्माहरुको हार्दिक स्मरण गर्ने र उहाँहरुले सन्तति, परिवार, राष्ट्र र समाजप्रति खेलेको भूमिका, निभाएको कर्तव्य, लगाव, समर्पण र दिएका योगदानहरुको गम्भीरतापूर्वक मनन गर्दै उहाँहरुप्रति आभारी भई कृतज्ञता प्रकट गर्दै उच्च श्रद्धा र भक्तिभाव व्यक्त गर्ने गम्भीरतम् बेला हो । त्यसैले होला भनिएको छः
“श्रद्धया क्रियतेयत्र तच्छ्राद्धं परिकीर्तितम्’ अर्थात् पितृका लागि गम्भीरतापूर्वक श्रद्धाभक्तिसहित जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । ‘श्रत्, सत्यं ददातीति श्राद्ध’ भनी श्राद्ध शब्दको अर्थ गरिएको पनि यसै भएर हुनुपर्छ । यसको खास अर्थ हुन्छ “भित्री मनदेखि सत्यनिष्ठापूर्वक केही चीज कसैलाई दिनु श्रद्धा हो भने त्यसरी दिइने कार्य श्राद्ध हो ।

ऋग्वेदमा पनि यस्तै भनिएको छ :
“प्रियं श्राद्धे ददतः प्रियं श्राद्धे दिदासतः।
प्रियं भोजेषु यज्वस्विदं उदिते कृधिः।।”
अर्थात्, जुन वस्तु प्रेम र भक्तिपूर्वक कसैलाई श्रद्धाले दिइन्छ, भित्री हृदयदेखि नै श्रद्धा जागेर कसैलाई खुवाइन्छ वा अर्पण गरिन्छ, त्यो काम नै वास्तविक श्राद्ध हो।

यसरी स्पस्ट छ कि श्रद्धाले गरिने कार्यादी मात्र नभै श्रद्धाले दिइने दानादी कार्यलाई पनि श्राद्ध भनिन्छ ! त्यसैले त श्राद्धमा दिवङ्गत पितृहरु ( आमाबुबा, बाजेबज्यै आदि मान्य र पूज्यजनहरुलाई भनी पिण्ड-तर्पण र बस्त्र-आभूषण आदि तिनै पितृहरुका नाममा समर्पण गरी दिइन्छ । यसक्रममा ब्राह्मण, गुरु-पुरोहित, चेलीबेटी, ज्वाइँचेला-भान्जाभान्जी र छरछिमेकी, इष्टमित्र र कन्या कुमारहरुलाई टीका दक्षिणा दिइन्छ र सात्विक भोजन गराइन्छ । अन्तमा मृतक पितृलाई दिइएको भनिएको पिण्ड पनि खोलामा सेलाएर जलचरहरुलाई खान दिइन्छ ।

श्राद्ध भनेको भक्तिभावसहित पितृहरूको उद्धार र सम्मान गर्ने कार्य भएकाले निमन्त्रणा गर्दाखेरि नै ख्याल गर्नुपर्ने मान्यता छ ताकि अधम, नीच, पतीत र पातकीलाई निम्ता नगर्ने र जो भद्र, नैतिकवान र माता-पिता जस्ता मायालु, ज्ञानी, दानी र त्यागी, तपस्वी र यश्स्वी छ्न्, जो सम्झन र श्रद्धा गर्न लायक छन्, तिनलाई आमन्त्रण गरिन्छ र उच्च श्रद्धासहित खीरलगायतका कम्तीमा सोह्रथरी मिष्ठ-स्वादिष्ट व्यन्जनहरुको भोजनले सत्कार गरी तुष्ट-तृप्त गराउने गरिन्छ ।

आज यो श्राद्धको संस्कार-परम्परालाई दुई अतिवादी गलत तरिकाले लिने गरिएको पाइन्छ । एउटा हो : धर्म-संस्कार अवलम्बनको नाममा विज्ञानविरोधी, समाजविरोधी, जनविरोधी, प्रगतिविरोधी रुढिवादी र अन्धविश्वासजन्य कुरीति र कुसंस्कारहरुलाई हुबहु मानेर श्राद्ध गर्नु, गराउनु र गर्न दिनु ।

अनि अर्को अतिवादी गल्ती हो – पुराना धर्म-संस्कार नमान्ने नाममा श्राद्धकर्मभित्र रहेका सत्यम्-शिवम्-सुन्दरम् जन्य कैयौँ असल र राम्रा अनि वस्तुवादी, विज्ञानसम्मत र समाजोपयोगी संस्कार, संस्कृति र सभ्यताका कुराहरुलाई पनि त्याग्नु, विरोध गर्नु र श्राद्ध नगर्नु, नगराउनु र न त गर्न नै दिनु ।

