Narendra Damodar Modi Prime Minister of India in military Dress
 

कुनै बेला लाेकसभामा २ सिट मात्र जितेकाे भाजपाले पटक पटक बहुमत र दुईतिहाई बहुमतकाे सरकार बनाउनेछ भन्ने कुरा काँग्रेस आईका कुनै नेता वा विश्लेषकले अनुमान गरेका थिएनन् । तर, भाजपा नेता तथा पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले भने भाजपाकाे वर्तमान आकारकाे आँकलन धेरैअघि गरिसकेका थिए भन्ने भनाई छ ।

गुजरातमा पटक पटक मुख्यमन्त्री बनेर भारतीय राजनीतिमा आफ्नाे पहुँच स्थापित गरेका नरेन्द्र माेदी पाँच वर्ष पहिलेकाे लाेकसभा चुनावबाट भारतकाे राष्ट्रिय राजनीतिमा मात्र हाेइन, अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा नै आफ्नाे नयाँ नाम स्थापित गर्न सफल भए ।

नरेन्द्र माेदीले धर्मकाे नाममा राजनीति गरेकै हुन् । हिन्दुवादी चरित्र उहाँकाे राजनीति लाइन बनेरै भारतका कराेडाैं जनता उहाँकाे वरिपरि झुम्मिए । उनकाे भारत-भिजन पनि प्रष्ट नै छ । भारतले एक महान् राजनेता पाएकाे छ भन्ने कुरामा विराेधका लागि विराेध मात्र हाे । उनकाे विकास-निर्माण र समृध्दिकाे भिजन पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यही भएर दाेस्राेपटक पनि उनकाे नेतृत्वमा भाजपालाई लाेकसभामा आफ्नाे वर्चश्वलाई टिकाइराख्न सफलता मिलेकाे छ । म त भाजपाकाे यही रिजल्टकाे अनुमान तीन साता पहिले नै लगाइसकेकाे थिएँ ।

नरेन्द्र माेदी र तानाशाह :

Mohammad Jakir Hussain Ex-State Minister for Women and Children, Muslim Leader of Nepal
लेखक

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले आफूलाई जनतामा लोकप्रिय बनाइसकेकाे मत परिणामले देखाइसक्याे । अब भारतमा माेदी तानाशाह कायम हुन्छ ? हल्ला खल्ला र प्रश्नहरू छन् । तर माेदी अब अझ थप उत्तरदायी बन्नु उनका लागि बाध्यता हाे भन्ने अपेक्षा गर्न सकिन्छ । भारत विश्वको सबैभन्दा ठूलाे लाेकतन्त्र हाे । विश्वकै विशालतम् लाेकतन्त्रका नेताले विश्वभरिकै प्रजातन्त्रका पक्षधर जनताप्रति जिम्मेवार हुनु आवश्यक छ । माेदी वर्तमान विश्वका सर्वाधिक चर्चित र लाेकप्रिय व्यक्तिहरूको सुचीमा माथिनै पर्दछन् ।

भारतमा अयाेध्या मन्दिर-बाबरी मस्जिद काण्डपछि भारतीय जनता पार्टी देशभर मजबुत भएर गयाे । यसपछि भाजपा देशकै ठूलाे पार्टीकाे रूपमा उदायाे । लामाे समयदेखि देशभर निकै मजबुत पकड बनाएका नेहरू परिवार र काँग्रेस आईकाे वर्चश्वलाई हिन्दुवादकाे नारामा आधारित भारतीय जनता पार्टीले धेरै धेरै पर धकेलिदियाे ।

पाँच वर्षअघि भएकाे लाेकसभाकाे निर्वाचनमा दुईतिहाईकाे बहुमत साथ सत्तामा पुग्दा पनि भाजपाले हिन्दुत्त्वकाे नारालाई नै अघि सारेका थिए ।

