आकाशमा निराशाका काला बादलहरू मडारिरहेका छन्, जसरी यो देशको राजनीतिमा चरम अकर्मण्यताका धर्साहरू देखिरहेका छन् । दिनहरू खालि नराम्रा सन्देशहरू प्रबाह गरी आफ्नै गतिमा कुदिरहेका छन् ।
गाउँघरतिर किसानहरूलाई आफ्नै किसिमको चटारो छ । यो समय मानो खाएर मुरी उब्जाउने समय हो । हातमा कोदाली, काँधमा हलो राखी देउराली डाँडाहरूमा उकाली ओराली गर्दै आजभोलिका दिनहरू किसानका निकै रमाइलो र आनन्दपूर्वक बितिरहेका हुन्छन् । आहा कति रमाइला हुन्छन् ती दिनहरु । असिनापसिना गर्दै गरिरहेको कामको दुखाइ पनि चटक्कै भुल्न सकिने । त्यो सामर्थ्य पैदा हुन्छ, जब देउराली डाँडाहरूमा असारे भाका घन्किन्छन् । चकटीजत्रा खेतका फोकटा (फोहोटा) हरू र निधारका धर्साहरूजस्ता खेतका गराहरू, जहाँ माटो मात्रै हुँदैन, ढुङ्गाहरू पनि हुन्छन् र खन्दा जोत्दा कोदालीको धार बङ्गगाइदिन्छन्, हलोको फालीहरू उतारिदिन्छन् ।
यस्ता ठाउँहरूमा पाखुरी बजाजेर बज्जर बाँझो जमिन फुटाई सुनौला धानका बालाहरू लहलह झुलाउने सपनामा सबै दुःख पीडा किसानले भुलिरहेको हुन्छ । आफ्नै लयमा किसान घामपानी नभनी निरन्तर खेतको काममा जुटिरहेको हुन्छ । घरदेखि निकै टाढा भएका गाडकुले खेतहरू हुन् या त टारी खेतहरू हुन्, किसानहरू जब वैशाख सुरु हुन्छ, तब बिउ राख्ने काम सुरु गर्छन् । वैशाखदेखि सुरुभएको खेतको काम मंसिर महिनासम्म चल्छ । जब भकारीमा धान भित्र्याइन्छ र परालका टौवाहरू बनाइन्छ, अनि मात्रै खेतको काम सकिन्छ । यति काम गरेर मात्रै भात तयार हुँदैन, त्यसलाई फेरि ढिकीमा कुटेर, फलेर केलाइसकेपछि मात्रै पकाउनलाई तयार हुन्छ ।
मलाई विशेष गरी सम्झना छ त्यो देउराली डाँडाको, जहाँ मैले लाखौँ पटक उकालीओराली गरेको छु ।गाई-बाख्रा चराउन जाँदा होस् या खेतमा काम गर्न जाँदाखेरी होस् या घाँस काट्न जाँदा, त्यही देउरालीमा झरेर र उक्लिएर ओहोरदोहोर गर्नुपर्छ । आज म जहाँ छु, यहाँदेखि धेरै टाढा छ देउराली, जहाँ गतसाल आजकै दिन टोटेखोलाको रोपाइँ सकेर म काँधमा हलो बोकेर देउरालीको उकालो चढिरहेको थिएँ । सम्झना ताजा छ, आजजस्तै लाग्छ तर समय एकवर्ष घर्किसकेछ । त्यो दिनदेखि यो दिनसम्म आइपुग्दा समयले थुप्रै कुराहरू सिकाएर गएको छ । समय र परिस्थिति सधैँ एकै हुँदैन, कतिखेर कहाँ के हुन्छ, पत्तै हुँदैन । कल्पनै नगरेका घटनाहरू भइदिन्छन् । मानव हुनुको नाताले, कही केही नहोस्, सबै कुराहरु राम्रो होस् र भइदियोस् भन्ने लाग्छ तर आफूले सोचेजस्तो कहाँ हुन्छ र ? नसोचेका