केही यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले समसामयिक विषयलाई लिएर प्रतीकात्मक रुपमा बाेलेकाे कुरालाई लिएर “प्रचण्डमा निराशा” र “प्रचण्ड जङ्गल जाने” जस्ता कुराहरु अनलाइन सञ्चार माध्यममा पढ्न पाइयाे र ध्यानाकृष्ट भयो ।
अध्यक्ष प्रचण्डसँगका मेरा २९ वर्षका सहकार्यले क. प्रचण्ड हरेक निराशावादीलाई आशा र उर्जा पैदा गर्ने मान्छेकाे रुपमा पाएको छु । देश, समाज वा पारिवारिक सङ्कट पर्दा हिम्मत, जाेश र आशा जगाउने मान्छेकाे नाम हाे क. प्रचण्ड ।
महाविपत्ति आफैले सृजना गरेर त्यसैसँग कुस्ति खेल्न सिपालु मान्छेकाे नाम हाे क. प्रचण्ड ।
याे शताब्दीमा मार्क्सवादी दर्शन द्वन्दात्मक भाैतिकवादकाे सापेक्षित प्रयाेगकर्ताकाे नाम हाे क. प्रचण्ड ।
जनयुद्धद्वारा जनआन्दोलन सृष्टि गरी जनयुद्ध र जनआन्दोलनलाई फ्युजन गरेर आन्दाेलन सफल पारी त्यसकाे जगमा संसदबाट गणतन्त्र घाेषणा गराउने मानिसकाे नाम हाे क. प्रचण्ड ।
तर विडम्बना, शान्ति प्रकृया मा प्रवेश गरेसँगै मार्क्सवादलाई धर्मशास्त्रकाे रुपमा बुझेका केही नेताहरुले “प्रचण्डलाई वैचारिक विचलन आएकाे” निष्कर्ष निकाल्दै अलग्गिएर देशकाे पहिलाे पार्टीलाई तेस्राे स्थानमा झार्ने काम भयाे । यसरी माओवादी आन्दाेलनलाई चिराचिरा पारेर आफू पनि चाैपट हुने काम भयाे ।
अर्काेतिर कम्युनिस्टका नाममा दर्जनाैँ समूह हुँदाकाे फाइदा पुँजीवादी पार्टीहरूलाई हुँदै आएकाेले कम्युनिस्ट आन्दाेलनलाई जाेड्ने आवश्यकतावोध क. प्रचण्डलाई भयाे । यसैकाे परिणाम आज दुई पार्टी (तत्कालीन एमाले र माओवादी केन्द्र) एक भए । दुई भिन्न बाटाे र पृष्ठभूमिबाट आएका पार्टी हुनुले एकीकरण गर्दा पैदा भएका जटिलताले एकता प्रकृयामा ढिलाई भएकाे छ, जसले गर्दा कार्यक्षेत्रमा (फिल्ड) मा पहल गुम्न थालेकाे छ ।
यसैमा टेकेर विपक्षीले पार्टी र सरकारका राम्रा कामलाई समेत भ्रामक प्रचार गरिरहेका छन् । यसै विषयमा अध्यक्ष प्रचण्डले एकता प्रकृया टुङ्ग्याउनु पर्नेमा जाेड दिएकाे कुरा हाे । याे ढिलाईले उपलब्धीहरुमा धावा बाेल्दै आएकाहरूलाई बल मिल्ने कुरा क. प्रचण्डकाे भनाइमा निहित छ ।
यति हुँदाहुँदै पनि क. प्रचण्ड अनालाेच्य भने हाेइन किनकी मार्क्सवाद एककाे दुईमा विभाजन पनि हुनुले याे नियम क. प्रचण्डमा पनि लागू हुन्छ । उहाँमा उदारताकाे मात्रा बढी छ । गलत गर्नेलाई कार्यवाही गरेकाे सायद अवसरवादीलाई पार्टी फुटाउन मद्दत गर्यो । कहिले ५ बुँदे, कहिले ३ बुँदे गरेर, फाेन गरेर जान दिई पार्टी विरुद्ध आन्दाेलन गर्ने अवसर दिने कमरेड प्रचण्ड नै हाे । पार्टीमा सन्तुलन मिलाउन खाेज्दा असन्तुलन पैदा भयाे र जसले गर्दा पार्टीमा फुटकाे जग हाल्याे । याे क. प्रचण्डकाे उदारताले नै हाे । उहाँ वर्ग संघर्षमा जति दृढ र कठाेर बन्न सक्नुभयो, अन्तरसंघर्षमा त्यस्ताे हुन नसक्नु कमजोरी हुन् क. प्रचण्डका ।
फेरि पनि आज देश र समाज अर्काे नयाँ ठाउँमा पुर्याउने नेतृत्व क. प्रचण्ड नै हाे । उहाँका सकारात्मक पक्षहरूका अगाडि कमजोरीले शिर निहुराउनु पर्छ । विचार, सिद्धान्त बिहिन र गैरराजनीतिक आलाेचना गरेर आत्मसन्तुष्टि गर्नेहरुले जे सुकै भनून्, इतिहास यसकाे साक्षी छ । यति भन्दा सायद बढी नहाेला कि ?