raise your fist in Nepal peoples United Front
 

नेपाल, नेपाली क्रान्ति र नेपाली जनताका सुरुदेखिको अहम् मुद्दाहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवालहरु हुन् । यी सवालहरु समाधान होलान् भन्दै र ठुलठुला बलिदानीपूर्ण संघर्षहरु गर्दै जाँदा पनि पछिल्तिर त उल्टै यी समस्या झन्-झन् विकराल बन्दै गएका छन् ।

यस क्रममा अहिले देशको स्वत्त्व र अस्तित्व नै समाप्त हुने, जनअधिकार तथा राजनीतिक स्वतन्त्रताको अपहरण हुने र जनजीवन अस्तव्यस्त र ध्वस्त हुने अवस्था सिर्जना हुदैछ । त्यसैले राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्द्धन तथा जनजीविकाको सुनिश्चितताका लागि पहरेदारी र खबरदारी गर्नका लागि नयाँ, वृहत् र सशक्त संयुक्त मोर्चा अपरिहार्य भएको हो ।

सर्वप्रथम संयुक्त मोर्चाको निर्माण, परिचालन र लक्ष-उद्देश्यबारे सिद्धान्ततः स्पष्ट हुनु जरुरी भएकोले यो आलेख छलफलका लागि प्रस्तुत गरिएको छ ।

१. नेपाल विगत लामो समयदेखि एक अर्धसामन्ती र अर्ध/नव औपनिवेसिक देश रहिआएकोले आन्तरिक रुपमा सामन्ती शोषण-दमन र बाह्य रुपमा वैदेशिक हस्तक्षेप-उत्पीडनबाट मुक्त भई न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता र समृद्धि प्राप्त गर्ने लक्ष नेपालका सबैजसो राजनीतिक पार्टिहरुको स्थापना कालदेखिनै रहिआएको देखिन्छ । नेपाली काङ्ग्रेसले राष्ट्रियता, प्रजातन्त्र (लोकतन्त्र) र समाजवाद पदावलीको रुपमा र नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविका पदावलीको रुपमा आफ्ना लक्ष्यहरु तय गरेर अझैसम्म कायमै राखेकोले स्पष्ट हुन्छ कि यी आधारभूत विषय हुन् र यी लक्ष अद्यापि पूरा भएका छैनन् । तसर्थ अझै संघर्षको खाँचो छ ।

Narayan Sharma Kamal Prasad
लेखक

२. राष्ट्रियता त दुवै/सबैले भनेका छन् । तर नेकाँको प्रजातन्त्र र नेकपाको जनतन्त्र वा जनवाद जे भने पनि लोकतन्त्र अर्थात् democracy नै हो भने समाजवाद पनि दुवै/सबैले स्पष्ट भनेकाले न्यूनतम लक्ष्यमा समानता छ । तसर्थ समान लक्ष्य प्राप्तिका लागि संयुक्त संघर्ष आवश्यक हुन्छ भन्ने प्रष्ट छ ।

३. यो संघर्ष सबै राजनीतिक दलहरुले अलग-अलग रुपमा गरेर आफ्नो अस्तित्वको रक्षा गर्दै शक्ति र प्रभाव बढाई आफ्ना अधिकतम लक्ष्यहरु हासिल गर्न खोज्ने कुरा त हुने नै भयो तर राष्ट्रियता, लोकतन्त्र र समाजवाद ( स्मरणीय र खुसीको कुरा छ कि जनताका जीविकाका लागि पुँजीवादी वा साम्यवादी सबैले समाजवाद अपरिहार्य ठान्दछन् ) जस्ता आधारभूत र विशेष महत्त्वका कुराहरुलाई एक्ला एक्लै लडेर कुनै एक शक्तिले मात्र लक्ष्य प्राप्त गर्न सकिन्न र सकिएन पनि । स्पष्ट छ कि सामन्तवाद अर्थात् राजतन्त्र र पञ्चायत व्यवस्थाका विरुद्ध लोकतन्त्रवादी र साम्यवादीहरुले क. पुष्पलालले भनेझैँ पटकपटक संयुक्त भएर ‘एक निशाना, एक मोर्चा’को रुपमा वा ‘एक निशाना, अनेक मोर्चा’को रुपमा सहमति गरेर प्रहार केन्द्रित गर्ने गरेकोले नै पञ्चायती निरङ्कुश निर्दलीय व्यवस्था, राजा र राजतन्त्रलाई कमजोर पार्न र ढाल्न सकिएको हो ।

