Karl Marx, Frederick Engles, Lenin, Stalin, Mao ZeDong
 

मानवजातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो ।

आदिमकालदेखि नै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । वेदमा आदिम आर्यहरूले संसारिक घटनाक्रमहरूलाई लिएर प्रश्न सोध्ने गरेको, जिज्ञासा देखाएको, संशय गरेको आदि दृष्टान्तहरू भेट्टिएका छन् ।

मानिस र पशुपन्छी जन्मने र मर्ने, सूर्य उदाएपछि उज्यालो हुने, अस्ताएपछि अँधेरो छाउने, दिउँसो निर्मल स्वच्छ भइरहेको आकाशमा एक्कासी बादल देखापर्ने, हेर्दाहेर्दै गड्याङ् गुडुङका साथ बिजुली चम्कने र पानी पर्ने, कहिले निकै धेरै पानी परेर बाढी आउने त कहिले खडेरी परेर भइरहेका पानीका स्रोत कुवा, पोखरी, खोलानाला सबै सुक्ने आदि घटनाक्रमहरू आदिम आर्य गणका निम्ति कौतुहलपूर्ण गतिविधि थिए । तिनलाई अनुभव गरी गणका प्राज्ञिक व्यक्तिले एक खालको धारणा बनाउँथे र फेरि आफ्नै धारणामाथि शङ्का व्यक्त गर्दथे । यस्तै खोजीको क्रममा नै दर्शनको प्रादुर्भाव भएको हो ।

परिभाषाः

Comrade Ram Raj Regmi, a renknown peasant leader, communist leader and economist
लेखक

दर्शन शब्द संस्कृत भाषाको दृश’ धातुबाट बनेको हो जसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । अंग्रेजीमा यसलाई Philisophy भनिन्छ जसमा दुई शब्द Philos र  Sophy को मिलन छ । Philos को शाब्दिक अर्थ प्रेम र Sohpy को अर्थ विवेक हुन्छ । यसरी संस्कृत भाषाको शाब्दिक अर्थलाई लिँदा दर्शन भनेको कुनै कुरालाई हेर्ने र बुझ्ने सवाल हो भने बुझिन्छ भने अंग्रेजीको शाब्दिक अर्थलाई लिँदा यो भनेको बौद्धिक ज्ञानप्रतिको अभिरुचि भन्ने बुझिन्छ । तर दर्शनको परिभाषालाई शाब्दिक अर्थमा सीमित गर्नु उपयुक्त हुँदैन ।

जर्मन शास्त्रीय दार्शनिक हेगेलले दर्शनलाई सत्यको संज्ञान भनेका छन् । एङ्गेल्सले दर्शन भनेको चिन्तन र सत्ताको सम्बन्ध हो भनेका छन् । यहाँ सत्तालाई राजनीतिक शक्तिका रूपमा लिइएको छैन । सत्ता भनेको विश्वको अस्तित्व हो जस अन्तर्गत प्रकृति र समाज पर्दछन् (किरण, २०६७: ५) । एङ्गेल्सको यो परिभाषा समय सान्दर्भिक देखिन्छ किनभने चिन्तन र सांसारिक अस्तित्वको सम्बन्ध भएपछि मानिसले जगत्मा विद्यमान वस्तु र पदार्थको एकत्व, जगत्को विकासका नियमहरू, तिनको चरित्र, जगत्को ज्ञान सम्बन्धी सारतत्त्व र बाटाहरू पहिल्याउन सक्छ ।

दार्शनिक सिद्धान्तहरू:

वर्गीय समाजमा मानिसहरू विभिन्न वर्गमा बाँडिएका हुन्छन् । मानिस जुन वर्गमा जन्मन्छ, उसको दिमाग र संस्कारमा त्यस वर्गको विचार र दृृष्टिकोणका छाप रहन्छन् । जगत् र त्यसको अस्तित्व सम्बन्धमा मानिसले आफ्नै वर्गीय पृष्ठभूमिका आधारमा आफ्नै वर्गीय हितका लागि सोच बनाउँछ । यस आधारमा अनेक थरिका दर्शनहरू अस्तित्वमा आएका छन् । तिनलाई मोटामोटी रूपमा दुई श्रेणीमा विभाजन गरिन्छ – प्रत्ययवाद र भौतिकवाद । दर्शनहरू हेर्दा भिन्न देखिए पनि सारमा यिनै दुई वर्गीकरणभित्र समेटिन्छन् । इतिहासको सम्पूर्ण अवधिभरि प्रत्ययवाद र भौतिकवादबीच सङ्घर्ष हुँदै आएको छ ।

