काठमाडौँ । नेपाली जनताको बालिदानीपूर्ण संघर्षको उच्चतम र उत्कृष्ट इतिहास बोकेको महान जनयुद्ध र त्यसका उपलब्धीहरूबारे २४ औँ जनयुद्ध दिवसको अवसर पारेर हामीले केही जनयुद्धका प्रत्यक्ष सहभागी युवा नेताहरुसँग जनयुद्धलाई कसरी सम्झिनु हुन्छ भनेर सोधेका थियौँ । उहाँहरुका विचारहरु, उहाँहरुको आफ्नै शब्दमा यहाँ प्रस्तुत गरिएको छ ।
क. जयपुरी घर्ती,
सभापति, शिक्षा तथा श्वास्थ्य समिति, संघीय संसद
जनयुद्ध दिवस मनाउँदा सबैले बिर्सनै नहुने कुरा के हो भने आजको राजनीतिक परिवर्तन जनयुद्धकै कारण संभव भएको हो । यो राजनीतिक परिवर्तनलाई आर्थिक विकास गरेर जनताको जीवनस्तरलाई परिवर्तनको दिशातर्फ लैजानुपर्छ । म २४ औँ जनयुद्ध दिवसको अवसरमा महान जनयुद्ध र बलिदानीपूर्ण संघर्षमा विशेष र महत्त्वपूर्ण भूमिका खेल्ने शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । आदरणीय शहीद परिवारहरु, घाइते तथा अपांगहरु सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु । वेपत्ता योद्धाहरुलाई पनि सम्झिन चाहन्छु ।
क. सुदर्शन बराल
सामाजिक विकास मन्त्री, ५ नं. प्रदेश
जनयुद्धमा हामीले जनताको सर्वसुलभ स्वास्थ्य, शिक्षा, रोजगार लगायतका बिषयमा कुरा उठाइरहेका थियौँ । यी क्षेत्रमा आम सर्वसाधारण मानिसको पहुँच पुर्याउन अहिले हामी केन्द्रित छौं । ५ नं. प्रदेशको सामाजिक विकाश मन्त्री हुनुको नाताले मैले जनयुद्धको मर्म अनुसार काम गर्न खोजिरहेको छु । विद्यालयमा सर्वहारावर्गका छोराछोरीले पनि पढ्न पाउने कुरा समेट्दै हामीले सामुदायिक विद्यालयको सुदृढ गर्नका लागि सोही अनुसारको बजेट विनियोजन पनि गरेका छौँ।
त्यसैगरी स्वास्थ्यमा सरकारी र नागरिकको लगानीमा बनेका श्वास्थ्य संस्थालाई सुदृढ गर्ने नीति लिइएको छ । निरन्तर स्वास्थ्य क्षेत्रमा बढ्दै गएको नीजिकरण वा निजी क्षेत्रको प्रयत्न हुनेखानेले मात्र स्वाश्थ्य सेवा लिने प्रवृत्तिलाई अन्त्य गर्दै आम सर्वसाधारणको उपचारको हक प्रत्याभूति गर्ने गरी काम अगाडि बढाइरहेका छौँ । त्यसैगरी बेरोजगारलाई मध्यनजर गर्दै प्रदेशभरीमा ६ हजार युवाहरुलाई एक बर्षमा विभिन्न रोजगारमूलक तालिम दिने योजना हामीले बनाएका छौँ । जसले गर्दा गरीब किसानका छोराछोरीले विभिन्न सीप सिकेर आफूलाई स्वरोजगार बनाउन सक्नेछन् ।
जुन संविधानले हामीलाई समाजवाद तिर जाने भनेर निर्देशन गरेको छ, त्यहीँ अनुसार हामी अगाडि बढ्ने छौं । त्यसैगरी, विपन्न, महिला, किसान, बृद्ध लगायतका लागि पनि हामीले बिभिन्न कार्यक्रम बनाएका छौं । सिमित श्रोत साधनका बीच पनि हामीले जनयुद्धका एजेण्डाहरुलाई नीतिगत तहमा, योजनाको तहमा र बजेट सहित कार्यान्वयनको तहमा लगेर पुरा गर्ने प्रयत्न भईराखेको छ ।
क. रमेश मल्ल
पूर्व विद्यार्थी नेता, नेकपा