४. यो कुरा बेग्लै र दुःखद विडम्बना नै हो कि व्यवस्था, विधि-विधान, व्यक्ति/नेता/शासक र तन्त्र फेरिए पनि जनता र देशको अवस्थामा कुनै उल्लेखनीय वा आधारभूत परिवर्तन त भएन नै, उल्टो झन्झन् खराब हुँदै गएको जस्तो छ । त्यसैले अब बन्ने संयुक्त मोर्चा विगतको भन्दा उल्लेखनीय रुपमा नयाँ नै हुनुपर्दछ । र, यसले ल्याउने सुधार, परिवर्तन वा क्रान्तिको परिणाम जनता र राष्ट्रले प्रत्यक्ष दैनन्दिन जीवन-व्यवहारमा अनुभूत गर्ने हुनुपर्दछ ।

५. यो संयुक्त मोर्चा विगतका भन्दा भिन्न र नयाँ यस अर्थमा हो कि यो दीर्घकालीन, रणनैतिक र स्थायी हुनुपर्छ, बृहत हुनुपर्छ, शक्तिशाली हुनुपर्छ र निर्णायक नै हुनुपर्छ । अझ ठोसमा भन्नुपर्दा समाजमा वर्गहरु र शोषण-दमन रहँदासम्म अर्थात समाजवादी कालभरी यसको आवश्यकता र भूमिका अनिवार्य हुन्छ । यसरी नै यो मोर्चा बृहत् र निर्णायक संघर्षको शक्ति-श्रोत हुने कारण यो हो कि यसमा नेतृत्त्व गर्ने नेता, कार्यकर्ता र सहभागी संघर्षकर्ता जनता समेत स्वचेतनाबाट सञ्चालित हुन्छन् । ज्ञातव्य छ, सचेत जनता फलामे किल्ला र इतिहासका निर्माता हुन्  । साथै यो यस अर्थमा पनि नयाँ हो र हुनुपर्छ कि मोर्चाको लक्ष्य प्राप्तिको निम्ति अर्थात् देस र जनताको बृहत् हितका लागि पार्टी/संस्था र नेताको संकुचित र सिमित स्वार्थ र निर्देशनभन्दा माथि उठेर, विशाल दिल, दिमाग र दृष्टिकोण गराएर मोर्चामा प्रतिनिधित्त्व गर्नेहरुले काम गर्नु/गराउनु पर्दछ । यहाँनेर स्पष्ट हुनुपर्ने कुरा के छ भने देश र जनताको आधारभूत र गुणात्मक हित नगर्ने वा उल्टो गर्ने पार्टी वा नेतृत्वको अर्थ पो के भयो र ? तिनलाई मानेर, तिनमा बाँधिएर, तिन्ले मुख थुनिदिँदा पनि चुप लागेर अनि तिनमै आफ्नो बल, बुद्धि र विवेक वा समय, श्रम र सामर्थ्य खर्च गरेर बस्नु र गर्नुको के औचित्य पो हुने भो र ? त्यसैले त्यस प्रकारका पुराना, निरिह, दास, दलाल वा लोभीपापी चिन्तन, प्रवृत्ति, नीति र नियतको नेस्तनामूद गर्ने निर्णायक शक्ति यो संयुक्त मोर्चा हुन्छ र हुनुपर्छ नै । साथै आवश्यक परे यो एउटा वैकल्पिक सच्चा क्रान्तिकारी स्वच्छ राजनीतिक शक्तिको भ्रूण हुन सक्छ । साथै पार्टी र सत्तामा रहेका कम्युनिस्ट र क्रान्तिकारीको आवरणमा छिपेका भ्रष्ट-दुष्ट माफिया, दलाल आदिका लागि उनीहरुको टाउकामाथि झुण्डिरहेको तरबार बन्नुपर्छ ।

६. वास्तवमा स्वच्छता, स्वतन्त्रता, स्वविवेक, स्वनिर्णय जस्ता (४ स्व); स्वाभिमान, स्वावलम्बन, स्वाध्यायन र स्वाधीनता जस्ता (४ स्वा); का साथै सरलता, सत्यता, समानता र समर्पण जस्ता (४ स) जन्य गुणहरु वा यी गुण भरिएका मानिसहरुमा असीम शक्ति रहेको हुन्छ । मुख्य कुरा यिनको समुचित र समुच्चय प्रयोग र परिचालन गरेमा प्रिय र मिष्ठ परिणाम प्राप्त गर्न सकिन्छ भन्ने हो । त्यसैले यस प्रकारको संयुक्त मोर्चामा सकृय नेताहरु विगत र वर्तमानमा यी गुणहरुले युक्त भएका हुनुपर्छ, अथवा यसो भनौं उक्त मूल्य-मान्यताप्रति शब्द र कर्मले यो वृहत् संयुक्त मोर्चाका नेताहरु प्रतिबद्ध हुनुपर्दछ ।