भारतमा ठूलाे संख्यामा रहेका मुसलमानहरू भाजपाबाट सशंकित छन् । मुसलमान मात्र हाेइन सिख, ईसाइ र अरू सम्प्रदायका जनसमुदाय पनि माेदीकाे हिन्दुवादी नाराबाट बच्ने उपायकाे खाेजीमा रहेका हुन्छन् । तर, मुसलमानलगायत अन्य थाेक भाेटहरू भाजपाविराेधी काँग्रेससँगकाे महागठबन्धनमा जाँदा पनि भाजपाले फेरि आफ्नाे वर्चश्वलाई कायम राखेकाे छ । यसले माेदीलाई अबकाे दिनमा यी सबै विपक्षीहरूकाे पनि नेता बन्ने रहरले समुदाय र जनतासँगकाे सम्बन्धलाई सुधार्नुपर्ने हुन्छ । एउटा राजनेताकाे स्थानमा पुग्ने हो भने उनले सबैकाे नेता बन्नु पर्छ, जुन कुरा तानाशाह बनेर संभव हुँदैन । त्यसैले अब माेदी तानाशाह हाेइन सुशासनतर्फ लम्कने कुरा एकथरिका विश्लेषक बताउँछन् ।

सोभियत संघको पतनपछि वर्तमान विश्वकाे शक्ति सन्तुलन एकध्रुवीय भएर संसार अमेरिकी ‘न्यु वर्ल्ड अर्डर’मा चलिरहेकाे बेला छिमेकी चीनकाे आर्थिक साम्राज्य र अर्काेतिर पाकिस्तानसँगकाे तिक्त सम्बन्ध माेदीका अन्तर्राष्ट्रिय चुनाैतिहरू हुन् ।

क्षेत्रीय अर्थ-राजनीतिमा उसले आफ्नाे वर्चश्व र प्रतिस्पर्धालाई अन्तर्राष्ट्रिय सम्बन्धकाे महत्त्वपूर्ण एजेण्डा बनाउनु भारतका लागि अनिवार्य छ । यस घेरामा माेदी अझ शक्तिशाली भएर उदाउनु उनका लागि आवश्यक छ । त्यसैले विश्वकाे वर्तमान परिस्थिति र शक्ति सन्तुलनकाे राजनीतिक माहाैलमा माेदी अन्तर्राष्ट्रिय स्तरमै उदीयमान नेता बन्ने उनको महत्त्वाकांक्षाको सन्दर्भमा उनकाे अन्तर्राष्ट्रिय छवीलाई स्वच्च राखेर विश्वस्तरकै नेतामा दरिन र आगामी दिनमा आफ्नाे वर्चश्वलाई कायम राख्न पनि माेदी तानाशाह बन्न सक्दैनन् भन्ने विश्लेषणहरू गरिएको छ । त्यसका लागि उनले र उनको पार्टी भजपाले मुसलमान, सिख र ईसाइहरू विश्वास जित्दै जानुपर्छ । एक आँकडा अनुसार भारतमा एक वर्षमा १०-२० हाेइन हजाराैंकाे संख्यामा हिन्दु-मुस्लिम बिच द्वन्द्व र साम्प्रदायिक दंगा भड्कने गर्छन्त, त्यसलाई रोक्न सक्नुपर्छ ।

माेदी र नेपालकाे राजनीति :

भारतमा माेदीकाे जीतलाई लिएर छिमेकीकाे हैसियतमा नेपालमा विभिन्न किसिमका चर्चा र विश्लेषण हुनु स्वभाविक हाे ।

हिन्दु कट्टरतामा आधारित माेदीका विगतका कामहरूका आधारमा नेपालमा अब माेदीले हिन्दु राष्ट्र स्थापना गर्न भूमिका निर्वाह गर्ने विषय धेरैकाे मनमा छ । तर, नेपालमा दुई तिहाईकाे कम्युनिस्ट सरकार छ, जाे धर्मनिरपेक्षता र गणतन्त्रकाे पक्षमा रहँदै आएकाे छ । यसर्थ याे त्यति सहज छैन । माेदीलाई आफ्नै देश भारतकाे संविधानबाट धर्मनिरपेक्षता हटाउन नै कुनै हालतमा सम्भव छैन । त्यसैले उनले नेपाललाई ‘असली हिन्दुस्तान’ बनाउने प्रयासमा लाग्न पनि सक्छन् । नेपाली अर्थ-राजनीतिलाई आफ्नाे अनुकूल बनाउन माेदीकाे प्रयास हुनेछ भन्ने अनुमान छ।