मूलभूत रुपमा नेपाली जनताको सचेत पहलकदमीमा उत्पीडनका विरुद्ध जनताको विद्रोह गरेको दिन हुनाले यो दिन सम्पूर्ण नेपाली उत्पीडित जनता र मुलुकको सार्वभौमिकता र स्वाधिनताको निम्ति एउटा महत्त्वपूर्ण दिन थियो । यसमा नेपाली जनताको तर्फबाट तत्कालिन नेकपा ( माओवादी) ले शुरुवात गरेको महान जनयुद्धको एउटा मुख्य लक्ष्य थियो – नयाँ जनवादी व्यवस्थाको स्थापना गर्नु । नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै माओवादीले आफ्नो कार्यनीतिलाई जनयुद्धकै बिचमा परिवर्तन गर्यो । संविधान सभाको निर्वाचन मार्फत लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने लक्ष्य लियो । राजाले शासन आफ्नो हातमा लिइसकेपछि यो वातावरण पनि सहजै बन्यो र जनयुद्धको जगमा जनआन्दोलन गर्दै गणतन्त्र स्थापना र संविधानसभावाट संविधान निर्माण गर्न हामी सफल भएका छौँ ।
जनयुद्धकै कारणले यो उपलब्धी संभव भएको हो र जनयुद्धकै कारणले नेपाली जनतामा अभूतपूर्व राजनीतिक चेतना पैदा भएको कुरालाई अब भनिरहनु पर्दैन । आजको दिनमा जनयुद्धका शहीदहरु, बेपत्ताहरु र अंगभंग भएका योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।
क. लेखनाथ न्यौपाने
केन्द्रीय सदस्य, नेकपा
जनयुद्धलाई सम्झिने कुरा हो किनकी आज जनयुद्ध छैन, यो हिजोको कुरा हो । जनयुद्धलाई सम्झिने भनेको जनयुद्ध अनुसार आज हामी हिँडेका छौँ कि छैनौँ भन्ने कुरा हो । पार्टी त्यस अनुसार चलेको छ कि छैन भन्ने कुरा हो ।
यदि हामी जनयुद्ध अनुसार चलेका छैनौँ भन्ने हाम्रो निष्कर्ष हो भने त्यो अनुसार लाग्नुपर्छ, आफूलाई सच्याउनुपर्छ । त्यो अर्थमा मात्र जनयुद्ध सम्झनुको अर्थ हुन्छ भन्ने मेरो बुझाई छ । जनयुद्धको मर्म अनुकूल आजको पार्टी, आजको आन्दोलन र आजका नेता कार्यकर्ताहरु बनाउनुपर्छ । त्यहि त हुँदैन तर त्यो मर्म अनुसार बनाउन कोशिस गर्नुपर्छ । जुन वर्गका लागि लागि हामीले जनयुद्ध लड्यौँ, त्यो वर्गलाई सबै हिसाबले बलियो बनाउनका लागि मेरो इमान्दारीपूर्वक कोशिस रहेको छ ।
आजका युवाहरु आलोचनात्मक चेतका साथ नेतृत्वलाई खबरदारी गर्न हमेशा तत्पर रहनु पर्दछ । आलोचनात्मक चेत भनेको मार्क्सवादको अन्तर्वस्तु हो । नेताहरुले जे भने पनि स्याबासी दिने, सही थाप्ने र ताली बजाउने कार्यकर्ता होइन, मार्क्सवादले आलोचनात्मक चेतको माग गर्दछ । आज हामी जुन ठाँउमा छौँ, नीजी सम्पत्ति र परिवारलाई जसरी महत्त्व दिइराखेका छौँ यो प्रति आलोचनात्मक चेत राखिएन भने हामी बन्ने होइन बिग्रने प्रकृया तिब्रतामा जान्छ । यसकारण आजका युवा पुस्ताले अध्ययन गर्ने, आलोचनात्मक चेतको विकास गर्ने र त्यो आधारमा विषयवस्तुलाई अगाडि बढाउने कोशिस गर्नुपर्छ । त्यो नै सही दिशा हुन्छ ।
क. सन्तु दराई ‘परवाना’
केन्द्रीय सदस्य, नेकपा तथा तत्कालिन जनमुक्ति सेनाका डिभिजन कमाण्डर
