sushil pande and helth minister Upendra pande conversation in avnews tv
 

नेताको कमजोरी हामीलाई सजिलै थाहा हुन्छ किनकि धेरैजसो समय उनीहरु लेन्सको नजरमा हुन्छन् । त्यसमाथि आम जनता जस्तै उनीहरुको जीवनमा पनि धेरै तनाव हुन्छ र खासगरी मन्त्रालय सम्हाले पछि त झन अनेक समस्या हुन्छन् नै । सत्तामा हुँदा र हालको जस्तो स्थितिमा नेताहरुलाई प्रश्नको सामना गर्न गाह्रै हुन्छ । क्षेत्रीय दलको नेताहरुको झन् अनेक लफडा हुने नै भयो ।

उपप्रधानमन्त्री उपेन्द्र यादव उक्त अन्तर्वार्ताका क्रममा त्यस्तै कुनै तनाव भएको, असन्तुलित र अलि हतास र ध्यान अन्त कतै भए जस्ता देखिन्थे – सुरुदेखि नै । विगतमा पूरै आत्मविश्वासका साथ हँसिलो अनुहार लिएर गएको र पूरै अन्तरवार्ताभरी नै बराबर उर्जामा रहने गरेको हामीले उनलाई देखेकै हौँ ।

तपाईं देशकै दश जना नेता छान्नुस्, त्यसमा उपेन्द्र यादव राम्रो, तर्कपूर्ण र सहज जवाफ दिनेहरुको उत्कृष्ट पाँच पर्छन् भने मधेशवादी दलका दश जनालाई लिनुस् – हुदेश त्रिपाठी र उपेन्द्र यादव पछिमात्र अरुको नाम आउँछ होला ।  तर दोहोर्‍याएर भनौँ जो नेता बढी समय लेन्सको अगाडि हुन्छन् उसको कमजोरी बढी नै देखिन्छ । सत्तामा भएपछि देखिनु स्वभाविक पनि हो ।

तर जेसुकै होस्, सन्तुलन गुमाउनु, टेम्पर मेन्टेन गर्न नसक्नु र मिलाएर जवाफ दिन नसक्नु उनको ‘कमजोरी’ कै रुपमा दर्ज हुनेछ ।

mj jha, young writer
लेखक

रह्यो कुरा पत्रकारको, एक छिनलाई त्यो पनि छोडौँ । पहिले प्रश्नको कुरा गरौं ।

प्रश्नको आफ्नै मर्यादा हुन्छ । प्रश्नले नै मान्छेको बौद्धिकता या संस्कार झल्किन्छ ।
जस्तै ‘हजुरको/तपाईंको पिताजीको नाम के?’ भनेर सोध्नु र ‘तेरो बाउको नाम के रे?’ भनेर सोध्नुमा अन्तर आफै छुट्ट्याउनुस् । ‘हजुरको/तपाईंको पिताजीको शीर’ वा ‘तेरो बाउको टाउको’ भन्नुमा फरक छ । अब कुनै प्रश्नकर्ताले तपाईंलाई माथिको कुन शैलीमा प्रश्न गर्दा सहज या सम्मानित महशुस गर्नुहुन्छ ? आफै विचार गर्नुस् । याद राख्नुस्, यसले तपाईंको बौद्धिकता र संस्कारको पनि परिचय दिनेछ ।

जहाँसम्म पत्रकारको कुरा छ, प्रश्न गर्ने चलन मानव जीवनको सुरवाती कालदेखि नै छ । तर प्रश्नको जवाफ दिन सरल, सहज र शालीन र मयार्दित बनाउनैका लागि आम सञ्चारजस्तो बौद्धिक पेशालाई सम्मानित र राज्यको चौथो अंगको दर्जा दिइएको हो । नत्र त आआफ्नो क्षेत्रको नेतालाई समातेर जथाभावी प्रश्न गरे भैहाल्थ्यो । अनि किन चाहियो पत्रकार?

बाहिरको भन्दा पनि नेपालकै उदाहरण हेर्दा पनि दिलभुषण पाठकले रुकमाङ्गत कटवालको अन्तरवार्ता लिएको सम्झन्छु । मै हुँ पारामा उपरखुट्टी लाएर सुरुमा टक-टक जवाफ दिने, पाठकलाई च्यालेन्ज गर्ने र प्रमाण खोज्ने कटवाललाई पाठकले मिठो मुस्कान सहितका तीखा प्रश्नले र्‍याखर्‍याख पार्छन् । अन्त्यमा कटवालले दुईटै हात तल राखेर “ए बाउ.. हेर बाउ..” जस्ता शब्दावली प्रयोग गरेर जवाफहीन बन्छन् । तर पनि उनको आत्मसम्मान कायम राख्न र अन्त्यमा उनलाई बाहिर निस्केर ग्लानी नहोस् भन्ने वातावरण बनाएर पाठक सहज प्रश्नकासाथ अन्तरवार्ताको अन्त्य गर्छन् ।

नेपालका पत्रकारहरुले यहाँबाट ठूलो शिक्षा पाउनुपर्ने हो । तर अचम्म के भने जो ठूलो स्वरमा बोल्यो, जसले नेतालाई तल्लो स्तरको देखाउन सक्यो उही ठूलो पत्रकार भन्ने चलन नै भसक्यो । खासगरी ऋषि धमला र रवि लामिछाने आएदेखि त अचेल यो प्रवृत्ति बढ्दो छ ।

त्यसमाथि पत्रकारले यो बुझेको देखिँदैन कि मैले जनताको प्रतिनिधि प्रश्न गर्ने हो, आफ्नो कुण्ठा पोख्ने हैन । तर अधिकांशले त्यही कुण्ठा पोख्ने प्रश्न मात्र गर्छन् ।

अन्तरवार्ता लिनुअघि कम्तिमा अनुसन्धान गर्नु, सामाजिक सञ्जालमार्फत नै भएपनि जनताले के-कस्ता प्रश्नको अपेक्षा राखेका छन् सोध्नु । यति सामान्य परिपक्वता त देखाउन सक्नुपर्ने हैन र?