पूरै दक्षिण एसियामा आफ्नाे आर्थिक, सामाजिक, राजनीतिक प्रभाव जमाउन चाहेकाे भारतकाे नीति विपरित माेदी जाँदैनन् । खासगरी पाकिस्तानसँगकाे भारतको परिस्थितिजन्य सम्बन्ध चुनाैतिपूर्ण नै हुने गरेकाे छ । भारतले भारतीय उत्पादनकाे बजार दक्षिण एसियाई मुलुकहरूलाई बनाइराख्न चाहन्छ । सार्कमा उसले आफ्नाे शक्तिकाे अग्रता चाहन्छ । माेदी नीति यस विषयमा गम्भीर हुँदा नेपाललगायत कुनै सार्क राष्ट्रले माेदीकाे याे स्वार्थलाई सहजै स्वीकार गर्दैन ।

जहाँसम्म नेपालसँग भारतकाे नयाँ रवैया हुने वा नयाँ किसिमकाे सम्बन्ध विस्तार हुने कुरा छ, त्याे आम अड्कल हाे । हुनत नेपाल-चीन बढ्दाे सम्बन्धले पनि भारत बेला बेलामा झस्केकाे छ । त्याे हिसाबले शक्तिशाली माेदी सरकारकाे नेपालप्रतिकाे रवैयामा परिवर्तन हुन सक्ने सम्भावना पनि उत्तिकै छ । विगत लामो समयदेखि नेपालका नेताहरू भारतमुखी रहँदै आएका छन् ।

शान्ति प्रक्रियापछि नेपालले गणतन्त्र र धर्मनिरपेक्षताकाे अभ्यास गर्दैछ। हिन्दु राष्ट्रकाे माग नेपालमा राप्रपा मात्र हाेइन, अब नेपाली काँग्रेसले पनि गर्न थालेकाे छ । पूर्वराजा ज्ञानेन्द्रसँग एकथरिका मानिसहरूको लगाव बढ्दै गएकाे छ र अर्काेतर्फ भाजपाकाे ‘असली हिन्दुस्तान’काे अघाेषित नीति रहेकाे छ ।

यसले नेपालमा माेदीले आफ्नाे प्रभावबाट पुन: हिन्दुवाद र विश्वकाे एक मात्र हिन्दु राजाकाे पुनर्स्थापनालाई मलजल गर्नेछन् कि भन्ने आशंका गरिएकाे छ । त्यसै पनि भारत लाेकसभाकाे निर्वाचनपछि नेपाल माेदीमय भएकाे देखिन्छ । ‘माेदीक्रेज’ नेपालमा ह्वात्तै बढेर गएकाे छ । नेपालमा कम्युनिज्म बढेकाे माेदीले मन नपराउनु स्वभाविक हाे । उनले कुनै हालतमा पनि नेपालकाे चीनसँगकाे बढ्दाे सम्बन्धलाई स्वीकार गर्न सक्दैनन् । त्यसैले उनी नेपालमा ‘प्रजातान्त्रिक राजतन्त्र’, ‘संवैधानिक राजतन्त्र’ वा ‘लोकतान्त्रिक राजतन्त्र’काे पक्षमा हुन सक्ने अनुमानहरूलाई गलत भनिहाल्न मिल्दैन ।  नेपालकाे अर्थ-राजनीतिलाई आफ्नाे अनुकूल पार्न उनकाे प्रयत्नहरूलाई पनि नकार्न सकिन्न । त्यसतर्फ गणतन्त्रवादी, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक प्रणाली र समावेशीकरणका पक्षधरहरू सचेत हुनु जरूरी छ ।