घटनाक्रमहरूको संगालो त रैछ आखिर जीवन । बर्खामासको सिजन, त्यसमा पनि असार निकै चटारो पर्ने गर्छ किसानहरुलाई । प्रकृतिले साथ दियो भने किसानले सोचेअनुरूप कै काम गर्न पाउँछ । यदि प्रकृतिले पनि ठग्यो भने किसानलाई निकै पीडाबोध हुनेगर्छ । खडेरी पर्यो भने पनि किसानलाई चुनौती, अतिवर्षा भयो भने पनि चुनौती । यी र यस्तै खालका कैयौँ चुनौतीहरूसँग पौँठेजोरी गर्दै जीवन निर्वाहका लागि किसान संघर्षको मैदानमा उत्रिएको हुन्छ ।
निकै मेहनत र दुःख गर्दै किसानले खेतिकिसानी गरिरहेको हुन्छ । यसमा हाम्रो देशमा रहेको राज्यले पनि ठगिरहेको छ भने कहिलेकाँही प्रकृतिले पनि ठगिदिन्छ । कहिले बाढिपहिरोले नोक्सानी गरिदिन्छ त, कहिले असिनाले त कहिले किराहरूले किसानलाई नै ठगिरहेको हुन्छ । गर्मी सिजन त्यसमा दिउँसोको टन्टलापुर घाम र मुसलधारे पानीसँग कुस्ती खेल्दै किसानले खेतबारीमा संघर्ष गरिरहेको हुन्छ । बिहान झिसमिजे उज्यालो नहुँदै खाना र अर्नि बोकेर खेतको काममा दौडिनुपर्ने किसानको जिन्दगी । खेत जोतखन गरी ठिक्क बनाइसक्दा पनि कहिले पानी नपरेर आकाशतिर हेरिरहनुपर्ने बाध्यता हुन्छ, त कहिले बाढी आएर खेतै बगाउला भन्ने त्रास हुन्छ ।
हाम्रो देशको धेरै प्रतिशत जनशक्ति कृषि पेशामा आबद्ध छ । तर पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेको छैन । अन्य देशमा ५-७ प्रतिशत कृषि पेशामा आबद्ध जनशक्तिले समग्र देशको खाद्यान्न समस्या समाधान गरिरहेका हुन्छन् । हाम्रो देशमा भने खाद्यान्न आयात गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था छ ।धेरै प्रतिशत मान्छेहरू कृषि पेशामै छन् तर आयात गर्नुपर्ने अवस्था छ । अनि कसरी बनोस् हाम्रो देश समृद्ध ?
हाम्रो देशको कृषि प्रणाली निर्वाहमुखी छ, उत्पादनमुखी छैन । जसले गर्दा वर्षभरि दुःख गर्दा पनि खान पुग्दैन । आधुनिक कृषि प्रणाली छैन । जहाँ मकै धेरै फल्ने ठाउँ हो, त्यहाँ धान लगाइन्छ, जहाँ धान फल्ने ठाउँ हो, त्यहाँ मकै लगाइन्छ । जहाँ खेतीयोग्य जमीन हो, त्यहाँ बस्ती बसाइन्छ, जहाँ खेती हुँदैन, त्यहाँ खेती गरिन्छ । अनि कृषिमा कसरी उकालो लागोस् हाम्रो देश । पढेलेखेकाहरूले कृषि गर्नु हुँदैन भन्ने मानसिकता हाम्रो देशका शिक्षित नागरिकहरूमा छ । अलिकति पढेलेखेका बाहिर जाने गर्छन् । परम्परागत कृषिलाई वैज्ञानिक कृषि प्रणालीमा रूपान्तरण गर्नसक्ने जनशक्तिको कमी छ । कृषि क्षेत्रको नेतृत्व गर्ने कृषिमन्त्री कृषिका नाममा फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने बाहेक अरू केही गर्न सक्दैनन् । हरि पराजुलीहरू कृषि मन्त्री हुँदा असार १५ मा धसिन्छन् । घनश्याम भुसाल र हरिबोल गजुरेल जस्ता बौद्धिक व्यक्तित्वहरू कृषि मन्त्री हुँदा पनि कुनै ठुलो परिवर्तनको आभास कृषि क्षेत्रमा भएको पाइएन ।
