Salim Miyan Ansari and Samim Miyan Ansari
 

नेपाल मुस्लिम इत्तेहाद संगठन र मुस्लिम आन्दोलनः

हुन त नेपाल मुस्लिम इत्तेहाद संगठनको स्थापनामा महबुब शाह, डा. मोहम्मद मोहसिन, नजिर मियाँ र मञ्जरुल हक आदिको भूमिका प्रमुख रहेको छ । तर सलिम मियाँ अन्सारीको काँधमा इत्तेहादको नेतृत्त्वको जिम्मेवारी आएपछि नेपालमा मुस्लिम समुदायको राजनीतिक गतिविधिले देखिने गरी राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै गयो । सलिम मियाँ अन्सारीको नेतृत्त्वले इत्तेहाद संगठनलाई मुस्लिम राजनीतिको इतिहासमा महत्त्वपूर्ण र गौरव गर्न लायक बनायो । वास्तवमा यसले मुस्लिम समुदायलाई राजनीतिक रुपमा केही सचेत र सुशिक्षित तुल्यायो, मुस्लिम समाजलाई राजनीतिक रुपमा जगायो । देशभरका मुसलमानहरु एउटा साझा झण्डामुनि आबद्ध हुन पुगे । यो नेपालको इतिहासमै प्रथमपटक भएको थियो ।

यसमा सलिम मियाँ अन्सारीलगायत, हमिद अन्सारी, मञ्जरुल हक, नजिर मियाँ, महमुद आलम, मौलाना असगर मदनीको भूमिका निकै महत्त्वपूर्ण थियो । इत्तेहाद संगठनको भूमिका नेपाली मुस्लिम आन्दोलनको एउटा कोशेढुंगा हो । यसले मुस्लिमहरु राजनीतिक रुपमा केही संगठित र केही सजग भए । तर पछि यसमा विचलन आयो । यसलाई सम्पूर्ण मुसलमानको साझा संगठनको रुपमा बचाउन सकिएन । यो एक पार्टी विशेषको भातृसंगठनको रुपमा रुपान्तरण भयो । पछिल्लो समयमा यसमा रिजवान अन्सारी, ताज मोहम्मद मियाँ, राज मोहम्मद अन्सारी, सेराज अहमद फारुकी, मोहम्मद हारुन हलुवाई, जुनैद अन्सारी, मोहम्मद्दिन अली, मोहम्मद युनुस अहमर लगायतका नेताहरुको सक्रिय भूमिका रहेको देखिन्छ ।

Mohammad zakir Hussain, मोहम्मद जाकिर हुसैन
लेखक

बारा जिल्लाबाट पटक पटक प्रतिनिधिसभामा निर्वाचित भएका बामपन्थी नेता सलिम मियाँ अन्सारी नेपालको बामपन्थी राजनीतिमा मुस्लिम समुदायबाट एउटा उचाईमा पुगेका नेता थिए । उनी तत्कालीन नेकपा (एमाले)का एकमात्र मुस्लिम केन्द्रीय सदस्य थिए । उनी २०५१ साल मङ्सिर १४ गते मनमोहन अधिकारी नेतृत्त्वको सरकारमा वन राज्यमन्त्री भए । २०५३ साल चैत्र ११ गते लोकेन्द्रबहादुर चन्द नेतृत्त्वको मन्त्री मण्डलमा उनी नेकपा (एमाले)बाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए । पछिल्लो क्रममा उनी राजासँग मिल्न पुगेका थिए । २०६१ साल माघ २० गते र २०६१ साल फागुन ३ गते राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठित मन्त्री मण्डलमा हेरफेर भएको २४ सदस्यीय मन्त्री मण्डलमा उनी वन तथा भूसंरक्षण मन्त्री भए । यस मन्त्री परिषद्‌मा उनी छैठौं वरियताक्रममा रहेका थिए । जीवनको अन्तिम कालमा उनी माओवादीमा प्रवेश गरी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय सल्लाहकार समिति सदस्य बनेका थिए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा सलिम मियाँ अन्सारी एक सुपरिचित मुस्लिम व्यक्तित्त्व थिए । उनी पटक पटक मन्त्री मात्र बनेनन्, मुस्लिम आन्दोलनकै एक धरोहरको रुपमा स्थापित भए । आजसम्म उनको उचाईलाई कुनै बामपन्थी मुस्लिम नेताले छुन सकेको छैन । नेपाली राजनीतिको मुस्लिम राजनीति फाँटमा उनी एक ऐतिहासिक पुरुषको रुपमा स्थापित भए ।

