martyr memorial, sahid smarak, botanical garden, sindhuli
 

काठमाडौँ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५, नागेडाँडाको टारीगाउँमा जिल्लाकै नमूना सहिद स्मारक र बनस्सपति उद्यान निर्माण हुने भएको छ ।

दस बर्षे महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सुनकोशीका १६ जना महान सहिदहरूको शालिकसहित सिन्धुली जिल्लाका अन्य सहिदहरूको स्मारक निर्माण हुन लागेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालले जानकारी दिनुभयो ।

नागेडाँडाको टारीगाउँमा करिब दुई हेक्टर जमिनमा सहिद स्मारक र मुल्कोटमाथि बिपी राजमार्गसँग जोडिएको थुम्कोमा करिब तीन हेक्टर जमिनमा बनस्पति उद्यान (बोटानिकल पार्क) निर्माण हुन थालेको उहाँले जानकारी दिनुभयो ।

सहश्रधारा सामुदायिक वन क्षेत्रभित्र निर्माण भइरहेको स्मारक र पार्क दुवैमा खानेपानी, शौचालय र पानी रिचार्ज सेन्टर समेत निर्माण भइरहेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रमोद दाहालले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय मरिणका प्रमुख लोकराज नेपालले सामुदायिक वनको घना क्षेत्र रहेको नागेडाँडाको टारीगाउँमा सहिद स्मारक र मुल्कोट नजिकको सुख्खा डाँडामा बनस्पति उद्यानको विकास गर्न लागिएको बताउनु भयो । उहाँले यस क्षेत्र सुख्खा भएकाले सुनकोशीको पानी तानेर बनस्पति उद्यानका रूपमा हरियाली बनाउने योजना रहेको सुनाउँदै बिपी राजमार्गमा आवतजावत गर्ने यात्रुले समेत पार्कमा केही बेर सुस्ताउने मौका पाउने बताउनुभयो ।

उहाँले प्रदेश सरकारको करिब एक करोड लागतमा सुनकोशीबाट पानी लिफ्ट गरी बनस्पति उद्यान र सहिद स्मारक क्षेत्रमा पुर्‍याइने जानकारी पनि दिनुभयो । स्मारक क्षेत्रमा वनभोजस्थल समेत बनाइने छ । सुनकोशीबाट लिफ्ट गरिएको पानी नागेडाँडाका स्थानीय बासिन्दालाई समेत वितरण गरिने छ ।