एउटा अर्को कुरा, सामान्यतया हरेक मिडियाले कुनै विशेष विषयमा दख्खल राख्ने फरक-फरक व्यक्तिलाई फरक-फरक क्षेत्रका पाहुनालाई प्रश्न गर्न अन्तरवार्ता लिन लगाउनुपर्ने हो । तर यहाँ मिडिया हाउसले नै त्यो वातावरण तयार गरेको देखिँदैन । अध्ययनको कमी र महिनौँदेखि तलब नपाएको पत्रकार स्वयं पनि आक्रोशित हुन्छ, असन्तुष्ट रहन्छ र कार्यक्रमको गुणस्तरसँग उसलाई कुनै मतलब रहँदैन ।

अनि अध्ययन संस्कार नभको त धेरैजसो पत्रकारमा देख्छु । त्यसमाथि कलाकर्मीको अन्तरवार्ता लिने पनि उही, नेताको अन्तरवार्ता लिने पनि उही, साहित्यकारको लिने पनि उही। अनि अनुसन्धान नै नपुगेपछि कस्तो अन्तरवार्ता लिओस् ।

तर भन्नैपर्ने हुन्छ मानसिकरुपमा स्वतन्त्र नभएको, आर्थिक समस्याले आक्रान्त र काम मात्रको दवावमा रहेको पत्रकार र उसले काम गर्ने कुनै पनि मिडिया राम्रो र उत्कृष्ठ हुन सक्दैन । यहाँ त्यो कुरा पनि झल्केको छ ।

मधेसका नेताहरुसँग अशिष्ट शैलीमा प्रश्न गर्ने पत्रकारहरुको पुरानै तरिका हो । थर्काएर र हप्काएर प्रश्न गर्ने संस्कार त झन् बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले नै सिकाएका हुन् । यो एउटा सामन्ती सोचको पराकाष्ठा पनि हो ।

त्यतिमात्र हैन बहालवाला मन्त्रीसँग कसरी प्रस्तुत हुने ? त्यति संस्कार तथा पत्रकारिताको मर्यादा पनि नजानेका शुशिल पाण्डेले यहाँ मैले हप्काइदिएँ भनेर खुशी हुने हैन, माफी माग्नुपर्ने हो । न्युनतम् सम्मानको पनि हेक्का नभएको पत्रकारको अगाडि झुकेर जवाफ नदिई हिंडेका पूर्वपरराष्ट्र मन्त्री र बहालवाला स्वास्थ्य तथा उपप्रधानमन्त्री यादवले ठिक गरेका हुन् । प्रधानमन्त्री देश बाहिर हुँदा मर्यादाक्रम अनुसार अहिले देशको प्रधानमन्त्रीको मर्यादास्तरका व्यक्तिलाई “बकवास नगर्नुस्, हिम्मत भए जवाफ दिनुस्, नेपाली मिडियालाई तपाईंले सिकाउने? ठाडो प्रश्नको ठाडै उत्तर दिनुस्” भन्ने अपरिपक्व पत्रकारले अबदेखि हेक्का राखेको राम्रो । र, त्यसका लागि ‘त्यो कुर्सीमा प्रम ओली वा पूर्व प्रम प्रचण्ड भएको भए’ भन्ने कल्पना गरेर आत्मसमीक्षा गरेको राम्रो ।

प्रेस स्वतन्त्रता या अभिव्यक्ति स्वतन्त्रताकै लागि पनि उपेन्द्र यादवसँग या कुनै नेतासँग कुनै पत्रकारको तुलना गर्नु गलत हो । उपेन्द्र यादावको जीवनशैलीसँग तपाईं असन्तुष्ट हुन पाउनुहुन्छ । सरकारको शैली या काममाथि असन्तुष्ट हुने पूरा अधिकार छ हामीलाई । आफ्नो असन्तुष्टि मज्जाले पोख्न पाउने पूरा अधिकार छ हामीसँग । तर एउटा अन्तरवार्ताले उपेन्द्र यादवलाई ‘वज’ गर्न खोज्नु, उनीमाथि पहिलेदेखि नै पत्रकारलाई नगन्ने, कसैलाई मान्छे नगन्ने लाञ्छना यस्तैबेला लगाउनु बेतुकका र बकम्फुसे कुरा हुन् ।

निष्कर्षमा, उपेन्द्र यादवले आफ्नो आत्मसम्मानको रक्षार्थ तथा उपप्रधानमन्त्री पदको गरिमा जोगाउँदै र तल्लोस्तरको पत्रकारलाई जवाफ दिएर आफ्नो स्तर खस्काउनुभन्दा स्टुडियोबाट बाहिरिएर राम्रो गरे । सुशील पाण्डेले आफ्नो शब्दका लागि माफी नमागे र उनलाई माफी मगाउन लगाइएन भने प्रेस स्वतन्त्रताको नाममा डङ्का पिट्ने पत्रकार, मिडिया हाउस तथा पत्रकार महासंघले पत्रकारलाई छाडा हुन उत्प्रेरित गरेको बुझिनेछ । र, यसले न त प्रेस स्वतन्त्रता कायम हुनेछ, न त पत्रकारको मर्यादा या सम्मान बढ्नेछ । चेतना भया ।

(लेखक युवा  राजनीतिक विश्लेषक हुन् ।)