प्रत्ययवाद:

पदार्थ र चेतनामा पहिलो कुन हो ? यो संसार जान्न बुझ्न सकिने छ कि जान्न बुझ्न नसकिने रहस्यमय छ ? यी प्रश्नको उत्तरबाट मानिसको दृष्टिकोण के कस्तो छ भनी बुझ्न सकिन्छ । जुन दर्शनले चेतनालाई पहिलो वस्तु र पदार्थलाई दोस्रो उपजका रूपमा लिन्छ, त्यसलाई प्रत्ययवाद भनिन्छ । त्यसले भौतिक पक्षलाई भन्दा विचार पक्षलाई महत्त्व दिन्छ । त्यसले मानिस लगायत सबै जीव जन्तुहरू विचार अथवा अलौकिक शक्तिको परिचालनका कारण क्रियाशील भएका हुन् भन्दछ । त्यसले ‘ब्रह्म सत्यम् जगन् मिथ्या’ अथवा यो जगत् झूटो हो र एक मात्र सत्य ब्रह्म हो भन्दछ । अंग्रेजीमा यस दर्शनलाई Idealism भनिन्छ ।

अक्सर Idealism लाई नेपालीमा आदर्शवाद भनिएको छ । Ideal का दुई अर्थ छन् – आदर्श (उचित) र मानसिक प्रतिरूप (विचार) । पश्चिमी परिवेशमा Idealism लाई मानसिक प्रतिरूपको अर्थमा ग्रहण गरिएको छ । तर सबैभन्दा पहिले भारतीय विद्वानहरूले Ideal को अर्थ आदर्श लगाएर Idealism लाई आदर्शवाद भनी लेख र ग्रन्थहरू लेखेकै कारण त्यसको गलत छाप हामीकहाँ परेको छ । आदर्शवादको नामाकरणले पूर्वीय दर्शनको क्षेत्रमा भ्रम सृजना गरेको छ । जुन दर्शनले वास्तविक जगत्लाई बुझ्न नसकिने र रहस्यमय मान्दछ र चेतनाले पदार्थलाई सृष्टि गरेको हो भन्दछ, त्यसलाई आदर्शवाद भनिएको छ, जुन शब्द उपयुक्त देखिन्न । त्यसकारण चेतनालाई अथवा मानसिक प्रतिरूपलाई महत्त्व दिने दर्शनलाई प्रत्ययवाद भन्दा उपयुक्त देखिन्छ ।

प्रत्ययवाद विज्ञान विरोधी दर्शन हो जसले धर्मको आड लिएर मानिसमा अन्धविश्वास फैलाउँछ । त्यसले मानिसलाई ईश्वर नै सम्पूर्ण ब्रह्माण्डको केन्द्रविन्दु हो भन्ने ठाउँसम्म पनि पुर्‍याउँछ । यस अर्थमा प्रत्ययवाद धार्मिक अध्यात्मवाद पनि हो । जुनबेला हाम्रा आदिम पुर्खाहरू बर्बर अवस्थामा थिए र जतिखेर तिनको सोचाइ निम्न स्तरमा थियो त्यतिखेरको अज्ञानता र अन्धविश्वासको प्रतिफल प्रत्ययवाद हो । पछिल्लो अवधिमा समाजमा थिचोमिचो गर्ने वर्गले बाहिरी आवरणमा सुधार गर्दै त्यसलाई आफ्नो वर्गीय दृष्टिकोण मानी संरक्षण र उपयोग गर्दै आएको छ । वर्गीय समाजमा थिचोमिचो गर्नेकै बोलावाला भएकाले शोषित वर्गका मानिसहरू अज्ञानताका कारण यसको प्रभावमा परेका छन् ।

