मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडि गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ ।
यी प्राथमिक परिचयबाहेक जोडिएका अन्य परिचय मेरा लागि गौण हुन् तर पुरै समाजले त्यसलाई प्रधान परिचय र मेरा संघर्षका मैदानहरुमा दिएको योगदानलाई माध्यामिक (सहायक) परिचयका रुपमा अपव्याख्या गरिरहेका छन् । हो, म पुष्पकमल दाहालको छोरा हुँ । तर, म प्रचण्डको एउटा लडाकु र कार्यकर्ता हुँ ।
म पुष्पकमल दाहाललाई बुवाका रुपमा अगाडि उभ्याउँछु, प्रचण्डका अघि नेकपा (माओवादी केन्द्र) को एउटा सदस्यका रुपमा उभिएको हुन्छु । समयचक्रका कारण म अध्यक्षको वरिपरि नै धेरै नै खटिएको थिएँ । जतिबेला अध्यक्ष प्रचण्डलाई राज्य र अन्तर्राष्ट्रिय जगतले पनि रेडकर्नर नोटिस जारी राखेको थियो, त्यसबेला उहाँको सुरक्षा अंगका रुपमा मैले लामो समय काम गरेको छु ।
उकालि ओरालि, भन्ज्याङ चौतारी र विभिन्न युद्धमा मेरो उहाँसँग निरन्तर सहयात्रा छ । हाम्रा लागि संविधानसभा, परिवर्तन हरेक जाति, वर्ग र समुदायको राजनीतिक उत्थान प्रधान हुँदाको लँडाइ प्रधान हो । हामी युद्धकालमा पनि यही लँडाइमा निरन्तर लागिरहेको थियौं, जसका केही उपलव्धि भए त्यसलार्इ संस्थागत गर्नका लागि अहिले पनि लागिरहेका छौं । नेकपा (माओवादी केन्द्र) को एउटा साधारण योद्धाका रुपमा म यी सवै कुरा गरिरहेको छु ।
मलाई लाग्ने गरेको आक्षेपका पछाडि म दौडन चहान्न । तर, यी आक्षेपहरु कुन नियतका आधारमा लागिरहेका छन् भन्ने कुरामा मेरो दृष्टि छैन भन्नेचाहिँ होइन । त्यसका विरुद्धमा मेरा प्रतिक्रियाहरु मात्रै नआएका हुन् । शान्ति प्रक्रिया हुँदै नेपाली सरल राजनीति, मूल राजनीतिको केन्द्र विन्दुमा आएपछि क. प्रचण्डलाई प्रहार गर्ने योजनाका आधारमा अनेक कोणबाट मेरो नाममा नकारात्मक टिप्पणी हुन थाल्यो ।
स्मरण होस्, हामी पनि चन्द्रमाबाट झरेका एलियन होइनाैँ, साधारण परिवारका मान्छे हौं, जो सँधै साधारणको अधिकारका लागि निरन्तर लडिरहेका थियाैँ । यसमा मेरो नाम जोडेर क. प्रचण्डमाथि किन प्रहार ? अथवा क. प्रचण्डको नाममा ममाथि किन प्रहार ? जीवनको एउटा उर्जाशील समयमा मलाई आक्षेप लगाउने साथीहरुले राजनीतिक मुनाफा लिएर वा अन्य अवसरको उपभोग जसरी गरिरहेका थिए, म युद्धको मैदानमा थिएँ ।
हजारौं सहादत पाएका योद्धाहरुको भीडमा बन्दुक बोकेर राज्य र तानाशाहीविरुद्धको अभियानमा सक्रिय भएको थिएँ । यसको नजरअन्दाज गरी प्रकाश दाहालको परिचय पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोराका रुपमा मात्र गरिन थालियो । हो, म प्रचण्डको छोरा अवश्य हुँ । तर, त्यसबाहेक म माओवादीको निरन्तर सहयात्रामा जनयुद्धकालदेखि लागेको योद्धा पनि हुँ । मैले जतिबेला बन्दुक बोकेर जीवनलाई मृत्युको धारमा हिँडाएको थिएँ । त्यसबेला कोही कसैले प्रचण्ड वा प्रकाशको जीवनबारेको चर्चा गहन रुपमा गरेन । तर, यो परिवेशमाथि मेरो केही विरोध वा समर्थन छैन ।
समाजको व्याख्या गर्ने एउटा दृष्टि हुन्छ । मान्छेका व्यक्तिगत कुरामा कहिले सही र कहिले गलत हुन सकिन्छ । समाजको हेर्ने दृष्टिकोण र मान्छेको जीवनको दृष्टि फरक हुनसक्छ । त्यसमा प्रत्येक व्यक्तिका प्रश्नको उत्तर दिँदै वा खण्डन गर्दै हिँड्न सकिन्न । मैले त्यसो गर्नु पनि आवश्यक ठाँनिन तर यसको अर्थ यो होइन कि मेरो बारेमा हुने अनेक टिप्पणीसँग म जानकार छैन ।
म जानकार छु र त भन्दैछु– बुवा प्रधानमन्त्री बन्नु उहाँको राजनीतिक जीवनको चक्रले दिएको अवसर भएझैं म त्यो सचिवालयमा उहाँको छोराका हिसाबले होइन, सहयोद्धाका हिसाबले भएको हुँ ।
मेरो विषयमा विभिन्न टिकाटिप्पणी गरी सामाजिक सञ्जाल र चियापसलहरु फोहोर बनाउने साथीहरुलाई एउटै प्रश्न छ– परिवर्तनका लागि हामी मर्न तयार हुँदा, म बन्दुक बोकेर हिँड्दा कहाँ थियौ साथी ? परिवर्तन यत्तिकै भएको होइन, परिवर्तनका लागि मृत्युलाई अँगालेर हिँड्न सक्नुपर्छ ।
अवसरसँग बाह्रैकाल नजिक हुने तर जब संघर्ष गरेकाहरुले काम गर्ने मौका आउँछ, त्यसबेला वाइयात कुरामा अल्झिने साथीहरुले तथ्यलाई केलाएर अघि बढ्नुहुनेछ भन्ने अझै विश्वास लिएको छु । मुलुक निर्माणका लागि जसले जहाँ जसरी टिप्पणी गरिरहे पनि मेरा यात्राहरु निरन्तर अध्यक्षको सहयोगमा अघि बढ्नेछ भन्नेमा शंका छैन ।
यसर्थ, मेरा विरोधमा अक्षरहरुको थुप्रो लगाउनेहरुसँग गुनासो गर्नुको साटो सुझाव दिन्छु – ती फगत शव्दहरुको थुप्रो सृजनात्मक कामका लागि उपयोग गरे कसो होला ?
(साभारः एभरेष्ट दैनिक डट कम बाट साभार गरी गएको वर्ष लेफ्ट रिभ्यु अनलाइनमा प्रकाशित यो लेख आज क. प्रकाश दाहालको स्मृति दिवसको दिनमा पुनः प्रकाशन गरिएकाे छ – सम्पादक ।)