यी दुवैथरी कर्ता, कृया र कर्महरु अन्धविश्वासपूर्ण, अवैज्ञानिक र रुढिवादी हुन् । अन्धविश्वास वा रुढिवाद भनेको यही सत्यासत्य, कर्तव्याकर्तव्य, हिताहित, सुन्दरासुन्दर, गुणवैगुण आदि कुनै विश्लेषण र संश्लेषण नगरी गर्ने सोच, शैली, संस्कार र कार्य हो । हामीहरु यी दुवै गल्ति गर्नबाट बच्दै यी पर्व-कर्महरुलाई परिष्कार-परिमार्जन गरेर यिनमा समयानुकूल सुधार-संशोधन गर्दै नराम्रा रुढिवादी, अन्धविश्वासपूर्ण र अवैज्ञानिक कुराहरुलाई फालेर राम्रा कुराहरुको संरक्षण र सम्बर्द्धन गर्दै जानुपर्दछ । यहाँनेर हामीहरु पुराना जति सबै नराम्रा र त्याज्य-दुत्कार्य अनि नयाँ जति सबै राम्रा र भोग्य-स्वीकार्य भन्ने भ्रमजालबाट अबिलम्ब मुक्त हुनु अत्यन्त जरुरी छ ।

वास्तवमा आज हामीले मनाउने स्मृति दिवस पनि एउटा श्राद्ध नै हो । कसैका विचार, भावना, गुण, योगदान, बलिदान आदि कार्यहरुलाई अनुसरण र कार्यान्वयनबिना गरिने जतिसुकै ठुला सभा-समारोह, पूजा-आराधना, भोजभतेर, जात्रा-यात्रा, भीषण-भाषण आदि सबै रुढिवादी श्राद्ध नै हुन् । यसैगरी मातापिता र गुरुगुरुमा आदि पूर्वज-पूर्खाहरुको योगदान र बलिदानको अनि त्याग-तपस्या र भूमिकाको सम्झना र सम्मान गर्दै तिनको उच्च मूल्यांकनसहित आत्मसातीकरण र कार्यान्वयन गर्नु राम्रो, वैज्ञानिक र श्रद्धेय कार्य हो, जो श्राद्ध नै हो । अर्को शब्दमा श्राद्ध पनि स्मृति कार्य नै हो भने आजभोलिका स्मृति कार्यक्रमहरु पनि प्रकारान्तरले श्राद्ध नै हुन् ।

फरक यत्ति हो कि ठुलाबडाहरुका जन्मदिनमा जन्मोत्सव वा जन्मजयन्तीका रुपमा र निधनको दिनमा स्मृति दिवसका रुपमा गरी वर्षको दुई दिन स्मरण र श्रद्धा गरिन्छ भने पितापुर्खाको श्राद्ध भने मुख्यतः दुई दिन नै गरिन्छ वर्षमा तर मरेको तिथिमा एकपटक सोही मास र पक्षमा अनि अर्कोपटक अहिले आश्विन कृष्णपक्षको पूर्णिमादेखि औंशीसम्मका सोह्र दिनभित्रका सोही तिथिमा गरिन्छ । यथार्थमा उहिले सूचना र सञ्चारको अभावमा मान्छे हराएर मरेको अत्तोपत्तो नहुने स्थितिमा तिनको मरण जुनसुकै मासमा भएको भए पनि यी सोह्र तिथिभित्रै पर्ने हुनाले खेतीपाती सकिएर चाडपर्वहरु सुरु हुनुअघि नै असोज महिनाको यो कृष्णपक्षमा उनीहरुको सम्झना गरी सम्मान गर्दै श्राद्ध गर्दा उपयुक्त हुने ठानेर नै यतिबेला श्राद्ध गर्ने गरिएको हुनुपर्छ ।

जे होस्, वर्तमानमा हामी जसरी हाम्रा जीवित वरिष्ठ र जेष्ठ सदस्य जस्तो कि माता-पिता, नाता-गोता र दाता-विधाताहरुलाई सम्मान र श्रद्धा गर्छौं, फूल, माला र अबिरादिले स्वागत र विदाई गर्छौं, गायन-वादन र भीषण- भाषणले छकदङ्ग पार्छौं, अनि खानपिन र उपहारादिले तुष्ट-तृप्त गर्छौं र हाम्रो कृतज्ञता र आभार प्रकट गर्छौं, ठिक त्यसैगरी हाम्रा दिवङ्गत वरिष्ठ, जेष्ठ र श्रद्धेय सदस्य अर्थात् माता-पिता, नाता-गोता र दाता-विधाताहरुलाई सम्मान र श्रद्धास्वरुप श्राद्ध गर्ने गरिएको हो । आउनुहोस्, यसलाई छलफल र सुधार गर्दै परिस्कृत र परिमार्जन गरी आधुनिक, वैज्ञानिक र सर्वस्वीकार्य गराऔं । अस्तु !!