भौतिकवादः

जुन दर्शनले पदार्थ आदि तत्त्व हो र यसबाट चेतनाको जन्म भएको हो भनी मान्दछ, त्यसलाई भौतिकवाद भनिन्छ । भौतिकवादले चेतनालाई बाहिरी वस्तुहरूको मष्तिष्कमा हुने परावर्तन मान्दछ । मानव मस्तिष्क जहाँबाट चेतनाको उत्पत्ति हुन्छ, स्वयं पदार्थको उच्चतम विकासको परिणाम हो । एङ्गेल्स भन्दछन्, “हाम्रो चेतना र विचार जतिसुकै उच्च कोटीको भए पनि भौतिक जगतकै उपज हुन् । स्टालिन भन्दछन्, “पदार्थ विचारको उपज होइन, विचार नै पदार्थको उपज हो ।” (Stalin, 1976 : 846)।

भौतिकवादीको दृष्टिमा पदार्थ अनन्त छ र यसको सृष्टिमा कसैको हात छैन । पदार्थ अनादिकालदेखि अस्तित्त्वमा रहँदै आएको छ । भूगोलबेत्ताहरूको अनुसन्धानबाट यो तथ्य प्रमाणित हुन्छ । उनीहरू भन्दछन् कि सुरुमा पृथ्वी निकै उष्ण विशाल आगाको गोलाको रूपमा थियो । पछि सेलाउँदै गयो र सयौँ वर्षको अन्तरालपछि सेलाएको पृथ्वीबाट वायु र त्यसपछि वर्षाको उत्पत्ति भएपछि यो वनस्पति र प्राणी जगत्का लागि बस्न योग्य बन्यो । पहिले त निम्नस्तरका जीवजन्तुको उत्पत्ति भयो र ती उच्च स्तरमा विकसित हुँदै गएपछि सबैभन्दा पछि मानिस देखापर्‍यो र उसको मष्तिष्कसँगै चेतनाको उत्पत्ति भयो । यसबाट के प्रमाणित हुन्छ भने चेतनाको उत्पत्ति हुनुपूर्व पदार्थ थियो । पदार्थकै गति र त्यसले हाम्रो मस्तिष्कमा पारेको छापको परिणामस्वरूप चेतनाको उत्पत्ति भएको हो ।

भौतिकवादी दर्शन अनुसार मानिसको बुद्धि विवेकले जगत्लाई बुझ्न सक्छ, त्यसले भौतिक वस्तुहरूको प्रकृति र सारतत्वलाई केलाउन सक्छ । भौतिकवादीहरू के ठान्दछन् भने मानव स्वभाव, जनताको दृष्टिकोण र जीवन पद्धति सबै भौतिक वातावरणकै प्रतिफल हुन् र यदि मानिसलाई बदल्नु छ भने सामाजिक अवस्था र वातावरणमा परिवर्तन ल्याउनु पर्दछ । प्रत्ययवादीहरू मानव समाजमा भएको गुणात्मक परिवर्तन अथवा एउटा उत्पादन पद्धति भएको समाज अर्को उत्पादन पद्धति भएको समाजमा रूपान्तरित हुने प्रक्रियालाई प्रभुको खेल र प्रलयका रूपमा लिन्छन् । तर भौतिकवादले तिनलाई ऐतिहासिक विकासको परिणामका रूपमा लिन्छ ।

इतिहासको भौतिकवादी विश्लेषण अनुसार उत्पादन सम्बन्ध र उत्पादक शक्तिको अन्तर्सम्बन्ध र अन्तर्सङ्घर्षका कारण नै जङ्गली आदिम साम्यवादी समाज दाससमाजमा, दाससमाज सामन्तवादमा र सामन्तवाद पुँजीवादमा रूपान्तरित भएका हुन् । त्यसो भएकाले समाजको अध्यात्मिक जीवन, सामाजिक विचार, सामाजिक सिद्धान्तहरू, राजनीतिक विचारहरू र राजनीतिक संस्थाहरूको स्रोत, विचार, सिद्धान्त, दृष्टिकोण र राजनीतिक अवधारणामा खोज्न हुँदैन, समाजको भौतिक जीवनमा खोजिनु पर्दछ (Stalin, 1976 : 849) ।

