Chairman Mao Ze Dong (Called Mao, or Maotsetung), Liberator of the China and Leader of the Chinese Revolution
 

अध्यक्ष माओले मेइ युआन जूको ‘मे पच्चीस’ नामक ठूलो पोस्टरलाई बीसौँ शताब्दीको साठीको दशकको चिनियाँ पेरिस कम्युन घोषणापत्र भन्नुभएको छ । त्यसको पेरिस कम्युन भन्दा ठूलो महत्त्व राख्छ । यस्ता पोस्टरहरु लेख्न गाह्रो छ । युवक सङ्घका धेरै कार्यकर्ताहरुले आफ्ना पिताहरुका बारेमा यस्ता पोस्टरहरु लेखेका छन् । त्यसमा उनीहरुले के कुरा उल्लेख गरेका छन् भने उनीहरुका पिताहरुले आफ्नो विगत भुले, उनीहरुसँग माओ विचारधाराका बारेमा कुराकानी गरेनन् । बरु स्कुलमा कति नम्बर ल्यायौ भनेर मात्र चासो राखे र राम्रो नम्बर ल्याएकोमा पुरस्कार दिए । अध्यक्ष माओले कमरेड चेन पोतालाई ‘तपाईंहरुले बनाउनुभएको ठूला पोस्टरहरु साह्रै राम्ररी लेखिएका छन्’ भन्ने सन्देश युवा सङ्‌घका साथीहरुसम्म पुर्‍याइदिन अनुरोध गर्नुभयो र त्यसपछि बोल्न थाल्नुभयो ।

म तपाईहरु सबैलाई भन्छुः युवाहरु महान् सांस्कृतिक क्रान्तिका महान् सेनानीहरु हुन् । उनीहरुलाई पूर्ण रुपमा परिचालित गर्नुपर्छ ।

पेकिङ आइपुगेपछि म निकै बेखुसी र उदास भएँ । केही कलेजका ढोकाहरु बन्द गरिएका थिए । यहाँसम्म कि केहीले विधार्थी आन्दोलन दबाएका थिए । विधार्थी आन्दोलन दबाउनेहरु को थिए ? ती हुन् पेइयाङ भन्ने युद्धसरदार । विधार्थी आन्दोलनलाई यसरी थर्कमान गर्न खोज्नु गैरमार्क्सवादी चाला हो ।

केही मान्छेहरु दिनहुँजसो जननीतिका बारेमा कुरा गर्छन् तर काम गर्ने बेलामा बुर्जुवा नीति पछ्याउँछन् । युवक सङ्घको केन्द्रीय समिति विद्यार्थी आन्दोलनको पक्षमा उभिन पुगेको छ । को को महान् सांस्कृतिक क्रान्तिको विपक्षमा छन् ? अमेरिकी साम्राज्यवाद, सोभियत संशोधनवादीहरु, जापानी संशोधनवादीहरु र प्रतिक्रियावादीहरु ।

‘आफ्ना’ र ‘पराइ’ भनेर पक्षपात गर्नेहरुलाई छुट्कारा दिनु भनेको क्रान्तिलाई रोक्न खोज्नु हो । टाँसिएका ती ठूला पोस्टरहरुलाई छोप्नु हो । यस्ता कुरा गर्न कसैलाई छुट छैन । यो आधारभूत रुपमै गलत छ । उनीहरुले तुरुन्त आफ्नो दिशा बदल्नुपर्छ र थोत्रा विचारहरु धुलोपिठो पार्नुपर्छ ।

हामी जनतालाई विश्वास गछौं । जनताको गुरु बन्नु छ भने हामीले जनताको विद्यार्थी बन्न तयार हुनुपर्छ । अहिले चालु रहेको महान् सांस्कृतिक क्रान्ति आकाश धर्ती थर्काउने घटना हो । के हामी समाजवादसम्म पुग्न सक्छौं ? के हामीमा त्यो हिम्मत छ ? त्यसो गर्न सकियो भने मात्र हामी वर्गलाई निर्णायक रुपमा सखाप पार्न सक्छौं र तीन खालका ठूला अन्तरहरु घटाउन सक्छौं ।

‘अधिनायकवादी’ बुर्जुवा विचार सखाप पार्नुछ । त्यसलाई सखाप नपारेसम्म न त समाजवाद स्थापना गर्न, न त पहिलो सङ्घर्ष छिचोल्न सक्छौं । दोस्रो कुरा हो, आलोचना र तेस्रो हो, रुपान्तरण । कार्यालयमा बस्दै रिपोर्टहरु सुन्नु राम्रो कुरा होइन । जनतामा भर पर्नु, उनीहरुलाई विश्वासमा लिनु र यो सङ्घर्षलाई किनारा लगाउनुको कुनै विकल्प छैन ।