जनयुद्ध एउटा ऐतिहासिक र आवश्यक परिघटना हो । त्यसमा नेपाल र नेपालीको माया गर्नेहरुको सहभागिता थियो । त्यसले खासगरी पुरानो संस्कृति, पुरानो परम्परा र पुरानो राज्यसत्तालाई अन्त्य गर्दै नयाँ संस्कृति र नयाँ राज्यसत्ता स्थापनाका लागि अगाडि बढेको थियो । देशमा अहिले जे जति परिवर्तनहरु भएका छन्, ती सबै प्राप्त गर्नका लागि महान जनयुद्धको महत्त्वपूर्ण भूमिका छ । महान शहीदहरु, अध्यक्ष प्रचण्ड र हामी हजारौँ जीवित मानिसहरु सबैको त्यसमा भूमिका छ । यो परिघटनालाई कसैले पनि न्यूनीकरण गर्न मिल्दैन । इतिहासका यस्ता घटना, परिघटनाहरुलाई स्थापित गर्दै अगाडि बढ्नुपर्छ ।
क. युवराज चौलागाई
केन्द्रीय सदस्य, नेकपा
नेपाली जनयुद्ध इतिहासकै एउटा महान र गौरवशाली एउटा पक्ष थियो । लामो समयसम्म नेपाली राजनीतिमा यसको पदचापहरु देखिइरहने छ । नेपाली गरीब जनताका छोराछोरीले राष्ट्रिय स्वाधिनताका लागि आफ्नै खुट्टामा उभिएर लडेको यो एउटा युगान्तकारी लँडाई थियो । युद्ध भन्ने बित्तिकै कतिपय मानिसलाई अहिले नमीठो लाग्न पनि सक्छ तर त्यो एउटा वाध्यकारी समय थियो । जनयुद्धको उपलब्धी भन्नु नै अहिलेको राजनैतिक परिवर्तन हो ।
युद्ध लडेका हरेक योद्धाहरुले गर्वका साथ आज यो भन्नुपर्दछ कि नेपाली जनताले जनयुद्ध गरेकै कारणले आजको परिवर्तन संभव भएको हो । नेपालमा जनयुद्ध नभएको भए नेपाल आज भुटान जस्तै बन्ने थियो । नेपाली जनताका छोराछोरीले युद्ध लडेर रगत नबगाएको भए आज पनि हामी जन्मजात शासकहरुका गुलाम बन्न वाध्य हुने थियौँ । राजतन्त्रको साँघुरो परिधीभित्र बाँधिने थियौं । जनयुद्धकै कारण आज हामी स्वतन्त्रतापूर्वक बाँच्न पाएका छौँ । शहीद, बेपत्ता र घाइतेहरुको सम्मान नै जनयुद्धको सम्मान हो ।
क. युवराज दुलाल ‘शरद’
सामाजिक मन्त्री, ३ नं. प्रदेश
नेपालको इतिहासमा सबैभन्दा ठूलो परिघटना हो । हिजो तत्कालिन नेकपा माओवादीले शुरु गरेको सशस्त्र विद्रोहको रुपमा यो थियो भने यो सफल भइसकेपछि सबैको उपलब्धीको रुपमा नेपालको साझा पुँजीको रुपमा यो विकास भएको छ । हिजो जति नै मान्छेहरुले यसलाई आलोचना र विरोध गरेपनि आज जनयुद्धकै उपलब्धीको रुपमा देशमा परिवर्तन आएको छ । यसकै जगमा देशमा जनआन्दोलन सफल भएको कुरा कसैले पनि नर्कान सक्दैन ।
हिजो नेपालमा विभिन्न धारमा विभक्त भएर कम्युनिष्ट पार्टीहरुले गणतन्त्रका लागि आन्दोलन गरिरहेका थिए । सबैभन्दा धेरै गणतन्त्रका लागि योगदान तत्कालिन माओवादी जनयुद्धले नै पुर्याएको कुरा दिनको घामझैँ छर्लंग छ । जनयुद्धका उपलब्धीहरुलाई संस्थागत गर्नका लागि संविधानले निर्दिष्ट गरेका कुराहरुलाई कार्यान्वयनका लागि अहिले देशमा तीन तहको सरकारले काम गरिरहेको छ । म पनि सोही अनुसार काम गरिरहेको छु ।
क. कमला रोका केन्द्रीय सदस्य, नेकपा तथा महान् जनयुद्धका प्रथम महिला छापमार