७. यो मोर्चाको सैद्धान्तिक आधार मूलतः महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिलाई मान्न सकिन्छ र राजनैतिक आधार नेपाली माओवादी आन्दोलनको संश्लेषण “२१औं शताब्दीको जनवाद” लाई मान्न सकिन्छ । रुस, चीन, रुमानिया र पूर्वी युरोपका धेरै समाजवादी राष्ट्रहरुका समाजवादी दिशामा भएका गडबडीपूर्ण ऐतिहासिक अनुभवहरुलाई सन्दर्भ सामाग्रीको रुपमा लिन सकिन्छ तर पनि मुख्यतः माओको निधनपछि चीनमा सांस्कृतिक क्रान्ति रोकिए पनि यसको सान्दर्भिकता समाप्त नभएकै देखियो किनकी त्यहाँ वैज्ञानिक समाजवादको बाटो केही बाङ्गो टिङ्गो र उदार हुँदा विभिन्न उतारचढाव र विचलनका संकेतहरु देखिए ।

यसैगरी सोभियत रुसमा पनि त्यत्रो वर्ष चलेको समाजवाद ढलेन मात्र, उल्टै सोभियत संघ नै विभाजित भयो । रुमानियामा चाउचेस्कू चरम भ्रष्ट देखिए र कम्युनिस्टको विश्वव्यापी रूपमा बद्नाम नै भयो । तैपनी क्युबा, उत्तर कोरियाजस्ता देशहरु अमेरिकी साम्राज्यवादका दबदबाका बिच पनि शान र स्वाभिमानका साथ अघि बढिरहेका छन् । यी सबका पछाडि सत्तासीन पार्टी र नेतृत्व क्रान्तिकारी विचार, वर्ग र व्यवहारबाट विचलित नभएर निरन्तर शुद्धीकरण, सबलीकरण, क्रान्तिकारीकरण र रुपान्तरण हुने वा नहुने भन्ने कुरा नै निर्णायक रहेको देखिन्छ । तसर्थ सत्तासीन पार्टी र नेतृत्वमा सत्ता-भत्ताको सुखभोगको भौतिक वातावरण अनि विविध ढङ्गले भैरहेको विश्वव्यापी साम्राज्यवादी हस्तक्षेपले पार्ने दुस्प्रभाव र निस्कने दुस्परिणामबाट पार्टी, सत्ता र नेतृत्वलाई बचाउन जरुरी हुन्छ भन्ने टड्कारो देखिन्छ ।

नेपालमा पनि गणतन्त्र प्राप्तिपछि समेत कम्युनिस्ट पार्टी र सरकारका देश, जनता र क्रान्तिका हित विपरीतका गतिविधिहरु घट्दै जानुको सट्टा झन्झन् बढ्दै गएको देखिंदै छ । ठिक यही कुरा चीनमा माओले मूलतः नयाँ जनवादी क्रान्तिको १६ वर्षपछि मात्रै देख्नु भयो र पार्टी र सत्तामा भइरहेको बुर्जुवाकरण र प्रतिक्रान्तिकरणलाई रोक्न र ठोक्न “बुर्जुवा हेडक्वार्टरमाथि बम वर्षा गर” भन्दै सांस्कृतिक क्रान्तिको सञ्चालन गर्नुभयो ।

नेपालमा भने क. प्रचण्डले क्रान्तिका क्रममा जनयुद्ध उत्कर्षतिर पुग्दैगर्दा नै पार्टी, जनसेना र स्थानीय जनसत्ताका कतिपय हर्ताकर्ताहरुमा व्यावहारिक विचलनबाट प्रतिक्रान्ति नजिकिँदै गरेको देख्नुभयो र “२१औं शताब्दीको जनवाद” नामक दस्तावेजमा क्रान्तिपछि पार्टी र सत्ता एवम् तिनका हर्ताकर्ताहरुका देश, जनता र क्रान्तिविरोधी गतिविधिमाथि पार्टीको एउटा तप्काले जनताको सहभागितासहित पार्टी, सत्ता र नेतृत्वको समग्र शुद्धीकरण र रुपान्तरणका लागि पार्टी र सत्ताका गतिविधिहरुमाथि निरन्तर निगरानी, नियन्त्रण र हस्तक्षेप नै गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

फरक के भयो भने माओले सांस्कृतिक क्रान्तिको सिद्धान्त लागू गर्नुभयो तर क. प्रचण्डले लागू गर्नु अघिनै क्रान्तिले शान्तिपूर्ण बाटो लिनुपर्ने अवस्था आयो । त्यसपछि यो विचार र विधि अभ्यास गर्ने न संयन्त्र नै निर्माण भयो न त त्यसको अभ्यास नै हुन पायो । तर पनि यो संयन्त्र निर्माण र परिचालन अत्यन्त आवश्यक र महत्त्वपूर्ण छ भन्ने ठहर गरी यो संयुक्त मोर्चा स्थापनाको अवधारणा आएको हो ।