प्रदेशस्तरका कृषि मन्त्रीहरूले पनि कृषि क्षेत्रमा आमूल परिवर्तन हुने खालका योजनाहरू ल्याउन सकेनन् । प्रदेशस्तरमा कृषि क्षेत्रमा कर्णाली प्रदेश उत्कृष्टमा छनोट भएर ‘सुनको हलो’ भएको तक्मा प्राप्त गर्दैछ भन्ने खबर पाएको छु । ‘सुनको हलो’ भएको तक्माले वैज्ञानिक कृषि व्यवस्था लागू गर्न सक्दैन । त्यसका लागि त कृषि क्षेत्रको अध्ययन, अनुसन्धानको प्रक्रियालाई जोड दिँदै माटो अनुकूलको कृषि गर्ने योजना निर्माण गरी लागु गर्नु पर्दछ ।
प्रिय देउराली, तिमीलाई सम्झिएर तिम्रो बारेमा लेख्दैगर्दा अरू कुरा पनि खोतल्न पुगेछु । देउराली गत साल म तिम्रै सामीप्यतामा थिएँ । अहिले परिस्थिति त्यस्तो रहेन । म तिमीभन्दा धेरै टाढा छु तर पनि धेरै सम्झिरहेको छु ।
देउराली, तिमी हाम्रो खेतको मास्तिर ठिङ्ग उभिएका छौ । खेतमा रोपाइँ हुँदै गर्दा जब दिन ढल्किन्छ, तब अर्नि कतिखेर आउँछ भनेर तिमी भएकैतिर खेतालाहरूले हेरिरहन्छन् । जब अर्नि लिएर घरमुली तिम्रै सामीप्यबाट झर्नुहुन्छ, तब खेतालाहरूको मुहारमा उज्यालो कान्तिले छाउँछ । जब खेतको काम सकिन्छ, अनि तिम्रै पाउमा छुँदै मान्छेहरू आफ्नो घरतिर लाग्छन् । म किसानहरू घरतिर उक्लिँदैगर्दा तिमी भएकै थुम्कोमा बसी जब असारे भाका घन्काउँछन्, तब वातावरण संगीतमय बन्छ, सधैँभरि तिम्रै सामीप्यतामा बसिरहुँ जस्तो लाग्छ ।
देउराली, तिम्रो सामीप्यमा नभएको धेरै भयो । गतसाल असारको १४ गतेपछि तिम्रो मेरो भेट भएको छैन । यसपालि जसरी पनि भेट हुनेछ भन्ने थियो तर परिस्थिति त्यस्तो रहेन । समय र परिस्थिति अनुकूल भैदिएछ भने अब तिम्रो हाम्रो भेट कात्तिक-मंसिरमा हुनेछ । नत्र यत्तिकै ।
प्रिय देउराली, तिम्रो बारेमा लेख्न धेरै बाँकी छ । म अहिले चुनौतीपूर्ण मोडमा उभिएको छु र अर्को कुरा एउटा किताब लेख्दैछु । निकै संकट र अभावका बाबजुद मैले किताब लेख्ने जमर्को गरेको हुँ । धेरै पेज लेखिसकियो, अब थोरै मात्रै बाँकी छ । यसैका बिचमा आज तिम्रो धेरै सम्झना आयो र थोरै समय छुट्टाएर अलिकति लेखेको छु ।
प्रिय देउराली, अहिलेलाई यत्ति । धेरै माया अनि मिठो सम्झना ।
(लेखक प्रेस संगठन कर्णालीका सदस्य हुनुहुन्छ ।)