भौतिकवादीहरूको दृष्टिमा मानिसले भौतिक परिस्थितिकै जानकारी र अनुभवका आधारमा ज्ञान प्राप्त गर्न सक्दछ । जिउनका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकताले गर्दा मानिसले पदार्थ र त्यसका नियमहरू पत्ता लगाउन सकेको हो । सामाजिक उत्पादन जति मात्रामा बढ्दै जान्छ, उति नै प्रकृतिका रहस्यहरू खुल्दै जान्छन् र भौतिकवादी दर्शनको समृद्धि हुँदै जान्छ । शोषित वर्ग राजनीतिक रूपमा सचेत हुँदै आएपछि त्यसले आफ्नो वर्गीय हितका लागि भौतिकवादलाई समातेको छ र त्यसपछि इतिहासको सम्पूर्ण अवधिभरि प्रत्ययवाद र भौतिकवादबीच सङ्घर्ष हुँदै आएको छ । यी दर्शनहरू दुवै थरी वर्गको वैचारिक हतियार भएकाले वर्गको उन्मूलन नभइन्जेल अस्तित्वमा रहन्छन् (Tsetung, 2038 :2) ।

प्रत्ययवादका तुलनामा भौतिकवाद प्रगतिशील भए पनि सबै खालका भौतिकवादी सोचहरू समाजका लागि उपयोगी छैनन् । त्यसो भएकाले भौतिकवादमा पनि कुन चाहिँ जनताको हितमा छ र कुन छैन, यसबारे गहिरो जानकारी हुनु आवश्यक छ । दार्शनिक दृष्टिकोणबाट भौतिकवादलाई तीन भागमा वर्गीकरण गरिएको छ – यान्त्रिक भौतिकवाद, अधिभूतवाद र द्वन्द्वात्मक भौतिकवाद

युरोपमा जुनबेला अन्धाधुन्ध रूपमा मेशिनको प्रयोग भयो र त्यसमा विभिन्न प्रकारका यन्त्रहरू जडान हुन थाले, त्यस परिवेशले त्यतिखेर उद्योगका क्षेत्रमा लम्केका उद्यमी व्यवसायीहरू र तिनको पक्षपोषण गर्ने बुद्धिजीवीहरूको सोचाइमा प्रभाव पार्‍यो । तिनले प्राकृतिक घटनाहरूलाई यन्त्र जस्तै ठानेर व्याख्या विश्लेषण गर्न थाले । तिनको सोचाइ के भयो भने यस संसारमा घट्ने सबै घटनाहरू मानिसले दम दिएर चल्ने घडी झैँ कुनै बाह्य शक्तिले सञ्चालन गरेपछि चलेका हुन् । तिनले प्राकृतिक घटनाहरूलाई गतिशील त माने, तर उक्त गति आन्तरिक कारणले पैदा भएको हो भन्ने कुरा बुझेनन् । आकाशीय पीण्डहरू कुनै शक्तिले एक पटक चलाएका कारण तिनमा गति पैदा भएको हो र ती चक्राकारमा घुमिरहेका छन् भन्ने भ्रम तिनको मनमा पर्‍यो । यस प्रकारको यान्त्रिक सोचाइलाई ‘यान्त्रिक भौतिकवाद’ (Mechanistic Materialism) भनिन्छ । यस दर्शनले विचार पक्षलाई भन्दा कार्य पक्षमा ध्यान दिन्छ । यान्त्रिक भौतिकवादीहरू आजभोलि पनि पाइन्छन् । तिनले पदार्थ पहिलो हो र पदार्थकै कारण चेतनाको उत्पत्ति भएको भनी स्वीकार गर्दछन्, तिनले धर्म दर्शनको विरोध गरी पदार्थलाई गतिमान पनि देख्दछन् तर उक्त गति पदार्थभित्रकै आन्तरिक क्रिया प्रतिक्रियाको परिणाम हो भनी मान्दैनन् ।