समिम मियाँ अन्सारीः लोकप्रिय व्यक्तित्व

समिम मियाँ अन्सारी युवा पुस्ताका आशालाग्दा मुस्लिम नेता हुन् । खेलकुद पृष्ठभूमिका समिम मुस्लिम आन्दोलनबाट उचाईमा पुग्न सफल एक मुस्लिम युवा नेता हुन् । निकै सक्रिय, उर्जाशील र प्रशासनिक पकड बनाएका समिम मियाँ अन्सारी केही विवादहरुबीच भर्खरै संवैधानिक निकायको रुपमा गठित मुस्लिम आयोगको अध्यक्षमा नियुक्त भएका छन् । उनको नियुक्ति प्रक्रिया केही विवादहरूसँगै अघि बढेको भए पनि उनको नियुक्तिपछि आम जनता र मुस्लिम समुदायले देशभरबाट उनलाई बधाई दिने र भेट्न आउने ओइरो लागेको देखिन्छ । बालुवाटारस्थित उनको निवासमा बिहानदेखि बेलुकासम्म शुभचिन्तकहरुको ताँति लागेको हेर्न सकिन्छ । यो जनतामा उनको पकड र लोकिप्रियताको प्रमाण हो ।

समिम अन्सारीको पृष्ठभूमि खेलकुद हो । उनी २०४८ देखि कराँतेका राष्ट्रिय खेलाडी र प्रशिक्षक हुन् । उनले २०६२ सालमा नेपाल मिल्लत परिषद्को गठन गरेर सामाजिक कार्यको प्रारम्भ गरे । यसमा उनी अध्यक्ष भए । आजसम्म यस संस्थाको उनी अध्यक्ष छन् । समिम मियाँ अन्सारी २०६६ मा राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य भए ।

मधेश आन्दोलनपछि उनले राजनीतिमा पदार्पण गरे । २०६६ सालमा समीम मियाँ अन्सारी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य भए । २०६६ सालमा उनी युवा तथा खेलकुद मन्त्रीको राजनीतिक सल्लाहकार भए । २०६८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रीको राजनीतिक सल्लाहकार पनि भए । २०६९ सालमा उनी मुस्लिम आन्दोलनमा क्रियाशील राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको केन्द्रीय सदस्य भए । २०७० सालमा नेपाली जामे मस्जिद, घण्टाघरको सल्लाहकार भए । २०७० सालमा उनी नेपाल हज समितिको उपाध्यक्ष पनि भएका थिए । २०७१ सालमा उनी राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको केन्द्रीय संयोजक बन्न पुगे । हालसम्म पनि उनी संयोजक छन् । २०७१ सालमै उनी तमलोपको उप–महामन्त्री पदमा निर्वाचित भए । त्यस्तै २०७१ सालमा उनी नेपाल ओलम्पिक कमिटीको सदस्यमा निर्वाचित भए ।

२०७४ सालमा उनी तमलोपा छोडेर नेकपा (एमाले) प्रवेश गरे र केन्द्रीय सल्लाहकारको भूमिका प्राप्त गरे । २०७४ को संघीय निर्वाचनमा उनी समानुपातिक प्रणालीमा संघीय व्यवस्थापिका संसदको सदस्यको उम्मेदवार थिए । उनको चयन हुन सकेन ।

२०७५ मा पार्टी एकीकरणपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य भए । गए आइतबार (२०७५) मा उनलाई नेपाल सरकारले संवैधानिक मुस्लिम आयोगको अध्यक्षमा नियुक्त गर्यो ।

समिम मियाँ अन्सारीका पिता व्यापारको सिलसिलामा बिरगञ्जबाट काठमाडौं बसाइँ सरेका थिए । २०३० सालमा काठमाडौंमा नै उनको जन्म भएको थियो । उनी खेलकुदमा बढी रुचि राख्थे । उनले भारतमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