स्मरणीय के छ भने क्रान्तिको निरन्तरता, अग्रगमन र पूर्ण विजयसहित समाजवाद-साम्यवादमा पुग्नका लागि सांस्कृतिक क्रान्तिको औचित्य देख्दा उक्त दौरानमा भएका ज्यादती, उच्छृङ्खलता, अराजकता र जनविरोधी गतिविधिलाई जायज ठान्नुपर्छ भन्ने तर्क सही भन्न सकिँदैन ।

८. प्रस्तुत संयुक्त मोर्चाका सामान्यतया निम्न उद्देश्यहरु हुनेछन् :-

क. प्रथमतः जनतालाई देश, समाज, शोषित-पीडित जनसमुदाय अनि पार्टी र क्रान्तिप्रतिको कर्तव्यबोध गराई सजग र सावधान राख्नु, सत्ता, पार्टी वा नेतृत्वबाट जान वा अन्जान रुपमा हुनसक्ने सम्भावित गलत कामकार्वाहीहरु र तिनका परिणामहरुबारे समयमै सूचित र सचेत गर्ने जस्ता नितान्त रचनात्मक र सुझावमूलक कार्यहरु गर्नु ।

ख. दोस्रो चरणमा सत्ता र पार्टीका हर्ताकर्ता र धर्ताहरुका गतिविधिहरु कुन दिशा र दशातिर उन्मुख छन्, के कस्ता शक्ति, व्यक्ति र प्रवृत्तिहरुसँग उनीहरुको सम्बन्ध र सहचार्य भैरहेको छ ? जनता र राष्ट्रको हकहितमा रुचि, ध्यानाकर्षण र गम्भीरता छ-छैन ? तिनको यावत जानकारी राख्ने, निगरानी गर्ने र अनुगमन गर्ने, तथ्य-सत्य संकलन गर्ने जस्ता कामहरु गर्नु ।

ग. तत्पश्चात उनीहरुका आचरण र गतिविधिहरु संकास्पद, जनविरोधी, क्रान्तिविरोधी र राष्ट्रहित विपरीततर्फ उन्मुख लागेमा तिनलाई समयमा नै र सहजै रोक्नका लागि शुद्धीकरण र रुपान्तरण गर्न सकियोस् भनी आलोचनात्मक, नियन्त्रणात्मक र सुधारात्मक प्रकारका दवावमूलक र खबरदारीमूलक कामकार्वाहीहरु गर्नु ।

घ. उपरोक्त तीन तहका कामकार्वाहीहरुबाट कुनै सुधार नदेखिएमा सार्वजनिक आलोचना, विरोध, भण्डाफोर र जनकार्वाहीजस्ता हस्तक्षेपमूलक र निर्णायक प्रकारका गतिविधिहरु गर्नु ।

सार र समग्रमा भन्नुपर्दा विश्व राजनीतिक मञ्चमा पार्टी र नेताहरु सत्ताका हकभोगदार भएपछि तिनमा आउने आफ्ना पूर्ववर्ती विचार, वर्ग, व्यवहार र वचनबद्धताबाट विमुख र विचलन अथवा भनौं उनीहरुले देश, जनता, पार्टी र क्रान्तिप्रति आफैले गरेका प्रतिबद्धताहरु र बनाएका आचारसंहिता, नीति-नैतिकता, विधि-विधान, मूल्य-मान्यता आदि सबैका सबै भुल्ने अनि अन्ततः र सारत: उनीहरु विचार, वर्ग, व्यवहार र वचनले पनि देश, जनता र क्रान्तिविरोधी भ्रष्ट-दुष्ट दुश्मनमा परिणत हुन गई तिनबाट आमजनता र मानवजातिले नै धोका र धक्का खाएको विडम्बनापूर्ण अवस्थाबाट शिक्षा लिँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यसप्रकारका मोर्चा निर्माण र परिचालन गर्नुपर्ने आवश्यकता देखिएको हो ।

यस्तो बृहत् र सशक्त संयुक्त मोर्चा निर्माण र सञ्चालन पार्टी र नेताहरु संघर्ष र क्रान्तिकै बिचबाट गुज्रँदै गरेको अवस्थामा गर्नु सर्वोत्तम हो तर त्यो हुन नसकेको अवस्थामा पार्टीको सत्तारोहणपछि अविलम्ब गर्नु जरुरी हुन्छ । नेपालको वर्तमान अवस्थामा त यस्तो मोर्चा बनाउन धेरै ढिला भएकोले छिटै बनाई संघर्ष गर्नुपर्छ । बाँकी जनता र संघर्षबाट सिक्दै र गर्दै जाने हो ।