जनयुद्धको धेरै उपलब्धी हाम्रा सामु छन् । यसलाई संस्थागत गर्न केही चुनौति छन् । एउटा सपना देखेर युद्धमा समाहित भएका हजारौँ योद्धाहरुलाई हामीले आज उचित सम्बोधन गर्न सकेका छैनौँ । ती योद्धाहरु, कतिपय घाइते छन्, पल पल मृत्युसँग लडिराखेका छन् । घाइतेहरुको व्यवस्थापन गर्न सकिराखेको छैन । कतिपय योद्धाहरु रोजीरोटीका लागि विदेशिएका छन् । त्यतिबेला ४० प्रतिशत महिला जनमुक्तिसेनाहरु शान्तिप्रकृयामा आएपछि व्यवस्थापनको समस्या भइराखेको छ । अहिलेको सरकारले गरेपछि धेरै गर्न सक्छ । सरकारले यस बारेमा गम्भिर भएर काम गर्नुपर्छ ।
क. अमृता थापा
अध्यक्ष, अनेमसंघ (क्रान्तिकारी)
जनयुद्धले समाजमा एउटा युगान्तकारी परिवर्तन गरेको छ । महिला आन्दोलनको हिसाबबाट हेर्दा मानसिकतामा नै क्रमभंग भएको स्थिति थियो र आज पनि त्यो छ । यही निरन्तरतामा नयाँ संविधान बनेको छ ।
जनयुद्धले उठाएका मुद्धाहरु व्यवस्थित ढंगले जनताको माझमा लैजाने कामको शुरुवात भएको छ, जारी छ र बाँकी पनि छ । त्यो भनेको त्यसले एउटा स्वाधिन राष्ट्र, त्यहाँ भित्रका गास, बास, कपास, श्वास्थ्य, शिक्षा, रोजगार, लगायतमा जनताहरु समृद्ध भएको कल्पना जनयुद्धको थियो र त्यो अहिले समृद्ध नेपाल सुखी नेपालीको नारामा अगाडि बढेको छ । खासगरी मजदुर, किसान, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको सन्दर्भमा संविधानमा लेखिएका कुराहरु कार्यान्वयनको चरणमा निरन्तर अगाडि बढ्न जरुरी छ ।
जनसंख्याको हिसाबले, हिजोदेखि सबैभन्दा बढी उत्पीडित वर्ग हुनुका हिसाबले, महिलाहरुलाई सबैभन्दा बढी समेट्न सक्नुपर्छ । हिजोका दिनमा उनीहरु भनेका दोस्रो दर्जाका नागरिक हुन्, उनीहरुले पड्काएको बन्दुक पनि पड्किँदैन भन्ने जुन आम धारणालाई चुनौति दिँदै नालापानी युद्धमा सुनिएका कथाभन्दा बाहेक अरु कुराहरुमा थुप्रै यस्ता उखान आज पनि समाजमा प्रचलित छन् । ‘खुट्टा भए जुत्ता कति’ जस्ता उखान र महिलालाई नै आक्षेप लगाउने सामाजिक धारणा, महिलालाई शारिरिक र मानसिक दुबै हिसाबले हुन्छन् र सामाजिक संरचना परिवर्तनमा कुनै नेतृत्वकारी भूमिका निर्वाह गर्न सक्दैनन भन्ने आम मनुस्मृतिवाला सोचलाई पुरै उल्ट्याएर महिलाहरु पनि सबै हिसाबले पुरुषभन्दा कम छैनन् भन्ने कुरा जनयुद्धले स्थापित गराएको छ । हतियार खोस्न जाँदा प्रहरी चौकीमा शहादत हुने दिलमाया योञ्जन, जेलब्रेक गर्ने कमला नहर्की, कालिकोटका निशस्त्र दलित महिलाहरुलाई दमन गर्न जाँदा प्रहरीमाथि गरेका प्रतिरोध र हतियार खोसेर पार्टीलाई बुझाएको घटनाले महिलाहरुको मानसिक र शारिरिक दुवै रुपमा कुनै पनि हालतमा कम छैनन भन्ने कुरा पुरा गर्यो । चेन अफ कमाण्डमा चल्ने जनमुक्ति सेनामा महिला सहभागिता ४० प्रतिशत थियो र महिला जनसेनालाई देखेर नै तत्कालिन शाही नेपाली सेनाले महिलाहरुलाई सेनामा प्रवेश गराएको थियो । यो पनि जनयुद्धको कारण प्राप्त भएको अर्को उपलब्धी हो । यिनै उपलब्धीहरुलाई संस्थागत गर्नु नै आजको हाम्रो दायित्त्व हुन आँउछ ।
(प्रस्तुत सामग्रीको क्रमबद्धता पदीय बरियताका आधारमा छैन, अभिमत लिएको क्रमको आधारमा छ – सम्पादक ।)