समिमको उदयः

२०६८ सालको अन्त्यतिर स्याङ्जाका शाहिद अली र मैले (जाकिर हुसैन) देशव्यापी रुपमा मुस्लिम आन्दोलन शुरु गर्ने विचार विमर्श गर्दै एउटा रोडम्याप कोर्‍यौँ । अतहर हुसेन फारुकी, रहमतुल्लाह मियाँ, जुनैद अन्सारी, खालिद सिद्दिकी, मौलाना सफिकुर रहमान, नजरुल हसन आदिले त्यो आन्दोलनमा प्रथम चरणमा प्रतिबद्धता जनाएर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उता रिजवान अन्सारीको अर्काे समूह पनि मुस्लिम समुदायलाई संगठित गर्ने अभियान बढाइरहेका थिए । गहन छलफपछि दुवै समूहलाई एउटैमा एकीकृत गरी २०६९ साल बैसाख ४ गते राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धको स्थापना गरी स्वतन्त्र व्यक्तित्त्व भएको हुनाले तत्कालीन सभासद् सदरुल मियाँ हकलाई गठबन्धनको प्रथम संयोजक चयन गरिएको थियो । रहमतुल्लाह मियाँ र म सचिवमा चयन भएका थियौं । समिम मियाँ अन्सारी यसको केन्द्रीय सदस्य चयन भएका थिए । एक चरणमा निकै शक्तिशाली आन्दोलन भयो ।

पछि सदरुल मियाँ हकको हत्या भयो । फेरि, गठबन्धनलाई जगाउन गुलाम रसूल फलाहीलाई कार्यवाहक संयोजक तोकियो । २०७१ सालमा गठबन्धनको राष्ट्रिय भेलाले समीम मियाँ अन्सारीलाई संयोजकमा चयन गर्यो । २०७२ सालमा गठबन्धनले सशक्त ढंगको मुस्लिम आन्दोलन गर्यो । यसको नेतृत्त्व समिम मियाँ अन्सारीले गरेका थिए ।

यस आन्दोलने संविधानमा मुस्लिम समुदायका कैयौं मागहरु समेट्न निकै सहयोग पुर्‍यायो । संवैधानिक निकायको रुपमा मुस्लिम आयोगको जग मुस्लिम आन्दोलन बन्न पुग्यो । आन्दोलनले निकै उचाई ग्रहण गरेको थियो । यस निरन्तर सक्रियता, मुस्लिम समुदाय र क्रान्तिप्रतिको लगाव र सफल नेतृत्वले समिम मियाँ अन्सारीलाई राष्ट्रिय स्तरमा चिनायो ।

हुनत समिम अन्सारी पुराना खेलाडी थिए, समाजसेवी थिए, व्यापारी थिए, तमलोपाका केन्द्रीय सदस्य पनि थिए तर उनको पहिचान राष्ट्रिय स्तरमा गठबन्धनको आन्दोलनबाट मात्र स्थापित हुन सक्यो । मुस्लिम आन्दोलनको नेतृत्त्व गरेको हुनाले उनी एक स्थापित नेताको रुपमा चिनिए । अब तमलोपामा पनि उनको हाइट बढ्यो, उनी उप–महामन्त्री बन्न सफल भए । पछि नेकपा (एमाले)मा प्रवेश गर्दा पनि उनको राम्रो मूल्याङ्कन भयो र उनलाई केन्द्रीय सल्लाहकार र केही समयपछि नै एकीकृत भएर बनेको नेकपाको केन्द्रीय समिति सदस्य बनाइयो । संघीय संसदको निर्वाचनको समानुपातिक तर्फको बन्दसूचिमा मुस्लिम पुरुषतर्फ पहिलो बरियताको उम्मेदवार बनाइयो उनलाई । संघीय सांसद बन्न उनी सफल त भएनन् तर पार्टी र राज्यले उनलाई संवैधानिक आयोगको रुपमा नवगठित मुस्लिम आयोगको अध्यक्षमा नियुक्त गरेर एक ऐतिहासिक पुरुषको रुपमा उभ्याइदियो ।

कुनै बेला बाराका सलिम मियाँ अन्सारी जस्तैगरी बामपन्थी आन्दोलनमा यतिबेला पर्सा (हाल काठमाडौं) का समिम मियाँ अन्सारी चर्चित बामपन्थी मुस्लिम नेतामा दर्ज भएका छन्, मुस्लिम आयोगको प्रथम अध्यक्ष बन्न सफल भएका छन् ।

बामपन्थी आन्दोलनको प्रथम मुस्लिम मन्त्री सलिम मियाँ अन्सारीझैं समिम मियाँ अन्सारी संवैधानिक मुस्लिम आयोगका प्रथम अध्यक्ष भएका छन् ।

बधाई छ मेरा अनन्य मित्र समिम मियाँ अन्सारी संवैधानिक मुस्लिम आयोगको अध्यक्षको रुपमा र सफलतम् कार्यकालको शुभकामना छ ।