भौतिकवादको अर्को शाखा ‘अधिभूतवाद’ (Metaphysics) हो । त्यस दर्शनले वस्तुजस्तो छ, त्यही रूपमा स्थिर भएर रहन्छ र भिन्न प्रकृतिमा बदलिन सक्दैन भनी ठान्दछ । त्यसले वस्तुको रूप पक्ष, आवरण र सतहलाई मात्र देख्दछ, प्रत्येक वस्तुलाई अलग स्वतन्त्र एकाई ठान्दछ र त्यसलाई अर्कोसँगको अन्तर्सम्बन्धमा बुझ्दैन । त्यसले वस्तुलाई राम्रो नराम्रो, सवल दुर्वल, ठीक बेठीक भनी एउटा पक्षमा मात्र वर्गीकरण गर्दछ ।

त्यसले वस्तुमा परस्पर विरोधी पक्षहरू हुन्छन् र तीमाझ मेलमिलाप र सङ्घर्ष दुवै हुन्छ भन्ने कुरा स्वीकार गर्दैन । त्यो एकलकाटे तथा एकपक्षीय दृष्टिकोण हो । त्यसले रुखलाई देख्दछ तर जङ्गललाई देख्दैन । खगोलीय पीण्डहरूको गतिको सवालमा त्यसले तिनको सरल स्थानान्तरणलाई मात्र देख्छ र वस्तुहरूको गतिको सवालमा त्यसले तिनमा हुने साधारण बृद्धि र क्षयलाई मात्र लिन्छ ।

उदाहरणका लागि अधिभूतवादले युद्धलाई हत्या हिंसा र क्षतिको अर्थमा बुझ्दछ । अधिभूतवादीहरूको निम्ति युद्ध भनेको सदैव नराम्रो कुरा हो किनकि त्यो रक्तपातपूर्ण हुन्छ । तर युद्धका नकरात्मक र सकरात्मक दुवै पाटाहरू हुन्छन् । यदि युद्धले समाजलाई अग्रगामी दिशामा रूपान्तरण गर्दछ भने त्यो राम्रो हुन्छ र यदि त्यसले समाजलाई पछि धकेल्छ भने त्यो नराम्रो हुन्छ । यदि शोषित र उत्पीडित वर्गले न्यायका लागि युद्ध लड्छ भने त्यसलाई समर्थन गर्नुपर्छ । अर्कोतिर साम्राज्यवादी शक्तिहरूले स्रोतसाधन कब्जा गर्न पिछडिएका देशमा युद्ध थोपर्छन् भने त्यो नराम्रो कुरा हो र त्यसको विरोध गर्नु पर्दछ ।

‘द्वन्द्वात्मक भौतिकवाद’ (Dilectical Materialism) आधुनिक भौतिकवाद हो । यसका दुई पाटा छन् – द्वन्द्ववाद र भौतिकवाद । जसरी हाइड्रोजन र अक्सिजन मिलाएर पानी बन्दछ उसरी नै द्वन्द्ववाद र भौतिकवादको संयोग गरी यो दर्शन अस्तित्त्वमा ल्याइएको हो । प्रकृतिमा जुन वस्तु देखिन्छ, त्यो देखिएको अवस्था र आकारमा सधैँ रहिरहन्न, परिवर्तन र गतिको अवस्थामा हुन्छ भन्ने मान्यता अघि सार्ने हुनाले यसलाई द्वन्द्ववादी भनिएको हो ।

यसले कुनै पनि घटनालाई अन्य घटनासँग सम्वन्धित बनाई गतिशील रूपमा हेर्दछ । यसले प्रत्येक वस्तुलाई वरपरका अनगिन्ति वस्तुहरूसँगको अन्तरसम्बन्ध र अन्तक्रियामा बुझ्दछ । यो दर्शन यस अर्थमा भौतिकवादी हो कि यसले पदार्थलाई चेतनाभन्दा अलग स्वतन्त्र वस्तु ठान्दछ र वस्तुगत जगतबाट नै चेतनाको उत्पत्ति भएको हो भन्दछ ।

