BAglung District Map with 3 regions
 

१. पृष्ठभूमि:

संघीय लोकतान्त्रिक गणतन्त्रत्मक संविधानले परिकल्पना गरेको स्थानीय सरकार निर्माण भयर पनि दुई वर्ष व्यतित भइसकेकाे छ।अहिले बागलुङको १० वटै स्थानीय सरकारले आफ्नो समीक्षा सहित तेस्रो वार्षिक नीति तथा कार्यक्रम बाहिर ल्याउने क्रम जारी छ।

समाजवादको स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न स्थानीय सरकारलाई प्रदान गरेका अधिकारको रक्षा र कार्यान्वयन गर्न सबै स्थानीय तह सिद्वान्ततः प्रतिबद्व छन् । नेपालले अन्तर्राष्ट्रिय स्तरमा व्यक्त प्रतिबद्धता र हस्ताक्षर र दिगो विकास लक्ष्य पन्ध्रौं योजनाको आधार पत्र र राष्ट्रिय लक्ष्यलाई लाई आत्मसात गर्ने कुरामा दुविधा छैन ।

२. पूर्वाधार निर्माण-मुख्य उपलब्धि:

Sitaram thapa Seeta Ram thapa
लेखक

बागलुङमा भएका ३ नगरपालिका र ७ गाउपालिकाले विगत दुई वर्षमा मूलतः भौतिक पूर्वाधार सडक मर्मत र निर्माणको साथमा कालोपत्रे गर्ने, पुल, भवन निर्माण, बाटो निर्माणको काम नै स्थानीय सरकारको मुख्य कामको रुपमा देखिन्छ। लामो समय द्वन्द्व र संविधान निर्माणमा अल्झिएर विकास अवरोध भएकोले पनि यातायात, खानेपानी जस्ता निर्माणका काम र्आर्थिक विकासको मेरुदण्डको रुपमा लिन सकिन्छ। यसैले १ सदरमुकामबाट १० सदरमुकाम बन्दा सबै तहको सरकार र वार्डमा समेत गाडी चलेको हेर्ने रहर र यो नहुँदाको कहर दुवै विद्यमान थियो ।

अर्कोतर्फ संघीयता लागू हुनुपूर्व पनि सरकारी र वैदेशिक सहयोगमा सडक र बाटो कोर्ने अधुरा र छरपष्ट कामहरु भैरहेका थिए ।उक्त प्रभावले सबै स्थानीय तहमा बजेट आउनु तर केन्द्रीय नीति नआई आफै खर्च गर्न पाउनुले पनि स्थानीय तहले भद्रगोल, अलपत्र र नवीन आवश्यक भौतिक निर्माणलाई प्राथामिकतामा राख्ने अवसर सृजना भयो ।

बागलुङको दक्षिण क्षेत्र जैमिनी नगर-सदरमुकामसम्म अहिले पनि पक्की सडक छैन । नगर घोषणा भएपछि सबै वार्डमा सडक नै प्राथामिकतामा पर्नु श्वभाविक हो । दुर्गम बुर्तिवाङ नगरमा सडक पुगे पनि यसको वार्ड र वरिपरीको तमानखोला, निसी खोला लगायत दूरदराजका गाउँपालिका सडक र भौतिक पूर्वाधारले स्थान पायो । पर्यटकीय र सांस्कृतिक, उत्पादनको खानी तर दुर्गम ताराखोला गाउँपालिका र गल्काेट नगरपालिका विकासको शर्त भौतिक पूर्वाधार निर्माण बन्यो । यस बाहेक विकसित र पुरानो बागलुङ नगर समेत भौतिक पूर्वाधारबाट अपूरै रहेछ। यसैले सडक, खानेपानी, विद्युत, विद्यालय, बाटो, पुल सदरमुकामकै आवश्यकता देखियो ।

Baglung District Federal Map Nagarlaika gaupalika

३. बागलुङ नगरपालिका एक समीक्षा:

जिल्लाको पुरानो, ठूलो र सदरमुकाम अवस्थित बागलुङ बजार कायम राख्न भौतिक पूर्वाधार काम भएको छ । बाङ्गेचौर–कुश्मा नगरको पाङ जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल र मालिका– बेनी-खेतार झोलुङ्गे पुल निर्माण प्रारम्भ भएको छ। उपल्ला चौर र नाङ्लिवाङ झोलुङ्गे पुल स्वीकृति सकरात्मक कदम हो । नगरमा थपिएका बलेवा र भकुण्डेमा वडा केन्द्रसम्म नियमित बस सेवा सञ्चालन प्रारम्भ भएको छ। नाङ्गा तार हटाउनु, बागलुङ बजार क्षेत्रमा हाई-स्पिडको इन्टरनेट अप्टिकल फाइवर तार विच्छाउने कार्य सुरु भएकोले गुणस्तरीय र सस्तो सेवा लिन जनता आशातित छन् । पर्यटकीय क्षेत्र विस्तारको नीति र संभाब्यता अध्ययन भए पनि यसले दुर्त र मूर्त गति लिन सकेको छैन । यसका लागि केन्द्रीय ठूला योजना आवश्यक छ । बलेवा एयरपोर्ट कालोपत्रे गर्न संघबाट ४ करोड रुपियाँ बजेट स्वीकृत भएको छ । यद्यपि महंगो र एक्कल ठाउँको चुनौति रुपान्तरणको विकल्प खोजी एयरपोर्ट सञ्चालनको अध्ययन आवश्यक छ।

नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन ग्रामीण क्षेत्रमा ‘एक घर, एक धारा’को अवधारणालाई सार्थक बनाउन थालनी भएकाेले बजारवासीको समस्या समाधानलाई तीव्रता दिनुपर्छ । दुई दसक अगाडि बजारको सडक निर्माणका क्रममा घरवास गुमाएका बाङ्गेचौर माझी समुदायलाई एकीकृत वस्ती व्यवस्थापन गरिनु स्वागतयोग्य कदम हो । भूकम्पबाट क्षति भएका सयौँ संख्यामध्ये अधिकांश घर निर्माणाधीन छ। कृषि प्राविधिक क्याम्पस सञ्चालन गर्ने काम भइरहेको छ । कृषि उत्पादनलाई बिचौलियाको मुनाफा रोक्न र उपभोक्तालाई सस्तो ताजा उत्पादन दिन बजारमा हाटबजारको प्रतिबद्वता देखिन्छ । यसलाई अन्तर जिल्लासँग समेत बिस्तार र बृहत्तर बनाउन पहल गर्नुपर्छ । ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम विपन्न समुदायलाई आयआर्जनका लागि ऋण प्रदान, अल्पकालीन महिला सेवा केन्द्र सञ्चालन गरी केन्द्र र मानव सेवा आश्रमको अभिभावकत्त्व लिएर सेवा दिएको छ । यद्यपि, यस्ता सेवा जिल्ला स्तरमा १० वटै स्थानीय सरकारसँग समन्वय गरी एकरुपता कायम गर्नु हितकारी हुन्छ । महिला र बाल जागरणका लागि सीमित भएपनि अनुशिक्षण संस्थागत नेतृत्त्व तालिम र दिवसहरु नगर आफैले नगरी स्थानीय संघ-संस्था परिचालन गर्नु वान्छनीय हुनेछ ।

बाङ्गेचौरमा रङ्गशाला निर्माणलाई प्रदेश र संघीय सरकारबाट योजना स्वीकृत भएको सकरात्मक कदम हो । माध्यामिक विद्यालयहरुमा विद्युतीय हाजिरीको व्यवस्था र शिक्षक नियुक्ती गरी शिक्षाको गुण्स्तर कायम र सामुदायिक विद्यालयलाई व्यवसायिक धारमा प्रवर्द्धन गर्न पशु तथा कृषि भेटेनरी शिक्षा सञ्चालनमा ल्याइएको भनिएता पनि सबै ठाउँ लागू गर्नु उत्तम हुने छ । धौलागरी अञ्चल अस्पताललाई अञ्चलकै उपचारको केन्द्र विन्दु बनाउन चिकित्सा शिक्षा अध्ययन गर्न अगाडि बढाएमा बागलुङ नगरीको गौरव उँचो हुने छ ।

४. आगामी वर्षको कार्यदिशा:

बागलुङमा विगत र वर्तमानमा बनेका नीति लाई ६ भागमा विश्लेषण गरेर हेर्न सकिन्छ । क. विगतमा स्वीकृत भएका कार्यक्रमलाई तीव्र र गतिमान बनाउने, ख. यस वर्ष सुरु भएको कार्यलाई क्रियान्वयन गर्ने तथा सम्पन्न गर्ने, ग. केही नयाँ याेजनाहरु र कार्यक्रमलाई कार्यान्वयन गर्ने, घ. विगतमा संकल्प गरेको अधुरो सपनालाई विपनामा परिणत गर्ने । आगामी वर्षका लागि केही नयाँ योजनाका लागि पहल गरी स्वीकृत गर्ने, ङ. संघ र प्रदेशको सहयोगमा राष्ट्रिय योजनाहरु लागू र पूरा गर्ने ।

५. केही सुझाबहरु:

क. सबै स्थानीय तहले अध्ययन म्यापिङ गरी आवश्यकता विश्लेषण रणनीति बनाउने । ख. अध्ययन र प्रमाणमा आधारित वार्षिक कार्यनीति योजना बनाउने यसका लागि तत्कालीन मानवीय सामाजिक आर्थिक कार्यलाई उति नै महत्त्व दिने । ग. स्थानीय संघ-संस्था, विषयगत विज्ञ संस्था परिचालन गरी लक्षित र विषयगत काम गर्ने, तर स्थानीयको हदमा विषयगत विज्ञता, अनुभव दक्षता नभएको उपभोक्ता एवं क्लवलाई काम चलाऊ काम गर्न रोकावट गर्ने । घ. नगरपालिका आफैले योजना कार्यान्वयन र अनुगमन अडिट गर्दा सुशासन विहिनता हटाउने । ङ. कार्यक्रम निर्माणदेखि समीक्षा मुल्यांकनसम्म जनताको सहभागिता र पहुँच सुनिश्चित गर्ने । च. कार्यक्रम कार्यान्वयन गर्ने संस्था वा श्रोत व्यक्ति दक्षताको मापन गर्ने गरेर परिचालन गर्ने । छ. गैसस परिचालन, गैसस मार्फत विदेशी दाता आकर्षण गर्ने । ज. जमिन बाँझो हुन नदिन र वैदेशिक परिवारलाई गाउँ बस्ने वातावरण बनाउने । झ. कृषिमैत्री र लक्षित समूहमैत्री कार्यक्रम गर्न प्राथामिकता दिने । ञ. नमूना र वैकल्पिक कार्यहरु गर्न खोज्नेलाई प्रोत्साहन गर्ने । यसरी बागलुङ जिल्लालाई एउटा नमूना सुशासनमुखी कर्म गरेर धौलागिरीको मुटु बनाउने दायित्त्व र लगानी गरौँ ।

(लेखक सामाजिक अभियन्ता एवं  विश्लेषक हुन ।)