फेरि क्रान्ति हाम्रै विरुद्ध खनिन सक्ने भएकाले त्यसका लागि पनि तम्तयार भएर बस्नुपर्छ । सिङ्गो पार्टी, सरकारमा नेतृत्व गरिरहेकाहरु र पार्टीका जिम्मेवार कमरेडहरु त्यसका लागि तम्तयार भएर बस्नुपर्छ । क्रान्ति सम्पन्न गर्ने हो भने कुक्रुक्क खुम्चिने होइन, तपाईंहरुले आफैलाई अनुशासित बनाउनुपर्छ, आफैलाई फेर्नुपर्छ । त्यसो भयो भने तपाईहरुले आफूलाई दलदलबाट निकाल्न सक्नुहुन्न ।

यहाँ त्यस्ता थुप्रै कमरेडहरु हुनुहुन्छ , जो अरुको विरुद्ध त चर्कोसँग लडिरहनु भएको छ तर आफैसँग भने त्यसरी लड्न सकिरहनु भएको छैन । यही ताल हो भने उहाँहरुले समाजवादमा प्रवेश गर्न वैतरणी नदी तर्न सक्नुहुने छैन ।

यहाँसम्म कि तपाईंहरुले आफ्नै जिउमा आगो लगाउन तयार हुनुपर्छ, दनदन बलिरहेको आगोको ज्वालामा आफूलाई होम्न तयार हुनुपर्छ । तपाईंहरुमा यसो गर्न हिम्मत छ ? किनकि त्यसले त तपाईंको दिमाग खानेछ ।

(बीचैमा एकजना कमरेडले भन्नुभयो: हो, हामी तयार छौँ । त्यसो गर्न सकेनौँ भने हामी आफ्नो जिम्मेवारीबाट राजीनामा दिनेछौँ । हामी कम्युनिस्ट पार्टीको सदस्य भएर बाँच्न तयार छौँ र कम्युनिस्ट पार्टीकै सदस्य भएर मर्न तयार छौँ । आरामदायी सोफा र विद्युुतीय पङ्खाको हावा खाएर बस्ने हाम्रो कुनै सोख छैन । त्यसपछि अध्यक्ष माओले फेरि बोल्न थाल्नुभयो ।)

जनतासँग हामीले त्यस्ता कठोर बारहरु राख्नु हुँदैन । तर जब पेकिङ विश्वविद्यालयका विद्यार्थीहरु चलमलाउन खोजे तब उनीहरुलाई यस्तै बार बनाएर छेक्न खोजियो । उनीहरुले त्यसलाई नरम भाषामा ‘दक्षिणपन्थतर्फको यात्रा’ भने । वास्तवमा त्यो दक्षिणपन्थतर्फ यात्रा नभएर गलत पथतिरको यात्रा थियो ।

त्यस्ता केही विद्यालयहरु पनि छन् जसले विद्यार्थीहरुलाई प्रतिक्रान्तिकारीको बिल्ला भिराइदिएका छन् ।

(लिआइसन – प्रमुख चाङ येनले त्यहीँ २९ जनालाई प्रतिक्रान्तिकारी भएको घोषणा गरिदिए । त्यसपछि अध्यक्ष माओ पुनः बोल्न थाल्नुभयो ।)

यसरी तपाईंहरु जनतालाई अर्को किनारामा धकेल्नुहुन्छ । खराबै भए पनि त्यस्ता जनतालाई तर्साइहाल्नु हुँदैन । कति नै होलान् र त्यस्ता मान्छे ? अत्याधिक बहुसङ्ख्यक विद्यार्थीहरु त राम्रा छन् ।

(कसैले बीचैमा प्रश्न सोध्यो–त्यस्ताहरुलाई कानुनी कारवाही गर्न के गर्ने त ? त्यसपछि अध्यक्ष माओले भन्नुभयो)

किन डराउनुहुन्छ ? जब खराब मान्छेहरु आउनेछन् तब उनीहरुलाई तपाईं अँठ्याउन सकिहाल्नुहुन्छ । तपाईंहरु असल मान्छेहरुसँग डराउन के जरुरी छ र ? तपाईंहरुले ‘डर’ भन्ने शब्दलाई ‘साहस’ शब्दले सट्टापट्टा गर्नुपर्‍यो । तपाईंहरुले एकचोटी मात्रै होइन, बारम्बार देशलाई समाजवादमा प्रवेश गराउन बल गर्नुपर्छ । राजनीतिलाई कमान्डमा राख्नुहोस् , जनताका बीचमा जानुहोस् , उनीहरुसँग घुलमिल गर्नुहोस् र महान् सांस्कृतिक क्रान्तिलाई अझ राम्ररी हाँक्नुहोस् ।

(खोजी प्रकाशनद्वारा प्रकाशित ‘माओका दुर्लभ रचनाहरु’बाट )