यसले प्रकृति र त्यसको विकासलाई जान्न र बुझ्न सकिने ठान्दछ र कुनै पनि वस्तु इन्द्रियको सीमाभन्दा टाढा रहस्यको स्थितिमा रहेको विश्वास गर्दैन । मार्क्स के भन्दछन् भने भौतिक संसारको सत्ता एउटा वैज्ञानिक वास्तविकता हो जुन हाम्रो मनभन्दा बाहिर र त्यसवाट स्वतन्त्र रूपमा रहेको छ । मार्क्सवादले पदार्थ (भूत)लाई मूल तत्त्व मान्दछ र त्यसलाई मानिसको विचार संवेदना र कल्पनाको स्रोतको रूपमा लिन्छ । मार्क्स भन्दछन्, “पदार्थले विकासको उच्चतम् अवस्थामा मस्तिष्कको रूप धारण गर्दछ जसबाट विचारको क्रिया आरम्भ हुन्छ ।”

द्वन्द्वात्मक भौतिकवाद अनुसार प्रकृतिमा विद्यमान सम्पूर्ण जीव र निर्जीव वस्तुहरू आपसी सम्बन्ध, अन्तरक्रिया र आत्मनिर्भरताको कारण निरन्तर गतिशील र परिवर्तनशील हुन्छन् । तिनको विकास भनेको तिनको भित्रिया स्व–गतिको कारण हो । वस्तुको विकासको आधारभूत कारण बाहिरिया नभएर भित्रिया नै हुन्छ । कुनै रूख जुनवेला त्यसलाई हामीले नियालेर हेरिरहेका हुन्छौँ अथवा फोटो खिच्दछौँ निश्चल देखिन्छ । तर गहिरिएर बुझ्दा त्यो सदैव उही रूपमा रहेको हुदैन । त्यसमा भइरहेको परिवर्तन हामी सामान्यतया महसूस गर्न सक्दैनौँ, तर प्रत्येक क्षण त्यसका जरादेखि पात, अङ्ग तथा प्रत्यङ्गमा परिवर्तन भइरहेको हुन्छ । रुख निर्माण गर्ने पुराना कोषहरू नष्ट भइरहेका हुन्छन् भने नयाँ कोषहरू उत्पन्न भइरहेका हुन्छन् । यो प्रक्रिया रुखभित्रकै अन्तर्विरोधहरूले गर्दा हुन्छ ।

द्वन्द्वात्मक भौतिकवादका जननी जर्मन दार्शनिक कार्ल मार्क्स हुन् । युरोपेली मुलुकहरूमा सामाजिक अर्थव्यवस्था हुर्किएर पुँजीवादमा पदार्पण गरेपछि जब वर्ग सङ्घर्ष इतिहासमा अघि कहिल्यै नपुगेको स्तरमा विकसित भयो र जब औद्योगिक सर्वहारा वर्ग जुधारु शक्तिको रूपमा देखापर्‍यो, त्यस बखत मार्क्सले यस सिद्धान्तलाई जन्म दिएका हुन् । उनले संसारको सबैभन्दा उन्नत वैज्ञानिक विचारधारा ठानिएको यो सिद्धान्त आफ्ना घनिष्ट सहयात्री एङ्गेल्सको सहयोगमा प्रतिपादन गरेका हुन् । अतएव यस दर्शनलाई मार्क्सवाद भनिन्छ । मार्क्सवाद अहिलेसम्म संसारमा देखिएका दर्शनहरूमध्येमा सर्वश्रेष्ठ ठहरिएको छ । समर्थक र विरोधी दुवै थरीले यसलाई शक्तिशाली ठानेका छन् । यसले पुँजीवादी समाजमा सबैभन्दा उत्पीडनमा परेको सर्वहारा वर्ग र अन्य श्रमजीवी जनसमुदायलाई मुक्तिको बाटो देखाएको छ । यसको आलोकमा विश्व संरचनामा निकै हेरफेर भएको छ ।

सन्दर्भ स्रोतः

किरण, मोहन बैद्य, २०६७, मार्क्सवादी दर्शन, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ

Stalin, J.V., 1976, Problems of Leninism, Foreign Language Press, Peking

Tsetung, Mao, 1938, Dialectical Materialism, Selected Works of Mao Tsetung,  vol. 5,

https://www.marxist.org

(लेखक नेकपाका नेता तथा राजनीतिक चिन्तक हुनुहुन्छ ।)