आजकै दिन २०५२ फागुन १ गते तत्कालिन ने क पा(माओवादी)को नेतृत्वमा विश्व साम्राज्यवादले काखि च्यापेको नेपालको सामन्ती सत्तामाथि धावा बोलिएको थियो । देशको अन्य भूभाहगहरुमा आआफ्नो ठाउँको विशेषता अनुरुप सांकेतिक विद्रोह र रोल्पाको होलेरी, रुकुमको राडी ज्युला र सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी तथा गोर्खाको कृषि विकास कार्यालयमा एकैसाथ हमला गरी भएको त्यो थालनीप्रति आआफ्ना वर्ग दृष्टिकोण अनुरुप मानिसहरुले धारणा व्यक्त गरेका थिए ।
महान जनयुद्धलाई कसैले १० दिनमा नै खतम हुने भविष्यवाणी गरे त कसैले पानीको फोकाको रुपमा ब्याख्या गर्न पुगे। कसैले राजाको फोटोमा गुलेली (मट्याङ्रा)ले हानेर गणतन्त्र नआउने भन्दै खिसिटिउरी गरेर कुण्ठा लुकाए। जसले जेसुकै कूतर्क गरे पनि विक्रम संवत १९३३ मा मारिएका प्रथम सहिद लखन थापाको नेतृत्वमा थालिएको विद्रोह होस् वा नेपाली काँग्रेसको नेतृत्त्वमा सञ्चालित २००७ सालको सशस्त्र संघर्ष, बारा, पर्सा, रौतहट, चितवनको जुगेडी संघर्ष होस् वा झापा विद्रोह वा २०४६ को संयुक्त जनआन्दोलन, नेपाली जनताले परिवर्तनको पक्षमा हुने जुनसुकै आन्दोलनमा साथ दिँदै आएका छन् ।

आन्दोलनको आह्वान हुने तर टुङ्गोमा पुग्नेबेला सम्झौतामा टुङ्ग्याउने नेतृत्वबाट दिक्क परेको भए पनि जनताले नेतृत्वप्रति भरोसा गर्दै जनयुद्धमा उच्चत्याग र समर्पणभाव प्रकट गरे । योजनाबद्ध आक्रमण पश्चात देशव्यापी राजनीतिक परिचालनद्वारा आक्रमणको आवश्यकता र औचित्य पुष्टि गर्ने नीतिको वैज्ञानिकता भनौँ, ‘दिन दोगुना, रात चौगुना’ जस्तै गरी जनयुद्ध घटघटमा झ्याङ्गिदै गयो ।देशको ८०% भूभागमा विद्रोही शक्तिको एकछत्र जनवादी सत्ता अभ्यास हुनथाल्यो । सत्ताले आफ्नो आधारको सेवा गर्ने र आधारले राजनीतिक सत्तालाई मजबुत पार्ने द्वन्द्वात्मक अन्तर्सम्बन्धको आलोकमा गाउँगाउँसम्म फैलिएका सामन्ती सत्ताका हाँगाबिँगा र जरा उखेलेर नयाँ राजनीतिक सत्ताको प्रारुप तयार पारिँदै लगियो । राष्ट्रियता र प्रजातन्त्रलाई नदीका दुई किनारको रुपमा ब्याख्य्याएर हण्डी खाँदै आइरहेको नेपालको राजनीतिक संघर्षको इतिहास बदलियो ।
ज्ञानेन्द्र शाहको ‘कू’बाट नजरबन्द गरिएका सामन्ती सरकारको नेतृत्व गरिरहेका संसदवादी सात राजनीतिक पार्टीका नेताहरुलाई नै जनमुक्ति सेनाले सुरक्षा दिने स्थिति बन्यो । आमूल परिवर्तनकारी लक्ष्य बोकेको सशस्त्र युद्धरत माओवादी कम्युनिष्ट पार्टीको प्रतक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक दलहरु तथा परिवर्तनकामी जनता सम्मिलित भएर सामन्ती सत्ता विरुद्ध उर्लिएपछि २०६२/०६३ को संयुक्त जनआन्दोलन सफल भयो ।
ठोस प्रत्याक्रमणको अन्तिम र भिषण उच्चचरणमा नपुगुञ्जेल अटेरी गरेको सामन्ती राजतन्त्र ‘१२ बुँदे ‘समझदारीमा बाँधिन वाध्य भयो । फलस्वरुप विशाल समुद्रमा समाहित भएपछि नदीका दुवै किनाराहरु विलोप भएजस्तै उत्तर र दक्षिण फर्केका नेपालका मुख्य राजनीतिक ‘किनाराहरु’ संघीय लोकतान्त्रिक गणतन्त्र (Federal Democratic Republic) ‘नेपाल’रुपी समुद्रमा समाहित हुने स्थिति बन्यो । फलतः समाजवादी उन्मुखता रहेको संविधान संस्थागत हुने महाअभियान जारी छ ।
परिस्थितिको यो सुखदपक्षसँगै अर्कोतर्फ ठिक यतिनै बेला नेपाली जनताले हासिल गरेको ऐतिहासिक उपलब्धिलाई नरुचाउने पराजित तत्वहरु सकेसम्मको जोडबल लगाएर छिद्रहरु खोज्न र सलबलाउन थालेका छन । आन्तरिक रुपमा कम्युनिष्ट पार्टीको मार्गदर्शक सुत्र ‘सामुहिक निर्णय र व्यक्तिगत जवाफदेहिता’ को उपहास भएर ‘सामुहिक (निर्णय) समर्पण र नीजि ब्रम्हलुट’को सुत्रमा विकास भएकोछ । साँस्कृतिक रुपमा सामन्ती समाजले संश्लेषण गरेको “पँधेरे सँस्कृति”को फुर्को समाएर नाङ्लो ठटाएर( बुहारी तर्साउने र छोरी उक्साउने खेलमा कतिपय स्थापित नेताहरु समेत मुछिन थालेको देखिंदै छ। दसबर्ष पुग्दा नपुग्दै कलिलो जनयुद्धले विश्व कम्युनिष्ट आन्दोलनको ईतिहासमा संचित गरेको नितान्त नयाँ पुँजिको रक्षा र विकासको निमित्त अमर शहिदहरुले बसालेको त्याग समर्पण र वलिदानीपुर्ण संस्कृतिको पुनःस्मरण र अनुशरणको आवश्यकता यतिबेलाको आवशयकता बन्न पुगेको छ ।
नेपालको राजनीतिक संघर्षको इतिहासमा विक्रम सम्वत १९३३को लखन थापा विद्रोहदेखि २०४६ सम्मका सडक तथा शसस्त्र संघर्षहरुको सश्लेषित अभिभारा पुरा गर्दै विश्वको कान्छो संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने ऐतिहासिक सुअवसर नेपाली जनतालाई प्रदान गरेर विशुद्ध नयाँ पहिचान दर्ज गरेको त्यो महान जनयुद्धको २४औँ वर्षगाँठको आत्मोल्लासको यो गौरवशाली क्षणमा अमर सहिदहरुप्रति भावपूर्ण स्मृत्याञ्जली ।अमर सहिद तथा वेपत्ता योद्धाहरुको परिवारजनमा गहिरो समवेदना । घाइते योद्धाहरु एवम् परिवर्तनका पक्षधर सम्पूर्ण आदरणीय जनसमुदायमा हार्दिक शुभकामना ।